-पेमा माेक्तान तामाङ
साउन, काठमाडौं । एस.सि.आर.सि. डिस्कोर्सको दशौं शुङ्खलमा ‘‘तामाङ राष्ट्रः प्राचीन तामाङ राज्य एक विमर्श’’ शीर्षकमाथि अनुसन्धाता तथा लेखक रवीन्द्र ग्याबा तामाङले प्रस्तुत् गरेका छन् । लेखक तामाङले इतिहाससम्बन्धी केही भनाईहरुका साथ आफ्नो प्रस्तुति थालेका थिए । उनका अनुसार जितेका शासकहरुले आफ्नो इतिहास लेखाउने गरेका भन्ने विद्वान्/विदुषीले दाबी गरेका छन् । आदिवासी जनजातिका अलिखित इतिहास भनेतिनीका लोकसाहित्य र जनश्रुतिमा रहेका हुन्छन् ।

आधुनिक ‘नेपाल’देश निर्माणक्रममा तामाङ राज्यहरु समाप्त पारेका थिए । त्यसअघि करीब ५० को हाराहारीमा तामाङका साना राज्यहरु थिए । जसका दरबार र किल्लाका भग्नावशेषहरु अद्यावधि रहेका छन् । त्यस्तैगरी विभिन्न जनश्रुतिहरु पनि पाइएका छन् । कुन स्थानमा कुन ह्रुइ(थर)को राज्य रहेको थियो भन्ने समेत विस्तृत रुपमा प्रस्तुत् गरिएको थियो । राज्य रहेका भन्ने दाबीलाई प्रमाणित गर्नेक्रममा, ऐतिहासिक शिलालेख, ताम्रपत्र, हातहतियार र सनदहरुसमेत प्रस्तोता तामाङले स्लाइड माध्यमबाट प्रस्तुत् गरेका थिए ।

विभिन्न विद्वान् अध्येताहरुले तामाङका विभिन्न ह्रुइका किपटहरु रहेका बताएका छन् । तिनै किपटहरु शाह तथा राणाकालमा समाप्त पारेका थिए । तत्कालिक शासकहरुले तामाङ किपटभूमि खोसेर हिन्दू गुठी तथा सरकारी जागीरे तथा आफ्नालाई गुठी, जागीर र विर्ताका रुपमा दिएका थिए । त्यसका प्रमाणहरु पनि प्राप्त भएका छन् । यद्यपि, आहिले आएर तामाङको राज्य र राजा थिए कि थिएनन् भन्ने सम्बन्धमा व्यक्तिपिच्छे फरक मतहरु आउन थालेका छन् ।

प्रस्तोता तामाङका अनुसार आधुनिक राज्यको परिभाषा र त्यसको विशेषतासँग दाँजेर हेर्ने हो भने तामाङ राज्य र राजा थिए भन्ने प्रमाणित हुँदैन । त्यसैले आधुनिक मान्यताको आधारमा तामाङको राज्य र राजा थिए वा थिएन भनेर हेर्नु उचित हुँदैन ।

तामाङको आफ्नै किपटभूमिहरुथिए । ह्रुइहरुका विभिन्न ग्यल्सा (राज्य) रहेका अनेकन जनश्रुतिहरु छन् । यस सन्दर्भमा, यिनीहरुका जन्मदेखि मृत्युसम्मका संस्कारहरुलाई पनि हेर्नुपर्ने हुन्छ । ती संस्कारहरु राजघरानासँग धेरै नजिकका देखिन्छन् । दाहसंस्कार तथा घेवा संस्कारले पनि यिनीहरुका प्राचीन प्रकृतिका राज्यहरु रहेका प्रमाणित गरिरहेकाछन् । तामाङ भाषामा ‘ग्ले’, ‘ग्यल्बो’ र ‘घले’ जस्ता शब्दहरु छन्; जसको अर्थ ‘राजा’ हुन्छ । तथापि, आधुनिक मान्यता प्राप्त राज्यका लागि आवश्यक विशेषताहरुभने पक्कै थिएनन् । त्यसैले तिनलाई प्राचीन प्रकृतिका अर्थात् शुरुवाती चरणको राज्यव्यवस्था भन्न सकिन्छ । शाहहरुसँग समेत तामाङ राजाले सम्झौता गरेका र तिब्बतसँग व्यापारका लागि बाटो खोलिदिएका भन्ने देखिएको छ । त्यसक्रममा तामाङ राजाले करसमेत उठाएको देखिएको समेत प्रस्तोता तामाङले दाबी गरेका छन् ।

