Khojraj Gole

– खोजराज गोले

१.  पृष्ठभूमि
तामाङ समाजमा ‘गोने ङ्ह्य’को अवधारणा कायम रहेको छ । ‘गोने’ले एउटा महिनाको नाम साथै ‘ङ्ह्य’ले ‘पूर्णिमा’ भन्ने अर्थ दिन्छ । यो पर्वकै दिन हिन्दूका जनै पूर्णिमा पनि पर्दछ । यो मासगत रूपमा साउन वा भदौमा पुग्ने गर्दछ । यसलाई तामाङले परम्परागत ज्ञान दिवसको रूपमा मान्दै आएका देखिन्छन् । परापूर्वदेखि मान्दै आएतापनि यो अवसरमा के-के गरिन्छन् ? कसरी मनाउने भन्ने सम्बन्धमा कतिपयलाई ज्ञात नभएको देखियो ।

कतिपयले त यस सम्बन्धमा स्पष्ट पार्न अनुरोध पनि गरेका छन्; तसर्थ ‘गोने ङ्ह्य’ बारेमा केही स्थानका तामाङ समाजमा प्रचलित परम्परालाई प्रस्तुत् गर्ने प्रयास गरिएको छ । यो लेख सम्पूर्ण तामाङ समाजको अध्ययनबाट निकालिएको होइन । यहाँ नसमेटिएका सूचनाहरू यहाँहरूले दिन सक्नुहुनेछ । विशेषगरी यो लेख बोन/बोम्बोसँग सम्बन्धित रहेको छ । लम (लामा)को पक्ष खासै उल्लेख गरिएको छैन । यसको अर्थ यो पर्व लमसँग जोडिएको छैन भन्ने होइन । लम सम्बन्धी प्रशस्त सामग्रीहरू पाइने हुनाले यहाँ उल्लेख गरेको छैन ।

‘गोने ङ्ह्य’ परम्परा कहिलेदेखि भएको थियो भन्ने प्रश्नको यकिन उत्तर दिन निकै गाह्रो छ । तैपनि, समाज विकासको क्रममा बोन मान्यताद्वारा यसको उद्विकास भएको मान्न कर लाग्छ । जब मानिसले पर्यावरणीय चक्रलाई चिन्न सक्ने भयो; तब बिस्तारै यसको उद्विकास क्रम चलेको सहज अनुमान लगाउन सकिन्छ । त्यतिबेलासम्ममा बोनको एक किसिमको विश्वदृष्टिकोण पनि बनिसकेको थियो । त्यही दृष्टिकोण र पर्यावरणीय वा ऋतु चक्रीय ज्ञानको संयोजनद्वारा यो पर्वको जन्म भएको भन्ने देखिएको छ । त्यहीँनेर अझै व्यवस्थित प्रस्तुतिका लागि अध्ययन, अनुसन्धानको पाटो खुल्ला रहेको छ । ‘पेठिम’ (कार्यविधिगत) रूपमा यहाँ चर्चा गरिएको छैन ।

२.  गोने ङ्ह्य साथै तामाङ विश्वास
‘गोने ङ्ह्य’ सम्बन्धी धेरै ज्ञानहरू छन् । ती सबै संरक्षणको अभावमा थलिएका छन् । जानेर वा नजानेर अर्काको भन्दै फाल्ने क्रमले तामाङको पहिचान नै समस्यामा फस्दै गएको छ । यस्तो विषम् परिस्थितिबीच पनि २०७० सालदेखि लोकोत्तर लोकवादी विचार समूहले यो दिनलाई ‘तामाङ ज्ञान दिवस’ तथा तामाङ ज्ञानको दीक्षान्त समारोहको रूपमा मनाउँदै आएको छ । तामाङ ज्ञान महोत्सव तथा सम्मेलन उक्त अभियानको लक्ष्य रहेको थियो । भर्खरै काठमाडौंमा ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ सम्पन्न भएको छ । यहाँ भने ‘गोने ङ्ह्य’ संस्कृतिलाई निम्नानुसार प्रस्तुत् गरिएको छ ।

क) गोने ङ्ह्य
‘गोने ल’ ठ्याक्कैमा साउन र भदौ महिनाको बीचौंबीचमा पर्दछ । यो मासको नाम कसरी ‘गोने’ रहन गएको थियो भन्ने प्रश्न उठ्न सक्छ । यसको बारेमा सर्वमान्य मान्यता स्थापित भएको पाइएको छैन । एकथरी विश्वास अनुसार ‘गो’ भन्नाले ‘ढोका’ हो । त्यस्तैगरी ‘ने’को अर्थ ‘तीर्थ/स्थल’ हुन्छ । यो मासमा देउताहरू गुफा बस्छन् । यही मासको पूर्णिमा तिथिको दिन भने गुफाबाट बाहिर आउँछन् । त्यसरी देउता गुफा बसेको स्थानको ढोका खोलिने हुँदा दर्शनका लागि पुग्छन् । यसैकारण महिनाको नाम पनि ‘गोने’ रहन गएको हो ।

