डेभिड हाल्वर्ग, अमेरिकाको न्यूयोर्कमा रहेको इथिकास्थित र्कोनेल विश्वविद्यालयका मानवशास्त्री तथा प्रध्यापक हुन् । उनले नेपालका तिब्बती-बर्मेली भाषी अन्तर्गतका तामाङ आदिवासी जनजातिका बारेमा लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् ।सन् १९७५ देखि लगातार तामाङ समुदायसँग नजिकिएर उनले उनीहरुको भाषा, धर्म, संस्कार, संस्कृति, इतिहासलगायतका वियषमा दर्जनौ लेखरचना, कार्यपत्र तथा पुस्तकहरु प्रकाशित गरिसकेका छन् । स्पष्टरुपमा नेपाली र तामाङ बोल्ने प्राध्यापक हाल्वर्गले निरन्तररुपमा जारी जातिय भेद्भावको जालोलाई च्यात्नु नै अहिलेका तामाङहरुको प्रमुख चुनौती रहेको बताउँछन् ।प्राध्यापक हाल्वर्गसँग तामाङ समुदायको विविधि विषयमा मानछिरिङ तामाङले गरेको कुराकानीको सारांशः 

तपाई आजकल के गर्दै हुनुहुन्छ? 
म र्कोनेल विश्वविद्यालयमा प्राध्यापककोरुपमा काम गरिरहेको छु । यसका साथै विद्यावारिधी गरिरहेका विद्यार्थीहरुको सुपरिवेक्षण पनि गर्दैछु । राणाकालदेखि हालसम्म नेपालका तामाङ समुदायको अवस्थाको बारेमा मैले लेखिरहेको पुस्तकको पाण्डुलिपिलाई पुनः निरन्तरता दिँदैछु । 

तामाङहरुको जातीय इतिहास सम्बन्धी पुस्तक लेखिरहेको छु । म र मेरी धर्मपत्नी क्याथरिन एस मार्च मिलेर स्थानीय गाउँलेका अनुभव र पुरातात्विक अभिलेखहरुका आधारमा बलजफ्ती श्रम शिविरमा लगाउने तत्कालिन राज्य प्रणालीको खोजी गरी पुनः उजागर प्रयास गरिरहेका छौं । यस्तो खालको सामन्ती व्यवस्था तामाङ समुदायमाथि सन् १९६० सम्म नै व्याप्त थियो जसको परिणामले पनि हालको समसामयिक नेपालको अवस्थाको बारेको बुझाईमा ठुलो महत्व राख्दछ । 

तामाङहरुको सामाजिक संस्कार र सामुदायिक व्यवस्था सम्बन्धी अध्ययनको दायराबाट अझ फराकिलो बनाएर राज्यको निर्माण, राजनीति र संस्कृति, सामाजिक उत्पत्ति तथा समाजिक हिंसामा मात्र केन्द्रित नबनाएर हिमाली क्षेत्रको मानवीय इतिहासकै खोजी गर्न प्रेरित गरेको छ । यस्तै, दक्षिण एसियाको बहुर्राष्ट्रिय सामाजिक सम्बन्धहरु एवं मानवीय शक्ति तथा विशेषरुपमा अदृष्य दैवी शक्तिहरुका बारेमा पनि अध्ययन गर्न सहयोग पुग्यो । 

नेपालमा जातीय पहिचानका आधारमा भईरहेका राजनीतिक विकासक्रमहरुलाई नजिकबाट नियालिरहेको छु । त्यस्तै, सशस्त्र माओवादी द्धन्द्धकालमा तामाङ समुदायमा पारेका असरहरु र उनीहरुको संस्कार विकासक्रमहरुका बारेमा पनि म अध्ययन गरिरहेको छु । मानवीय विज्ञान अन्तर्गत ज्ञानको उत्पादन तथा खोजीका लागि जातीय पद्धति सम्मिलित सैद्धान्तिक शास्त्रप्रति मेरो दृढ लगाव छ । नेपालमा मसँग काम गर्ने अनुसन्धानकर्ता र त्यहाँका शैक्षिक संस्थाहरुसँग पनि म अत्यन्तै नजिक रहेर काम गरिरहेको छु । वितेको १० वर्षमा हामीले त्रिभुवन विश्वविद्यालयसँग साझा कार्यक्रम बनाएका छौं । 

नेपालका भुकम्प प्रभावित क्षेत्रको अवलोकन गरिसकेपछि त्यहाँका तामाङ समुदायलाई भविष्यमा पनि आउन सक्ने प्रकोपहरुबाट सुरक्षित रहन कस्तो प्रशिक्षण दिनुभयो ? 
मैले प्रत्यक्षरुपमा त त्यस्तो केही गर्न सकिन तर स्थानीयरुपमा उपलब्ध स्रोत समानहरुको उपयोग गरेर भुकम्प प्रतिरोधी संरचनाहरु निर्माण गर्ने काममा स्थानीय समुदायलाई म पुर्ण सहयोग गर्दछु ।

भुकम्पले स्थानीय तामाङ समुदायलाई कस्तो असर पारेको छ ? 

