१. तामाङ गोइलो
तामाङ राष्ट्रको आफ्नै गोइलो (पोशाक) रहेको छ । यससम्बन्धी उसको आफ्नै बुझाई, मान्यता र दृष्टिकोण विकास भैसकेको छ । प्रशस्त कथा र विश्वासहरु बनिसकेका छन् । गोइलो भनेको जाति, समुदाय, राष्ट्र तथा पदीय पहिचानको आधार पनि हो । पहिचानको आधारका रूपमा (१) भाषा, (२) गोइलो, (३) संस्कृति, (४) भूमि, (५) इतिहास, (६) अन्यसँग नमिल्ने फरकपन, (७) विश्वास पद्धति, (८) साहित्य, (९) कला, (१०) ज्योतिषशास्त्र/पात्रो, (११) विविध शास्त्रसहितको विश्वदृष्टिकोणसमेतलाई लिन सकिन्छ । यसको अतिरिक्त तामाङको लागि मुख्य पहिचान भनेको ‘ह्रुइ’ हो । यसैलाई ‘थर’ भनेका हुन्; यद्यपि यी दुर्इ शब्दबीच फरक रहेको छ । ह्रुइसँग ‘ह्रुइगी फो ल’ सहितको मौलिक विश्वासपद्धति र संस्कृतिको आवश्यकता पर्दछ । यसपछि मात्रै भाषा र गोइलोको लगायतका पक्षहरू आउने गर्दछन् ।

तामाङ समुदाय वा राष्ट्र पनि हो । यो आफैँमा भाषा पनि हो । यसको आफ्नै बोन र बौद्ध (निङ्मा लामा) सहितको तम्बा संस्कृति रहेको छ । हिन्दू, मुस्लिम वा ख्रिश्चियन भएकालाई धार्मिक रूपमा बाहिरीया मान्ने गरेका छन् । कतिपयले तिनलाई पनि तामाङ भन्नु वा मान्नुपर्ने तर्क गर्दै आएका छन् । माथि नै भनेजसरी सर्वप्रथमतः तामाङको लागि ‘ह्रुइ’ र ‘फो ल’ चाहिन्छ । बोन विश्वासपद्धति (धर्म)लाई छोडेपछि ‘फो ल’को कुरा रहँदैन । ‘फो ल’ नभएपछि ‘ह्रुइ’ नरहने हुनाले त्यसपछि ‘ह्रुइ’ लेखिरहनुको कुनै अर्थ हुँदैन । ‘ल स्होबा’को बेलामा (म्हेनङ/म्हेनिङ, बैशाखपूर्णेमा गरिने ‘स्हिवा म्हण्डल’मा समेत) गैरतामाङ भाषामाथि प्रतिबन्ध लगाएका देख्न सकिन्छ ।

गोइलोको पक्षलाई हेर्दाखेरि- मौसम, स्थान तथा अवसर/अवस्था वा पद्वी (बोम्बो, लामा, तम्बा आदि)का आधारमा फरक देखिन्छन् । गोइलोमा महिला, पुरुष, बालबालिका साथै वृद्धवृद्धामा केही अन्तर रहेको छ । गोइलो अन्तर्गत नै ‘गोजा’ (खुकुरी) पनि पर्दछ । यो विषय कतिपयका लागि अनौठो वा होइन भन्ने पनि हुन सक्छ । तथापि तामाङ गोइलोमा ‘गोजा’ बिना अधूरो मानिन्छ । ‘गोजा’सँग प्रशस्त विषयवस्तुहरू जोडिएका हुन्छन् । यो पक्षलाई पछिल्लो समय पूर्णतः नजरअन्दाज गर्न थालेका छन् । यहाँ तामाङ गोइलो अन्तर्गत ‘गोजा’लाई समावेश गर्दै त्यससम्बन्धी केही चर्चा गर्ने प्रयास गरेको छु ।

२. गोजा (खुकुरी)
‘गोजा’ नाम तामाङ भाषाबाट लिइएको हो । यसैलाई नै खुकुरी भन्ने गर्दछन् । खुकुरीलाई नेपाली (गोर्खाली)को शान र मुख्य हतियारको रूपमा लिने गरेका पनि छन् । अन्य जाति, समुदाय वा राष्ट्रले कसरी लिएका वा बुझेका छन् भन्ने बारेमा यहाँ चर्चा गरिनँ । तामाङ राष्ट्रमा यससम्बन्धी थुप्रै तथ्यगत बुझार्इ, विश्वास, मान्यता साथै दृष्टिकोण भेटिएकाले प्रस्तुत गर्ने जमर्को गरेको छु । यसक्रममा अनलाइनमा प्राप्त सामग्रीहरूलाई पनि सकेसम्म सन्दर्भ सामग्रीका रूमा लिएको छु ।

२.१ खुकुरीको प्रकार र अङ्गहरू
खुकुरी एक किसिमको ‘ल्हाजे’ अर्थात् हतियार हो । खुकुरीको आकार हेर्ने हो भने ‘केही घुमेको र बीचमा थोरै नुहेको’ (पराजुली, ”नेपाली बृहत् शब्दकोश,” ३०२) हुन्छ । यसको शुरूवात कहिले कसले गरेको भन्ने सम्बन्धमा एकीन गर्न सकेको देखिँदैन । यद्यपि, एक मत अनुसार इस्वीको चौथो शताब्दीताका अलेक्जेण्डरसँग भारतमा प्रवेश गरेको थियो । तिनमा पनि म्यासेडोनियनहरुले चलाएका थिए । पछि स्थानीय कामीहरूद्वारा खुकुरी निर्माण गरेका थिए । अर्कोतिर यस्ता हतियारसम्बन्धी अध्ययन गरिरहेकाहरूका अनुसार भने जापानमा प्रचलित पुरानो तरबारको शैलीबाट खुकुरी बनाएको देखिन्छ । नेपालमै भने मल्लकालमा यसको विकास गरेको भनेका छन् । छाउनीस्थित म्युजियममा पाँचसय वर्ष पुरानो खुकुरी राखिएको छ । नेपालमै प्रचलित अर्को मत अनुसार खुकुरीको शुरूवात अलेक्जेण्डरका सेना वा जापानी तरबारबाट विकास गरिएको होइन । त्यस्तैगरी मल्लकालमा विकास गरिएको पनि होइन; बरु यो त किरातीहरूले गरेका थिए (http://www.nepalsekhukri.com, 2013 2001), 4.) ।

‘किरात’ शब्दलाई पछिल्लो समयमा रार्इ र लिम्बु राष्ट्रसँग जोडेर हेर्दै आएको छ । यद्यपि, बोन शेरपमा हेर्ने हो भने ‘किरल्पा’ (‘किरात’को माउ शब्द) हो । त्यो भनेको शिकारी हो । आदिमानव म्हिए रेञ्जेनले शिकार गर्न सिक्यो । त्यसपछि उसको नाम ‘किरल्पा’ राखियो । त्यसपछि उसले धातुहरू चिने र त्यसको बुम्बा बनायो । त्यसपछि उसको नाम ‘गरब खैबा’ रहन गयो । यहाँ आदिमानव म्हिए रेञ्जेनलाई एकै जनाको रूपमा हेर्नु उचित हुँदैन । उल्लेखित क्रममा कैयौं म्हिए रेञ्जेनहरूले आफ्नो जीवन खर्चेका थिए । हालसम्मै पनि तामाङ समुदायमा छोरामान्छेले खुकुरीलाई नै ‘गोजा’ भन्ने र अनिवार्य रूपमा भिर्नुपर्ने मान्यता रहेको पाइन्छन् । खुकुरीको अङ्गहरू साथै तिनका अर्थ र महत्त्वबारे समेत भेटिएका छन् । अनेक विश्वास तथा मिथहरू पाइएकाले पनि खुकुरीको शुरूवात तामाङ (गरब खैबा)ले गरेका अनुमान गर्न सकिन्छ ।
यसको आकारमा हुने सामान्य फरकका आधारमा प्रकार (भेद) तोक्ने गरेका देखिन्छन् । तिनमा ‘सिरुपाते, तरबारे र भुँडे आदि'(पराजुली, ”नेपाली बृहत् शब्दकोश,” ३०२) हुन्छन् ।

त्यस्तैगरी ‘बाँसपाते’ र ‘बुधुना (‘“Kukri,” Wikipedia, the Free Encyclopedia (Wikipedia, the free encyclopedia, n.d.), 1.) पनि हुन्छन् । यिनका अतिरिक्त स्थान विशेष रुपमा ”भोजपुरे, हाँशी/लामबेँधा, सल्यानी र चैनपुरे” (“Traditional Himalayan Weapons Series,The KUKRI (Khukuri) Knife 101” (http://sirkukri.bolgspot.com, August 5, 2013), 2.) पनि हुन्छन् । यिनमा पनि सिरुपातेलाई राम्रो मान्दछन् । नेपालीलाई गोर्खाली भनेर चिनाउनेमा खुकुरी नै हो । वि.सं. २०५२ सालदेखि सशस्त्र रूपमा तत्कालीन ने.क.पा. माओवादीको जनआन्दोलन चल्नुअघिसम्म पनि विशेषतः भारतमा रोजगारी गर्नेहरूले आउँदा जाँदा साथमा खुकुरी बोक्ने/भिर्ने गर्दथे । बटुवाहरूले पनि साथमा खुकुरी भिरेका हुन्थे । बुढापाकाहरूका कम्बरमा खुकुरी छुट्दैनथ्यो । उक्त जनआन्दोलनको क्रममा तत्कालीन सरकारी पक्षले खुकुरीमाथि पनि एक किसिमको प्रतिबन्ध नै लगाएको थियो । त्यसपछि खुकुरी बोक्ने वा भिर्ने क्रम झण्डै समाप्त नै भयो । यद्यपि, रसुवा लगायतका केही स्थानमा पनि खुकुरी भिर्ने परम्परा अद्यावधिक रहेको छ ।

तामाङ समाजमा ‘गोजा’ सम्बन्धी गीति तुक्काहरू रचेका पनि पाइन्छन् । उदाहरणका लागि ”नगीम् कैँ कैँ : कडीसे ब्लैँ ! मइम् वैँ वैँ : गोजासे छ्वैँ !!” अर्थात् कुकुर त कैँ कैँ : लौरोले ड्याम् ! राँगा त वैँ वैँ : खुकुरीले छ्याप !! यस्तैगरी दोहोरी गीतका क्रममा पनि खुकुरीको दापको उल्लेख भएको देखिन्छ । यो तुक्का केही अश्लिल पनि लाग्न सक्छ । गीतबाटै एकले अर्को पक्षलाई हाम्रो रूपको सिर्जना कसरी भएछ भनेर सोध्छ । उत्तर दिनेले भने, ”… गोजाला स्युप ! अमाम् अक्तङ, अबाम् ख्लुप; जमागा स्हेङ्जिम् ए ङला रूप !! -… खुकुरीको दाप : आमा त उत्तानो परिछन्; बाउ त घोप्टो परेछन्; त्यसपछि तिम्रो र मेरो यो रूप बनेछन् है !!)” भन्दछन् । अर्को एक तुक्का भने यस्तो देखिन्छ; जस्तै : ”गोजम् खेSगे हौ छेSगे ! मर्चम् क्रेप्ला ङै ङ्हेप्ला !!”

