१४ भदौ, काठमाडौं । स्रष्टा निरूभक्त वाइबाद्वारा लिखित ‘ग्ले तगुर’ नामक कृतिको विमोचन गरिएको छ । गन्बा मणि पाख्रिन रहनुभएको कार्यक्रमको प्रमुख अतिथि डा. मुक्तसिंह थोकरले कृति विमोचन गरेका हुन् । कार्यक्रममा वाइबा वंश समाजको उपाध्यक्ष ज्ञानसिंह वाइबा, तामाङ पत्रकार सङ्घको केन्द्रीय अध्यक्ष बिष्णु मोक्तान, तम्बा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष धावावाङ्गेल मोक्तान रहेका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ तम्बा विभागको अध्यक्ष पासाङदोर्जे मोक्तान, तामाङ स्रष्टा समाजको संरक्षक नेपालप्रसाद स्याङ्दन, नाङ्साल क्लब नेपालको महासचिव राम बी. लामा ‘लर्ग्य्रुङ’ साथै सैलुङ अनलाइनको सम्पादक इन्द्र घिसिङ लगायतको समुपस्थिति रहेका थिए ।

स्रष्टा निरूभक्त वाइबाले लेख्नुभएको नाटक कृतिको नाम ‘ग्ले तगुर’ (म्हेसे चबा ग्यल्सा) रहेको छ । लेखकले नाटक मार्फत् तामाङ चोहोको सामू उभ्याएको छ । कथा सुनाएको छ । ग्ले तगुरको दरबार चिनाएको छ । दरबारका पात्रहरूसँग साक्षात्कार गराएको छ । तत्कालिक समयमा पुर्‍याएर शिकार खेलेको दृश्य देखाएको छ । शाह वंशीय शासकहरूले उठाएको झगडालाई समेटेको छ । दरबारमा बसेको राजसभा र क्रियाकलाप प्रष्ट शब्दमा उतारको छ । अन्ततः शाह वंशीय शासकसँग भएको विभत्स लडार्इँको दृश्य पस्केको छ । त्यसपछि भत्किएको सेमजोङ/डप्जोङ दरबारलाई माsssथि मिख्लीगङसम्म ल्याइपुर्‍याएको छ । नाटकमा दोजिया बुहारीद्वारा नाती राजकुमार जन्माएको हुन्छ ।

सुत्केरी र रानी सिलिक्मोका आँखाबाट वियोग र हर्षको संयुक्त आँशु बर्साएको छ । हेर्दा-हेर्दै नाती राजकुमार जवान हुन्छ । उसको पनि विवाह हुन्छ । नाती राजकुमारलाई तिनकी आमाले दरबारको दर्दनाक अन्त्यको कथा सुनाउँछ । नाती राजकुमारले आफ्नो भूमि फिर्ता लिने कसम खाएको छ । ताम्सालिङको लागि खुकुरी उठाएको छ । यसप्रकार नाटक पूरा हुन्छ । यो ऐतिहासिक घटनाक्रममा आधारित नाटक हो ।

नाटकले ताम्सालिङ ओपेरा हाउस सिर्जना गरेको छ । वैदेशिक रोजगारीमा पुगेर फर्केको युवा र गाउँमा रहेकी नवयौवनासँगको वार्तालाप पस्केको छ । म्हेन्दोमाया, म्हनीदोरा र साइकोले गाएको छ । लिपिको कुरा उठाएको छ । म्हेनिङको अवसरमा आयोजित कार्यक्रम हुँदै फ्ल्यासब्याकमा पुर्‍याएको छ । आसा (आदिवासी साहित्य) अभियानसँग सम्बन्धित स्रष्टा वाइबा आफैँ लोकोत्तर लोकवादी विचार समूहको प्रवर्तकहरूमध्येको एकजना हुन् ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डा. मुक्तसिंह थोकरले, कृतिको शीर्षक नै ‘ग्ले तगुर’ सँगै ‘म्हेसे चबा ग्यल्सा’ राखिएको प्रसङ्ग उठाएका छन् । प्रमुख अतिथि डा. थोकरले नाटक एक किसिमले गाई गोरुको प्रसङ्गसँग पनि जोडिन पुगेको बताएका छन् । अहिले पनि धेरै सङ्ख्यामा तामाङहरू गौबधको सजाय भोगिरहेका छन् । ऐतिहासिक तथ्यलाई हेर्दा सेमजोङका वाइबा राजा र शाहवंशका बीच भएको झगडाको जरिया पनि गौबध नै रहेको देखिन्छ । सोही बेलादेखि नै तामाङले गौबधको मुद्दा खेप्तै आएको छ ।

यतिसम्मन् हुँदा पनि तामाङले गौमांस खान छोडेका छैनन् । जस्तै मुद्दा मामिला तथा अन्याय सहनु परेपनि यसरी गौमांस खान नछोड्नु सामान्य कुरा होइन । गन्बा मणि पाख्रिनका अनुसार वैदिक हिन्दूमा गोमांस परम्परा कायम थियो । यो कृतिले पनि गोमांस प्रचलनलार्इ उठाएकोले कृति शक्तिशाली बनेको छ ।

तामाङको राज्य तथा राजाहरू रहेका धेरै प्रसङ्ग तथा मिथकहरू पाइन्छन् । तिनै मध्येको वाइबा ह्रुइको राजा ‘तगुर’ र तिनको राज्य साथै चोहोको अहिलेसम्म रहेका अभ्यासलाई स्रष्टा वाइबाले नाटकको रुपमा प्रस्तुत् गरेका छन् । कृति आजैदेखि उपलब्ध भइसकेको छ । तामाङको ऐतिहासिक पक्षका बारेमा अध्ययन गर्न चाहने तथा अनुसन्धान गरिरहेका अनुसन्धाताहरूका लागि उपयोगी कृति बनेको छ । पुस्तक एस.सि.आर.सि. ले प्रकाशन गरेकाे हाे ।

Comments

comments

SHARE