ख)  गुफा परम्परा
‘गोने ल’मा ‘ल’ अर्थात् देउताहरू गुफा बस्ने हुनाले बोम्बो र लम (लामा)हरू पनि गुफा बस्ने प्रचलन रहेको छ । विशेषगरी लमहरू यो मासमा गुफा बस्छन् । गोने ङ्ह्यको दिन भने गुफाबाट निस्कन्छन् । त्यसदिन स्थानीय जिन्दा (जजमान)हरू लमलाई सगुनसहित लिन पुग्छन् । बढो धुमधामका साथै लमलाई गुफा बसेको स्थलबाट गाउँमा प्रवेश गराउँछन् । कतिपय स्थानका बोम्बोहरू पनि गुफामा बस्छन् । प्रायः बोम्बोहरू हप्ता दिन गुफा बसेका देखिन्छन् । गोने ङ्ह्यको दिन वा त्यसको दुर्इ दिनअघि नै निस्कन्छन् । बोम्बोलाई पनि स्थानीय जिन्दाहरूले लिन पुग्छन् ।

ग) बोम्बो परम्परा
गुफाबाट निस्केका बोम्बोहरू तीर्थस्थल (नजिकका महादेव मन्दिर वा कुण्डादि)मा पुग्छन् । बोम्बो र लमहरु चिहानमा गुफा बस्छन् । चिहानमा बस्नुको अर्थ भूतप्रेतलाई वशमा पार्ने ज्ञानको अभ्यास पनि हो । यही भएर कतिपय बोन (लबोन)हरू चाहिँ गुफा बस्दैनन् । उनीहरूका अनुसार चिहानमा गएर गुफा बसेपछि उसले ‘ल स्होबा’ अर्थात् देउकुलको पूजा गर्न पाउँदैनन् । ‘फो ल’को पुजारी हुनाका निमित्त भूतप्रेतलाई खेलाएको हुनु हुँदैन । ‘फो ल’ पूर्णतः ‘स्हिवा’ (सविनयता)मा आधारित हुन्छ तर भूतप्रेतलाई तह लगाउने काम चाहिँ ‘ठोवा’ (शक्ति प्रयोग गर्दै तह लगाउने वा दबाउने)को हुन्छ । त्यसकारण ‘लबोन’ हुँ भन्नेहरू चाहिँ गोने मासमा गुफा बस्दैनन् । तिनीहरूका ज्ञान गोनेभन्दा एक महिना अगाडिको बेल्बोमा नै साटासाट गर्दछन् ।

लबोनका लागि देउता वा कुनै शक्ति आफैँ आउनु वा उत्रनु पर्छ भन्ने हुँदैन । यो विशुद्ध देउकुलको विधा हो । यहाँ नैतिकता र सिद्धान्तको कुरा बढी हुन्छन् । जोकोहीले गुरुजनबाट ज्ञान लिएर लबोन हुन सक्छन् । यहीँनेर ‘लबोन’ र ‘बोम्बो’को भेद छुट्याउन सक्नुपर्दछ । लबोनलाई पनि ‘बोम्बो’ भन्न सकिन्छ तर ‘डेबोम्बो’हरू ‘बोम्बो’ मात्रै हुन् । ‘डेबोम्बो’लाई कहिल्यै पनि ‘लबोन’ भन्न मिल्दैन । यही भेद खुट्याउन नसक्नेहरूले नै बोम्बोमाथि तरह-तरहका प्रहार गर्दै आएका देखिन्छन् । यहाँ उल्लेख गर्न खोजेको चाहिँ ‘लबोन’हरूले गोने मासमा गुफा बस्दैनन् भन्ने हो । यद्यपि, केही स्थान विशेषमा भने ‘गोने’ मासमा चिहानमा गुफा बसेका बोम्बोले पनि ‘लबोन’को काम पनि गरेका देखिन्छ ।

तामाङ विश्वास अनुसार देउताहरू गोने मासमा गुफा बसेका हुन्छन् । त्यस अवधिमा बोम्बोले आफ्नो कुनै पनि बोन तथा बोम्बो विधिको अवलम्बन वा अभ्यास गर्दैनन् । यो मासभरिका लागि बोनका सम्पूर्ण सामग्रीहरू नचलाउने गरी बन्द राख्छन् । त्यसरी थन्काएका सामग्रीहरू गोने ङह्यको दिन मात्रै निकाल्छन् । बिहानै बोन वा बोम्बोहरू आफ्ना सामग्रीसहित कुण्डादिमा पुग्न्छन् । त्यसो नगर्नेहरु भने ढ्याङ्ग्रो बजाउँदै आफ्नो पँधेरोमा पुग्छन् । नुहाउँछन् । सामग्रीहरू धोइपखाली गर्दछन् । तितेपातीका मुण्टा(सेउला)हरूद्वारा आफू र सामानहरू चोख्याउँछन् । आफ्नै कान तथा ढ्याङ्ग्रोमा तितेपातीका सेउलाहरू सजाएर घरमा प्रवेश गर्दछन् ।