तामाङ समाजमा हतियारलाई पनि लैङ्गिक रूपमा नारी (महिला) र पुरुषले चलाउने गरी मुख्यतः दुर्इ भागमा विभाजन गरेको देखिन्छ । विशेषगरी घरमा प्रयोग हुने हतियारहरूमा कचिया, फ्यागुर (सादा/खुर्पा), खुकुरी, तरबार, खुँडा, कर्द र चुलेसी आदि हुन् । यिनमा कचिया, सादा (खुर्पा), कर्द र चुलेसी चाहिँ नारीले पनि प्रयोग गर्दछन् । तामाङ समाजमा उहिले उहिले त छोरीलाई विहेको बेला कचिया दाइजो दिने चलन रहेको बुढापाकाहरू बताउँछन् । यसलाई नारी/छोरी/महिलाको कर्मसँग जोड्ने गर्दथे । खुकुरी, तरबार र खुँडा जस्ता हतियारहरूलाई भने पुरुषको मान्ने गर्दछन् ।

घरभित्र सामान्यतः दियालो चिर्ने तथा मासु टुक्य्राउने क्रममा महिलाले पनि खुकुरी चलाउन सक्छन् । प्रायः तरबार र खुँडा जस्ता हतियार भने स्त्रीले चलाउँदैनन् । मृतको घूरमा पनि महिलाको भए कचिया र पुरुषको भए खुकुरी भिराउने प्रचलन अझैसम्म देख्न सकिन्छ । यसलाई नाघ्न हुँदैन भन्छन् । खोल बिना र उत्तानो पारेर राख्नु हुँदैन भन्दछन् । तामाङमा छोरोमान्छे भएपछि कम्बरमा खुकुरी हुन अनिवार्य मानिन्छ । राती सुत्दासमेत सिरानीमुनि खुकुरी राखेर सुतेमा भूतले तर्साउन नसक्ने तामाङ विश्वास रहेको छ । खुकुरीको विभिन्न अङ्ग वा भागहरू हुन्छन् । तिनका बारेमा विस्तृत उल्लेख गरेका पनि पाइन्छन् । जुन निम्नानुसार रहेका छन्-

• Keeper (Hira Jornu): Spade/Diamond shaped metal/brass plate used to seal the butt cap.
• Butt Cap (Chapri): Thick metal/brass plate used to secure the handle to the tang.
• Tang (Paro): Rear piece of the blade that goes through the handle.
• Bolster (Kanjo): Thick metal/brass round shaped plate between blade and handle made to support and reinforce the fixture.
• Spine (Beet): Thickest blunt edge of the blade.
• Fuller/Groove (Khol): Straight groove or deep line that runs along part of the upper spine.
• Peak (Juro): Highest point of the blade.
• Main body (Ang): Main surface or panel of the blade.
• Fuller (Chirra): Curvature/Hump in the blade made to absorb impact and to reduce unnecessary weight.
• Tip (Toppa): Starting point of the blade.
• Edge (Dhaar): Sharp edge of the blade.
• Belly (Bhundi): Widest part/area of the blade.
• Bevel (Patti): Slope from the main body until the sharp edge.
• Notch (Cho): A distinctive cut (numeric ‘3 ‘-like shape) in the edge. Used as a stopper when sharpening with the chakmak. Also used as a blood dropper.
• Ricasso (Ghari): Blunt area between notch and bolster.
• Rings (Harhari): Round circles in the handle.
• Rivet (Khil): Steel or metal bolt to fasten or secure tang to the handle.
Tang Tail (Puchchar): Last point of the kukri blade.(“Kukri,” 6. : Anatomy[edit] Blade[edit])
खुकुरीका केही अङ्गका बारेमा निम्नानुसार सङ्क्षिप्त रूपमा उल्लेख गर्न सकिन्छ ।

क) कौडी : हरेक खुकुरीमा कौडी राखिएको हुन्छ । यो खुकुरीको ‘साँपे’ (काँजो) नजिकै रहेको हुन्छ । यसैलाई ‘अजय’ वा ‘Notch’ भन्ने गरेको पाइन्छ । खुकुरीको धार यहीँदेखि शुरू भएको हुन्छ । कौडी र काँजोको बीचमा थोरै भाग रहेको हुन्छ; तर त्यहाँ धार हुँदैन । त्यसलाई ‘घरी’ वा ‘रिकास्सो (ricasso)’ पनि भन्ने गर्दछन् । माथि टुप्पोदेखि आएको धार कौडीमा आएपछि सकिन्छ । यसैलाई कतिपयले ‘गार्इखुरे’ पनि भन्छन् । झट्ट हेर्दा गार्इ गोरुका खुरको आकारमा रहेका हुनाले नै यसलाई ‘गार्इखुर’ वा ‘गार्इखुरे’ भनेको स्पष्ट हुन्छ ।

एकखाले मान्यता अनुसार कौडी चन्द्रमाको प्रतीक हो; जसले उर्वरतालाई सङ्केत गरिरहेको हुन्छ । त्यस्तैगरी दापमा राखेको बेला बन्द गर्ने वा अड्काउने कार्य पनि गरेको हुन्छ (“Kukri (Khukuri) Info,” 3) । एकथरी मत अनुसार कौडी भनेको ‘जून र घाम’ हो । त्यस्तैगरी कतिपयले भने यसलाई ‘हिन्दू देव-देवीका यौन तन्त्र’ (“Kukri (Khukuri) Info,” 4) पनि मानेका पाइन्छन् । यसलाई कतिले भने युद्ध तथा ‘सम्हारक देउताको प्रतीक’ (उही) को रूपमा पनि मान्दछन् । कतिपयले भने यसैलाई महादेवसँग जोड्दछन् “The KUKRI (Khukuri) Knife 101,” 1. : ” A typical feature of the Kukri is the “Cho/Kaudi,” often by popular myth called a blood dripper, that has a very strong relationship to the spiritual traditions of Nepal and bears a meaning in each faith and cultural heritage. Some of the more used meanings is that it symbolises Lord Shiva’s trident, crescent moon, cows hoofs, female & male energies, phallic symbol and mush more. Personally as a blood dripper it is rather useless so I’m more inclined to see the spiritual side of the Cho/Kaudi then its possible practical use.” । महादेवलाई तन्त्र मन्त्रसँग पनि जोड्ने प्रचलन रहेको छ । यो बिनाको खुकुरी हुँदैन । उहिले खुकुरी खेल्ने प्रचलन ज्यादै प्रचलित थियो ।

त्यसक्रममा खुकुरी जगाउने गर्दथे । जगाएपछि खुकुरी र खेल्ने मान्छेलाई शत्रुबाट खासै असर हुँदैन । खुकुरीको धार केही हुँदैन तर विपक्षीको खुकुरीमाथि भारी पर्छ भन्ने विश्वास गर्दथे । कौडी रहेनछ भने जस्तै जान्नेले पनि खुकुरीलाई जगाउन सक्तैन (पदमबहादुर थिङ, गोजा/खुकुरी सम्बन्धमा चालिसेलीसँग गरिएको कुराकानी, n.d., 1)। यसको अर्को काम भनेको काटिएका बस्तुको रगत आदि सिधै बीँड हुँदै हातसम्म आउनबाट रोक्नु हो । केही गरी रेटेको बेला रगतआदि बग्दै आएमा यहीनेर आएपछि बीँडतिर आउँदैन तसर्थ समात्न सजिलो हुन्छ । कुनै पनि रसदार वा झोलदार बस्तु काट्दा पनि यस्तै हुन्छ । अर्को कुरा कुखुरी खेल्ने बेलामा विपक्षीले प्रहार गरेको खुकुरीको धार यहीँनेर आइपुगेपछि त्यहीँ फस्छ र तल बिँडसम्म आउँदैन । आफ्नो हातमा चोट लाग्दैन । तामाङ समाज विशेषतः तन्त्र मन्त्रमा बढी नै विश्वास गर्दछन् । त्यसैले खुकुरीमा यसको आवश्यकता महशुश गर्दछन् । अहिले आएर नयाँ डिजाइन बनाउने नाममा कौडीलाई अर्कै रूप दिएका पनि देखिन्छन् ।

बस्तुभाउ बिमारी परेको खण्डमा खुकुरीको धार पखालेको पानी खुवाउने प्रचलन पनि रहेको देखिन्छ । यसको प्रतीकात्मक अर्थ भने, खुकुरीको धार खुवाउनु हो । त्यसरी धार खुवाउँदाखेरि बस्तुलाई पिरेका खराबशक्ति काटिन्छ र मारिन्छ वा भाग्छ भन्ने विश्वास रहेको पाइन्छ । यद्यपि, कौडी नभएको खुकुरी भने त्यो प्रयोजनका लागि पनि खासै उपयुक्त मान्दैनन् । यसप्रकार ‘कौडी’लाई खुकुरीको शक्तिकेन्द्र वा नाभीको रूपमा लिएका र अर्थ्याएका पाइन्छन् ।

ख) ताजे : खुकुरीको धारभन्दा विपरीत भागलाई तामाङ भाषामा ‘ताजे’ भन्ने गर्दछन् । ‘ताजे’को सिधा अर्थ भने गर्धन भन्ने हुन्छ । हतियारको भने धारभन्दा अर्कोपट्टकिो भागलाई ‘ताजे’ भन्ने प्रचलन रहेको छ । यसैलाई नेपालीमा ‘जुरो’ साथै अङ्ग्रेजीमा चाहिँ ‘पीक’ (peak) भन्दछन् । सोही भागलाई पनि काँजोदेखि माथि बाङ्गो भएको भागसम्मलाई Upper Spine, बाँङ्गो भएको स्थानलाई Shoulder अनि त्यहाँदेखि टुप्पोसम्मको भागलाई Lower Spine पनि भनेको देखिन्छ ।
कुखुरीको पातो (ब्लेड) कत्तिको बाक्लो वा मोटो भन्ने कुरा यही भाग हेरेर पत्ता लाग्दछ । Upper Spine देखि Lower Spine सम्मको भागमा दुर्इवटा स्पष्ट लाइन जस्तो कोरिएको हुन्छ । त्यसलाई अङ्ग्रेजीमा चाहिँ Fuller भनेको देखिन्छ । नेपालमा यसको नाम केही रहेको हुनुपर्छ; जुन खोज्न आवश्यक छ । वीरदोस थिङका अनुसार ती लाइन नभएमा ‘गोजा’ भन्न मिल्दैन । त्यस्तालाई ‘तप्स्यङ’ भन्दछन् ।

ग) धार : खुकुरीको मुख्य काट्ने भनेको धार नै हो । यो कौडीस्थानदेखि टुप्पोसम्म रहेको हुन्छ । फलामलाई खुकुरीको आधार दिएपछि धार लगाउँछन् । धार लगाइसकेपछि अन्ततः यसमा ‘पाइन’ हाल्नुपर्ने हुन्छ । पाइन नहालेमा धार दरो हुँदैन । अलिक साह्रो चिजमा पर्ने बित्तिकै धार दोब्रिन्छ । पाइन धेरै भएमा खरो हुन्छ । थोरै साह्रोमा पर्दा पनि धार खस्ने, बिग्रने वा झर्ने हुन्छ । त्यस्तैगरी धारको ठाउँ ठाउँबाट साना चिरापरेर भाँचिने डर हुन्छ । धारमा पाइन हाल्नेक्रममा बेस्सरी रातो हुने गरी तताउँछन् । रातो धार भएको भागलाई पानीमा डुबाउँछन् । हेर्दै पानीमा डुबाउने र लोहोटा आदिबाट पानी हाल्दै हेर्दै गर्छन् । यो गर्न जान्ने अर्थात् अनुभवी मिस्त्री चाहिन्छ । गाउँघरमा यो काम प्रायः अनुभवी कामीले नै गर्दछन् । कतिपय जातजातिका मानिसले पाइन हाल्दैनन् । पाइन हालेमा जात जाने वा कामी हुन्छ भन्ने गर्दछन् । यद्यपि, अहिले आएर यो मान्यता पनि भत्किइसकेको छ । तामाङ बोन शेरपमा हेर्ने हो भने आदिमानवले नै हालको कामीको कर्म गरेका थिए । त्यतिखेर उसको नाम ‘गरबखैबा’ रहन गएको थियो । त्यसैले हुनुपर्छ, कतिपय तामाङ बस्तीहरूमा जातीय छुवाछुत छैन ।

