मेरो नाम धनबहादुर तामाङ हो । मेरो जन्म २०२४ सालमा भएको हो । घर रामेछाप जिल्लाको लखनपुर गा.वि.स. वडा नं. ९, पोङ्दीको छ्यर्कूमा रहेको छ । बुबाको नाम सोमबहादुर मोक्तान र आमाको नाम शेर्पेनी ह्योञ्जन हो । यस लेखमा मेरो बाल्यकाल, मेरी दिदी ‘म्हरमेन’ र ख्रिश्चियनमा प्रवेश, आमाले बुबालाई विवाह गरी घरमा भित्र्याएको कथा, बुबा आमाको सपनामा भएको दर्शन तथा अनुरोध तथा पुनः १५ वर्षपछि तामाङ धर्म संस्कार संस्कृतिमा नै फर्केकोकोसम्मको घटनाक्रमलाई पस्कने प्रयास गरेको छु । 

आमा बुबाको विवाह 
बुबाको मूलघर दर्खामा रहेछ । उहाँलाई पोङ्दी गाउँमा आमाको बुबा (ह्योञ्जन बाजेले) दर्खाबाटै घरज्वाईँको रूपमा मागेर आफ्नी छोरीसित विवाह गराई भित्र्याउनु भएको रहेछ । 
ह्योञ्जन बाजेको दाजुभाइमध्ये एक भाइले विहे नगरेको, दुई भाइको छोरा नभएको, एउटाको एक छोरा र एउटाको एउटी छोरी मात्रै भएछन् । त्यसैले आफ्नी एक्ली छोरीको लागि उहाँले घरज्वाईँको खोजी गर्नुभएको रहेछ । सोहीक्रममा उहाँ शुरूमा दर्खाको घिसिङ टोलमा पुग्नुभएछ । 
त्यहाँको घिसिङले छोरा दिन मानेन छन् । बरू मोक्तान टोलमा मोक्तानले छोरा दिन सक्छ भनेर सम्झाएछन् । त्यसबखत मोक्तान म्हेमेको चार भाइ छोराहरू रहेछन् । पहिले नै एक भाइ चाहिँ घिसिङले घरज्वाइँको रूपमै लगिसकेका रहेछन् । त्यसपछि ह्योञ्जन बाजेले मोक्तान बाजे कहाँ पुगेर माग्नुभएछ । मोक्तान हजूरबुबाले पनि स्वीकार्नु भएछ । 
विवाहको बेला आमाले जन्ती लिएर बेहुला(बुबा)लाई लिन जानुभएको रहेछ । बुबालाई आमाले घरमा भित्र्याउनु भएको यो अनौठो घटना नै मान्न सकिन्छ । विहेमा मेरो बुबा(बेहुला)लाई मोक्तान बाजेले पनि ‘छोरा तिमीलाई पनि अंश चाहिँ दिन्छु भन्नुभएको थियो रे । यता ह्योञ्जन बाजेले भने मेरो जुवाइँलाई मै अंश दिन्छु भनेर दर्खाबाट पोङ्दीमा ल्याउनुभएको रहेछ । ह्योञ्जन बाजेको नाम चाहिँ लक्षुमान ह्योञ्जन हो । मोक्तान बाजेको नाम नागरिकता र लालपुर्जामा फरक फरक पाइएको छ । एउटामा सन्तवीर र झ्याउरे मोक्तान लेखिएको रहेछ । मैले आफ्नै मोक्तान हजूरबुबालाई भने देख्नै पाइँन ।

बाल्यकाल र पढाई
मलाई  स्कूल जाने खुब रहर हुन्थ्यो । आमालाई  स्कूल जान्छु भन्यो बुबालाई भन अनि बुबालाई भन्यो हजूरबुबालाई भन भन्नुहुन्थ्यो । हजूरबुबालाई भन्यो भदौपछि जाऊ । भदौमा भन्यो दशैँ तिहारपछि अनि दशैँ तिहारपछि भन्यो कोदो बाली भित्र्याएर जाऊ भन्नुहुन्थ्यो । त्यसैले मैले ठूलो हुँदासम्म पनि पढ्न जान पाइँन । 

