प्रारम्भ
डा. हरिराज भट्टराई रचित पाँचौँ सृजना कृति ‘याङसिला’को पाण्डुलिपी पढेँ । चीनिया सभ्यताका सबैभन्दा प्रख्यात योद्धा, मंगोल पहिचान तथा साम्राज्यका संस्थापक चंगेज खान का नाती तथा चीनमा वुद्ध धर्म अपनाउँन सुरु गरेका कुब्लाई खान र कुब्लाई खानका पनि नाती टिमुर खान समेत इतिहासमा नाम चलेका मंगोल सम्राट हुन् । तात्कालिन नेपाल (काठमाण्डु)उपत्यकामा जयरुद्र मल्ल र जयराज देव को शासन काल थियो भने पश्चिम नेपालको जुम्लामा (‘चल्ल’बाट ‘मल्ल’मा फेरिएका) खस हरूका पूर्खा नागराजका सन्तानहरू मध्ये वुद्ध मार्गी भइसकेका खस शासक रिपू मल्ल पछिका आदित्य मल्ल, पुण्य मल्ल र फृथ्वी मल्लहरूको शासन चलिरहेको हुनुपर्छ भनेर अनुमान गर्न सकिन्छ ।

यही समयावधीमा भारतको दिल्लीमा तगलक्व वंश का ईस्लाम शासकहरूको शासन चलिरहेको थियो भने बेलायतमा महासामन्त तथा अनेक दाशहरूका मालिक रोमन क्याथोलिक ईशाई शासक राजा एडवार्ड तेस्रो को शासन थियो । यस्तै परिस्थितीको पृष्ठभूमिमा रचित ‘याङसिला’ एक स्वैरकाल्पनिक (Fantasy) उपन्यास हो । संभवतया नेपाल-चीनको पृष्ठभूमिमा रचित नेपाली साहित्यको पहिलो कृति यही होला । उत्तरी छिमेकी मुलुकसँगको संबन्धका विषयवस्तुमा नेपाली साहित्यकारहरूले रचना गरेका कृतिहरूमा देवकोटाको ‘मुना मदन (गीतिकाव्य)’ र डोरबहादुर विष्टको ‘सोताला (समाजशास्त्रीय उपन्यास)’ नेपाली साहित्यमा आईसके पनि तिनका कथा नेपालदेखि त्रिविष्टप (स्वर्ग), अर्थात तिब्बतसम्म मात्र फैलिएका छन् भने ‘याङसिला’ उपन्यासको कथाले चीन सम्मै छोएकोछ ।

स्वैरकल्पना(Fantasy)
पञ्चतन्त्र, महाभारत, रामायण, मेघदूत आदि जस्ता (नेपाल-भारतमा) प्रख्यात आख्यानहरु पनि एक किसिमको स्वैरकल्पनाकै उपज मानिन्छन् । रविन्द्रनाथ टेगोरले समेत ‘महाभारतको जन्मस्थान त कविको दिमाग हो’ भनेर महाभारत समेत केही यथार्थ र कविको कल्पनाले सृजान भएको कृति हो भनि संकेत गरेको कुरा समालोचकहरूले उल्लेख गर्ने गर्छन् । मानिस तथा लेखक स्वाभावैले कल्पनाशील भएकोले स्वैरकल्पनालाई सृजनाको एक प्रख्यात प्रविधी (Technique) का रुपमा सृजनशील कार्य गर्ने चित्रकार, कवि, कथाकार, निबन्धकार, साहित्यकार लगायतले अत्यधिक उपयोग गर्दै आएकाछन् । केही समय अघि मात्र पनि बेलायती लेखक जे के रोलीङको स्वैरकाल्पनिक सृंखलावद्ध ‘ह्यारी पोटर’ले त सन्सारभरिका युवा-युवतीलाई लट्ठै पारेको थियो । जुन पुस्तकहरुको ईतिहासमा सबैभन्दा बढी बिकेको पुस्तक मध्ये एक हो । यसले दृष्टन्तबाट पनि Fantasy लेखन एक शक्तिसाली प्रविधी हो भन्ने कुरा पुष्टि हुन्छ । त्यस्तै गरेर भर्खरै भारतीय लेखक अमिश रचित Shiva Trilogy 1, 2, 3 हरू पनि प्रख्यात भइरहेको समाचार पढ्न पाइएकोछ ।