घ) फो लस्थापना तथा चनस्हुङराख्ने
‘गोने ङ्ह्य’को दिन लबोनद्वारा ‘फो ल’ (कुलदेउता जस्तै) स्थापना गर्दछन् । यसलाई ‘तिङ्दो फो ल’ तथा ‘ह्रुइरी बप्पा ह्रुइगी फो ल’ पनि भन्ने गर्दछन् । यसैलाई कुलदेउता पनि भन्ने गर्दछन् । यद्यपि, ‘फो ल’ र ‘कुलदेउता’को अवधारणामा फरक देखिन्छन् । तामाङ समाज ‘ह्रुइ’ परम्परामा आधारित रहेको छ । यसैका आधारमा दाजुभाइ, ङरु (स्वाँगे) साथै कुटुम्ब छुट्याउँछन् । ‘ह्रुइ’लाई नै ‘थर’ भनेर अर्थ्याउने गर्दछन् तर यी दुर्इ अवधारणाबीच आकाश र पातालको जस्तो फरक हुन्छन् । जेहोस् निश्चित ह्रुइहरू मिलेर तामाङ समाज बनेको हुन्छ ।

कुनै पनि व्यक्ति ‘तामाङ’ हुनाका लागि उसको ‘ह्रुइ’ चाहिन्छ । ‘ह्रुइ’लाई प्रमाणित गर्ने चाहिँ ‘ह्रुइगी फो ल’ हो । कतिपयले स्वाँगे भएपछि ‘ह्रुइगी फो ल’ मिलेको हुनुपर्छ भन्ने तर्क गरेका पाइन्छन् । त्यस्ता तर्क ‘ह्रुइ र ह्रुइगी फो ल’को अवधारणा नबुझेका मान्छेले गर्दछन् । स्वाँगेहरूका बीच ‘ह्रुइगी फो ल’ मिल्नु वा एकै हुनुपर्छ भन्ने छैन । स्थान विशेष फरक-फरक ‘ह्रुइगी फो ल’ मान्न सक्छन् । यहाँ भन्न खोजेको चाहिँ तामाङमा ह्रुइ हुन्छन् । ह्रुइसँग उसको ‘ह्रुइरी बप्पा ह्रुइगी फो ल’ हुन्छन् । ‘ह्रुइगी फो ल’ स्थापित गर्ने दिन पनि ‘गोने ङ्ह्य’ नै हो ।

‘ह्रुइगी फो ल’लाई प्रचलन अनुसार बोका वा भाले राख्दछन् । बोन शेरपहरू अनुसार पहिले हिमालीभेगमा रहँदा भेँडा राख्ने प्रचलन थियो । तल झर्दै आउने क्रममा भेँडाको सट्टा बोका राख्ने प्रचलन स्थापित गरेका थिए । अन्ततः दुर्इ वटा सिङ भएका कि नौ वटा सिङ भएका लिने भनेर देउतालाई सोधेका थिए । त्यतिखेर दुर्इ वटा सिङ हुने बोका त यत्रो छ भने नौ वटा सिङ भएको जन्तु कत्रो पो होला भन्ने ठानेछन् । त्यसपछि देउताले नै नौ वटा सिङ भएको लिने भनेछन् । मान्छेले चाहिँ भालेको सिउरको नौ वटा चुच्चोहरू गनेर देखाउँदै भाले बलि चढाउन थालेछन् । त्यसपछि भाले राख्ने प्रचलन बसेको हो । अहिले पनि ‘ह्रुइगी फो ल’ स्थापित तामाङ घरमा ‘चनस्हुङ’ भन्ने एउटा भाले राखेका हुन्छन् । ह्रुइ तथा स्थान विशेष कोहीले रातो त कोहीले सेतो रङका भाले राख्छन् । कतिले ‘चनस्हुङ’ बलि चढाउँछन् त कतिले बलि चढाउँदैनन् ।

कुनै पनि घरमा ‘फो ल’ स्थापित गरेको रहेनछ भने ‘गोने ङ्ह्य’कै दिन स्थापित गर्दछन् । सोही क्रममा ‘चनस्हुङ’ पनि राख्छन् । यदि घरमा ‘फो ल’ स्थापित छ तर कुनै व्यहोरावश ‘चनस्हुङ’ छैन भने गोने ङ्ह्यको दिनमा स्थापित गर्दछन् । केही गरी भाले बुढो भयो र नयाँमा सार्नुपर्ने भयो भने वा मर्‍यो वा हरायो भने पनि नयाँ राख्नुपर्ने भयो भने ती कार्य पनि सोही दिन गर्दछन् । नयाँ भालेमा सार्ने कार्य भने घरमा लबोन छैन भने घरमुली महिलाले पनि गर्न सक्छन् ।

