काठमाडौं, करिब साढे तीन सय वर्षअघि जन्मिएकी एक नेपाली भिक्षुणी (आनी)ले आत्मवृत्तान्त लेखेर भावी सन्ततिका निम्ति अनुभव र ज्ञान बाँडेको प्रमाण फेलापरेकाे छ।

विसं १७३२ मा हिमाली भेकमा जन्मिएकी आनी उग्र्येन छोकीले त्यतिबेलाको समाज र परिवारमा महिलाको स्थान एवं आफूले त्यसविरुद्ध छेडेको विद्रोहसमेत उल्लेख गरेर कृति लेखेको इतिहास अन्वेषणका क्रममा फेला परेको हो।

तान्त्रिक र बौद्ध ज्ञानका कारण स्थानीय भाषामा ‘खाण्डोमा’ (तान्त्रिक देवीजस्तै) उपाधि पाएकी आनी उग्र्येनले लेखेको २ सय पृष्ठभन्दा ठूलो आत्मवृत्तान्त डोल्पाका रिफुक र गाकर गुम्बामा फेला परेका  हुन् ।

पुस्तकमा जीवनदर्शन, आत्मानुभव, जीवनका कठिनाइ, सामाजिक मान्यता, धार्मिक स्थिति, दुःखकष्ट र सुखका अनुभूति तथा मृत्युजस्ता जटिलतम विषयसमेत समेटिएको छ ।

आत्मवृत्तान्तनुसार उग्र्येनको जन्मलाई उनको परिवारले अभिशापका रुपमा लिएको थियो । शुरुमा आमाबुबाले उनको नामै ‘किलो’ राखेका थिए जसको चल्तीको अर्थ हुन्थ्यो– सुख घटाउने मान्छे ।

उग्र्येनले आफूलाई बाबुआमाले ‘दुःखको पोको’ किन मानेका थिए भन्ने पनि आत्मकथन उजागर गरेकी छन् । उनका अनुसार भिक्षुणीको जीवनबाट सांसारिक जीवनमा प्रवेश गरेकी आमाबाट उनी जन्मँदा बाबु कुष्ठरोगले थलिएका थिए । छोरोको अपेक्षा गरेका उनीहरुले छोरी जन्मिएपछि त्यसलाई जीवनकै अभिशाप माने र ‘किलो’ नाम दिए ।

कृतिमा उनले आफू जन्मँदादेखि नै आमाले समेत मन नपराएको, बाबुले हेला गरेको, गुरुले शिक्षा दिए पनि पछि तात्कालिकन सामाजिक मान्यताका कारण महिलाले धेरै बोल्न, लेख्न र आक्रामक रूपमा आवाज निकाल्न नहुनेजस्ता सुझाव दिएको तत्कालीन सामाजिक अवस्था उजागर गरेकी छन् ।

‘बदमास छोरा जो अल्छी हुन्छ, अधर्मी र कुसंस्कृतितर्फ लागेको हुन्छ, जीवनको महत्व बुझ्न सक्दैन, त्यस्तो छोरा जन्मनुभन्दा आफू र आफूजस्ता छोरी जन्मँदा आफ्ना बाबुआमा र अरुका निम्ति पनि के खराब हुन्छ ?’, उनले आत्मवृत्तान्तमा आजको युगमा समेत लैंगिक डिस्कोर्समा आउने अत्यन्त महत्वपूर्ण विषयवस्तुलाई विश्वका निम्ति उतिबेलै उजागर गरेकी छन् ।

संसारमै आधुनिक छापाखानाको विकास भइनसकेको त्यस युगमा आनी छोकी स्वयंले आफ्नै हातले गुफाभित्र बसी लेखेको यस कृतिका केही हस्तलिखित प्रतिलिपि पनि पाइएका छन् । सुरुको कृतिमा ‘उछेन’ नामको संभोटा (हिमाली) लिपिमा लेखिएको यो कृतिका अरू केही प्रति भने ‘उमे’ नामको हिमाली लिपिमा लेखिएका पाइएका छन् ।

उनको कृति कतिपय व्यक्तिगत संग्रहमा र कति गोम्पामा तथा तिनका केही प्रतिच्छिवि अभिलेखालयमा समेत आइपुगेका छन् । यस विषयमा थप अध्ययन भइरहेको छ ।

पहिले आफूले लेख्न नसक्दा आफ्ना दुःखकष्टका कुरा लामा गुरुलाई सुनाएर लेखिदिन उनले आग्रह गरेको उल्लेख गरेकी छन् । त्यसको प्रतिक्रियाका रूपमा गुरुले महिला भएर त्यसो गर्नु उचित नहुने बताएको पनि उनको वृत्तान्त छ ।

आनीले आफ्ना अनुभव विश्वलाई सुनाउन आफूले भन्ने र गुरुले लेखिदिने गरी सुरुमा प्रस्ताव गरेको व्यहोरा उनको यस ग्रन्थबाट स्पष्टै बुझिन्छ तर स्त्रीजाति भएर त्यस्तो गर्दा आफू, समाज र विश्व परिवेशलाई समेत राम्रो नहुने भन्ने अर्ति गुरुबाट पाएपछि दुःखी भई रुँदै फर्किएको र आफैँ पढ्नलेख्न सक्षम भएरै एकदिन नलेखी नछाड्ने अठोट गरेको समेत यस जीवनीमा उल्लेख छ ।

