काभ्रे / नाम्सादिम । लगातारको अविरल वर्षापछि काभ्रे जिल्लाभर झन्डै ४० परिवार थातथलो छाड्नुपर्ने अवस्थामा आएका छन् । जिल्लाको मण्डन देउपुर – १० ज्याम्दीका २० परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

गत बुधबार विहान स्थानीय हेमबहादुर तामाङको घर पहिरोले पुरिदा उनका १८ महिने छोरा दिपक तामाङको थिचिएर मृत्यु भएको थियो । त्यस्तै जिल्लाको भुम्लुगाउपालिका १ सापिङ, रिठ्ठेदेउरालीमा १५ दलित परिवार विस्थापित नै भइसकेको छ ।

भुम्लु गाउँपालिका १ रिठ्ठेका सन्तबहादुर नेपाली मंगलबार रातभर सुत्न नपाएको बताएका छन् । उनका छिमेकी डम्बर श्रेष्ठ भने बालबच्चा च्यापेर राति नै सुरक्षित चौर खोज्दै निस्किन सफल भएका थिए ।

सन्तबहादुर र डम्बर मात्रै होइन्, यहाँका १५ परिवारलाई मंगलबार राति १० बजेपछि बाँचिन्छ भन्ने कुनै आशा थिएन । ‘हामी त अब बाच्यौं हाम्रा पशु चौपायाको हविगत के भयो कुन्नी !’ स्थानीय भद्रबहादुर श्रेष्ठले दुःख पोखे ।

जोखिममा रहेकाहरुलाई स्थानीय प्रशासनको सहयोगमा सेतीदेवी माविमा राखिएको र अन्य ५० परिवारलाई सुरक्षित स्थानमा लैजान पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अति संवेदनशील स्थानको पहिचान गरी उच्च सतर्कतामा बसेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सञ्चार माध्यमहरूलाई बताएका छन् । उनले भनेका छन् – ‘हामीले जोखिम, उच्च जोखिम स्थानमा सुरक्षा निकायको परिचालन र घटना हुन नदिन विशेष सर्तकता अपनाइरहेका छौं ।’

जिल्ला प्रहरी प्रमुख रविराज खड्काका अनुसार जिल्लामा बाढी र पहिरोबाट हुन सक्ने क्षति र त्यस पछिको उद्धारका लागि प्रहरी अलर्ट छ, भुम्लु, ज्याम्दी लगायतका स्थानमा प्रहरीले केही परिवारलाई स्थानान्तरण गरिसकेको छ ।

Comments

comments

SHARE