धारमा पाइन लगाइसकेपछि सिधै प्रयोग गर्नु हुँदैन । पाइन हालेपछि सेलाउन दिनुपर्छ । पूरै सेलाइसकेपछि भने धार लगाउने ढुङ्गामा रगेट्तै धार लगाउनुपर्छ । त्यसक्रममा पानी हाल्दै रगेट्तै गर्नु पर्दछ । त्यो कार्यलाई तामाङ भाषामा ‘क्युर्इ पिन्बा’ (पानी दिएको) भन्दछन् । त्यसपछि धार राम्रो लाग्ने वा बन्ने गर्दछ । पाइन लगाउँदा कालो भएको वा डढेको खुकुरीमा चमक आउँछ । कत्तिको लाग्ने भयो भनेर हेर्ने परम्परागत काइदा पनि रहेको छ । सामान्यतः आफ्नै हातको नङको बाहिरी भाग ताछेर वा खुट्टाको रौंमा ब्लेड लगाएजस्तो गरेर पनि जाँच गर्दछन् । त्यसपछि मात्रै बल्ल खुकुरी प्रयोग गर्न योग्य हुन्छ । बस्तुभाउ (भेँडा, बाख्रा, वा गाई भैँसी आदिलाई भूतप्रेतले पिरेको अवस्था पनि सोही धारमा पानी हालेर प्रतिकात्मक रूपमा पखालेर त्यही पानी खुवाउने प्रचलनको बारेमा माथि नै उल्लेख गरिसकेको छ ।

घ) यू (बिँड) : खुकुरीको ‘यू’ पनि एउटा महत्त्वपूर्ण अङ्ग हो । यसैलाई नेपालीमा ‘बिँड’ भन्ने गर्दछन् । खुकुरीको बिँड जुन पायो काठको राम्रो हुँदैन । सतिसाल सबैभन्दा राम्रो मानिन्छ । काम चलाउन गुराँसको पनि बनाउन सकिन्छ । ‘डुमङ'(अँङेरी)को बीँड पनि बनाउने प्रचलन रहेको वीरदोस थिङ बताउँछन् । थिङका अनुसार रातीको समयमा त्यस्तो खुकुरी भिर्दाखेरि भूतप्रेत आदिले पूरै खुकुरी नै झल्ल बलेको देख्छन् भन्ने जनविश्वास रहेको छ । त्यसरी बलेको देखिने क्रम तथा त्यो मान्यतालाई ‘खनुन्’ भनिन्छ । ‘खनुन्’ हुनु राम्रो हो । बीँड अड्याउन खुकुरीको पारो बनाएको हुन्छ । पारो रातो हुनेगरी तताउँदै बिस्तारै बिँडमा लगाउने गर्दछन् । यो साह्रै जतनपूर्वक गर्नुपर्ने हुन्छ । तातो पारो ठोक्नेक्रममा बिग्रने वा फुट्ने सम्भावना साह्रै धेरै हुन्छ । त्यसैले आधुनिक खुकुरीको पारोको स्थानमा बिँड आकारको पातो नै राखेका हुन्छन् । बरु पछि बिँड टाँस्न र अड्याउन किला ठोक्न मिल्नेगरी दुर्इ वटा प्वालहरू राखेका हुन्छन् ।

खुकुरीका पारखीले ‘यू’ (बिँड)लाई धेरै राम्रोसँग सजाउने गर्दछन् । ‘यू’ सजावटबाटै प्रयोकर्ताको खुकुरी–प्रेम झल्किने गर्दछ । कतिपयले चाँदीले मोर्ने वा बुट्टा हाल्ने गर्दछन् । ती बुट्टाको पनि सांस्कृतिक अर्थ लगाउने गर्दछन् । ‘यू’को टुप्पो भाग फुकेको हुन्छ । त्यसलाई ‘छाप्रो’ पनि भन्दछन् । जसले गर्दा खुकुरी समातेपछि फुत्किने डर हुँदैन । ‘यू’को अर्कोतिरको भाग वा टुप्पोमा भने ‘साँपे’ अर्थात् काँजो लगाएको हुन्छ । त्यसले ‘यू’लाई फुट्नबाट जोगाउँदछ । त्यस्तैगरी साँपे त खुकुरीसँगै जोडिएको (नफुत्कने गरी) पनि हुन्छ । ‘यू’को मध्यभाग जस्तोमा रिङजस्तो देखिने गरी बुट्टा बनाएका हुन्छन् ।

त्यसलाई भने ‘हरहरी’ वा ridges/rings पनि भन्दछन् । जसले ‘यू’लाई सुन्दर देखाउने र समाउँदा नचिप्लने बनाएको हुन्छ । ‘यू’बाट खुकुरीको पारो खुकुलो भएर फुस्किरहने सम्भावना रहन्छ । त्यसरी फुस्कनुलाई तामाङ भाषामा ”गोजा प्युङ्बा” भन्ने गर्दछन् । त्यो समस्याबाट मुक्ति पाउनका लागि ‘लाह'(epoxy) लगाउने गर्दछन् । असली लाह भनेको एकप्रकारको कमिलाको गूँडको लेदो हो । त्यो गड्तीर क्षेत्रमा बढी पाउँछ । अचेल लाह पाउन पनि गाह्रो भएको छ । रेडिमेड लाह पाइन्छ तर साँच्चैको प्राकृतिक लाहजस्तो राम्रो नहुने मान्यता छ । असली वा रेडिमेड लहा नपाउँदा भने रबरजन्य (चप्पलको फित्ता वा चुरा)द्वारा पनि काम चलाएका पाइन्छन् । उहिले उहिले असली प्राकृतिक लाहलाई औषधीको रूपमा पनि प्रयोग गर्ने प्रचलन रहेको थियो ।

ङ) न (टुप्पो) : खुकुरीको टुप्पोलाई नै तामाङ भाषामा ‘न’ भन्दछन् । ‘न’को अर्थ नाक हुन्छ । यद्यपि हतियार आदिका तुच्चो वा टुप्पोलाई तामाङले ‘न’ भन्ने गर्दछन् । यसैलाई अङ्ग्रेजीमा Tip भन्दछन् । हरेक खुकुरीको चुच्चो ‘न’ हुन्छ । विशेषतः घोप्ने क्रममा ‘न’ भएमा धेरै सहज हुन्छ । केही गरी ‘न’ भाँचिएमा पुनः बनाउन सकिन्छ ।
च) साँपे (काँजो) : खुकुरीको अर्को महत्त्वपूर्ण अङ्ग ‘साँपे’ हो । यसैलाई काँजो भनेका हुन् । यसैलाई अङ्ग्रेजीमा bolster भन्दछन् । यसलाई खुकुरी र बीँडलाई आपसमा जोड्दछ । खुकुरीको पाता भागको बीँड लगाउने स्थानमा पारो हुन्छ । त्यही पारो शुरू भएकै स्थाननेर साँपे जोडिएको हुन्छ । प्रायः खुकुरीका साँपे रसन लगाएर जोडेको हुन्छ । त्यसले बीँड र खुकुरीलाई जोड्ने, फुस्कन नदिने काम गर्दछ ।

२.२ स्युप/गोस्युप (दाप)
खुकुरी भन्नाले फलामलाई आरनमा तताउँदै चुटेर बनाएको एक प्रकारको हतियार हो । यसलाई सुरक्षित राख्न ‘स्युप’ (खोल) वा ‘गोस्युप’, ”गो Ö गोजा (खुकुरी) + स्युप (खोल)” अर्थात् दापको व्यवस्था गरेको हुन्छ । यो खुकुरी राख्ने एकप्रकारको खोल हो । उहिले ‘दाप’ बनाउने काम चाहिँ सार्कीले गर्दथे । फलामलाई चुटेर खुकुरीको आकार दिने चाहिँ कामी हुन्थे । यदाकदा अझै पनि खुकुरीको दाप सार्कीले नै बनाउँछन् । कतिपय कामी पेशा गर्नेले पनि बनाउन थालेका छन् । उहिले सार्कीले काठको पातालो पत्रजस्तो तयार पार्थे । त्यसलाई बलियो पार्नका लागि छालाले मोड्थे । दुर्इ छेउ जोडिएको ठाउँमा सिलाउँथे । दापको भित्री तथा बाहिरी मुहार हुन्थ्यो । कम्बरमा भिर्दा भित्रपट्टी पर्ने भागमा खिसा (एक प्रकारको गोजी/पकेट) टाँसेको हुन्थ्यो । खिसा र खुकुरीको बीच भागमा पर्ने खाली ठाउँमा भने कर्द र चकमक (कर्दजस्तै) राख्ने ठाउँ बनाएको हुन्थ्यो । दापको तल टुप्पोमा भने कोथीको प्रयोग गरेको हुन्थ्यो ।

पछिल्लो समयमा सार्कीले दाप बनाउन छोडेपछि कामी आफैँले पनि काठको स्युप बनाउन थालेका देखिन्छन् । कामीले बनाएको स्युपमा भने छालाको प्रयोग गरेको हुँदैन । त्यसैले दुर्इ कप्टेरो काठको बीचभागबाट खुकुरीको धार बाहिर निस्कने सम्भावना रहन्छ । त्यस्तो नहोस् भनेर स्युपलाई पितल वा आल्मूनियमको पाताले मोड्ने गरेका पनि पाइन्छन् । दाप नभएको वा दापबाट निकालिएको खुकुरीलाई तामाङ भाषामा ‘सिल्पङ गोजा’ (नाङ्गो खुकुरी) भन्ने गर्दछन् । एउटै दापमा दुर्इवटा खुकुरी राख्न सकिन्न । त्यसैले एकजना महिलाले एकसाथ दुर्इ जना पुरुष (श्रीमान्) राख्न वा बनाउन सकिन्न भन्दछन् ।

क) खिसा : तामाङ मान्यताअनुसार दापमा खिसा अनिवार्य हुन्छ । यो बिनाको दाप अधूरो मानिन्छ । यो गोजी जस्तो हुन्छ । यसको दुवै किनारामा ढकनीसहितको मुख हुन्छ । त्यसमा अति आवश्यकीय वस्तुहरु राख्ने गर्दछन् । त्यसैले महत्त्वपूर्ण मानिन्छ । तामाङ लोकमान्यता, विश्वास र दृष्टिकोण अनुसार, ”मन्त्र भनेको कुरै हो ! औषधी भनेको झारै हो । आगो सबैभन्दा आवश्यक तत्त्व हो । आगो बिना जीवन चल्दैन । आगोले पोल्छ तर पोलेको बेला फुक्न नसक्ने छोरो नै होइन ।” तन्त्रको प्रयोग तामाङले जानेकै कुरा हो । यन्त्रको प्रयोग पनि लामा र बोन दुवैले गरेकै पाइन्छन् । तामाङ समाजमा आगोलाई सधैँ साथमा राख्नुपर्छ भन्ने गर्दछ । त्यस्तैगरी जडिबुटी, खुकुरी र कर्द पनि छुटाउनु हुँदैन । खिसामा अति उपयोगी जडिबुटीहरू राख्छन् । पवित्र आगोको लागि चकमक, दल्छिन ढुङ्गो अनि प्रबा भनिने एक प्रकारको झुरोको त्यही राख्छन् । हरेक क्षण आवश्यक पर्ने हुनाले सियो र धागो पनि खिसामा राख्छन् । एक ढिका नून पनि राख्ने प्रचलन रहेको वीरदोस थिङ बताउँछन् । छालाबाट निर्मित साथै कम्बरमा भिर्ने हुनाले ती सामग्री पानीले भिज्ने र बिग्रने डर हुँदैन । बरु एकदमै सुरक्षित रूपमा राख्न सकिन्छ । यसैकारण खिसाको विशेष आवश्यकता हुने गर्दछ । यो तामाङ विश्वदृष्टिकोण साथै आदिवासीय ज्ञान (सञ्ज्ञान)को पाटो हो ।

