नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले राज्यले आदिवासी जनजातिहरुको पहिचान स्वीकार नगर्ने हो भने देश फेरि द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।

२४औं विश्व आदिवासी दिवसको तयारीबारे जानकारी दिने उद्देश्यले बुधबार काठमाडौंको अनामनगरस्थित तमु बौद्ध समितिमा आयोजित पत्रकार सम्मेलनमा बरामले भने, ‘नेपालका आदिवासी जनजातिहरुलाई पहिचान नदिने हो भने देश फेरि एकपटक द्वन्द्वतिर जान्छ, देशलाई द्वन्द्वबाट जोगाउनका लागि सरकार बफादार भएर जनताको हितका काममा लाग्नुपर्छ ।’

सरकारले सुखी र समृद्ध नेपालको परिकल्पना गरेको भएपनि आदिवासी जनजातिहरुलाई पहिचान दिइएन भने मुलुक समृद्ध हुन नसक्ने उनले ठोकुवा गरे ।

‘एउटा जाति, एउटा भाषा र एउटा समुदायको धर्म संस्कृति बचाउने ढंगले राज्य अघि बढ्यो भने समृद्ध नेपाल हुन सक्दैन,’ उनले भने, ‘आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिमलगायत समुदायको माग सम्बोधन नगर्ने हो भने देश द्वन्द्वतिर जान्छ ।’
पहिचानको आन्दोलन र आदिवासीहरुको मागलाई लत्याउने र धर्मनिरपेक्षताको गलत ढंगले व्याख्या गर्ने काम नगर्न उनले सरकारलाई चेतावनी दिए ।

उनले यसवर्षको विश्व आदिवासी दिवसमा आदिवासी आन्दोलनको कार्यदिशा तय गर्नका लागि बृहत राष्ट्रिय राजनीतिक सम्मेलन गरिने जानकारी पनि दिए । आगामी १९ र २० गते हुने सम्मेलनमा पहिचान पक्षधर राजनीतिक दल तथा प्रमुख दलका जातीय मोर्चाहरुको समेत सहभागिता रहने जानकारी दिएकाे छ ।

साभार : सार्वजनिक

Comments

comments

SHARE