ङ) नयाँ मकै चढाउने परम्परा
तामाङ गाउँहरूमा नयाँ मकै देउतालाई चढाउने पनि ‘गोने ङ्ह्य’को दिनमा नै हो । उनीहरूका विश्वासअनुसार नयाँ मकै उत्पादन भएपछि पहिले देउतालाई चढाउनुपर्छ । देउतालाई नचढाइ मानिसले खाएमा/जुठो पारेमा देउता रिसाउँछन् । त्यस्ता मानिसका कान काट्छन् । देउताले कान काट्दाखेरि कानको फेदमा काटिएको जस्तो देखिने गरी घाउ लाग्ने गर्दछ । त्यस्तैगरी नयाँ मकै (नवङ्गी) देउतालाई नचढाइकन मान्छेले खाएमा बालीमा रोग लाग्ने, मुसा, बाँदर, बँदेल र दुम्सी जस्ताका प्रकोप बढ्ने हुन्छ ।

केही गरी ‘गोने ङ्ह्य’अघि नै मकै पाकेमा वा भाँच्नुपरेमा मूलबारीको एक छेउको मकै भने जस्ताको त्यस्तै राख्छन् । देउताको नाममा त्यसरी राखेर पनि काम चलाउन सकिन्छ । गोने ङ्ह्यको दिनमा बारीमा स्थापित नाग-नागिनी, सिमेभूमे, देवदेवीलाई नयाँ मकै चढाउँछन् । त्यस्तैगरी गाउँमा रहेका देवदेवीका मन्दिरहरूमा पनि मकै चढाउँछन् । मकै चढाउने र त्यसको विधि पुर्‍याउने आख्तियार बोम्बोले पाएका हुन्छन् । त्यसदिन बिहानैदेखि गाउँतिर ढ्याङ्ग्रो बजाउने र पँधेरोमा गएर नुहाउँछन् । गाउँका मन्दिर क्षेत्रमा गाउँले जम्मा हुन्छन् र नयाँ मकै चढाउँछन् ।

च)  नयाँ मकै चढाउने परम्परासम्बन्धी र विश्वास
तामाङ विश्वास अनुसार अन्नबाली हुनुको मुख्य कारण स्थानीय झ्योहो/झ्योमो, सिप्दा, नेदा, लु, ङ्ह्यम्बु आदि हुन् । त्यस्तैगरी स्थानीय झ्योहो र झ्योमोहरूले पनि अन्नबाली लगायत गाउँको सुरक्षा र व्यवस्था कायम गराइरहेका विश्वास गर्छन् । तिनैका प्रतापले अन्नबाली सफल हुन्छन् । त्यसकारण पहिले अन्न (नवङ्गी मकै) सम्बन्धित शक्तिहरूलाई चढाउनुपर्ने हुन्छ । आफ्नो ‘फो ल’ तथा रिग्जेनहरूलाई पनि मकै चढाउनुपर्ने हुन्छ । यसको अर्को गुह्य पाटो पनि देखिन्छ; जुन प्रायःले वास्ता गरेका हुँदैनन् । बोन मान्यता अनुसार सर्वप्राणी समान र बराबर हुन्छन् । मानिसकै समान अन्यका पनि हकाधिकार हुन्छन् । यद्यपि मानिसले अनेक बहानामा अरूमाथि अन्याय गरिरहेका हुन्छन् ।

बोन विश्वास अनुसार एक दाना अन्न उत्पादनको क्रममा कैयौं कीराफट्याङ्ग्रा लगायतका प्राण लिएका हुन्छन् । खनजोत गर्ने, बीउ जोगाउने, गोडमेल गर्ने लगायतका बहानामा अनगिन्ती प्राणीका ज्यान लिएका हुन्छन् । धर्तीको छाती चिर्ने, खनीखोस्रने गरेका हुन्छन् । त्यसकारण ती नयाँ मकै उत्पादनका क्रममा मारिएका प्राणीका चित्त भडि्रहेका हुन्छन् । तिनले अन्नलाई पिरेर बसेका हुन्छन् । त्यसकारण देउतालाई नचढाइकन मानिसले खान मिल्दैन । जब स्थानीय सिप्दा, नेदा, लु, ङ्ह्यम्बु, ल साथै ‘फो ल’लाई चढाउँछन्; तब मारिएका प्राणीका चित्तहरूलाई सम्बन्धित शक्तिहरूले निश्चित स्थानमा पुर्‍याउँछन् । त्यसपछि बल्ल नयाँ अन्नपात सेवनयोग्य हुन्छन् । त्यसैले गोने ङ्ह्यमा नवङ्गी भनेर चढाउँछन् । यस्तै मान्यतानुरूप लमद्वारा चैत र कात्तिक-मङ्सीरमा सोइनम गर्ने प्रचलन रहेको देखिन्छ ।