ख) चकमक : खुकुरीको दापमा माथि उल्लेख गरिएअनुसार ‘चकमक’ पनि राखिएको हुन्छ । सामान्यतः यो कर्द जस्तै देखिन्छ । यद्यपि कर्दको जस्तो काट्न सक्ने धार लगाएको हुँदैन । यसको प्रयोग आगो निकाल्न/पार्न हुन्छ । यसको ‘ताजे’ अर्थात् धार जस्तो भएको ठिक अर्कोपट्टीको भागले दल्छिनढुङ्गामा हान्ने वा रगट्ने गर्दछन् । त्यसरी रगड्दा आगोको झिल्काहरू निस्कन्छन् । त्यसक्रममा निस्किएका झिल्कालाई नै ‘प्रवा’मा पार्दछन् । आगो पार्ने यो पुरानो एक प्रविधि हो । जति राम्रो चकमक; त्यति नै आगो राम्रोसँग पार्न सकिन्छ ।

उहिले बोन र लामाहरूले आफ्नो तान्त्रिक शक्तिका साथ ढुङ्गामा खुकुरी वा कर्द रोपेर पनि आगो निकालेका कहानीहरू पाइन्छन् । सिन्धुलीगढीको ओरालो झर्ने क्रममा पिपलभञ्ज्याङ भन्ने स्थानमा पुगिन्छ । सोही स्थानबाट अलिक पर जङ्गलमा अझैसम्म एउटा ढुङ्गो रहेको छ । जुन ढुङ्गामा बोन र लामाले कर्द प्रहार गरेका थिए । त्यसरी एकले पानी र अर्कोले आगो निकालेका स्थानीय जनविश्वास रहेको छ । यस्ता स्थान तथा कहावतहरू प्रशस्त छन् ।

खुकुरीमा ‘चकमक’लाई कर्दको आकारमा राखेको हुन्छ । त्यसो त फलामे टुक्राको रूपमा पनि ‘चकमक’ पाइन्छन् । खुकुरी नबोकेका वा नारी (महिला)हरूले त्यस्ता चकमकको प्रयोग गर्दछन् । त्यस्ता ‘चकमक’सँग ‘प्रवा’ वा झूरो हाल्ने सानो थैलीजस्तो बनाएका हुन्छन् । तामाङ मान्यता अनुसार अन्तिम दाहसंस्कारको बेला सबैभन्दा पहिले ‘कल्पला मे’ (आदिम वा प्रागऐतिहासिक वा शुरूको आगो) दिनुपर्ने हुन्छ ।

जनविश्वास अनुसार उहिले आदिम-आगो दल्छिनढुङ्गाभित्र पसेको थियो । त्यसैले दाहसंस्कारको क्रममा दल्छिनढुङ्गाबाट निकालेर सोही आगो लाशको तालु (कपाल)मा राख्छन् । मृतकको पुण्यानुसार तालुमा राखेको ‘कल्पला मे’ले लाशलाई जलाउँदछ; अर्थात् त्यसरी राखेको आगो लाशमा सल्केको मात्रालाई हेरेर कत्तिको पुण्यवान् रहेछ भनेर हेर्न सकिन्छ । भनिन्छ; यदि धेरै पुण्यवान् रहेछ भने ‘कल्पला मे’ दिइसकेपछि त्यसैले लाश जल्न थाल्छ र बाँकी आगो लगाउनै पर्दैन । कल्पला मे चाहिँ लामागुरुले दिन सक्छन् । महिला रहिछन् भने मामा वा माइतीहरूले पनि दिन सक्छन् ।

यसप्रकार ‘चकमक’द्वारा पारिएको आगोलाई पवित्र मान्दछन् । उहिले प्रायः महिला पुरुषसँग ‘चकमक’ अनिवार्यतः हुन्थे । विशेषगरी तमाखु वा बिडीँ सेवन गर्नेले बोकेकै हुन्थे । अहिले आएर आधुनिक सलार्इ र लाइटरका कारण चकमकको प्रचलन प्रायः लोप भइसकेको छ । यद्यपि, गाउँघरतिर पुग्ने हो भने बूढापाकाहरूले अझै पनि प्रयोग गर्दछन् ।

आगो पार्नुको अतिरिक्त खुकुरी तथा कर्दको धार बिग्रिएको खण्डमा पनि ‘चकमक’को प्रयोग गर्दछन् । ‘चकमक’लाई मिलाएर रगेड्ने हो भने बिग्रिएको धारलाई बनाउन सकिन्छ । त्यसरी ‘चकमक’ लगाएर धार मिलाउनुलाई नै ‘शान’ लगाउने भन्दछन् । त्यसैले पनि खुकुरीसँग ‘चकमक’ अत्यावश्यक मानिन्छ । विशेषगरी तामाङ समुदायका हरेक पुरुषको शोभा नै ‘गोजा’ मानिन्छ । ‘गोजा’ (खुकुरी)को शोभा चाहिँ ‘चकमक’लाई मानिन्छ । यी दुर्इका प्रयोग बिना तामाङ विश्वदृष्टिकोण नै अधूरो हुन पुग्छ ।

ग) कर्द : खुकुरीसँग कर्द अत्यावश्यक मानिन्छ । नेपाली भनाई नै छ- ”खुकुरीभन्दा कर्द लाग्ने” । कर्द शब्द कुन भाषाबाट आएको भनेर छुटाउन गाह्रो छ । छालाले मोडेको पुरानो शैलीका दापमा कर्द राख्ने स्थान हुन्छ । कर्दसँगै अर्को स्थानमा चाहिँ ‘चकमक’ राख्दछन् । कर्द चाहिँ खुकुरीकै सानो स्वरूप भन्दा पनि खासै फरक नपर्ला । यद्यपि खुकुरीको जस्तो अङ्गहरू भने हुँदैन । सानो भएकोले खोप्ने, घोप्ने र साना फलफूल तथा तरकारी आदि काट्न यसको अधिक प्रयोग हुन्छ । चोया निकाल्ने वा बनाउने क्रममा पनि यसकै प्रयोग गर्दछन् ।

कर्दको प्रयोग तन्त्र, मन्त्र वा झारफूकको क्रममा पनि गर्दछन् । बोम्बोले पानी तथा तेल आदि मन्त्रँदा पनि यसैको प्रयोग गर्दछन् । जिउ दुखेको वा सूलआदि उठेको बेला पनि कर्दले काटेको वा चिरेको अभिनयसहित झारफूक गर्दछन् । त्यस्तैगरी साना नानीबाबु सुताउने कोक्रोमा पनि एउटा कर्द अनिवार्य रूपमा राख्दछन् । त्यसरी कर्द राखेपछि बच्चा सुरक्षित हुने जनविश्वास रहेको छ । तामाङ विश्वास अनुसार नानीबाबुहरूलाई अनेक शक्तिहरूले पिर्ने दाउ खोजिरहेका हुन्छन् । त्यस्ता शक्तिहरूबाट बचाउने उपाय (आभिचारिक कृत्य जस्तै) स्वरूप कर्द राख्दछन् । फलामको कर्द राखेपछि बच्चालाई नकारात्मक शक्तिले पिर्न सक्तैन । सिरानीमुनि खुकुरी, नभए कर्द वा फलामकै टुक्रा मात्रै राखेमा पनि प्रेतात्माले पिर्दैन वा ऐठन पार्दैन भन्ने मान्यता पनि रहेको छ । भनिन्छ, फलामजन्य हतियार भएको ठाउँमा भूतप्रेत, पिचास र ख्याक लगायतका शक्तिहरू आउन सक्तैनन् । तिनै फलामजन्य हतियारहरू जस्तै : खुकुरी, तरबार, खुँडा र कर्द लगायतसँग सम्बन्धित देउता पनि हुन्छ । त्यस्ता देउतालाई ‘ढा ल’ भन्दछन् । त्यही ‘ढा ल’बाटै ‘ढाल’ बनेको देखिन्छ; जुन युद्धको बेला प्रयोग गर्दथे । त्यसैलाई सुधारेर सशस्त्र प्रहरीले भीड तिरवितर पार्ने वा भीडबाट भएका प्रहारलाई छेक्ने एक प्रकारको ढालको विकास गरेको देखिन्छ । तामाङ मान्यताअनुसार ‘ढा ल’को पूजा गर्ने तथा जगाउने हो भने आफूसँग भएको हतियारले सुरक्षित वातावरणको निर्माण गर्दछ ।
घ) कोथी : खुकुरीको दापको टुप्पोमा चाँदी वा पित्तल वा आल्मुनियम आदि लगाएको हुन्छ । त्यस्तैगरी छालाकै वा भैँसीको थुनको पनि प्रयोग गर्ने प्रचलन रहेको अग्रजहरु बताउँछन् । त्यसरी लगाएकोलाई नै ‘कोथी’ भन्दछन् । त्यसैलाई अङ्ग्रेजीमा Cap पनि भनेको पाइन्छ । यसले दापलाई सुरक्षित राख्न मद्दत गर्दछ । खुकुरीको चुच्चो धेरै तीखो हुने हुनाले दाप टुप्पोमा छिट्टै प्वाल पार्दछ ।

त्यसरी प्वाल पर्न नदिनाका लागि कोथीको प्रयोग गरेका हुन् । यो एक किसिमको प्रविधि हो । माथि लेखिएअनुसार सामान्यजनले भैँसीको थुनलाई पनि कोथीको रूपमा प्रयोग गरेका भन्ने देखिन्छ । त्यसो त कतिपयले पित्तल वा आल्मुनियमको पनि कोथी बनाएका हुन्छन् । चाँदीको कोथीले भने व्यक्ति र उसको सम्पत्तिलाई इङ्कित गर्दछ । यसले दापको सुरक्षाको अतिरिक्त शोभा थप्ने र आकर्षक पनि बनाउँछ ।

ङ) दल्छिनढुङ्गा : ‘दल्छिनढुङ्गा’लाई नै तामाङ भाषामा ‘सेलयुङ’ वा ‘सेलयुङ्बा’ भन्दछन् । ‘सेलयुङ्बा’ सेतो रङको हुन्छ । धेरै पारदर्शी नै रहेछ भने ‘बोम्बोसेल’ भन्दछन् । आगो पार्ने काममा भने ‘सेलयुङ्बा’ नै चाहिन्छ । तामाङको सभ्यताहरूलाई मुख्यतः तीन भागमा बाँड्न सकिन्छ; तिनमा ‘लप्सङकर्पो’, यम्बुलिङ र शैलुङ पर्दछन् । यी तीनमध्ये शैलुङ सभ्यता शैलुङ डाँडासँग सम्बन्धित रहेको छ । एकथरी मत अनुसार ‘सेलयुङ्बा’ (धनप्रसादतामाङ, “लोकोत्तर लोकवादी विचार अभियानको अवधारणा-पत्र,” २०७०, १)बाट नै शैलुङ नाम रहन गएको छ ।