पेवा कुखुरा र त्यसको मूल्य 
मेरो एउटा पेवा कुखुराको पोथी थियो । त्यै पनि चल्ला हुँदा नै आमाले ‘तिम्रै पेवा’ भनेर छुट्टाइदिनुभएको थियो । त्यो चल्ला बिस्तारै बढ्दै थियो । फुल पार्न पनि थालेको थियो । एकदिन यस्सो विचार गरेँ । घरबाट पढ्न पठाउने भएनन्; अब यही पोथी बेचेर पढ्न जान्छु भनेर मनमनै योजना पनि बनाएँ । 
पोथी बेच्ने त भनेँ तर किन्ने कोही भएन । ‘म्हरमेन’ (ठूली) दिदी लानुभएको भेनालाई सम्झेँ । उहाँलाई सबै कुरा सुनाएँ । पोथी किन्न उहाँ तयार हुनुभयो । मैले मोल २० रुपैयाँ तोकेँ । भेनाले चाहिँ १५ रुपैयाँ मात्रै दिने कुरा गर्नुभयो । भेनाले १५ मा माग्दा मैले दिन सकिँन अनि मैले मागेको २० उहाँले दिन सक्नुभएन । अन्तमा १६ रुपैयाँमा मोल छिनियो । 
गोजीमा १६ रुपैयाँ परेपछि असाध्यै खुशी लाग्यो । भोक पनि लागेन । त्यतिबेला म १२/१३ वर्षको थिएँ । दिनको तीन बजेतिर पैसा हात परेको थियो । त्यसपछि भोलि स्कूल जानुपर्छ भनेर तयारी गरेँ । त्यसैक्रममा गाउँभन्दा माथि भित्तोको पहरामा रहेको ओडारमा गएर लुकेँ । साँझ परेपछि घरबाट सबैले मलाई बोलाउँदै थिए । म भने चुपचाप सुन्दै बसेँ । 
रात बढ्दै गएसँग बिस्तारै–बिस्तारै घरछेउ आइपुगेँ । त्यतिखेर सबैजना सुतिसकेका थिए । गोठमा पसेर भोकै सुतेँ । रातभरि निद्रै लागेन । साढेँ तीन बजेतिरै उठेँ । गोठबाट निस्केँ । विहानै ‘पिपलगङ’ भन्ने स्थानमा गएँ । अहिले त्यस स्थानलाई ‘लाखुरी डाँडा’ भन्छन् । त्यसबेला घट्टोमा जाने मान्छेहरू चिराग बालेर जाँदैरहेछन । तिनीहरूको पछिपछि नदेख्ने गरी गएँ । थापा गाउँमा रहेको स्कूल नजिक पुगेपछि तिनीहरू तल घट्टोतिर झरे । म भने बाटोमाथि लुस्केँ । 

किताब, कापी र डट्पेन किनेको क्षण 
बिहानी घाम झुल्किएपछि बाटोमा निस्केँ । तयारी स्वरूप किताब, कापी र डट्पेन किन्ने शुर गरेँ । अलिपरको पसलमा गएर एउटा डट्पेन(बलपेन) किनेँ । डट्पेनको पाँच सुकी परेको थियो । ठूलो वर्णमाला किताब पनि किनेँ  । तीन मोहरमा । एक मोहरको कापी पनि किनेँ । त्यसपछि बिस्कुट, शितलगेडी र पिपलमेट भन्ने चकलेट पनि किनेँ । नौ रुपैयाँ त्यही सिध्याएँ ।

