छन्दक सिद्धार्थको वस्त्राभरण तथा कण्ठक घोडा लिएर कपिलवस्तु फक्र्यो । भिक्षु सिद्धार्थ अनोमा नदि नजिकै ६ दिनसम्म अनुप्रिय नामको आँपको घारीमा बस्नुभयो । त्यसपछि वहाँ दक्षिणतिर लाग्नुभई सोझै मगधको राजधानी राजगृह नगरमा पुग्नुभयो । वहाँ बिहान सबेरै राजगृह नगरको छेउको नदीमा स्नान गरिसकेपछि अरु प्रव्रजितहरु जस्तै नै वहाँ पनि भिक्षाटनको लागि नगरमा जानुभयो । नगरवासीहरुले वहाँमा सर्वसाधारण प्रव्रजितमा भन्दा भिन्नै लक्षणहरु भएको देखे । त्यसो हुनाले पाए जति सबभन्दा राम्रो–राम्रो खानेकुराहरु वहाँलाई दान दिन ल्याए ।
छाक पुग्नेगरि भिक्षा पाइसकेपछि भिक्षु सिद्धार्थ भोजन गर्नको लागि राजगृह नगरबाट निस्की पाण्डव पर्वतमा जानुभयो । त्यसबेला नगरवासीहरुमा सिद्धार्थको बारेमा यस्तो हल्ला खल्ला मच्यो ‘‘वहाँको स्वभाव सर्वसाधारण प्रव्रजितको भन्दा भिन्न छ । वहाँ सौन्दर्यमा अनुपम र उच्च स्वभावले युक्त हुनुहुन्छ ।” त्यहाँका राजा बिम्बिसारले यो कुरा सुनेर एकजना राजपुरुषबाट पत्ता लगाउनुभयो ‘‘सिद्धार्थ कपिलवस्तुका राजसिंहासनका हकदार हुनुहुन्छ । तर ज्ञानको खोजीको लागि भिक्षु हुनुभएको हो ।”
राजा बिम्बिसार सिद्धार्थलाई भेट्न पाण्डव पर्वतमा जानुभयो । अनि भिक्षु सिद्धार्थलाई वहाँले आफ्नो राजकाजमा बस्नेको लागि आग्रह गर्नुभयो । तर वहाँले मन्जुर गर्नुनभएकाले प्रव्रजित नै भएर पनि दरबारमा बस्न आग्रह गर्नुभयो । ज्ञानको खोजीका लागि सुविधा हुनेगरि भिक्षान्न तथा अन्य कुराहरु चढाउने प्रास्तावपनि राख्नुभयो । तर वहाँले स्वीकार्नु भएन । अनि बिम्बिसार राजाले अनुरोध गर्नुभयो ‘‘त्यसो भए यहाँले ज्ञान पाईसक्नुभएपछि सर्वप्रथम राजगृह नगरमा आई म राजा तथा मेरा प्रजालाई दर्शन दिनुहोस ।” यो कुरो वहाँले स्वीकार गर्नुभयो ।
भोलिपल्ट भिक्षु सिद्धार्थ राजगृह नगरबाट निस्कनुभई विभिन्न मतका सन्यासीहरु बस्ने डाँडातिर लाग्नुभयो । बाटोमा वहाँले शहरतिर लगिँदै गरिएका भेडा बाख्राको ठूलो बथान देखनुभयो । त्यसमा एउटा कलिलो पाठोको खुट्टामा घाउ लागेर रगत निस्केको थियो । त्यो पाठो खोच्याउँदै बथानलाई पछ्याउँदै थियो । माउ भेडी अति दया र पीडापूर्वक आफ्नो त्यो स्यानो पाठोलाई छिन छिनमा फर्केर हेर्दै गरइरहेका थियो । यो देखेर सिद्धार्थको हृदय करुणाले भरियो ।