तामाङ मान्यता अनुसार उहिले ‘सेलयुङ्बा’मा आगो छिपेको थियो । कथालाई हेर्ने हो भने कुनै समय देउता कहाँ पुगेर आगो ल्याएका थिए । सम्बन्धित स्थलमा पुगेर मात्रै खोल्नु तर बीचमा नखोल्नु भनेको थियो । खुल्दुली लागेकोले खोलेर हेर्ने हुँदा आगो फुत्किएर ‘सेलयुङ्बा’मा छिप्न पुगेको थियो (टेकबहादुर तामाङसँग गरिएको कुराकानी (बोन कम्यूनिटी स्कूलका प्रिन्सिपल), अन्तरवार्ता, २०६३) । त्यसपछि ‘सेलयुङ्बा’हरू आपसमा रगडेर तथा ‘चकमक’ले हानेर आगो निकाल्न थालेका थिए । कोही भन्छन्; ‘सेलयुङ्बा’मा एकताका साह्रै शक्तिशाली बोन पनि छिपेको थियो । त्यसरी ‘सेलयुङ्बा’मा छिपेकैले उसको नाम नै ‘सेलेहोइकर’ वा ‘सेलकर’ बोन रहन गएको हो ।

आगो छिपेको हुनाले नै ‘सेलयुङ्बा’लाई पवित्र मान्दछन् । तामाङ बोनले कुखुराको मासु खान्छन् तर सुङ्गुर वा बङ्गुरको खाँदैनन् । ती जन्तु तथा पङ्क्षीले बिष्टा पनि खाएका हुन्छन् । उनीहरूका मान्यताअनुसार सुङ्गुर वा बङ्गुरले ‘सेलयुङ्बा’ खाएका हुँदैनन् । कुखुराले ‘सेलयुङ्बा’ पनि खाने पचाउने गर्दछन् । त्यसकार कुखुराले बिष्टा खाएपनि ‘सेलयुङ्बा’ खाएपछि बिष्टा खाएको बात लाग्दैन र मासु खानयोग्य हुन्छ (वीरदोस तामाङसँग गरिएको कुराकानी, कुराकानी, २०७४) । यसप्रकार आगो छिपेर बसेको ‘सेलयुङ्बा’लाई खुकुरीको खिसामा ‘प्रबा’सँगै राख्ने प्रचलन रहेको छ । त्यसरी ‘सेलयुङ्बा’ र ‘प्रबा’ समेत राखिएको खुकुरी भिर्दा भूतप्रेत नलाग्ने वा नकारात्मक शक्तिले छुन नसक्ने तामाङ जनविश्वास पाइएको छ । त्यसैले पनि खुकुरीसँगै ‘सेलयुङ्बा’ अर्थात् ‘दल्छिनढुङ्गा’ राख्न अनिवार्य मान्दछन् ।

प्रायः महत्त्वपूर्ण कुरालाई श्लोकको रूपमा कथ्ने अनि सुन्ने र सुनाउने तामाङको मौलिक पहिचान हो । यसैक्रममा ‘सेलयुङ्बा’को बारेमा पनि एक श्लोक चर्चित रहेको देखिन्छ । जुन श्लोक यस्तो रहेको छ-
‘सेलयुङ्बारी मे’ ठुङ्बा !
… स्या अम्ला ङ्हे थुङ्बा !!”
अर्थात् ‘सेलयुङ्बा’मा आगो उत्पत्ति भएको थियो । आफूले आमाको ह्रुइ उच्चारण गर्दै ”फलाना ह्रुइ भएकी आमाको दूध पिएको !!” भन्ने गर्दछन् । यो गीत विशेषतः जात्रामात्रामा केटा-केटीका भेट भएपछि गाउँदछन् । केटा र केटी नचिनेका हुन सक्छन् । त्यस्तो अवस्थामा कुटुम्बेरी, आफ्नै वा स्वाँगे ह्रुइ कुनको हो भनेर स्पष्ट हुनाका लागि यही श्लोकबाट सोध्दछन् । स्वाँगे वा दाजुभाइ ह्रुइका परेमा गीत गाउन मिल्दैन भन्ने तामाङ मान्यता रहेको छ ।

च) प्रबा : तामाङ भाषाको ‘प्रबा’लाई नै ‘झूरो’ भन्ने गर्दछन् । यो निश्चित वनस्पतिको धूलो, कपासजस्तो पदार्थ वा पुराना कपडाबाट बनेको हुन्छ । स्थान विशेष ‘प्रबा’ बनाउन मिल्ने एक प्रजातिको वनस्पति पनि पाइन्छन् । उक्त प्रजातिको वनस्पतिको सेतो कपास जस्तै फुलेको हुन्छ । त्यही कपासजस्तोलाई सङ्कलन गरेर सुकाएपछि ‘प्रबा’को काम गर्दछ । कतिपयले केराको सुत्लो काट्दा हतियारमा बेरिएर आउने रेसाजस्तोलाई सुकाएर पनि बनाउँदछन् । तामाङ भाषामा ‘र न्हब्यङ’ नामक एक प्रजातीय वनस्पति पाइन्छ । त्यसैको पातलाई भुटेर पनि ‘प्रबा’ बनाउन सकिन्छ । सुति वा रुइजन्य पुराना कपडालाई खरानीसँग उमालेर धुने र त्यसपछि सुकाएर खरानी लगाएर पनि ‘प्रबा’ बनाउँछन् ।

माथि भनिएअनुसार निर्मित ‘प्रबा’ एकदमै सुख्खा राख्नुपर्ने हुन्छ । आगो पार्ने क्रममा ‘दल्छिनढुङ्गो’सँगै अलिकति ‘प्रबा’ जोडेर समात्नुपर्दछ । त्यसपछि ‘चकमक’ले ‘दल्छिनढुङ्गो’मा हान्नुपर्ने हुन्छ । त्यसरी रगेड्दा निस्किएको आगोको झिल्का ‘प्रबा’मा परेपछि टिप्छ र आगो सल्किन्छ । त्यसरी निकालिएको आगोलाई आदिम र पवित्र मान्दछन् । उहिले सलाई र लाइटर आविष्कार हुनुअघि तामाङ समाजमा ‘प्रबा’को भर थियो । अहिले मुश्किलले एकाध गाउँतिर यसको प्रयोग गर्ने बूढाबूढीहरू पाइन्छन् । यद्यपि, दाहसंस्कारको क्रममा प्रायः गाउँहरूमा प्रयोग गर्दछन् ।

तामाङ विश्वास अनुसार आगोसँग भूतप्रेतहरू पनि डराउँछन् । आगो वा त्यसको स्रोत सँधै आफूसँग राखेमा त्यस्ता नकारात्मक शक्ति तथा रोगहरूबाट समेत सुरक्षित रहन सकिन्छ । यसैले हरेक खुकुरीको खिसाभित्र ‘प्रबा’ हुनुपर्दछ । त्यसैले गोठाला जाँदा वा वनजङ्गलमा जाँदा वा गाउँ छोडेर पर जाने बेलामा आफ्नो पासमा खुकुरी र ‘प्रबा’ बोक्नु नेपाली तामाङको मौलिक संस्कृति तथा पहिचान हो ।

छ) जडीबुटी : तामाङले आफ्नो खुकुरीको खिसामा जडीबुटी पनि संलग्न राख्छन् । जडीबुटी चलाउने काम अम्चीको हो । तामाङ मान्यताअनुसार जडीबुटी पनि जीवित र निर्जीव हुन्छन् । औषधीको रूपमा प्रयोग गर्न सजीव चाहिन्छ । त्यसैले जडीबुटी सङ्कलनको याम र वार (बार) पनि तोक्छन् । निश्चित याम र वारमा सम्बन्धित व्यक्ति पुग्छन् । त्यसको सङ्कलनको पनि विधि हुन्छ । विधिवत् रूपमा सङ्कलन गर्दछन् । त्यसक्रममा सम्बन्धित पक्ष (प्रकृति तथा सम्बन्धित शक्ति)सँग सङ्कलनको निमित्त अनुमति लिएर जीवितै सङ्लकन गर्दछन् ।

त्यस्ता औषधी सम्बन्धित बिमारीलाई वार मिलेको व्यक्तिद्वारा खुवाउँछन् । खुवाउनुअघि त्यसलाई जगाउने गर्दछन् । जगाउनुपर्ने हुनाले नै जीवित चाहिन्छ भनेको हो । मृत्यु भइसकेको जडीबुटी रहेछ भने जगाउन सकिन्न । जगाउन नसकेमा वा नजगाइकन खुवाएमा लाग्दैन भन्ने जनविश्वास छ । अत्यावश्यकीय जडीबुटी आफ्नो साथमा राख्छन् । त्यसरी राख्दैमा पनि सुरक्षित रहन सकिन्छ भन्ने मान्यता पाइन्छ । तसर्थ विशेषतः छोरोमान्छेहरूले आफ्नो कम्बरमा भिरेको खुकुरीको खिसामा त्यस्ता जडीबुटी राखेका हुन्छन् । त्यसरी राखेको जडीबुटी विविध हिसाबले सुरक्षित मान्दछन् । त्यसकारण तामाङ पोशाकसँग जोडिएको ‘गोजा’मा ओखतीमूलोको लागि जडीबुटी राख्नु निकै वैज्ञानिक प्रचलन भन्न सकिन्छ ।

ज) सियोधागो : सियो र धागोको प्रयोग बिना पोशाकको सम्भावना रहँदैन । सियो र कपडाको पहिलो प्रयोग कहिले र कहाँबाट भएको थियो भन्ने सम्बन्धमा विभिन्न मतहरू पाइएका छन् । मेरी बेल्लिस्काका अनुसार, मानिसले १,००,००० देखि ५,००,०० वर्षअघिबाटै कपडा लगाउन शुरू गरेका प्रमाणहरू प्राप्त भएका छन् (How Did Specific Items of Clothing Develop?)। उनी अगाडि लेख्छन्, मानिसले ४० हजार वर्षअघि नै कपडा सिलाउन सियोको प्रयोग गरेको हुनुपर्दछ ।

सियोको प्रयोग ढुङ्गे युगमै शुरू गरिएको तथ्य फेला परेको छ । Hoffecker, J., Scott, J. का अनुसार ओल्याण्डको अल्बी स्वीडेनमा प्राप्त सियो छ हजार वर्ष पुरानो मानिएको छ । उक्त सियो हड्डीद्वारा बनेको छ ।
रसियाको कोस्टेन्कीमा प्राप्त प्राचीन सियो ३० हजार वर्ष पुरानो मानिएको छ (Excavations In Eastern Europe Reveal Ancient Human Lifestyles <http://www.colorado.edu/news/r/b278a670675fd8d2ca0700cdc0e9d808.html>, University of Colorado at Boulder News Archive, March 21, 2002) । Odar, Boštjan (2008) ले लेखेका छन्, स्लोभेनियाको पूर्वमा रहेको काराभान्केस्थित पोटोक गुफामा प्राप्त हड्डीको सियोलाई सबैभन्दा पुरानो मानिएको छ (“A Dufour Bladelet from Potočka zijalka (Slovenia)” <http://av.zrc-sazu.si/pdf/59/Odar_AV_59.pdf>. Arheološki vestnik 59: 13. <http://av.zrc-sazu.si/pdf/59/Odar_AV_59.pdf>.) चेक गणराज्यको डोल्नी भेस्टोनिसमा कपडासम्बन्धी प्रमाण प्राप्त भएको देखिन्छ । सोही आधारमा मानिसले आजभन्दा करीब २७ हजार वर्षअघिदेखि कपडा बुन्न जानेको दाबी गरेको देखिन्छ । त्यस्तैगरी सियोको निर्माण करीब ४० हजार वर्षअघि नै भएको मानिएको छ । यो तथ्यले सोही समयदेखि नै कपडा बुन्न जानेका थिए भन्ने स्पष्ट गर्दछ । यो तथ्यसँग बोन शेरप सम्बन्धित रहेको देखिन्छ । आजभन्दा ३२ हजार वर्षअघि नै तामाङ राष्ट्रको हालको नेपालतिर प्रवेश भएको थियो । बोन शेरप अनुसार पहिलो पटक कपडा बुन्ने कामचाहिँ गङ्सल्मोले गर्नु भएको थियो ।