छ)  बोम्बोको ब्रङ्गी
बोम्बो नै तामाङको मुख्य पहिचान हो । ‘गोने ङ्ह्य’को दिन बोम्बो विधिअनुसार घरको झिनङगू'(फुसङगू’)मा ‘ब्रङ्गी’ बनाउँछन् । हरिया मकैका घोगासहित भित्तोमा सजाउँछन् । बोम्बोको ‘ह्रास्या’ (माला)हरूद्वारा सजाउँछन् । सिल गर्छन् । नयाँ मकै ‘फो ल’लाई चढाउँछन् । दिनभरि ब्रङ्गी राख्छन् । ब्रङ्गीमा बोम्बोको बुम्बा, मोने, स्युक्पा पोइमा आदि राखेका हुन्छन् । त्यहीनेर गुन्द्री बिछ्याउँछन् । त्यहीमाथि बोम्बोहरू बसेर सिल गर्दछन् । लमको घरमा पनि दाजुभाइहरू जम्मा हुन्छन् । गोम्बो खडा गर्छन् । छुट्टै गोम्बो (गुम्पा/गुम्बा/गोन्पा/गोन्पो/गोन्बो) भवन भएका बस्तीकाहरू भने सोही स्थानमा जम्मा हुन्छन् ।

ज)  ज्ञान हस्तान्तरण प्रक्रिया
‘गोने ङ्ह्य’ भनेको तामाङ परम्परागत ज्ञान हस्तान्तरणको उत्सवमय दिवस हो । यसलाई तामाङ ज्ञान दिवस तथा दीक्षान्त समारोह भन्न सकिन्छ । यही दिने बोन/बोम्बोका गुरु तथा चेलाहरू जम्मा हुन्छन् । नयाँ गुरु र चेला पनि यही दिन बनाउँछन् । यही दिन शिक्षा दीक्षा दिन्छन् । विधिपूर्वक यही दिन मन्त्रादि दिए/लिएको राम्रो मान्दछन् । यो दिन सिकेको मन्त्र लाग्छ भन्ने जनविश्वास रहेको छ ।

यसको अतिरिक्त कतिपय बोम्बोहरू भने ‘गोने ङ्ह्य’भन्दा अघिदेखि नै गुफामा बसेका हुन्छन् । सोही बेला सारा ज्ञानहरू हस्तान्तरण गर्छन् । लमहरू पनि गोने महिनामा गुफा बस्छन् । आफ्ना गुरुद्वारा चेलाहरूलाई दीक्षित गर्दछन् । यसप्रकार बोम्बो र लम दुवैले यो दिनलाई ज्ञान दिवस तथा एक किसिमले दीक्षान्त समारोहको रूपमा मनाउँदै आएका देखिन्छ । त्यसरी शिक्षा दीक्षा दिने कार्य विशेषतः बोम्बो (उपचारक) साथै लम (पुरोहित)ले गरेका पाइन्छन्; जसमा तामाङपन झल्किएका हुन्छन् । लम गोम्बो वा सेड्राहरूमा फरक परम्परा रहेको हुन्छन् ।

तामाङ ज्ञान कसरी दिन्छन्/लिन्छन् भन्ने जिज्ञासा लाग्न सक्छ । खासमा बोम्बोहरूका अनेक ज्ञान हुन्छन् । ती ज्ञानहरू जतिखेर पायो; त्यति नै खेर भन्न वा बोल्न वा अभ्यास गर्न गराउन हुँदैन भन्ने जनविश्वास रहेको छ । त्यसकारण विधिवत रूपमा गुरु चेला स्वीकार गरेपछि मात्रै ज्ञान हस्तान्तरण प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । त्यसैले गुरु बोम्बोले आफ्ना चेला तथा चेलाका लागि योग्य व्यक्तिलाई लिएर गुफाको व्यवस्था मिलाउँछन् । त्यसक्रममा गुरु र चेलाको बीच सल्लाह गर्दछन् । सोही अनुसार तिथि मिलाउँछन् । साइत हेरेर विधिलाई पूर्णतः पालना तथा अवलम्बन गर्दै ज्ञान हस्तान्तरणको प्रक्रियामा प्रवेश गर्दछन् ।

त्यसक्रममा अनेक ‘दम’ (अनुशासन)को बनाएका हुन्छन् । गाउँदेखि पSर वा ओझेल परेका स्थानमा जान्छन् । जहाँ चिहान हुन आवश्यक मानिन्छ । अनेक शक्ति तथा व्यक्तिहरूद्वारा अनगिन्ती आक्रमणका प्रवलता रहन्छन् । त्यसैले ज्यादै सतर्क हुनुपर्ने हुन्छ । नयाँ चेलालाई देउता चढेर सताएको छ भने तिनलाई सक्षम बोम्बो बनाउने काम पनि यसै बखत हुन सक्छ । त्यसक्रममा आवश्यक सम्पूर्ण अभ्यास गर्ने, गराउने प्रचलन देखिन्छन् । थोरै मात्र असावधानीका कारण ज्यान जाने वा मानसिक सन्तुलन गुम्न सक्ने खतरा हुन्छन् । त्यसैले साह्रै सचेततापूर्वक ज्ञान हस्तान्तरण गराउँछन् ।

कतिपय ज्ञानहरू गुरुले चेलाहरूलाई एकसाथ राखेर हस्तान्तरण गर्न सक्छन् । कति त यस्ता ज्ञान हुन्छन्; जुन गुरुले चेलालाई एक एक जना राखेर एकान्त पारेर दिनुपर्ने हुन सक्छन् । कति ज्ञान चेलाले सक्ने वा नसक्ने जाँचेर दिनुपर्ने हुन्छन् । ग्रहण गर्न सक्छ भन्ने कुरामा गुरु विश्वस्त नभएमा दिँदैनन् । त्यसकारण चेलाको क्षमता जाँच गर्ने अवसर पनि मान्न सकिन्छ ।