उनको जीवन करिब ११ वर्षसम्म अत्यन्त दुःखकष्टसाथ बितेको, गाई, घोडा, च्याङ्ग्रा, चाैंरी चराउने गरेको, राम्रो र पेटभरि खान नपाएको, महिला भएकै कारण अपहेलित हुनुपरेको प्रसंग पनि यस कृतिमा समेटिएको छ । त्यसपछि भिक्षुणी बनेर गुरु मातहत गुम्बामा प्रवेश गरेपछि पनि अधिकांश भिक्षुणीलाई दिइने भान्छा र सरसफाइका सीमित घेराभित्र आफूसमेत धेरै महिलाले बस्नुपर्ने परम्परा उचित नदेखेर आफ्नो असन्तुष्टिसमेत व्यक्त गरेकी छन् ।

महिला साँघुरो घेराबाट बाहिर निस्कनुपर्ने दृढ अठोट गर्दै गुम्बाबाट बिदा भएर एक्लै यौगिक तपस्यामा लागेकी उनले गुफामै बसेर यस कृतिको तयारी गरेको व्यहोरा समेत उनको कृतिमा उल्लेख छ । उनले करिब आठ वर्ष लामो अवधि गुफाभित्र योग र तपस्यामा बिताएर वास्तविक ज्ञान र कृतिको तयारी गरेपछि जीवनको सार्थकता पाएको पनि बताएकी छन् ।

तपस्या, त्यसबाट आर्जित ज्ञान र फलस्वरुप तयार भएको कृतिले उनलाई जीवनको अन्त्य (मृत्यु) को बाटो सरल भएको र अरुका निम्ति पनि अत्यन्त सुखद बाटो फेला परेको दाबी उनको छ । आफ्ना सुखद र दुःखद अनुभूति भावी पुस्ता र जगतका निम्ति दिँदै जानुपर्ने धर्मदेशनासमेत उनले गरेकी छन् । पछि उनले लादो, तादुलगायत पाँचवटा गुम्बासमेत निर्माण गरेको इतिहास छ ।

यस्ता महान व्यक्तित्व नेपाली समाजका विभिन्न समुदायमा ठूलै संख्यामा पाउन सकिने सम्भावना हुँदाहुँदै अहिलेको हाम्रो प्रवृत्ति अनौठो ढंगले अवास्तविक र कृत्रिमतातिर लहसिएको देखिँदै छ । अहिलेको यस्तो बनावटी र अस्वाभाविक पृष्ठभूमिले राष्ट्रिय रूपमा स्थापित गर्ने-गराउने प्रक्रियामा पहुँच, प्रलोभन, डर, त्रास, धम्कीजस्ता अवाञ्छित माध्यमले ठूलो भूमिका खेल्दै गरेको दुःखद स्थिति छ ।

आनी छोकीजस्ता महान ऐतिहासिक व्यक्तिको खोजी गर्ने, तिनका कृतित्वलाई चिनाउने र राष्ट्रिय मान्यतामा पु¥याउने जस्ता सुमार्गलाई छोडेर अवाञ्छित माध्यमबाट अनधिकृत मौका लिनेदिने समाजमा सतही ढंगले विभेद र द्वन्द्वका ढोका खोल्नेखोलाउने भ्रमको बाटोमा अहिले हामी लागेका छौं । यस्तो परिवेशमा वास्तविक राष्ट्रिय महत्वका व्यक्ति र कृतिका विषयमा अध्ययन-अनुसन्धान गरी गराई प्रमाणित गरेर पठनपाठनमा समेत प्रवेश गराई राष्ट्रिय मान्यता र सार्वजनिक जानकारीमा ल्याउने काम गर्न ढिला भइरहेको यो कृतिको प्राप्तिले औंल्याएको छ ।

विश्वमा नेपाल प्रकृति, महान व्यक्तित्व, हिन्दु–बौद्ध धार्मिक शिक्षा तथा धरोहरका केन्द्र, मानवीय विविधता र वैशिष्ठ्य आदि सबै कुराले पहिलो पंक्तिमा रहेको देशमध्ये एक हो भन्ने विषयको थप प्रमाणका रुपमा यो आनी छोकीको कृति देखिएको छ । यसले हाम्रो वर्तमान प्रयासमा भने हामी धेरै पछाडि परिरहेको वास्तविकतालाई समेत प्रकट गरेको छ ।

आनी छोकीको यस कृतिले शिक्षण, धर्म–दर्शन, तन्त्र, योग आदि समेत स्वसंस्कृति र परम्परा तथा सामाजिक मान्यतामा सौम्य परिवर्तन, जीवनको महत्व र सुखद मृत्युजस्ता मानव समाजसम्बन्धी महत्वपूर्ण पक्षमा उनलाई विशिष्ट स्थानमा राखेको छ । झन्डै चार शताब्दीअघि नै नेपालका कतिपय पक्ष यस किसिमले विश्व तुलनामा उच्चतम स्थानमा पुगेको पनि यसले पुष्टि गरेको छ ।

यस्ता वास्तविक ऐतिहासिक महान व्यक्तित्व हाम्रो देशको इतिहासमा ठूलै संख्यामा रहेको प्रारम्भिक अनुमान छ । यस्ता व्यक्तित्वलाई चाहिँ राष्ट्रिय विभूतिको पंक्तिमा स्थापित गर्नुगराउनु हाम्रो आजको दायित्व हुनुपर्छ ।

डा. रमेश ढुंगेल (आनी उग्र्वेनसम्बन्धी अध्ययन तथा अन्वेषणमा संलग्न डा. ढुंगेलको यस सम्बन्धी पुस्तक प्रकाशोन्मुख छ ।)

SHARE