तामाङ बोनद्वारा अवलम्बन गर्दै आएको आभिचारिक उपचार पद्धतिमा सियोको विशेष महत्त्व रहेको देखिन्छ । सियोलाई नै तामाङ भाषामा ‘तप’ वा ‘दप’ भन्दछन् । शरीरमा विभिन्न प्रकारका दुखाईहरू हुन्छन् । ती दुखाईहरूमध्ये ‘हूक’ पनि हो । यदि ‘हूक’ दुखाई भएमा दुखेको ठाउँको ठीकमाथि पर्ने गरी लगाएको कपडामा ‘सियो’ (हूकसियो) लगाउने गर्दछन् । त्यसो गर्नाले ‘हूक’ दुखाई निको हुने जनविश्वास रहेको देखिन्छ ।

कपडा लगाइसकेपछि विभिन्न व्यहोरावश च्यातिने, फाटिने वा उध्रने हुन्छ । त्यस्तो अवस्थामा टाल्नु वा सिलाउनुपर्ने हुन्छ । त्यसको लागि सियोधागोको आवश्यक पर्दछ । त्यस्तैगरी शरीरमा काँडाआदि बिजेमा तत्कालै निकाल्नुपर्ने हुन्छ । त्यसको लागि पनि सियोको चाहिन्छ । स्मरणीय तथ्य यो पनि हो कि- काँडा बिजाएमा सियोको प्रयोग गरी निकाल्न सकिन्छ । त्यसरी निकालिएको काँडालाई पनि सजाय दिन सकिन्छ । सजाय दिने तरीका पनि निकै रमाइलो देखिन्छ । निकालिएको काँडालाई सजाय स्वरूप सम्बन्धित व्यक्तिकै नाकको टुप्पोमा राख्छन् ।

त्यसरी राखेपछि उक्त काँडा बिजाउँदा जति दुखेको हुन्छ; त्यत्ति नै दुखाई त्यो काँढाले पनि महशुश गर्दछन् । त्यसकारण धेरै दुखाई दिएको अवस्थामा यसलाई पनि सजाय दिन्छु भन्दै आफ्नै नाकको टुप्पोमा केही क्षण टाँसेर राख्ने प्रचलन पाइन्छ । साधकहरूका शक्ति सङ्घर्षको क्रममा पनि यसको प्रयोग गर्ने गरेका आहानहरू पाइएका छन् । तिनका बारेमा विस्तृत अध्ययनको पाटो खुल्ला रहेको छ । यही कारण हुनुपर्छ, आफ्नो खुकुरीको खिसामा सियो र धागो पनि राख्ने प्रचलन अद्यापिक कतै-कतै पाइन्छ ।

३. खुकुरीको महत्त्व
हरेक उपभोग्य बस्तुको आफ्नै महत्त्व हुन्छन् । खुकुरीको पनि आफ्नै महत्त्व रहेको देखिन्छ । यसलाई मुख्यतः सामाजिक, सांस्कृतिक तथा वैयक्तिक सुरक्षाको हिसाबबाट हेर्न सकिन्छ । जसका बारेमा निम्नानुसार चर्चा गरेको छु ।
३.१ सामाजिक महत्त्व
तामाङ सामाजिक जीवनमा छोरोमान्छेको आफ्नै भूमिका निर्धारित रहेको छ । विशेषतः शारीरिक रूपमा बल प्रयोगको कार्य छोरोमान्छेले गर्दछन् । त्यसक्रममा भारी बोक्ने, ढुङ्गा फुटाउने र गोरु जोत्ने लगायत पर्दछन् । त्यस्तैगरी बन्दूक, तरबार, खुँडा र खुकुरीजन्य हतियार छोरोमान्छेले प्रयोग गर्दछन् । तामाङ छोरोको रूपमा जन्म लिएपछि उसको सामाजिक जीवनमा खुकुरी भिर्नैपर्ने हुन्छ । कम्बरमा भिरेको खुकुरीले उसको सामाजिकस्तर तथा मर्यादालाई पनि कतै न कतै इङ्कित गरिरहेको हुन्छ ।

व्यक्तिको आर्थिक तथा भौतिक परिस्थितिले खुकुरी पनि प्रभावित रहेको हुन्छ; जस्तै : सानो कदकाले सानै खुकुरी भिर्दछन् । ठूलाकदका लागि ऊ सुहाउँदो खुकुरी चाहिन्छ । सामान्यतः खुकुरीको आकारले उसको आर्थिक तथा भौतिक (शारीरिक) हैसियतलाई पनि स्पष्ट पारिरहेको हुन्छ । आमभन्दा ठूला वा साना खुकुरी भएमा कस्तो मान्छे भन्ने स्पष्ट हुन्छ । त्यसमा पनि ठूलो खुकुरीले फलानाको भन्ने बित्तिकै उसको ज्यान ठूलै भनेर अनुमान लगाउन सकिन्छ । खुकुरी खेल्ने क्रममा यी चिजहरू विशेष रूपमा हेर्नु पर्दछ । त्यस्तैगरी सामान्य जात्रामात्रामा जाँदा भिर्ने, मेलापातमा जाँदा वा वन पस्दा भिर्ने खुकुरी फरक हुन्छन् । मेला वा वन पस्दा भिर्ने खुकुरी लाग्ने तर धेरै आकर्षक नहुन पनि सक्छ तर जात्रामात्रामा जाँदा भिर्ने चाहिँ आकर्षक नै चाहिन्छ । रसुवा र धादिङ लगायतका स्थानमा तामाङ छोरोले अहिले पनि प्रायः खुकुरी भिरेकै हुन्छन् । सँधै भिर्ने हुनाले त्यसलाई आकर्षक रूपमा बनाएका हुन्छन् । खुकुरीको बनौट, दापको सजावटले पनि व्यक्तिको आर्थिक तथा सामाजिक हैसियत दर्साउँछ । काठ र छालाद्वारा निर्मित वा काठद्वारा निर्मित दापलाई आकर्षक रूपमा सजाएका हुन्छन् । कतिपयले पित्तल वा आल्मुनियमले पनि सजाएका हुन्छन् । आर्थिक रूपमा सम्पन्नहरूले चाहिँ चाँदीले सजाउन सक्छन् । सजाउने क्रममा निर्मित बुट्टाहरूले पनि आर्थिक अवस्था स्पष्ट पारिरहेको हुन्छ । सक्नेले पूरै दाप नै चाँदीले सजाउँछन् । नसक्नेले कोथी मात्रै भएपनि चाँदीको लगाउन सक्छन् । कतिले त बीँडलाई पनि पित्तल वा चाँदीले मोरेका हुन्छन् ।

३.२ सांस्कृतिक महत्त्व
सांस्कृतिक पाटो नै समाजको जीवन हो । संस्कृति बिनाको समाज असम्भव हुन्छ । त्यसो त खुकुरीको पनि सामाजिक मात्रै नभएर सांस्कृतिक महत्त्व रहेको छ । नेपाली समाजमा खुकुरीको सांस्कृतिक महत्त्व आफ्नै हुनु स्वाभाविक हो । तामाङ समाजमा सांस्कृतिक (संस्कारगत समेत) रूपमा खुकुरी प्रयोग गर्ने प्रचलन रहेको छ । विशेषतः बलिप्रथालाई लिन सकिन्छ । भाले वा बोका वा पाठी बलि दिनेक्रममा खुकुरीकै प्रयोग गर्दछन् । बलि दिने क्रममा मार हान्दैनन् । बलि चढाउनुपर्ने प्राणीलाई उत्तानो पारेर विधिपूर्वक रेट्छन् । राँगा काट्ने बेलामा पनि खुकुरीसँग जोडिएका विभिन्न विश्वासहरू पाइएका छन् । बलिप्रथा सही वा गलत भन्ने वहस अर्को पाटो हो ।

संस्कारगत रूपमा जन्मदेखि मृत्युसम्म पनि खुकुरीलाई वैध हतियार मान्नु तामाङ पहिचानको एउटा पक्ष हो । कतिपय स्थानमा बेहुलाले खुकुरी भिर्नुपर्ने मान्यता रहेको पाइन्छ । खुकुरी राखेर पूजा गर्ने प्रचलन पनि यदाकदा पाइएका छन् । मुख्यतः मृत्यु संस्कारमा खुकुरीको सांस्कृतिक महत्त्वको पाटो स्पष्ट हुन्छ । छोरोमान्छेको मृत्युपछि पनि लाशमा खुकुरी भिराउँछन् । घेवा संस्कारको निमित्त मृतकको प्रतीक स्वरूप घूर राख्ने प्रचलन तामाङ बुद्धिजमको पाटो हो । पुरुषको घूरमा खुकुरी भिराउन अनिवार्य मान्दछन् । महिलाको घूरमा भने कचिया भिराउँछन् । हतियार पुरुषत्वको प्रतीक मान्दछन् ।
सांस्कृतिक रूपमा विभिन्न चाडपर्वहरू मान्दै आएका छन् । विभिन्न देव देवीलाई पनि मानेकै छन् । कतिपय देउताका हातमा पनि हतियार रहेका हुन्छन् । विशेषगरी तरबार चाहिँ देउताका हातमा देख्न सक्छौं । स्मरणीय तथ्य यो पनि हो कि- कुनै पनि देउताका हातमा खुकुरी भिरेको देखिएको छैन । त्यसैले खुकुरीलाई सांस्कृतिक रूपमा सोलोडोलो मानव (पुरुष)को औजार मान्न सकिन्छ । बुद्ध आफैँले पनि तरबारले आफ्नो कपाल (केश) काटेको बताउँछन् । यद्यपि, बोनले भने खुकुरीको अतिरिक्त ‘फुर्बा’को प्रयोग गर्दछन् । मञ्जुश्री आफैँले पनि ‘राल्डी’ (एक प्रकारको तरबार) लिएको देखिन्छ ।
३.३ वैयक्तिक सुरक्षा (बुद्धदेखि रामबहादुर बोम्जनसम्म)
हतियार अर्थात् औजारको प्रयोग मुख्यतः तीन अर्थमा गर्दछन् । पहिलो अर्थमा- जीवनयापनको लागि औजारकै रूपमा प्रयोग गर्दछन् । त्यसो त खुकुरीको काम कुनै पनि सामान वा बस्तु काट्ने, ताछ्ने वा खुर्कने हो । दाउरा काट्ने, साना रुख ढाल्ने, रूखका हाँगा छिमल्ने, घरायसी वा खेतीबारीका लागि आवश्यक सामग्री निर्माणका क्रममा खुकुरी नै राम्रो मान्दछन् । दोस्रो अर्थमा- वैयक्तिक सुरक्षाका निमित्त खुकुरीकै प्रयोग रुचाउँछन् । तेस्रो अर्थमा-टाढाको यात्रामा निस्केको बेला खुकुरी भिर्छन् । राती सुतेको बेला सिरानीमुनि राख्छन् । त्यतिखेर औजारलाई साङ्केतिक हतियारको रूपमा भिरेका हुन्छन् ।
यसप्रकार वैयक्तिक सुरक्षाको क्रममा पनि शत्रु वा आक्रमक वा ह्रिंसक जीवजन्तुद्वारा सुरक्षाका लागि पनि खुकुरी रोज्छन् । मानवइतर शक्तिहरू खासगरी भूतप्रेतादिबाट जोगिन वा सुरक्षित रहन पनि खुकुरीकै प्रयोग गर्दछन् । कति अवस्थामा खुकुरीलाई सम्बन्धित पर्यावरणमा अनुकूलन हुने क्रममा सहयोगी औजारको रूपमा स्वीकारेका पनि देख्न सकिन्छ । बुद्ध (सिद्दार्थ गौतम)देखि धर्मसङ्घ (रामबहादुर बोम्जन)ले समेत एक अवस्थामा तरबारको प्रयोग गरेका बताउँछन् । सिद्दार्थ गौतमले आफ्नो केश पनि तरबारले नै काटेका थिए । रामबहादुर बोम्जनले तपस्याको क्रममा एउटा तरबार साथ लिएको तस्वीर सामाजिक सञ्जालहरूमा देखिएकै हो ।