पहिलो दिनको पढाई 
किताब, कापी र डट्पेन किनेपछि स्कूल डाँडामा पुगेँ । बिस्तारै पढ्ने मानिसहरू आए । साथीहरूले नयाँ मान्छे त यहाँ बस्नु पर्छ भनेर कोठा देखाइदिए । एकजना साथी अलिक चलाख रहेछ । त्यसले नयाँ साथी आएको छ सर भनेर सुनाइदियो । सरले अफिसमा लग्नुभयो । कसको छोरा, नाति र नाम के हो भनेर सोध्नुभयो । सबै कुरा बताएँ । बाउ बाजे खोई भनेर सोध्दै हुनुहुन्थ्यो । घरैमा छन् भनेँ अनि एक रूपैयाँ लिएर भर्ना गरी दिनुभयो ।  कक्षामा लगेर पढ्ने तरिका सिकाइदिनुभयो । 

पढ्न गएबापत् हजूरबुबाको बाघे झापू 
अघिल्लो दिनदेखि खाना खाएको थिएन । छुट्टि भएपछि घरमा पुगेँ । आमा मात्रै हुनुहुँदोरहेछ । कहाँ गएको भनेर गाली गर्नु भयो । तपाईँहरूले पढ्न पठाउनु भएन । त्यसैले म त भागेर स्कूल गएको भनेँ । ल खाऊ भनेर कोदोको ढिँडो दिनुभयो । दुई गाँस मात्र के खाएको थिएँ; ह्योञ्जन बाजे आइपुग्नुभयो । च्याप्पा पाखुरा समातेर कहाँ गएको भनेर भन्नु भयो । स्कूलल गएको भनेँ । उहाँले एक झापट लगाउनु भयो । घर बाहिर निकाल्नुभयो । तिमीलाई घरमा भात छैन । त्यही स्कूललमा गएर खाऊ भन्नुभयो । मैले किन पढ्न नपाउने भन्दाखेरि ‘पढेपछि अनौ समात्ने छैनौ । पढेर  के गर्नु ? हामीले नपढेर पनि भैरहेकै छ । पढेपछि चोर, डाका र फटाह हुन्छ । यदि तिमी स्कूल गयौ भने मेरो जग्गा जमिन सबै बाँझो रहन्छ । यही जग्गा जमिन चलाउनकै निमित्त तिम्रो बुबालाई घरज्वाईँ राखेको भन्नुभयो । त्यसपछि हजूरबुबाको आँखा छलेर कहिले कहिँ स्कूलमा पुग्थेँ । वर्षभरिमा मुश्किलले तीन महिना जति स्कूलमा गएँ हुँला । त्यसैले नाम लेख्न समेत आएन । 

जोड घटाउ पनि छोरीले तीन वर्ष पुगेपछि सिकेँ 
छोरीले तीन वर्ष हुँदासम्म पनि राम्ररी नाम लेख्न आउँदैन थियो । भारतमा रहँदा रामेछाप १ नम्बर क्षेत्रको एकजना दाइसित भेट भयो । उहाँसँग राम्रो सम्बन्ध थियो । उहाँ आफैँ पनि अनपढ हुनुहुँदोरहेछ । काम ग¥यो तर हिसाब राख्न पटक्कै नआउने तर उहाँकी श्रीमतीले भने नौ कक्षासम्म पढ्नुभएको रहेछ । त्यही दिदीले जोड्न सिकाइदिनुभयो । बल्ल जोड गर्न सक्ने भएँ तैपनि घटाउन मरे सकिँन । १०० मा ५ रुपैयाँ घटाउ भन्दा १०० को मुनि पाँच लेख्दा १ वा दुईटा शून्यमध्ये  कुनको मुनि लेख्ने भन्नेसम्म पनि थाहा थिएन । पछि गाउँकै कर्णबहादुर भन्नेले घटाऊ पनि सिकाइदिनुभयो । 