‘कल्पना शक्तीको आधारमा मुल-कथामा अनेक उप-कथाहरु जोड्दै-जोड्दै एक कलात्मक कृति सृजना गर्नु’ भनि ‘स्वैरकल्पना(Fantasy)’लाई परिभाषित गरिएकोछ । स्वैरकल्पना(Fantasy) मोटामोटी १० किसिममा वर्गीकरण गरिएको पाईन्छ । जस्तै: १। ‘महाकाव्यिक(Epic Fantasy)’; २। बहादुरी(Heroic Fantasy); ३। मानवगुणीय(Anthropomorphic Fantasy); ४। समसामयिक(Contemporary Fantasy); ५। ऐतिहासिक(Historical Fantasy); ६। मिथकीय(Mythical Fantasy); ७। हास्यरसी(Humorous Fantasy);८। विज्ञान-तिलस्मी स्वैरकल्पना(Science Fantasy); ९। डार्क स्वैरकल्पना(Dark Fantasy); १०। रोमान्टिक(Romantic Fantasy), आदि । ‘याङसिला’ उपन्यासलाई ऐतिहासिक(Historical Fantasy), मनवगुणीय(Anthropomorphic Fantasy) तथा रोमान्टिक(Romantic Fantasy) स्वैरकल्पनाहरू मिसाएर रचिएको कथा हो भन्न सकिन्छ।

प्रकरी र पताका
टिमुर खानको अनुरोधमा मिस्त्री-कालीगढहरूको एउटा टोली नेपालबाट ‘पेगोडा शैली’को भवन बनाउँन चीन जान्छ । टोली नेता पञ्चसर छन् । सो टोलीले तिब्बत हुँदै चीन पुगेर पेगोडा शैलीका २ वटा भवन निर्माण कार्य(करीव एक दसकमा) सम्पन्न गर्छ । त्यसपछि चिनीया-तिब्बती(Sino-Tibetan) श्रीमतीहरू (याङसिला र मेलाम्ची) समेतका साथ पञ्चसर र उनको टोली नेपाल फर्कन्छ । यही ‘प्रकरी’को तान टाँगेर केही रोचक र रंगीन-रशिक-रोमान्टिक रेशमी ‘पताका’हरू जडेर तैयार गरिएको ‘याङसिला’ले नेपाली कर्मीहरू वैदेशिक रोजगार गएको एक पुरानो मुन्धुम कहन्छ । आर्थिक रुपमा सम्पन्न धनवान व्यक्ती, सम्राट, राजा, महाराजाहरूको सौख भनेकै दुनियाका बहुमुल्य वस्तु तथा विशिष्ट कलात्मक सृजनाहरू आफ्नो देशमा भित्र्याउँने, आफ्नो अधिनमा लिने र शान-सौकत बढाउँने ईच्छा हुन्छ । कथाको गर्भ-जगमा पनि सम्राट टिमुर खानले चीन लगायत अन्त कतै नभएको र नेपालको विशिष्ट ‘नेपाली पेगोडा शैली’को भवन निर्माण गरी शानका साथ बसोबास गर्ने ईच्छा गरे । परिणाम स्वरुप नेपाली मिस्त्री-कालीगढहरू चीन गए, पेगोडा शैलीका भवनहरू निर्माण गरे र नेपाल फर्के । बस् । यही मीयो वरिपरि ‘याङसिला’ उपन्यास घुमेकोछ ।