भिक्षु सिद्धार्थको त्यो स्यानो पाठोलाई बोकी मल्दै भेडाको बथानलाई पछ्याउनुभयो । वहाँले गोठालाहरुसँग सोध्नुभयो ‘‘दिनभरि घाँस चराएर साँझ गोठमा लैजानुको सट्टा यस्तो मध्यान्ह समयमा यो बथानलाई यसरी कहाँ लग्दैछौ ?” गोठालाहरुले बिन्ती गरे ‘‘राजाको हुकुम मुताबिक हामीले भेडा तथा बाख्रा एक–एकशय गरि दिनहुँ नगरमा पुर्याउनु पर्छ । यसबाट राजा ठूलो पूजा गर्नुहुन्छ ।” अनि वहाँले, ‘‘तिमीहरुसँग म पनि आउनेछु ।” भन्नुभई त्यो पाठोलाई बोकेर नै बथानको पछिपछि लाग्नुभयो ।
हरेक क्षण आफ्नो मृत्युको नजिक गईरहेका ती पशुहरुको बथानका साथ भिक्षु सिद्धार्थ राजगृह नगर पुग्नुभयो । वहाँ ठूलो पुजा गरिन लागेको त्यो ठाउँ राजप्राङ्गणमा नै जानुभयो । राजा त्यहाँ बिभिन्न देवी–देवताहरुको स्तुतिपाठ गरिरहेका ब्राह्मणहरुका साथ बसिरहनुभएको थियो । यज्ञ कुण्डमा आगो पनि बालिसकिएको थियो । ब्राह्मण पुरोहितहरु ती भर्खर ल्याईपुर्याइएका पशुहरुलाई बाँधी यूपमा राखी काट्न तयार थिए । सर्वप्रथम प्रधान पुरोहितले बलीलाई काट्न खुकुरी उठाउँदा भिक्षु सिद्धार्थले तुरुन्त अगाडि सरेर उसलाई रोक्नुभयो ।
भिक्षु सिद्धार्थले बडो प्रिय तथा शिष्ट ढंगले राजा बिम्बिसारलाई भन्नुभयो ‘‘महाराज । पुरोहितलाई बिचरो प्राणीको ज्यान लिन नदिनुहोस् ।” सभासद्लाई अत्यधिक प्रभावित हुनेगरि सम्झाउँदै भन्नुभयो ‘‘भेला भएका सबैलाई थाहा भएकै कुरा हो । जीवन कति आश्चर्यजनक छ । यसलाई नाश भने जो कसैले पनि गर्न सकिन्छ । तर सद्य पार्न भने सकिन्न ।” वहाँले अझ भन्नुभयो ‘‘मानिसहरु जस्तै नै हरेक प्राणी आफ्नो जीवनलाई माया गर्छ । मरण देखी सबैजना डराउँछन् । आफै जस्ता प्राणीहरुको जीवन मानिसहरु किन बलपूर्वक लुट्दछन् ?”
भिक्षु सिद्धार्थले अगाडि भन्नुभयो ‘‘यदि मानिसले दया करुणा पाउन चाहन्छ भने पहिले उ आफै दयावान र करुणावान हुनुपर्दछ । यदि उसले हिँसा गर्यो भने बदलाको रुपमा उसको पनि प्राण हरण हुने कुरो संसारकै नियम हो ।” वहाँले ठोकेर भन्नुभयो ‘‘ यदि हामी सुख चाहन्छौं भने अरु प्राणीहरुलाई दुःख दिनुहुँदैन । चाहे त्यो सानोभन्दा सानो नै किन नहोस । जुन व्यक्तिले दुःख दर्दको बिउ रोपेको छ, त्यसलाई उस्तै प्रकारको फल आउने कुरोमा पनि शंका नै मान्नु पर्दैन ।”
भिक्षु सिद्धार्थले त्यो पूजा यज्ञमा भेला भएका राजा सहित सन्यासी, ब्राह्मण, पुरोहित र नागरिकहरुलाई नरम तथा करुणाले भरिएको मनले तर जोडदारपूर्वक सम्झाउनुभयो । अनि राजा बिम्बिसारले फेरि एकचोटी भिक्षु सिद्धार्थलाई आफ्नो राज्यमा बसी जनतालाई दया करुणाको उपदेश दिएर बस्नुहुन प्रार्थना गर्नुभयो । भिक्षु सिद्धार्थले राजालाई सदवनाको लागि धन्यवाद दिनुभयो । चाहेको ज्ञान पाई नसकेकोले त्यहाँ बस्ने कुरो भने अस्वीकार गरी भ्रमणमा जानको लागि राजासित बिदा लिनुभयो ।
क्रमश …………………

 

SHARE