हिरामान बल तामाङ
हिरामान बल तामाङ

          नब्बे प्रतिशत तामाङ जातिको बाहुल्यता रहेको तेमाल क्षेत्रमा तामाङ लगायत नेवार, मगर, दमाई, बिश्वकर्मा, सार्की, ब्राह्मण, क्षेत्री लगयातका समुदायहरू बसोबास गर्दछन् । राज्यको विकाससँगै बाइसे र चौबीसे राज्यकालमा तेमाल पनि छुट्टै राज्यको रूपमा विकास भएको ऐतिहासिक प्रमाणहरू अहिले समेत भेटिन्छन् । तामाङ भाषा र संस्कृतिको अत्याधिक प्रयोग गर्ने र धनी तेमालमा ह्रेञ्जेनदोर्जे तामाङ राजाले आफ्नो राज्य पनि चलाएका थिए । तिनको पुराना दरबारहरू, कोटतेमाल दरबार, विभिन्न प्रशासनिक भवन साथै स्वागत द्वारका भग्नावशेषहरू अहिले पनि तेमालमा गएर हेर्न सकिन्छ । ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले सजिएको शान्त ती ठाउँमा गुरु पद्मसम्भव (गुरु रेम्पोछे) पनि पुगेका थिए । तिनले त्यसबखत तपस्या गरेको ठाउँलाई गेलुङ ऊ (गेलुङ ओडार) लगायत अन्य ऐतिहासिक धार्मिक स्थलहरू भगवानहरूले तपस्या गरेका ओडारहरू, गुम्बा, छयोर्तेन, कलिङ गाङ लागयतका ठाउँहरू तेमालमा गएर अझै पनि हेर्न सकिन्छ । तेमाल क्षेत्रमा विभिन्न खालको जडीबुटीहरूका साथै बहुमूल्य बुद्धचित्त माला तामाङ समूदाय लगायत तेमालको स्थानीय बासिन्दाहरूले खेती गर्दै आइरहेका छन् । विगत केही समयदेखि  बुद्धचित्त मालाको बजारीकरण चीन, थाइल्याण्ड, हङकङ, सिङ्गपुर, कोरिया, जापन, अमेरिका, भारत, भुटान, मलेसिया र बर्मा लगयातका देशहरूमा माग बढेपछि यो मालाको सुनको भन्दा पनि चौबर महङ्गोमा बिक्री वितरण भैरहेको छ । पछिल्लो पटक तेमालको सस्र्यूखर्क, कानपुर, बोल्देफेदिचे, मेच्छे, पोखरीनारायणस्थान, सरमथली, मङ्गलटार, खार्पाचोक, सिपाली, चापाखोरी, ठूलोपर्सेल लगायतका ठाउँहरूमा व्यावसायिक रूपमा नै खेती गर्न शुरू गरिसकेको छ ।

      तामाङ समुदाय तथा बौद्धमार्गीहरूले सदियौँदेखि संरक्षण र व्यावसयिक रूपले खेती गर्दै आएको बुद्धचित्त माला निर्धक्क रूपमा बिक्री वितरण र व्यवसाय गर्न पाउनु तिनीहरूको नैसर्गिक अधिकार हो । यो माला एउटै बोटको ३० देखि ४० लाखमा विक्री वितरण भैरहेको त्यहाँका किसान सङ्ग्राम तामाङले जानकारी दिनुभएको छ । बुद्धचित्त माला गाउँबाट काठमाडौँ ल्याउने क्रममा विभिन्न तरिकाले प्रहरी र नचिनिने युवाहरूले पैसा असुल्ने र दुःख दिने गरिरहेको किसानहरूले गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एस. पी. पूजा सिंहले भने, त्यसरी आफ्नो कर्मचारीहरूबाट दुःख दिने काम भएको भए तुरुन्त छानबिन गरेर करवाही अगाडि बढाउने समेत बताउनु भएको छ । यो माला काभे्रपलाञ्चोक जिल्लाको तेमालमा भन्दा विश्वको जुनसुकै कुनामा गएर खोजे पनि पाउन सक्तैन र संसारको जुनसुकै कुनामा लगेर यसको बिरुवा रोपेर उमारे पनि यसको फल लाग्दैन अथवा फल्दैन भन्ने जनविश्वास रही आएको छ । अन्य देशको त कुरै छोडौँ नेपाल अथवा काभ्रेपलाञ्चोक जिल्लाकै तेमाल आसपासमा समेत यो बिरुवा रोपेर फलाउन नसकिने त्यहाँका स्थानीयहरू बताउँछन् । 