श्रीमती र छोराछोरीदेखि धर्मछोरा छोरीसम्म
मेरो विवाह दूधपोखरीकी लसाङ घिसिङसँग भएको हो । मेरा दुई छोरा र दुई छोरी छन् । तिनका अलावा दुई धर्मपुत्र र दुई धर्मपुत्रीहरू पनि छन् । सहाराविहीन छोरा छोरीहरूलाई धर्मपुत्र र पुत्रीको रूपमा पालेको हुँ । 
ठूली छोरीको भने ख्रिश्चियनमा लागेसकेकोले धादिङको ख्रिश्चियनसँगै विवाह गराइदिएको छु । अहिले दुई नातीहरू समेत भैसकेका छन् । ठूलीचाहिँ धर्मपुत्रीको पनि नानी भैसकेको छ । भारतमा भेटिएका छोराछोरीहरूलाई पनि धर्मपुत्र र धर्मपुत्रीको रूपमा पालेको छु । 
ठूली छोरी १२ वर्षकी हुँदासम्म पनि अन्य जायजन्म भएको थिएन । १२ वर्ष १० दिन हुँदा बल्ल माइली छोरीको जन्म भएको हो । त्यसैले ठूलीछोरीलाई गुम्बामा आनी बनाउँछु भन्ने सोच बनाएको थिएँ । त्यसै शिलशिलामा २०५४ सालको चैत पूर्णिमाताका ठूलीछोरीलाई लिएर नेपाल आएको थिएँ । कोही चिनाजानी नभएको कारण छोरीलाई गुम्बामा राख्ने कुरो सम्भव भएन । 

ठूलीदिदी म्हरमेनको जन्म
हामी चारजना दाजुभाइ तथा दिदी बहिनी भयौँ । अन्य पाँच जना दाजुभाइ दिदी बहिनीहरू भने सानैमा बितेका रहेछन् । हामी मध्येकी सबैभन्दा ठूलीदिदी हुनुहुन्थ्यो । उहाँको नाम ‘म्हरमेन’ थियो । उहाँको जन्म अचम्मको रहेछ । उहाँ जन्मँदै कम्बरभन्दामुनिको भाग भने जालो (झोलाजस्तो)भित्र हुनुहन्थ्यो रे । जन्मेपछि कुनै हलचल वा रुवाई थिएन रे । मरेकी जन्मिछे भनेर हजूरआमा त रुनुभएको थियो रे । 
त्यसपछि मरेकी ठानेर रुमालमा पोका पारेका थिए रे । एकजना बूढोले चाहिँ गोठमा रहेको सानो किला उखेलेर ल्याएछन् । दिदीलाई पोका पारेको रुमाललाई उनेर लाने भनेर ! त्यस्तैमा एकजनाले चाहिँ मरेकी नै भएपनि आमालाई मुख हेर्न दिनु भनेछन् । रुमालको गाँठो खोलेर हेराउने क्रममा कम्बरमुनिको जालो खोल्ने प्रयास पनि गरेछन् । त्यतिपछि बल्ल च्याँ गरेर रुनुभएको थियो रे । 
किन यस्तो जालोसहित जन्म भयो भनी हजूरबुबाले ज्योतिषीहरूलाई हेराउनु भएको रहेछ । ज्योतिषहरूले ‘यी नानीले जन्मँदा केही चिज लिएर आएकी हुनुपर्छ’ भनेका थिए रे । जालो त थियो तर सालनालसँगै गाड्यौँ भन्दा त्यसलाई जतनकासाथ राख्नुपर्ने थियो भनेका थिए रे । विहे नगरीदिनु । विहे गरी दियौ भने निधन हुन पनि सक्छ भनेका थिए रे । 
दिदीको जन्मपछि घरमा धेरै राम्रो भएर आएको रहेछ । दिदी घरमा हुञ्जेलसम्म धेरै राम्रो नै थियो । कुनै समयमा त दूधमा कोदोको पिठो ओडालेर ढिँढो खान सक्नेसम्म भयाएको थियौं । 

