जनमुक्ति सेनाका योद्धा श्यामबहादुर तामाङ

हिरामान बल तामाङ
जनमुक्ति सेनाका योद्धा श्यामबहादुर तामाङले आफुलाई राज्यले विभेद गरेको गुनासो गरेका छन् । काठमाडौंमा  तामाङ बुद्धिजीवी तथा पत्रकारहरुसंगको भेटघाटमा उनले यस्तो गुनासो गरेका हुन् । जनमुक्ति सेनाका योद्धा तामाङले आफुलाई मात्र नभई सिङ्गो तामाङ समुदायलाई नै राज्यले विभेद गरेको बताए । तामाङले बुद्धिजीवि र पत्रकारसँग जनमुक्ति सेनाको विषयमा करिव तीन घण्टासम्म कुराकानी भएको थियो । सोही क्रममा उनले पहिलो पटक गाडी बोकेर काठमाडौं भित्र्याउने तामाङ समुदाय नै भएपनि ती गाडी बोक्ने तामाङहरुलाई सरकारले पारिश्रमिक नदिएको समेत बताए । तामाङ नेपालको सबैभन्दा पहिलो बासिन्दा वा पुरानो समुदाय पनि हो । यो समुदाय काठमाडौं र यसका वरीपरी बसोबास गर्दै आएको पाइन्छ ।
तत्कालिन जनमुक्ति सेनाका योद्धा तामाङ भन्छन् ‘काठमाडौंको विकासमा तामाङ समुदायको ठूलो हात रह्यो । सिंहदरबार, बसन्तपुर दरबारका साथै काठमाडौंको सबै दरबारहरु यसै समुदायका मानिसले बनाएका थिए । यहाँको मोटर बाटो पनि तामाङहरुले नै बनाएका थिए ।’ बाटो खन्नका लागि आवश्यक साधान समेत राज्यले नदिएपछि तामाङहरुले डोको नाम्लो, कोदालो र साबेल जस्ता सामग्रीहरु आफैँले लगेर काम गरेका थिए । ‘त्यसरी तामाङ समुदायले रगत पसिना बगाएर काम गरे पनि राज्यले त्यस बापत पारिश्रमिक समेत दिँदैन थियो ।’ उनले भने ।
‘काठमाडौं निर्माणको क्रममा योगदान पु¥याए तापनि यस समुदायलाई राज्यले हेर्ने दृष्टिकोणमा कहिल्यै परिवर्तन आएन ।’ उनले सुनाए ‘तामाङहरुलाई बरु तल्लो दर्जामा राखेर हेरिरह्यो ।’ यस समुदायका मानिसलाई राज्य सत्ताले पढ्न समेत नदिएको उनको तितो अनुभूति छ । उनले आक्रोस् पोख्दै भने ‘पढ्न समेत नदिएर घोर अन्याय ग¥यो ।’ उनले सुनाए ‘त्यस्तै चरम दमनका बीचमा पनि कतिपय चलाख तामाङले भने राती सुत्ने समयमा सिरकभित्र बत्ती बालेर लिुकीछिपी पढ्दथे । त्यसरी पढेका भन्ने थाहा पाएमा मिलिसियाले पक्राउ गर्दथे ।’ ‘त्यतिबेला पुलिस भन्ने नै थिएन, त्यसरी मिलिसियाले पक्राउ गरेर लगेपछि कारबाहीमा पर्दथे ।’ तामाङले विगतको हेपाह ब्यवहार सम्झदै भने । त्यसबेला तामाङ समुदायका मानिसलाई नेपाली, इन्डियन साथै ब्रिटिस लगायत कुनै पनि आर्मीमा जागिर दिँदैनथ्यो । त्यसैले जागिरकै निमित्त पनि यस समुदायका मानिसले आफ्नो जातलाई लुकाएर गुरुङ, मगर, राई र लिम्बु हुन परेको थियो । तथापि यस समुदायको पनि दिनदिनै जनसङ्ख्या बढ्दै आयो । जग्गा जमिन र आर्थिक उपार्जनको पक्षहरु बढ्ने कुरै थिएन । त्यसैले तामाङ समुदाय गरिबीको जाँतोमा पिँसिन बाध्य भयो । 

देशमा जत्ति काम गरे तापनि राज्यसत्ताले कुनै प्रकारको पारिश्रमिक दिएन । अन्ततः दार्जिलिङतिर लाग्न बाध्य भयो, किनकी १८२५ देखि १८३५ सम्ममा अङ्ग्रेजहरुले दार्जलिङमा ठूल्ठूला चियाबगानहरु शुरु गरेका थिए । त्यहीँ काम पाउने आशमा यस समुदायका प्रसस्तै मानिसहरु दार्जिलिङमा पुगे । त्यहाँका लागि आवश्यक कामदारको रुपमा यिनीहरुले धेरै पसिना बगाए । त्यतिबेला पुगेका तामाङहरु नेपालमा फर्केनन् । अहिले त दार्जिलिङमा तामाङ पनि पढे लेखेका साथै धनी भएका छन् । ठूला पदहरुमा कार्यरत समेत रहेका छन् । राज्यसत्ताले तामाङ समुदायलाई स्वदेशमा पीपा बनाएर राख्यो । १९९० मा गएको महाभूकम्पको कारण धराहरा ध्वस्त भएको थियो । त्यसको पुनःनिर्माणका लागि कोही पनि इञ्जिनियर भेट्टाउन सकेनन् । इञ्जिनियर नपाएपछि बनाउन सक्ने कोही छ कि भनेर खोज्न लगाए । त्यसक्रममा तत्कालीन पीपामा कार्यरत जीत बहादुर लामा तामाङ सुवेदारले बनाउन सक्छ भन्ने भएको थियो । त्यसपछि तिनलाई तुरुन्तै बोलाउन लगाएर धराहरा पुनःनिर्माणको जिम्मा दिएका थिए । धराहराको निर्माणपछि पुनःउद्घाटन भएको थियो । त्यसक्रममा तत्कालीन श्री ३ छक्क परेछन् । यसको पुनःनिर्माण कसले गरेको भनेर सोधेछन् । तामाङ सुवेदारको नाम लिएछन् । श्री ३ ले ती सुवेदारलाई तुरुन्तै बोलाउन लगाएछन् । त्यसक्रममा ती सुवेदार जीत बहादुर तामाङलाई लप्टन पद्वी दिएछन् ।
श्री ३ ले तामाङलाई पनि लप्टन बक्स्यो भनेर विरोध पनि भएछ, किनकी त्यसबेला तामाङलाई पीपाको पनि सुवेदार भन्दा माथिको पद्वी दिँदैन थियो । साह्रै विरोध भएपछि बाध्य भएर अन्ततः छ महिनापछि नै दिइसकेको लप्टनको पद्वी खोसेर सुवेदारमै घटुवा गरेको रहेछ । उनले दुखद् क्षण सम्झदै तामाङ समुदाय माथि गरेको अन्याय र अत्याचारको अब सन्ततिले राम्रै पाठ सिक्नु पर्ने बताए ।

SHARE