       काभ्रेपलाञ्चोक जिल्लाको तेमाल तोङसोम कुण्ड, याङ्बेलमा तपस्या सकेर आफ्नो ठाउँमा फर्कने क्रममा पद्मसम्भाव (गुरू रिमपोछे)ले बुद्धचित्त मालाको बीउ रोप्नु पछि धेरै राम्रो हुन्छ भनेर उपहार स्वरूप छोड्नु भएको थियो । तामाङ भाषामा त्यहाँका ताम्बाहरूले गुरू रिम्पोछेसे तेर ख्लाबा भनेर डम्फुको तालमा तामाङ मौलिक सेलोगीत पनि गाउने गर्छन् । गुरू पद्मसम्भव अथवा (गुरू रेमपोछे)को शुरूमा तपस्या गरेको ठाउँ तेमालको गेलुङ ऊ, तोङ्सोम कुण्ड अहिले पनि हेर्न सकिन्छ । गुरू पद्मसम्भवले तेमालका तामाङ समुदायलाई सातौँ आठौँ शताब्दीमा नै आशीर्वाद स्वरुप रोप्न दिएको वनस्पती (बुद्धचित्तमाला) वनस्पती विभागले पनि भरर्खरै अनुसन्धान गरेको छ । यो भन्दा अगाडि बुद्धचित्त माला वनस्पती विभागमा पनि दर्ता नभएको वनस्पति विभागले जानएको छ । तेमालका तामाङ समुदायलाई गुरू पद्मसम्भवले छोड्नु भएको तेर (उपहार) पहिले प्रायः सबैले रोपेका थिए । तर बजार भाउ नभएपछि अरू बोट विरुवालाई असर गरेको भन्दै बीचमा धेरैले बुद्धचित्त मालाको बोट काटेर फालेका थिए । पहिले काम लागेन भनेर काटेर फाल्यो, अहिले धेरै भाउमा अरूले बेचेको देख्दा धेरै पछुताएकी छु; तेमाल सस्र्यूखर्क डहुन्हानकी माइली तामाङले बताइन् । 

      यस वर्ष कर बुझाएको तथ्याङ्कको आधारमा २१ हजार ४५ किलो बुद्धचित्त माला जिल्लाबाट बिक्री भएको वन कार्यालयका प्रमुख गणेश रायले बताए । बुद्धचित्त मालाको भाउ सुनको भन्दा चौबर भएपछि तीन वर्ष अगाडि अवैध भन्दै प्रशासन र वन कार्यालयले व्यापारी र किसानहरूलाई पक्राउ गरेर थुनेको थियो । आई. एल. ओ. १६९ को कुरा चर्को रूपमा सञ्चार माध्यम र व्यपारीहरूले उठाएपछि अहिले दुःख दिने काम बन्द भएको छ । हाल आएर जिल्ला वन कार्यालयले व्यापारीहरूलाई छोड्पुर्जी बनाउन लाएर एक किलो बरबारको १४० रुपैँया लिने गरेको व्यपारी बिकु थोकर तामाङले बताए । आई. एल. ओ. १६९ अनुसार हेर्ने हो भने यसरी जिल्ला वन कार्यालयले कर लिन पाउने अधिकार छैन । यस विषयमा जिल्ला वन कार्यालयका प्रमुख रायले भने व्यापारीहरूलाई सहज बनाउनको लागि छोड्पर्जी बनाउन लगाएको र कर लिने नगरेको बताएको छ । 

