अमेरिकाका तीनजना वैज्ञानिकहरुले सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । यी वैज्ञानिकहरुले मानिसको शरीरको जैविक घडी अर्थात् बडी क्लकले कसरी काम गर्दछ ? भन्ने विषयमा अनुसन्धान गरेबापत नोबेल पुरस्कार पाएका हुन् ।

जैविक घडीकै कारणले हामीलाई रातमा निद्रा लाग्दछ । जैविक घडीले मानिसको शरीरका क्रियाकलाप तथा व्यवहारमा पनि धेरै परिवर्तन ल्याउँदछ ।

अमेरिकी वैज्ञानिक जेफ्री हल, माइकल रोजबास र माइकल यंगलाई यो वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार समितिका अनुसार मानिस स्वस्थ रहनका लागि जैविक घडीका विषयमा यी तीन वैज्ञानिकले गरेको शोधको नतिजा निकै प्रभावकारी रहेको छ ।
मानिसको शरीर, रुख–विरुवा तथा जीवजन्तु सबै एक जैविक घडी अनुसार चल्दछन् ।


हाम्रो मूड, हर्मोनको स्तर, शरीरको तापक्रम तथा उपापचयनमा हरेक दिन उतारचढाव भैरहेको हुन्छ ।

यहाँसम्म कि हरेक बिहान हृदयाघातको खतरा बढेको हुन्छ । किनकि हाम्रो शरीरले हरेक नयाँ दिनको सुरुवातका लागि काम गरिरहेको हुन्छ ।

जैविक घडीले हाम्रो शरीरलाई नियन्त्रण गर्दछ । यसमा कुनै पनि खाले परिवर्तन आउँदा हाम्रो शरीरमा निकै गहिरो प्रभाव पर्दछ ।

लामो समयसम्म जहाजमा यात्रा गर्दा जेट ल्यागबाट हुने समस्या यसको उदाहरण हो । जसमा हाम्रो शरीर बाहिरि संसार अनुसार चल्न पाउँदैन र हामीले केही समयका लागि समस्याको सामना गर्नुपर्दछ ।

मधुमेह, क्यान्सर तथा मुटुरोगको खतरा

बडी क्लकमा परिवर्तन हुँदा सुरुमा स्मरण सम्बन्धी समस्या पैदा हुन्छ । तर यसको दीर्घकालीन असरको रुपमा चाहिँ विभिन्न खाले रोगहरु देखा पर्दछन् । जसमा टाइप टू मधुमेह, क्यान्सर तथा मुटुरोगलगायत रहेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक प्राध्यापक रसेल फोस्टरका अनुसार यदि हामीले हाम्रो शरीरको जैविक घडीलाई तोडमोड गर्यौं भने यसले मेटाबोलिज्ममा असर पूराउँदछ ।

नोबर पुरस्कार विजेता जेफ्री र माइकल रोजबासले डिएनएको एक खण्डलाई अलग गरी बडी क्लकमा लगाए । यसलाई पिरियड जिन भनिन्छ ।

पिरियड जिनसँग एक प्रकारको प्रोटिनको निर्माण गर्ने कमान्ड हुन्छ । उक्त प्रोटिनलाई पिइआर भनिन्छ । जब पिइआरको स्तर बढ्दछ त्यो आफै आफ्नो निर्माण सम्बन्धि कमान्डलाई बन्द गर्दछ ।

यसै प्रकारले पिइआरको स्तर २४ घण्टाको अवधिमा घटबढ भैरहेको हुन्छ । रातको समयमा बढ्दछ भने दिनको समयमा घट्दछ । माइकल यंगले दुईवटा जिन पत्ता लगाएका छन् । ती मध्ये एउटालाई टाइमलेस र अर्कोलाई डबल टाइम जिन भनिन्छ । दुबैले पिइआरको स्थिरतालाई प्रभावित गर्दछन् ।

यदि पिइआर अधिक स्थिर भएमा जैविक घडी सुस्त बन्दछ । यदि पिइआर कम स्थिर भएमा जैविक घडीले तिब्र रुपमा काम गर्दछ । पिइआरको स्थिरताकै कारण केही मानिसहरु बिहान छिटो उठ्न मन पराउँदछन् भने कतिपय रातमा अबेरसम्म जागै रहन ।

बिबिसी

SHARE