४. खुकुरीसँग सम्बन्धित तामाङ विश्वास
गोजा (खुकुरी)लाई पुरुषत्वको प्रतीक मानिन्छ । आगोले पोल्दा फुक्न जानेपछि र कम्बरमा खुकुरी भिरेपछि छोरोमान्छे हुन्छ । तामाङ समाजमा खुकुरी खेल्ने परम्परा रहेको देखिन्छ । खुकुरीको साथमा लौरो खेल्नु पनि तामाङ पहिचानको एउटा पक्ष हो । तेमाल क्षेत्रका तामाङले साथीको निधारमा सिक्का टाँस्ने र लौरो घुमाउँदै प्रहार गर्ने खेल रहेको देखिन्छ । त्यसरी प्रहार गर्दा निधारमा टाँसेको सिक्का मात्रै झार्न सक्नुपर्ने मान्यता रहेको बताउँछन् । लौरो र खुकुरी खेल्दा प्रहारपछि थोरै रगत फुटाउनुपर्छ भन्दथे मत पनि पाइएको छ ।

रगत फुटेन र टुटुल्को मात्रै उठेमा प्रहार गर्नेलाई पाप लाग्छ भन्थे । खुकुरीले हान्दा पनि सिधै धारले प्रहार गर्न पाइँदैन । पाताले मात्रै गाला वा पाखुरामा हान्ने हो । प्रहारसँगै खुकुरी हल्का तरिकाले तान्न पाइन्छ । त्यसक्रममा धारले थोरै चोट मात्रै पुर्‍याउनु चाहिँ खुकुरीवाजको निपूणताको चिनारी मानिन्थ्यो । अहिले खुकुरी सम्बन्धी खेलहरू विरलै पाइन्छन् । आपसमा झगडा गर्ने र प्रहार गर्ने क्रम निकै कम हुँदै आएको देखिन्छ ।

तामाङ विश्वास अनुसार खुकुरी भिरेकालाई नकारात्मक शक्ति वा भूतप्रेत आदिले हत्तपत्त छुन सक्तैन । ख्याक तथा किचकन्याहरू पनि फलामदेखि डराउँछन् । त्यसैले भूतप्रेत आदिले पिरेर बिमार परेका वस्तुभाउलाई खुकुरीको धार पखालेको अभिनय गर्दै त्यही पानी खुवाउँछन् । त्यसरी खुवाउँदा वस्तुले खुकुरीको धार निले जत्तिकै हुन्छ । त्यसले भूतप्रेत काटिन्छन् र पिर्न छोडेर भाग्छ भन्छन् । खुकुरी सिरानीमा राखेर सुत्दा भूतप्रेतले तर्साउने वा ऐठन पर्ने क्रम बन्द हुने जनविश्वास पाइएको छ ।

खुकुरीको कौडीमा विशेष शक्ति रहेको हुन्छ । त्यसैले खुकुरी खेल्दा उक्त शक्ति (महादेव)लाई जगाउँछन् । जसले राम्रोसँग जगाउन सक्छ; उसैले खुकुरी खेल जित्ने विश्वास देखिन्छ । मृत्युपछि पनि छोरोमान्छेले आफ्नो खुकुरी खोज्छन् । त्यसैले घूरमा खुकुरी भिराइदिनु पर्छ । खुकुरी वा कर्द मात्रै भएपनि कोक्रोमा राख्ने हो भने जस्तै नकारात्मक शक्तिले बच्चालाई पिर्न सक्तैन र सुरक्षित हुन्छ ।

तामाङलाई बौद्ध धर्मावलम्बी भन्दै आएको छ । बौद्धस्तुपभित्र विभिन्न हतियारहरू पनि राख्ने प्रचलन छ । बौद्ध विश्वास अनुसार, स्तुपको सिंहासनको तल्लो भागमा हतियार राख्नु पर्दछ । त्यसक्रममा धनुषवाण, भाला, तलबार, गोला, बञ्चरो, बन्दूक, लामा चक्कुहरू राख्न सकिन्छ । त्यसो त खुकुरी पनि राख्न नसकिने होइन । हतियारका धार वा टुप्पो भने बाहिरपटि्ट फर्काएर वा पारेर राख्नु पर्दछ । सियोलाई समेत हतियारकै रूपमा राख्ने प्रचलन रहेको देखिन्छ । त्यसरी राखिएका हतियारले हतियारको युगलाई इङ्कित गर्दछन् । त्यसरी राखेपछि ‘हतियारको युग शान्त हुन्छ’ (वागीन्द्र शील and गुरूङ, मनप्रसाद, trans., स्तुप निर्माण विधि (Process of Construction Stupa), 34) भन्ने मान्यता रहेको छ । अहिंसावादी धर्म भएकाले पनि एक किसिमले हतियारको विर्सजन वा बिसाएका वा व्यवस्थापन गरेको भन्न सकिन्छ । यही तथ्यलाई बुझ्न नसक्नेहरूले भने स्तुपभित्र हतियार राखेर बौद्धमार्गीले विद्रोहको तयारी गरेका हुन् भन्ने आरोप लगाएका छन् ।
यति हुँदा-हुँदै पनि तामाङ समाजमा बोन (बोम्बो) धर्म संस्कृति पनि कायम रहेको छ । लबोनद्वारा बैशाखमा गरिने म्हण्डल तथा ल स्होबाको लागि दुज्जे तयारी तथा पूजाको बेला वा ह्यर्दे-मर्दे (उँधौली/उँभौली) पूजाको बेला घरभित्र छाला तथा मासुजन्य केही पनि राख्दैनन् । त्यसैले खुकुरीको दाप पनि छालको रहेछ भने बाहिर निकाल्छन् । आम जीवनको पाटो अलग्गै रहेको छ । चाडपर्वादिको बेला राँगा काट्छन् । राँगा काट्ने खुकुरी निकै ठूलो हुन्छ । राँगा काटेपछि काट्ने व्यक्ति तथा खुकुरीले भाग पाउँछन् । जङ्गलमा शिकार खेल्न जाँदा बन्दूके र बन्दूकले छुट्टा-छुट्टै एक-एक भाग पाउँछन् । यदि बन्दूकको सट्टा खुकुरीको मात्रै प्रयोग भएको रहेछ भने खुकुरीलाई पनि भाग छुटाउँछन् ।

तामाङ आममान्यता अनुसार खुकुरीलाई उत्तानो पारेर राख्नु हुँदैन । नाघ्नु पनि उचित हुँदैन । ठूलामान्छेको दर्शन गर्ने बेला दाप मात्रै भिर्ने तर खुकुरी चाहिँ बाहिरै राख्नुपर्छ । ख्यालख्यालमा वा नाटकको नाममा कोही कसैलाई खुकुरी प्रहार गरेको अभिनय गर्नु हुँदैन । त्यसो गर्नाले आयु क्षीण हुन्छ । टुनामुना जान्नेले खुकुरीको धार मार्न पनि सक्छन् । यदि कसैले खुकुरीको धार मारेको रहेछ भने खसी वा राँगा काट्दा भुत्लासमेत काटिँदैन ।

खसी काट्ने बेला जान्नेले सिन्का भाँचेर तन्त्र (आभिचारिक कृत्य) गर्न सक्छन् । त्यस्तो अवस्थामा पनि भुत्लासमेत काटिँदैन । त्यसो गर्नु घोर पापकर्म हो । यदि कसैले त्यस्तो कुकृत्य गरेछन् भन्ने खसीलाई प्रहार गरेको व्यक्तिले भुत्लासमेत नकाटिएपछि आफ्नो विधि गर्न सक्छन् । त्यसो गरेको खण्डमा अघिबाट तन्त्र गरेको मान्छेको जीवन नै खतरामा पर्छ । तामाङ समाजमा सामाजिक, सांस्कृतिक तथा विश्वासगत रूपमा यस्तै प्रशस्त जनविश्वास वा मान्यता रहेका पाइएका छन् ।
५. खुकुरी भिर्ने तरिका र त्यसको अर्थ
खुकुरी भिर्ने तरिका धेरै हुन सक्छन् । सामान्यतः तामाङ पोशाकमा के/चे (पटुकीजस्तो) पनि आउँछ । छोरो र छोरीमान्छे दुवैले पटुकी बाँधेका हुन्छन् । विशेषतः छोरोमान्छेले आफ्नो कम्बरमा बाँधिएको पटुकीजस्तोमा खुकुरी भिर्ने प्रचलन रहेको छ । आमबोलीमा चाहिँ कम्बरमा भिर्ने कुरा गर्दछन् । कम्बरमा पटुकीजस्तो बाँधेका हुन्छन् । त्यसैमा खुकुरी स्वाभाविक हो । अहिले आएर कतिपयले चाहिँ पटुकी बिना पनि खुकुरी भिरेका देखिन्छ ।

सामान्यतः देब्रेपटि्ट कम्बरमा खुकुरी भिर्ने प्रचलन रहेको छ । त्यसमा पनि दापसहितको खुकुरी पटुकीमा घुसाएर भिर्दछन् । त्यसरी भिर्दा खुकुरीको खिसाचाहिँ भित्रपटि्ट पार्दछन् । सिधा पेटमा पर्ने गरी दापको टुप्पो (कोथी) बाहिरपटि्ट पर्ने गरी भिरेमा खुकुरी निकाल्न सजिलो हुन्छ; तर त्यसले राम्रो सन्देश दिँदैन । सकेसम्म त्यसरी भिर्नु उचित हुँदैन । फेरि पनि वन जङ्गलमा गएको बेला त्यसरी भिर्न नसक्ने वा नहुने होइन ।

दापको टुप्पो शरीरको दाहिनेतिर आउने गरी भिर्दा भने बीँड चाहिँ कम्बरको बाँया भागतिर पुग्छ । त्यसक्रममा खुकुरीको धार हल्का उत्तानो परेको जस्तो हुन्छ । त्यसरी भिर्नु उचित मानिन्छ । कुनै पनि सार्वजनिकस्थल वा कार्यक्रममा पुगेको बेला त्यसरी नै भिर्नुपर्ने हुन्छ । त्यसले खुकुरीलाई ‘स्हिवा’ (अनुनय भावना जस्तो) अवस्थामा राखेको मानिन्छ । त्यसरी भिर्नुको अर्थ युद्धको लागि परिआएको बेला तयार छु वा लड्न पनि तयार भन्ने अर्थ दिँदैन ।