       बुद्धचित्त माला बुद्धका अनुयायीहरूले तपस्या आध्यात्मिक चिन्तन र शान्तिका लागि जप गर्न एक सय आठ वाट बुद्धचित्तको दानाबाट एउटा माला तयार पारेर बुद्धत्व प्राप्त गर्न ओम मनि पेमा हुँ, ओम मनि पद्मे हुँ, भनि प्रत्येक पलमा जप गरेर ध्यानमा बस्दै आएको पाइन्छ । यो माला वि.स.२०१९÷२० साल देखि व्यक्तिगत प्रयोजनका रूपमा मात्र प्रयोग नगरी व्यावसायिक रूपमा पनि उपयोग गर्दै आएको छ । बुद्धचित्त माला जति सानो दाना भयो त्यति नै अमूल्य रहेको छ । किनकी सानोमाला बनाउदा खोप्ने बाहेक अन्य कुनै औजार लगाउनु पर्दैन मात्र खोपेपछि माला तयार हुन्छ । अन्य औजारहरू प्रयोग नभएपछि माला फल लाग्दा बीचबाट सृष्टि हुँदा त्यहाँ महत्त्वपूर्ण तत्व हुन्छ । त्यो बुद्धचित्त माला प्रयोग गर्नेले बुद्धत्व प्राप्त गर्न पनि सक्छ भन्ने जनविश्वासका आधारमा झन महङ्गो हुँदै गएको हो । त्यसैले मालाको मुल्य पनि व्यापारीहरूले साइज अनुसार एउटा व्यापारीले किसानहरूसँग किन्ने गरेका छन् । ७ एम.एम.सम्मको १०८ ओटा बुद्धचित्त मालालाई ४ देखि ५ लाखसम्म बजार भाउ रहेको छ ।

      व्यापारीहरूले माला जम्मा गर्न आठ नौ महिना अगाडिदेखि एउटा बोटको एक दुई लाखसम्म बैना किसानको घर घरमै गएर छोड्ने गरेका पाइन्छन् । बुद्धचित्त टिप्ने समय भएपछि माला चोर्न आउँछन् भनि  बोटमुनि दिनरात आफू अथवा तलव दिएर हर्ने मान्छे राख्ने गर्दछन् । मालाको बोटमुनि कुर्न बस्ने मान्छे रातभर जाग्राम नै बस्ने गरेको व्यापारीहरूले जनाएका छन् । मालाको दाना टिप्ने समय भएपछि बीचबाटोमा प्रहरी र नचिनिने युवाहरूले दुःख दिन थालेकाले हेलिकप्टर चार्टर गरेर काठमाडौँ ल्याउने गर्छन् । 

       यूएनको जल, जङ्गल जडीबुटी र संस्कृति सम्बन्धि आदिवासीको अधिकार सुनिश्चित सम्झौता अन्तर्गत पर्दछ । यो सम्झौतामा नेपाल सरकारले पनि हस्ताक्षर गरेको छ । त्यसैले बुद्धचित्त माला अवैध वनपैदावार भन्न नपाउने आदिवासी जनजाति नेताहरूले बताएका छन् । जिल्ला वन कार्यालयबाट कर लिए पनि आदिवासी जनजाति नेताहरू किन मौन बस्यो त ? सरकारले आदिवासी जनजातिसँग गरेको सम्झौता बिर्सेकै हुन या पेलेको ? यो कुरा सम्पूर्ण आदिवासीले बुझ्न जरुरी देखिन्छ । सरकारी संरक्षणमा कुनै पनि वनमा यो बिरुवा पाउन सकिन्न । अब सरकारले आदिवासी जनजातिसँग आई. एल. ओ. १६९ मा गरेको सम्झौताको आधारमा हामी अगाडि बड्नुपर्ने अवश्यकता देखिन्छ । यसरी कडा रूपमा अगाडि बड्न सकेन भने अझै पनि आदिवासी जनजातिलाई सरकारले हेर्ने दृष्टिकोण फरक नै नरहला भन्न सकिन्न ।

SHARE