यस्तैगरी ‘गोने ङ्ह्य’को दिन मात्रै चेलाका रूपमा आउन सक्छन् । ब्रङ्गीमा आएर रहर गर्न पनि सक्छन् । त्यस्तालाई भने गुरुले ‘ल कप्प’ (देउता चढाउने/लगाउने) गर्दछन् । त्यसरी ‘ल कप्प’ गर्दा कोही काँप्न वा नकाँप्न पनि सक्छन् । काँपेका मान्छे चाहेमा बोम्बो हुन सक्छ । नकाँपेका मान्छेले बोम्बो हुनै नसक्ने भन्ने चाहिँ होइन । त्यस्ता मान्छे ‘लबोन’ विधातिर लाग्नु राम्रो हुन्छ ।

३.  गोने ङ्ह्य र विश्वास
‘गोने ङ्ह्य’ सम्बन्धी परम्परागत विश्वास पाइएको छ । तामाङ समाजमा यसको विशेष महत्त्व कायम रहेकै छ । हरेक संस्कार तथा संस्कृतिहरूका पछाडि केही न केही विश्वास रहेकै हुन्छन् । गोने ङ्ह्य सम्बन्धमा पाइएका विश्वासहरूलाई निम्नानुसार हेर्न सकिन्छ ।

क)  देउतासम्बन्धी विश्वास
तामाङ बोन/बोम्बोलाई नै दैवीशक्तिको अवधारणागत निर्माता भन्दा खासै फरक पर्दैन । बोन शेरप अनुसार पृथ्वीको निर्माणअघि मुख्यतः तीन देवताका उदय हुन्छन् । तिनीमध्ये ‘ल छङ्बो’ले संसारको सृष्टि गर्छन् । यसप्रकार संसारमा देउताहरूका देखापरेका हुन्छन् । उद्विकासको क्रममा अनेकन् देवी देउताहरूका अवधारणा विकासित भए । तामाङ मान्यता अनुसार ती सबै देवी देउताहरू ‘गोने’ मासको एक महिनाभरि गुफा बस्छन् । त्यसकारण देव तथा शुभ कार्यहरू यो महिनामा गर्दैनन् । कसैले गरेछन् भने पनि फल मिल्दैन । ‘गोने’ मासलाई अशुभ मान्छन् । यो मध्यवर्षात्को मास पनि हो ।

यही विश्वासका कारण बोन तथा बोम्बोले आफ्ना सामग्रीहरू यो महिनाभरि खोल्दैनन् । जब ‘ङ्ह्य’ पूणिर्मामा पुगेर मसान्त हुन्छ; तब बल्ल सोही अवसरमा बाहिर निकाल्छन् । बोन/बोम्बो आफैँ नुहाई धुवाई गर्छन् । आफ्ना सामग्रीहरू सफा गर्दछन् । यसका लागि सके गोसार्इँकुण्ड जान्छन् (यस सम्बन्धमा गोले बोम्बोसँग जोडिएको चर्चित मिथक पनि पाइएको छ) । नसक्नेहरू नजिकका कुण्ड वा महादेवका मन्दिरमा पुग्छन् । त्यो पनि असम्भव भएमा आफ्नो पँधेरोमा पुग्छन् । विधिपूर्वक नुहाई धुवाई गर्दछन् ।

ख)  बोम्बो र मन्त्र सम्बन्धी विश्वास
‘गोने ङ्ह्य’ बोन तथा बोम्बोसँग सम्बन्धित पर्व हो । यही बेला बोम्बोका मन्त्रहरू सिक्नु र सिकाउनु राम्रो हुन्छ । झारफूक गरेका बेला ठ्याक्कै लाग्छ । यो दिन देउताहरू गुफाबाट बाहिर निस्केका हुन्छन् । एक महिना लामो गुफाबासबाट उत्रेका देउताहरू निकै शक्तिशाली हुन्छन् । आफ्ना गुरुबाट मन्त्र लिँदा पनि देउताहरूबाट लिएसरि हुन्छन् । त्यसैले वर्षभरिमा मन्त्र लिने वा सिक्न चाहानेका लागि यो सबैभन्दा उत्तम दिन मानिन्छ । यसका लागि बोन विधि अनुरूप गुरु थाप्ने तथा मन्त्र दिने प्रचलन रहेको छ ।

ग)  जडीबुटीसम्बन्धी विश्वास
तामाङ बोन/बोम्बो पनि मुख्यतः तीन प्रकारका हुन्छन् । तिनमा (१) लबोन, (२) डेबोम्बो र (३) अम्ची पर्दछन् । आज पर्यन्त पनि तामाङ समाजमा जडीबुटीका प्रचलन पाइएका छन् । प्रायःजसो जडीबुटीद्वारा नै उपचार गराउँछन् । बोम्बोहरूले पनि झारफूकका साथै जडीबुटी चलाइरहेका हुन्छन् । यद्यपि, यिनीहरूका प्रशोधन प्रक्रिया भने परम्परागत स्वरूपमै रहेका पाइन्छन् ।