त्यसरी खुकुरी भिर्नुलाई व्यक्तित्व, पुरुषत्व साथै तामाङत्वको पाटो मान्न सकिन्छ । यद्यपि, देब्रे कम्बरमा खुकुरीको बीँड रहनेगरी भिर्न पनि सकिन्छ । त्यसरी भिर्दा दापको टुप्पो पछाडिपटि्ट पुग्छ । त्यसरी भिर्दा एकदमै छिटोसँग खुकुरी निकाल्न सकिन्छ । त्यस्तो भिरार्इले व्यक्तिको शालिनता भन्दा पनि रौद्रता वा आवेषात्मकतालाई जनाउँदछ । विशेषतः युद्धस्थलमा त्यसरी भिर्न सकिन्छ । सामान्य अवस्थामा पनि त्यसरी भिर्दाखेरि, राम्रो सन्देश दिँदैन । त्यसरी भिर्दा ‘यो गोजा खेSबा’ भन्ने पनि गर्दछन् । ‘यो’को अर्थ ‘चोर’ भन्ने हुन्छ ।

आफूभन्दा ठूला वा अति सम्मानयोग्य व्यक्तिसँग भेट्ने बेला चाहिँ कम्बरको खुकुरी बाहिरै राख्ने प्रचलन पनि पाइएको छ । प्रभात योञ्जन (चाबहिल)का अनुसार यो प्रचलन रसुवामा भेटिएको छ । खुकुरी बाहिर राखेर दर्शनको लागि भित्र पुगेका मानिसका कम्बरमा दाप मात्रै हुन्छन् । सामान्य अवस्थामा तामाङ पोशाक लगाएको बेला बीँड चाहिँ देब्रे कम्बरतिर र दापको टुप्पोचाहिँ दाहिनेतिर हुनेगरी भिर्नु पर्दछ । त्यही नै तामाङ पोशाकमा खुकुरी भिर्ने उत्तम तरिका हो ।

त्यसरी भिरेको खुकुरीले युद्धको सट्टा शालीनता (स्हिवाभाव)लाई इङ्कित गरिरहेको हुन्छ । त्यसले खुकुरीलाई चिनेको र गलत प्रयोग गर्दिनँ भन्ने अर्थ दिन्छ । यद्यपि, तामाङ छोरोमान्छे भएर पनि त्यसरी खुकुरी भिर्दैन भने त्यसलाई छोरो वा मर्द भन्न मिल्दैन । यसप्रकार हरेक तामाङले आफ्नो पोशाकको एक पाटो (अङ्ग)को रूपमा खुकुरीलाई बुझ्न जरुरी छ । त्यसरी खुकुरी भिर्दा कसैले उसको नियत वा स्वभावमाथि शङ्का गरिरहनुको कुनै तुक रहँदैन ।

तामाङ मान्यताअनुसार खुकुरी भिर्नुको अर्थ युद्धमा जानु मात्रै होइन । बीँडलाई देब्रे कम्बरतिर साथै दापको टुप्पो दाहिनेतिर पर्ने गरी कसैले खुकुरी भिर्छ भने उसलाई कुनै पनि नकारात्मक शक्तिले छुन सक्तैन । दुःख दिँदैन । सदा सुरक्षित रहन्छ । ऊ दैवीशक्तिहरूले देखेर तर्सँदैनन् । खाद्यवस्तु काट्ने र ताछ्ने प्रयोजनका लागि मात्रै भिरेको भन्ने स्पष्ट हुन्छ । छोरो र छोरी दुवैमा पुरुषत्व गुणयुक्त हुन्छन् । त्यहीँ पुरुषत्वभाव झल्काउन समेत खुकुरी भिरेका हुन्छ ।
त्यसैले तामाङले खुकुरी भिरेको अवस्थामा गलत प्रयोग हुन वा गर्न सक्छ भन्दै सुरक्षाको प्रश्न उठाउनु पनि गलत हुन सक्छ । खुकुरी कसरी भिरेको छ ? कसरी भिर्दा त्यसको अर्थ के हुन्छ भन्ने बारेमा सबैले ज्ञान राख्नु अत्यन्त जरुरी छ । अन्यथा गलत अर्थ लाग्न सक्छ । खुकुरी भिरार्इको अर्थ नबुझिकन विशेषतः सुरक्षाकर्मीहरूद्वारा दुःख दिने, खुकुरी खोस्ने समेत गरेका धेरै उदाहरण छन् । जुन कार्य खुकुरी भिर्नेमाथि शङ्का भन्दा पनि तामाङत्वमाथिको प्रहार र विश्वासपद्धति माथिको घोरअन्याय भनेर बुझ्नुपर्ने हुन्छ ।
६. खुकुरीको प्रयोग तथा प्रतिबन्धसम्बन्धी नियम
खुकुरी प्रयोगममा प्रतिबन्ध छ कि छैन भन्ने सवाल उठ्नु स्वाभाविक हो । आमजीवनमा यसको प्रयोग व्यापक रहेको छ । सांस्कृतिक कार्यक्रमहरूमा पनि यसको प्रयोग कायमै छ । यद्यपि, सार्वजनिकस्थलमा वा अझै भनौं विरोधको कार्यक्रममा खुकुरी प्रदर्शन पूर्णतः खुल्ला पनि छैन । केही समयअघि नयाँ संविधान जारी हुने बेलामा खुकुरी, भाला र तरबारसहितको प्रदर्शनी भएको थियो ।

यद्यपि, ऐतिहासिक पक्षको आडमा उक्त प्रदर्शनी गरेका थिए । शायद त्यही भएर हुनुपर्छ; राज्यपक्षले त्यसलाई अन्यार्थमा लिएन । त्यसो त सत्तापक्षले आफ्ना मान्छेहरूलाई प्रदर्शन गर्न दिएको थियो । हिजो आधुनिक नेपाल निर्माणको क्रममा तिमीहरूका पुर्खालाई यसरी नै मारेका थियौं । आज फेरि बोल्न थाल्यौ । विचार गरे है; फेरि रीस उठायौ भने ठिक पार्न बाध्य हुनेछौं नि भनेको हो भन्ने आरोप नआएको होइन ।

सार्वजनिकस्थलमा हातहतियार प्रदर्शनी गर्न नपाइने नेपाली कानूनी व्यवस्था हो । खुकुरीलाई हतियार होइन भन्न सकिन्न । हतियार हो भन्दैमा प्रतिबन्ध लगाउन सकिने परिस्थिति छैन किनकी यो दैनिक जीवनमा प्रयोग हुने अत्यावश्यक औजार हो । अब यसलाई हतियार या औजार के मान्ने भन्ने विषयमा वहस हुनसक्छ । तामाङ समाजमा हतियारभन्दा पनि दैनिक जीवनमा प्रयोग हुने औजारको रूपमा मात्रै प्रयोग गरिएको देखिन्छ ।

बुझ्नुपर्ने कुरा यो पनि हो कि- देब्रे कम्बरमा बीँड निस्कने र दापको टुप्पो पछाडिपटि्ट पुग्नेगरी भिरेको रहेछ भने औजार मात्रै भन्न मिल्दैन । त्यतिखेर औजारभन्दा पनि बढी घातक हतियार नै हुन पुग्छ । दाहिने कम्बर वा पेटको बीचमा बीँड रहने गरी भिरेको अवस्थामा हतियार कि औजार भन्ने विवाद हुन पनि सक्छ । यद्यपि, परिस्थिति तथा परिवेशलाई हेर्नुपर्ने हुन्छ; तर बीँड बाँयाँ कम्बर र दापको टुप्पो दाँयाँतिर पर्ने गरी भिरेको रहेछ भने हतियार भन्न मिल्दैन । त्यतिखेर नितान्त औजार मात्रै हुन्छ । त्यही नै तामाङ पोशाकमा भिर्ने तरिका पनि हो ।

तसर्थ तामाङ पोशाकको अङ्गको रूपमा भिर्न दिनु सक्नुपर्छ । राज्यपक्षले त्यसमा शङ्का गर्नु हुँदैन । भिर्ने पक्षले पनि गलत प्रयोग गर्न सक्छु भन्ने मनसाय राख्नु हुँदैन । कम्बरमा खुकुरी भिरेको छु भन्ने व्यवहार र सोच राख्नु हुँदैन । त्यसलाई नितान्त औजारको रूपमा प्रयोग गर्नेछु भनेर दृढता कायम राख्न अत्यन्तै जरुरी हुन्छ ।

७. अन्त्यमा
खुकुरी भनेको तामाङको लागि खुकुरी होइन रहेछ । त्यो त ‘गोजा’ पो रहेछ । गोजाबिना तामाङ पुरुषको पोशाक पूर्ण नहुने रहेछ । खुकुरीको अङ्गहरू र तिनका अर्थ पनि तामाङ समाजमा स्पष्ट देखियो । सामाजिक, सांस्कृतिक महत्त्व पनि व्यापक रहेछ । यो औजार विशेष बाहेकको परिस्थितिमा पनि खोस्छ भने- सामाजिक तथा सांस्कृतिक अधिकारबाट वञ्चित गरेको अर्थ लाग्ने रहेछ । तामाङ समाजमा गोजा संस्कृतिमाथि अझै खोज अध्ययन आवश्यक रहेको देखियो ।
गोजा हतियारभन्दा धेरै चाहिँ औजार रहेछ । आमग्रामीण जीवन यो बिना सम्भव देखिएन । गोजामा हतियारत्व भन्दापनि तामाङत्व देख्न सक्नुपर्ने रहेछ । जन्मदेखि मृत्युसम्मका सामाजिक तथा सांस्कृतिक (संस्कारगत) पक्षहरू गोजा बिना अधूरा र अपूर्ण हुन जाने रहेछ । त्यसैले राज्यपक्षले यसलाई नजरअन्दाज गर्न उचित हुँदैन । कम्तिमा पनि तामाङ पोशाकमा सजिएको बेला कम्बरमा खुकुरी भिर्नु स्वाभाविक हो । कम्बरमा खुकुरी देखेर कोही तर्सनु हुँदैन । आमतामाङले पनि गोजालाई औजार र पोशाकको अङ्गको रूपमा मात्रै प्रयोग गर्नेछौं भनेर विश्वस्त पार्न सक्नुपर्दछ । यहीँ नै आजको एउटा तथ्य हो ।
धन्यवाद !!!

सन्दर्भ सामग्रीहरू
पराजुली कृष्णप्रसाद, ed., ”नेपाली बृहत् शब्दकोश,” (काठमाडौं : नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान कमलादी, काठमाडौं, २०५५)।
“Kukri (Khukuri) Info” (http://www.nepalsekhukri.com, 2013 2001).
“Kukri,” Wikipedia, the Free Encyclopedia (Wikipedia, the free encyclopedia, n.d.),
“Traditional Himalayan Weapons Series,The KUKRI (Khukuri) Knife 101” (http://sirkukri.bolgspot.com, August 5, 2013),
“Kukri,” 6. : Anatomy[edit] Blade[edit]
“The KUKRI (Khukuri) Knife 101,”

पदमबहादुर थिङ, गोजा/खुकुरी सम्बन्धमा चालिसेलीसँग गरिएको कुराकानी, n.d.,
धनप्रसादतामाङ, “लोकोत्तर लोकवादी विचार अभियानको अवधारणा-पत्र,” २०७०,
टेकबहादुर तामाङसँग गरिएको कुराकानी (बोन कम्यूनिटी स्कूलका प्रिन्सिपल), अन्तरवार्ता, २०६३.
वीरदोस तामाङसँग गरिएको कुराकानी, कुराकानी, २०७४,
वागीन्द्र शील and गुरूङ, मन प्रसाद, trans., स्तुप निर्माण विधि (Process of Construction Stupa), प्रथम (काठमाडौं : नेपाल बौध्द सेवा केन्द्र, काठमाडौं, २०६५),

-लेखक-खोजराज गोले
उनी SCRC का अध्यक्ष, खाेज तथा अनुसन्धानकर्ता हुन् ।

Comments

comments

SHARE