मुख्मा बोली फुटेदेखि हजारौं पटक सोधें
मेरो अापा र म्हेमे खोइ भनेर
हजुर मलाई हुर्काउन कै निम्ति
नुन लिन निस्केदेखि फर्किनु भएन ?
अामाले माबर सैलुङको सिस्नो गीट्ठा र
जरुवाको पानी संग साटेको
दशधार दूध चुसाउदै
हजुरले छोडेको वचन सुनाउदा
म सुनकाेशी भएर बगें ।
हजुले मेरो लागि छोडेको
टोक्मा नाम्लो डोको र अोडारको शब्द बाटेर
बत्तिस किला ठोकेको डम्फू बजाउँदै
टुहुरा जिवनको लय हालेर
अकाशले थिचेको पिडाहरु
खुबै गीत बनाएर गाएँ
तर कसैले सुनेन ।।

हजुरको मृत्यु दर्ता गर्ने प्रमाण
सर्जिमी गर्न हजुरकै तस्बिर टाँसेको
हजुरको अौंठाछाप लाएको नागरिकता नभएकोले
म पनि देशको नागरिकता बिहीन
एक बेनामी मुर्दाझैं
कतै जोडिएर खरानी हुन नसकेर
टोटलाको फूल झै चेप्टिएर
तामाङ जीवन बाँचिरहेको छु
ती ढुङ्गे युगकै झल्को अोढेर
ताउ ढुङ्गा र (दुर्शा) चिहान
अंगालेर हजुरको तस्बिर खोजिरहेकोछु
बुबाको मुख हेर्ने पर्बको दिन ।।

जो हराउँदै छ मेरो सदस्य
उ नागरिकता लिएको दिन देखि
उ भाषा बदल्छ गाउँ छोड्छ ।
पासपोर्ट लिएदेखि
जात र धर्म पनि बदल्छ
उ राजनीतिक पढेपछि
उ अाफू सबै-सबै बदल्छ
हवाई जहाज चडेपछि
गयर जिन्दगी बाँच्छन् उ
अाफ्नो अस्तित्व हराए पछि
म खोज्दैछु अापा म्हेमे तिम्रो दुर्शा भित्रको हाडखोर अस्तुको डियन ए भेटे पछि
तिमिले फाटेको लाखौं
तिम्रा पाइला पडेपछि
अाफ्नै भाषा भेष देश
सिङ्गारे पछि
अाफ्नै उन्मुक्त सन्सार
बनाउछु म मेरो
खोसिएको मुटु भेटियपछि ।।

-फूल कुमार बम्जन

Comments

comments

SHARE