जडीबुटीहरू सिधै प्रकृतिबाट लिन मिल्दैन । सामान्य ठानी कसैले लिएमा ऊ दोषी हुन्छ । त्यसैले सङ्कलनअघि सम्बन्धित पक्षलाई आह्वान गर्दछन् । अनुमति लिएपछि बल्ल सङ्कलन गर्दछन् । त्यसक्रममा पनि तिथि तथा वार (बार) हेर्दछन् । सङ्कलकको ल्हो साथै जन्म बारले पनि औषधीको प्रभावकारितामा फरक पार्दछ । त्यसैले सङ्कलन गर्न सक्ने र मिल्ने क्षमता भएकाले विधिपूर्वक सङ्कलन गर्दछन् । कतिपय जडीबुटीहरूका सङ्कलन मौसमी हुन्छन् । कति जडीबुटी सङ्कलन गरेर वर्षभरिका लागि जोहो गर्नुपर्ने हुन्छ ।

गोने ङ्ह्यमा नै ‘कुटुम्’ (सिलटिमुर) र ‘प्रुमा’ (टिमुर)का मौसममा पर्दछ । यो दिन सङ्कलन गरिएका जडीबुटीहरु खूब लाग्ने हुन्छन् । त्यसैले गोने ङ्ह्यको दिन ती जडीबुटीका सङ्कलन गर्दछन् । ‘कुटुम्’का ताजा दानाहरू धागोमा उनेर माला बनाउँछन् । त्यसैका माला लगाउँछन् । त्यसरी लगाउनाले ह्यमह्रिम (भाइरल/मौसमी रोगव्याधि)बाट जोगिन्छ भन्ने विश्वास गर्दछन् ।

घ)  घरपालुवा पशुपङ्क्षी सम्बन्धी विश्वास
‘गोने ङ्ह्य’सँग घरपालुवा पशु तथा पङ्क्षी पनि जोडिएका हुन्छन् । यो दिनलाई कुखुराको विशेष चाड मान्दछन् । त्यसैले थुनेर राख्न पाइँदैन र खुल्ला रूपमा छोड्नुपर्ने हुन्छ । यो दिन कुनै पनि व्यहोरामा कुखुरा मार्न पाइँदैन । यसलाई कुखुराको ‘म्हेनङ’ पनि भनेका पाइन्छन् । यस्तैगरी घरपालुवा भैँसी, गाई तथा बाख्राहरूलाई हरियो खरको डोरो लगाइदिन्छन् । त्यसरी लगाइदिने डोरोलाई ‘कल्डी’ पनि भन्दछन् । ‘कल्डी’ भनेको एक प्रकारको माला आकारमा बाटेको डोरी हो । ‘कल्डी’ लगाइदिनाले बस्तुभाउ सुरक्षितसाथै दुधालू हुने जनविश्वास पाइन्छ । यसप्रकार पशुपङ्क्षीका लागि वर्षमा एकदिन भएपनि चाडको रूपमा स्थापित गराएका देखिन्छन् ।

ङ)  मौसम परिवर्तन
गोने ङ्ह्य अर्को अर्थमा ऋतु/मौसमी परिवर्तन पनि हो । यसपछि हिउँद लागेको मानिन्छ । यो दिनदेखि गौँथलीहरू समेत गाउँबाट हराउँछन् । यसपछि ‘ह्वरीस्हुङ’को बाटो खुल्छ । यही दिनदेखि घाम धेरै चर्को हुन्छ । भनिन्छ; यसपछि एन्दे (भदौ) लाग्छ । एन्दे लागेपछि पाँच वर्ष बूढो राँगाको छाला पनि एकै दिनको घामले पूरै सुकाउँछ । गोने ङ्ह्यकै दिन घरमा भएका लुगाहरु सुकाउँछन् । गोने मासमा तामाङले ‘सर्प’लाई पुख्री’ अर्थात् ‘सर्प’ भन्दैनन् । यदि ‘पुख्री’ उच्चारण गर्नैपर्ने भयो भने पनि ‘कडी’ (कठी/लौरो) भन्दछन् । एन्दे लागेपछि ‘लङै’ (काँक्रो)लाई पनि ‘खसी’ भन्दछन् । काँक्रो भन्नु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।

