राजकुमार जन्मेको पाँचदिन भयो । राजाले आफ्नो दरवारको प्रासादमा विद्वानहरुको भेला गर्न लगाउनुभयो । राजकुमारलाई नामकरण गर्नको लागि भेला भएका ती विद्वानहरुले राजकुमारलाई ‘‘सिद्धार्थ” भनी नाम राखे ।

‘‘सिद्धार्थ” को अर्थ आफूले चाहेको सिद्ध (पूर्ण) हुनु हो । ती विद्वानहरुले पनि राजकुमारमा शुभ–लक्षणहरु देखे । सबैले भविष्यवाणी गरे ‘‘यदि यो राजकुमार राज्यमा बस्नुभएमा पछि महान् सम्राट हुनुहुनेछ । तर दरवार छोडी प्रव्रजित हुनुभएमा विश्वभरका शास्ता हुनुहुनेछ ।” ती मध्ये कौडिन्य नामको एक ब्राह्मण विद्वानले ठोकुवा गरेर, ‘‘सिद्धार्थ कुमार ठूलो भएपछि सम्पूर्ण राज्य छोडी प्रव्रजित हुनुहुनेछ, संसारभरका महानतम शास्ता नै हुनुहुनेछ ।” भनी भने ।

सिद्धार्थ ठूलो भएपछि महान सम्राट हुनुहुने कुराले राजा शुद्धोधन तथा भारदारहरुका साथै दुनियाँ पनि खुशी भए । तर राजा शुद्धोधन भने राजकुमारले राजपात छोडेर संसारभरका शास्ता हुने कुराले चिन्तित हुनुभयो । किन भने वहाँ चाहनुहुन्थ्यो ‘‘राजकुमार गृहस्थमा बसुन्, छोराछोरी पाउन्, जसले गर्दा दरवार आवाद हुनेछ । राज सिंहासनको उत्तराधिकारी पनि हुनेछ ।”

नामाकरण भएको दुईदिनपछि सिद्धार्थकी आमा महामायादेवीको देहान्त भयो । महारानीको देहान्त भएकोमा सबैले शोक गरे । शुद्धोधन राजाले सबभन्दा बढि शोक गर्नुभयो । किन भने महामाया देवी अति उच्चकुलीन थिइन् । स्त्रीहरु मध्येमा सर्वाधिक गुणवती थिईन । महामाया देवीको देहान्तपछि राजा शुद्धोधनले सिद्धार्थ कुमारको पालन पोषण गर्ने जिम्मा राजकुमारकी सानी आमा हुनुभएकी महाप्रजापति गौतमीलाई दिनुभयो । महाप्रजापति गौतमीले राजकुमार सिद्धार्थलाई आफ्नै छोरा जस्तै पालन पोषण गर्नुभयो सिद्धार्थले आफ्नो आमाको मुख हेर्न पनि पाउनुभएको थिएन ।
यसरी सानी आमा महाप्रजापति गौतमीको लालन पालनद्वारा राजकुमार सिद्धार्थ क्रमशः हुर्कनुभयो । वहाँको शरीर हृष्टपुष्ट भयो । वहाँको मुहार देख्ने सबैजनालाई राम्रो लाग्दथ्यो । 
क्रमश 

Comments

comments

SHARE