म्हरमेन दिदीको विवाह/स्वर्गारोहण 
दिदी असाध्यै रूपवती हुनुहुन्थ्यो । त्यसैले गाउँका सबै ह्योञ्जनहरूले माग्न थाले । ह्योञ्जन बाजेले पनि आफ्नो एकजना नाति पर्नेसँग विवाह गराइदिनुभएको थियो । धर्मशाल (बुट्टेदार गाग्री)को घडा राखेर अन्माएको देखेको थिएँ । दिदीलाई विवाह गरी पठाइसकेपछि भने हाम्रो घर विस्तारै कमजोर हुँदै गयो । भेनाको घरमा धेरै राम्रो प्रगति हुँदै गएको थियो । तीन वर्षपछि एउटी भाञ्जी जन्मिइन् । भाञ्जीले आठ महिना नपुग्दै दिदीकी सासु बित्नुभयो । सासु खसेको २२ औं दिनमा दिदी पनि स्वर्गे हुनु भयो । 

ख्रिश्चियन प्रवेश 
म भारतमा थिएँ । त्यसबेला कान्छो भाइ भक्तपुरमा बस्थ्यो । एकपटक ऊ बिमारी भएको रहेछ । भारतको मिसन अस्पतालमा ३४ दिनसम्म राखेर उपचार गराएँ । खासै उपचार लागेन । पछि भाइ नेपाल फर्कियो । यता आएपछि ऊ ख्रिश्चियनतिर लागेको रहेछ । 
भारतमै बस्दा पनि मैले घरमा लामागुरु ल्याएर पूजापाठ गराएर दज्र्यू राख्ने गरेको थिएँ । त्यही ल्होछार पनि मनाउँथेँ । २०५४ सालमा ठूलीछोरीलाई गुम्बामा राख्ने ध्येयका साथ म नेपाल आएको थिएँ । त्यसबेला भाइ भक्तपुरमै बस्थ्यो । त्यहाँ कोठामा येशुसम्बन्धि पुस्तिका भेट्टाएँ । उसले आफू ख्रिश्चियनिटीमा प्रवेश गरेको सुनायो । 
त्यसैताका माइली छोरीको जन्म भयो । छोरीको न्वारन गर्नुपर्ने भयो । भाइले ख्रिश्चियन पाश्चर लिएर आएछन् । तिनै पाश्चरले छोरीको न्वारन गरिदिनुभयो । त्यसपछि भने ख्रिश्चियनमा लागेको भन्ने गाउँमा हल्ला चलेछ तर मैले कहिल्यै कसैलाई ख्रिश्चियनमा आउनु भनिनँ । गाउँलेले पनि खासै नराम्रो मानेका थिएनन् ।

पुन: भारत प्रवेश 
गाउँमा जत्ति नै दुःखजिलो गरे पनि गाह्रो नै भयो । फेरि पनि भारतमा फर्केँ। भारतमा कोइला कम्पनीमा काम थालेँ । दुःख पर्दा प्रभुमा गएको र अहिले राम्रो भएपछि फर्किएको भनेर केही साथीहरूले भन्नुभएको रहेछ । प्रभुमा लागेको भन्दैमा बसिरहेर खाना आउने कुरा हुँदैन । कोइलाखानीमा ज्यानको बाजी थापेर काम गरेको थिएँ । त्यसबेला मेरा साथमा सानो पटुकी थियो । भोकलाग्दा त्यही पटुकी पेटमा कस्थेँ । टाउको दुख्दाखेरि टाउकोमा बाँध्थेँ अनि पानीपर्दा त्यही ओड्थेँ । 
दुःख गरेरै पनि छोराछोरीहरूलाई भारत र नेपालमा यत्ताउत्ती गर्दै पढाउँदै थिएँ । त्यसैबेला आमाले घर बनाउन भन्नुभयो । हुन्छ भनेर काठ पनि चिराएको थिएँ । घर बनाउन पैसोको अभाव भएपछि पुनः भारत प्रवेश गरेको थिएँ । मैले नयाँ घर बनाएर आमालाई देखाउने शौभाग्य प्राप्त गर्ने सकिँन ।