४.  थप संस्कृति

क) घर छाउने
गोने ङ्ह्यको अवसरमा घर छाउने प्रचलन कायम रहेको देखिन्छ । अघिल्लो साँझमा नै ‘ग्रङसो’ (एक प्रकारको खरजस्तो वनस्पति) र तितेपातीका साना बिटो बाँधेर घरगोठका छानामा पुर्‍याउँछन् । त्यसको अर्थ प्रतीकात्मक रूपमा घरको छाना छाएको भन्ने हुन्छ । कतिपय स्थान (विशेषतः मकवानपुर)मा भने तितेपाती र ग्रङ्सोका अतिरिक्त ‘टपटप म्हेन्दो’को पनि प्रयोग गर्दछन् । तामाङको घर प्रायः खरले छाएका हुन्छन् । खर पनि चार प्रजातिका हुन्छन् । तिनमा बोम्बोले’, ग्रङ्सो, सल्गी (सो), र पङ्बे पर्दछन् । ‘ग्रङ’को अर्थ असली भन्ने हुन्छ । यसप्रकार ‘गङ्सो’ भन्दा ‘सो’को पनि असली चाहिँ भन्ने हुन्छ । तामाङका नाम पनि ‘ग्रङ र ता’sबा मिन’ भन्ने हुन्छन् । असली नामलाई ‘ग्रङ मिन’ साथै उपनामलाई ‘ता’sबा मिन’ भन्दछन् ।

ख) ह्वरीस्हुङ
‘ह्वरीस्हुङ’ तामाङ बोम्बो संस्कार अन्तर्गतको एक पूजा हो । ‘ह्वरी’ले बारी साथै ‘स्हुङ’ले भाकेर राखेको बलिपूजा भन्ने अर्थ दिन्छ । यसप्रकार बारीमा नयाँ मकै पाकेपछि ‘गोने ङ्ह्य’मा चढाउँछन् । त्यसरी चढाएपछि झ्योहो, स्थानीय रक्सी (वनझाँक्री) लगायतलाई नयाँ फसल भित्र्याएको शुभअवसरमा बलि सहित नयाँ मकै चढाउने क्रम नै ‘ह्वरीस्हुङ’ हो ।

यसक्रममा शुभदिन पारेर पूजा गर्दछन् । पूजाको लागि बिहानभरि लाग्दछ । यो परम्परा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ७ चालिसेमा अद्यावधिक रहेको छ । बोम्बोद्वारा गरिने बलिपूजामा पनि ‘सङ्सी’ र ‘असङ्ना’ गरी दुर्इ किसिमका हुन्छन् । यो चाहिँ सङ्सी गर्ने पूजा हो । भाका हालेर लयबद्ध रूपमा गाउँदै पूजा सम्पन्न गर्नुपर्ने हुन्छ । यसक्रममा झ्योहो लगायतका बुझूहरू पनि बनाउँछन् । यही भएर ‘झ्योहोस्हुङ’ पनि भन्ने गर्दछन् । विशेषतः नयाँ मकै पाकेको अवसरमा स्थानीय झ्योहोलाई चढाउने पूजा नै ‘झ्योहोस्हुङ/ह्वरीस्हुङ’ हो ।

तामाङ मान्यताअनुसार अन्नबाली सफल हुनुमा झ्योहो/झ्योमो साथै नेदा सिप्दाहरूका हात रहेका हुन्छन् । त्यसैले सम्बन्धित शक्तिहरुका पूजा आराधना आवश्यक हुन्छ । त्यस्तैगरी ‘ह्वरी’ अर्थात् बारीमा मकै लगायतका अन्नहरू उत्पादन सम्भव भएका हुन्छन् । तसर्थ बारीका अन्नबालीहरू उत्पादन भएपछि गरिने पूजा भएकोले ‘ह्वरीस्हुङ’ भनिएको हो । खेतमा उत्पादन भएपछि ‘बोइतापा ङ्ह्य’ (मङ्सीरे पूर्णिमा)मा अर्को पूजा गर्दछन् । खीर बनाएर देउतालाई चढाउँछन् । ‘ह्वरीस्हुङ’अघि नै ‘फो ल’ लगायतका देउताहरूलाई नयाँ मकै चढाइसकेका हुन्छन् । ‘ह्वरीस्हुङ’ गर्नुपर्नेले त्यसपछि पनि विशेषतः करेसाबारीको एक छेउमा मकैका केही बोट जोगाएर राखेका हुन्छन् । तिनै मकै भएकै स्थानमा केही भाँचेर छिलेर त केही चाहिँ सद्दे नै राखेर पूजा गर्दछन् ।

५.  बिट मार्ने
तामाङको ‘गोने ङ्ह्य’ भन्ने पनि कतिपयले बिर्सिसकेका छन् । कतिले त हिन्दूका मात्रै भन्ने किसिमले जिम्मा लगाउन खोज्दैछन् । तथ्यतः ‘गोने ङ्ह्य’ तामाङको परम्परागत ज्ञान दिवस हो । दीक्षान्त समारोह पनि हो । तामाङ मौलिक ज्ञानको दिन हो । तामाङ भनेर चिनाउने पहिचानको एउटा कोशेढुङ्गो हो । यस्ता कोशेढुङ्गाहरू धेरै छन् । तिनका पहिचान, संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन आजको पहिलो आवश्यकता हो । तसर्थ, आफ्नोलाई चिनौं । पुर्खाका विरासतलाई नभुलौं । आफ्नो मौलिकतालाई बोझको रूपमा नलिऔं । तामाङ भएर तामाङलाई स्थापित गराऔं ।

। लस्सो ।

Comments

comments

SHARE