आधुनिक राज्यको रुपमा मान्यता प्राप्त गर्न सक्ने स्थिति नरहेपनि तामाङ राज्य र राजाहरु साथै किपटभूमिले तामाङलाई बेग्लै ‘‘राष्ट्र’’ भएको प्रमाणित गरेको प्रस्तोताले स्पष्ट पारेका छन् । त्यस्तैगरी कार्कपेट्रिक, बंसीटार्ट र जनकलाल शर्मालाई उदृत गर्दै प्रस्तोता तामाङले, ‘‘तामाङ राष्ट्र’’ नेपाल खाल्डो (काठमाडौं उपत्यका)को पहिलो बासिन्दाको भएको दाबी गरे । उनका अनुसार, पूर्वमा दूधकोशी, पश्चिममा बूढी–गण्डकी, उत्तरमा हिमालय पर्वत साथै दक्षिणमा महाभारत पर्वत शृङ्खलासम्म तामाङको प्राचीन आवादी रहेको थियो । हाल यही क्षेत्रलाई तामाङ राष्ट्रले आफ्नो ऐतिहासिक सम्बन्धका आधारमा ताम्सालिङको रुपमा माग गर्दै आएका छन् ।

यो क्षेत्रमा अन्य जातिका प्रवेश हुनुअघि तामाङकै बर्चस्व कायम रहेको थियो । यहाँ तामाङ ह्युलठिम, ग्यलठिम छ्योइठिम साथै ह्रुइठिम समेत प्रचलित थिए । तिनै ठिमहरुका आधारमा प्रशासन तथा न्यायप्रणालीको स्थापना गरेका थिए । समाजलाई सुसङ्गठित पारेका थिए । यहाँ तामाङको आफ्नै साझा इतिहास, संस्कृति, पूर्खा, भूगोल, भाषा, धर्म, संस्कार र संस्वृmति एवंरीतले एक हौं भन्ने भावना पाइएका छन् । यी तङ्खवहरुले तामाङ अन्यभन्दा नितान्त फरक राष्ट्र हो भन्ने प्रमाणित गरेको छ । त्यस्तैगरी आइ.एल.ओ. १६९ तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले तोकेका आदिवासीका विशेषहरुले समेत तामाङ स्वतन्त्र राष्ट्र रहेको पुष्टि गरेको छ ।

यति हुँदा–हुँदै पनि तामाङ आफू राष्ट्र भएको नाताले प्राप्त हुनुपर्ने सेवा सुविधाहरु वञ्चित रहेको छ । यसअघिका इतिहास लेखनी पनि गलत थियो । जसले तामाङको इतिहासलाई लेख्नु भन्दापनि समाप्त पार्ने प्रयास ग¥यो । तामाङ राष्ट्र आफैँले पनि आफ्नो इतिहास लेख्न लेखाउन सकेन । त्यसको लागि उचित वातावरण वा अवसर पनि थिएन । तथापि, तामाङका केही लेखकहरुले वैयक्तिक रुपमा प्रयास नगरेका भने होइनन् । यसबीच केही पुस्तकहरु आएका छन्; जसले समाज तथा नयाँपुस्तालाई आकर्षित गरेको छ ।

अब तामाङ इतिहास लेखनको ढोका खोलिसकेको छ । नयाँ–नयाँ तथा उचित सिद्धान्त तथा तरीका अपनाउँदै तथ्यगत प्रमाणमा आधारित इतिहास लेखन थाल्नुपर्ने भएको छ । यो क्षेत्रमा ठूलो सम्भावना रहेको छ । विद्यमान समस्याका खाडल पुरेर समृद्ध समाजको लागि इतिहास लेखनीतिर विशेष योजनाका साथ अघि बढ्नुपर्ने समयको माग भएको भन्दै प्रस्तोता तामाङले दरबार र किल्ला आदिका तस्वीरहरु समेत प्रस्तुत् गरेका छन् ।

कार्यक्रममा बुद्धश्री लामा, टेकबहादुर तामाङ, सूर्य तामाङ, बिगेन्द्र वाइबा तामाङ र विजय मोक्तान लगायतले आ–आफ्न जिज्ञासा राखेका थिए । प्रस्तोता तथा लेखक रवीन्द्र ग्याबा तामाङले उठेका जिज्ञासाका उत्तर दिएका थिए । अन्त्यमा सेरिज्को गन्बा डा. गणेश योञ्जनले आफ्नो मन्तव्यका राखेका थिए । गन्बा योञ्जनले, क्यानाडाको उदाहरण दिँदै– त्यहाँका सरकारले आदिवासीका क्षेत्रमा कुनै पनि योजना वा परियोेजना सञ्चालनको क्रममा स्थानीय आदिवासीसँग सम्झौता गर्ने गरेको बताए । नेपालमा त्यस्तो व्यवस्था छैन; अब लागू गराउन सक्नुपर्छ । इतिहास पनि गलत लेखेका छन् । तिनलाई सच्याउनुछ । त्यसका लागि आवश्यक पहल गर्न आफू सँधै तत्पर रहेको समेत बताएका छन् ।

Comments

comments

SHARE