एघार महिनाको फरकमा आमा बुबाको स्वर्गारोहण 
पछिल्लो समयमा बुबा आमा दुवै जना ख्रिश्चियन हुनुभएको थियो । आमा बित्नुअघि घर बनाउन छोरा भनेर मलाई भन्नुभएको थियो । त्यसैले काठ चिराएको थिएँ । त्यसबीच म भारत पसेको थिएँ । अब आएर घर बनाउँछु भनेको थिएँ । अचानक आमा स्वर्गे हुनुभएको खबर सुनेँ । त्यसपछि म गाउँमा आइपुगेँ । 
यता आमाको निधनपछि गाउँमा निकै ठूलो बबण्डर मच्चिएछ । खासगरी दाइ ख्रिश्चियन हुनुभएपछि आफ्नो घरमा देउसी खेल्न नदिने, पूजा, घेवा, र विहेमा जानु नहुने भनेर वर्जित गर्नुभएछ । आमाको दाहसंस्कारमा पनि उहाँहरूले ख्रिश्चियनहरूलाई बोलाउनुभएको रहेछ । तिनै ख्रिश्चियनहरूले नै दाहसंस्कार गरेछन् । आफ्नै दाजुभाइलाई पनि पर गरेछन् । त्यसैले दाजुभाइहरू रिसाउनुभएछ । सोही क्रममा बाइबलसमेत च्यातिए । 
म घरमा आइपुगेपछि घटना साम्य हुँदै गयो । सबै दाजुभाइले सहयोग गर्नुभयो । पहिले नै चिरेको काठपात जोडेर घर बनाएँ । घरको झ्यालढोका हाल्ने क्रममा थियौं । त्यसैबीच म पुनः भारततिर लागेँ । त्यसको केही पछि अर्थात् आमा बितेर एघार महिनापछि बुबा पनि बित्नु भएछ । बुबा आमा दुवै बित्नु हुँदा म घरमा भइँन । उहाँहरूको ख्रिश्चियन विधि अनुरूप अन्तिम संस्कार गरिएकोले तामाङ विधि अनुसार केही गरिएको थिएन । उहाँहरूको स्वर्गारोहण भएको पनि अब त चार वर्ष नै भैसकेछ । 

आमा बुबाको चाहना 
छोरा पनि तम्बा नै बनोस् भन्ने आमाको चाहना थियो । उहाँले धेरै पटक भन्नुभएको थियो– बुबालाई त धेरै ठाउँका इष्टमित्रहरूले तम्बा भनेर मान्थे । विहे आदिमा पनि सगुन लिएर निम्तो गर्न आउँथे । अब बुबाको शेषपछि तिमीले तम्बा गर्नुपर्ने । अरू भाइले गर्लाजस्तो छैन । बाउको बिडो तिमीले पनि नथामे तम्बा नै हराउनेछ । त्यसैले तिमीले चाहिँ तम्बा नै गर्नु भन्नुभएको थियो ।
त्यस्तैगरी आमाको स्वर्गारोहणपछि घर बनाउँदै थियौं । त्यसैताका गोठमा रहेका पत्करहरूलाई केलाउँदै बुबाले पनि ‘तिमीले ख्रिश्चियनमा लागेपनि तम्बा हुनुपर्ने’ भन्नुभएको थियो । उहाँ निकै राम्रो तम्बा हुनुहुन्थ्यो । धेरै स्थानबाट विवाह आदिमा सगुन राखेर तम्बाको रूपमा निम्तो पनि आउँथ्यो । म भने फापरे गीतसम्म गाउथेँ । आमा बुबाको चाहना चाहिँ म पनि तम्बा नै हुनुपर्छ भन्ने थियो । उहाँहरूको भनाइले मलाई धेरै छोएको थियो । बुबा खसेर एक वर्षदेखि लगातार सपनामा दर्शन दिनुहुँदै ‘तिमी तम्बा बन’ भन्दै हुनुहुन्थ्यो । 