भुकम्पले ताम्सालिङ क्षेत्रमा त विध्वंस नै छ । इतिहासबाटै शोषित पीडित भएका तामाङहरु भर्खरै व्युँतिदै गर्दा आएको भुकम्पले घरबारी नै ध्वस्त बनाईदिएपछि फेरि उही पछाडी धकेलिएका छन् । स्थानीय समुदायहरु अझै पनि सरकारी सहयोगको प्रतिक्षा गरिरहेका छन्, त्यसको कुनै छाँटकाँट छैन् । नेपालको राज्यप्रणलीभित्र उच्च वर्गका मानिसको वर्चस्व भएकाले तामाङ, आदिवासी जनजाति, मधेसी, दलितलगायतका अन्य समुदायलाई नेपाली समुदायकै सदस्यहरुको रुपमा अझै पनि नहेरिएको गुनासो बढी छ । 

राजधानी वरिपरिका जिल्लाहरुमा बसोबास गरिरहे पनि तामाङहरु हरेक क्षेत्रमा पिछडिनु परेको कारणा ?
जातिवादी सामन्ती मानसिकताले माथिल्लो वर्गका सदस्यले मुख्य क्षेत्रमा तामाङहरुलाई सहभागी गराएका छैनन् । यथार्थमा नेपालको सरकारी क्षेत्रमा यहाँ राज्यले नै तामाङ समुदायलाई पछाडि पारिरहेको छ । स्थानीय समुदायको सशक्तिकरण गराउने प्रभावकारी संघीय संरचना नै उत्तम विकल्प हो । 

तामाङहरुको कुन विषयमा तपाईले अध्ययन गर्नुभयो ? 
सुरुमा उनीहरुको समाजिक संरचना, संस्कार तथा विभिन्न मान्यताहरुबारे अध्ययन गरेको थिए । काठमाण्डौं उपत्यकाकोे उत्तरपश्चिमी भेगमा रहेका तामाङ समुदायबीच प्रचलित दास प्रथा (रकम) को बारेमा अध्ययन गरेको थिँए । हालसालै मैले आदिवासी जनजातिहरुको उदयको बारेमा अध्ययन गरेको थिँए । यसले तामाङ जातिको समग्र समृद्धिमा अन्तरसम्बन्ध राख्दछ । 

सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक पक्षमा कस्तो परिवर्तन पाउनुभएको छ ? 
सन् १९७५ देखि १९७७ सम्म नुवाकोट जिल्लाको मनकामना  गाविसको मानेगाङमा म पहिलोपटक बस्दा उच्च माध्यामिक विद्यालयसम्म मात्र अध्ययन गरेका धेरै कम मानिसहरु थिए । विद्यालय शिक्षा र साक्षरता त केवल आदर्श मात्रै थियो । 

अहिले आएर मानिसहरु शहरतर्फ बसाईसराई, भारत तथा खाडी मुलुकहरुमा काम गर्न जाने क्रमले समाजिक तथा आर्थिक क्षेत्रमा निकै ठूलो अन्तर ल्याएको छ । मानेगाङमा १८ देखि ६० बर्ष उमेर समुहका ६० प्रतिशत मानिसहरु गाउँमै छैनन् । तामाङहरुको संस्कारमा समेत धेरै परिवर्तन भएको छ । पहिले फुपु—मामाबीचको विहेको चलन विस्तारै कम हुँदै गएको छ । वौद्धमार्गीहरु अझ परिष्कृतरुपमा बढ्दैछन् भने दैवी शक्ति—झारफुकको प्रचलन अत्याधिक कम छ । पुराना तामाङ सेलो र म्हेन्दोमाया भाकाहरुहरु लोप भएका छन् । कयौं प्रचलित संस्कार र परम्पराहरु त्यागिएका वा परिवर्तन भएका छन् । 

अहिले तामाङ समुदायमाथि देखिएका प्रमुख चुनौतीहरु के-के हुन? 
निरन्तररुपमा जारी जातिय भेद्भावको जालोलाई च्यात्नु नै तामाङहरुको प्रमुख चुनौती देख्दछु । 

४२ बर्षसम्म तामाङ समुदायको लामो अध्ययनको क्रममा उनीहरुको कुन पक्षले तपाईलाई प्रभावित पा¥यो ?
तामाङहरुको इमान्दारिता, उदारता, सामुहिक भावना र आत्मिय स्वागतले निकै प्रभावित  पारेको छ । 

अन्त्यमा…
त्यस्ता कयौं विषयहरु छन् । जुन ती सबै पक्षहरु मेरो प्रकाशोन्मुख पुस्तकमा समेट्ने प्रयास गर्नेछु । 

SHARE