तम्बामा प्रवेश 
    कुनै पनि धर्म नराम्रो हुनै सक्तैन। आफ्नै पूर्खौली धर्म छोडेर हिँडेपछि भने आफ्नो पूर्वजहरूको नाम नआउने र तिनीहरूबाट टाढा हुँदै जाने रहेछ । त्यसले मलाई निकै पिर्न थालेको थियो । माघ महिनामा लगातार आठदिनसम्म बुबा आमालाई सपनामै देखिरहेँ । सपनामा प्रायः बुबालाई या आमालाई मात्रै देख्थेँ ।
माघको १९ गते भने आमा र बुबा दुवैजनालाई एकैसाथ देखेँ । सपनामा आमा दाहिने र बुबा देब्रेपट्टि हुनुहुन्थ्यो । टिफिन बक्सजत्रो स्टीलको एउटा, थालजत्रो अर्को र काठको घेराभएको सक्कली एउटा गरी जम्मा तीन थान डम्फू बुबाले मलाई दिनुभयो । उहाँहरूले ‘यसलाई तिमीले सम्हाल र तम्बा गर’ भन्नुभयो । त्यसअघि नै मैले घरमा डम्फू ल्याएर राखिसकेको थिएँ । त्यसपछि आफ्नो पहिचान र मौलिकताले भरिएको तम्बा हुँदै तामाङ धर्म संस्कार र संस्कृतिमा फर्कने निधोमा पुगेँ । 
पासाङदोर्जे मोक्तानज्यूसँग कुराकानी भयो । उहाँले पनि साह्रै सकारात्मक रूपमा लिनुभयो । गाउँले दाजुभाइले पनि मेरो कुरा बुझिदिनुभयो । सबैले स्वीकार्नु भयो । मैले पहिले आफ्नो धर्मको विरोध गरेर ख्रिश्चियनमा प्रवेश गरेको पनि थिइनँ । कसैलाई ख्रिश्चियनमा आउनु पनि भनिँन । आफू ख्रिश्चियनबाट फर्कदापनि अरू कसैलाई यता फर्कनु भनेर पनि भनिँन । 
म त आफ्नो पूर्खाको इतिहास र पहिचानको खोजीको क्रममा यता फर्केको हुँ । यदि म ख्रिश्चियन नै भएर बसेको भए मेरो इतिहास हराउने रहेछ । त्यसैले पूर्खाको इतिहासलाई निरन्तरता दिन र आफ्नो नाम पूर्खाको लाइनमा लेखाउन पनि तम्बामै फर्किएको छु । अहिले त जिल्ला तम्बाखोर रामेछापको अध्यक्ष पनि भएको छु । सबै साथीसँग मिलेर तम्बालाई अघि बढाउन म निरन्तर लागी पर्नेछु । 

आमा बुबाको फोवा, ङोवा र घेवा 
बुबा र आमाको स्वर्गारोहण भएपनि फोवा, ङोवा र घेवा गरिएको थिएन । त्यसैले लामागुरुहरूको उपस्थितिमा बुबा आमाको तस्वीर राखेर फोवा र ङोवा गराएको छु । उहाँहरूको सँगै बसेको तस्वीर पनि थिएन । आमाको एउटा मात्रै तस्वीर छिमेकीको परिवारसित बसेको अवस्थामा प्राप्त गरेँ । जुन तस्वीरमा आमाले हाइनेक लगाउनुभएको रहेछ । उक्त हाइनेक मैले नै भारतबाट ल्याइदिएको थिएँ । बुबाको तस्वीर भने नागाल्याण्डमा खिचाउनुभएको रहेछ । ती दुवै तस्वीरलाई जोडेर बुबा र आमाको एउटै तस्वीर बनाउन सफल भएको थिएँ । 
उहाँहरूको फोवा र ङोवामा गाउँका सम्पूर्ण दाजुभाइहरू जम्मा हुनुभएको थियो । पल्लोगाउँका इष्टमित्रहरूले हामी पनि आउँथ्यौं नि भन्दै हुनुहुन्थ्यो । काठमाडौंमा आएर बुबा आमाको नाममा ङोवा गराएको छु । चैत पूर्णिमामा बुबा र आमाको नाममा बौद्ध र स्वयम्भूमा बत्ती बालेँ । यसप्रकार मैले आफ्नो तर्फबाट सक्तो प्रयास गरेको छु जस्तो लागेको छ । 

SHARE