मिस्त्री-कालीगढहरूको टोली सप्तकोशीको चतरा, धरानको वुढा सुब्बा क्षेत्र र सिद्ध किरात प्रदेश तथा लिम्बुवान हुँदै तिब्बत हुँदै चीन जान अघि बढ्छ । बाटोमा पर्ने लिम्बुवानमा केही दिन बस्दा लिम्बु जाति लगायत दुई यूवती हरूसँगको छोटो तर रोमान्सपूर्ण भेटघाट हुन्छ । लिम्बु समुदायले आफ्नो गाउँमा आएका पाहुनालाई गर्ने आदर-सत्कार-सम्मान लगायत लिम्बु साँस्कृति अनुसारको हार्दिक अन्तरकृयाहरूको झलक र साँस्कृतिक-वैचारिक आदानप्रदान पहिलो ‘पताका’मा समेटिएकोछ । भवन निर्माणको सिलशीलामा चिनीया-तिब्बती युवतीहरू र नेपाली युवा मिस्त्रीहरू वीच हुने स्वाभाविक सहकार्य, दोस्ती, यौन आकर्षण, अन्तर-साँस्कृतिक (Cross-cultural) रोमान्स, प्रेम र विवाह तथा टोलीमा आईपर्ने सृजनशील तनाव(Creative tensions)हरू, सम्राट टिमुर खान लगायत उनका प्रशासक-व्यवस्थापकहरुसँग र भवन निर्माण टोलीका सदश्यहरूका वीच भएका अनेक मानसिक-आन्तरिक द्वन्द(Latent conflicts)हरू र हर्ष, उन्माद, रमाईला अनेक प्रासांगिक थप ‘प्रकरी’हरूले कथामा रोचक-पूर्णता प्रदान गरेकाछन् ।
‘याङसिला’का विशेषता ‍
५.१ नेपाल (हाल काठमाण्डू भनिने उपत्यका)बाट, शायद, पहिलो कर्मीहरूको टोली (८० जना) भवनहरू बनाउँन चीन गएको घटना सबैभन्दा पहिलो वैदेशिक रोजगारको लिखित ईतिहास हुनुपर्छ । जुन टोलीलाई नेतृत्व गर्न १७ बर्से अरनीको लाई तात्कालिन पाँचौँ मल्ल राजा जयभीमदेव ले नियुक्त गरेका थिए । अरनीकोको टोलीले पहिलो चरणमा ‘त्रिविष्टप’ (हाल: तिब्बत)को शाक्य गुम्बाको मुख्य हलमा २ वर्ष लगाएर एउटा वौद्ध ‘स्तुपा’समेत केही भवनहरु बनाउँने काम गरेको थियो । अरनीकोको ‘स्तुपा’ बनाउँने शीप तथा कलाबाट प्रभावित भएपछि उनलाई चीनका राजा कुब्लाई खान (टिमुर खानका हजुर बा) कोमा पुर्‍याईयो । जहाँ अरनीकोको टोलीलाई एक वादशाहको काँसको पुरानो बिग्रेर बसेको मूर्ति मरमत गर्ने कामको जिम्मा दिए । २ वर्ष लगाएर मूर्तिलाई अरनीकोको टोलीले मरमत गरी दुरुस्तै बनाई दिए ।

त्यसपछि अरनीको ख्याती झन धेरै फैलियो । उनले अनेक भवनका डिजाईन गर्ने तथा निर्माणको जिम्मा पाए । अरनीकोले दश वर्ष लगाएर (१२७९-१२८८) निर्माण गरेको White stupa (चिनीया भाषामा White Dogoba भनिने गरेको) अहिले पनि बेजिङमा(पुनरनिर्माण समेत गरिएको) सप्रमाण सुरक्षित खडा रहेको छ । अरनीकोले, नेपालकै नेवार श्रीमती बाहेक, मंगोलियाका २ र चिनीया ७ जना श्रीमती बिबाह गरेको र ६ छोरा तथा ८ छोरी समेत भएको र चीनमै बसोबास गर्दै ६० वर्षको उमेरमा (१३०६ मा) उनको मृत्यू भएको हो भनेर ईतिहास पढ्न पाईन्छ । अरनीकोले उतै विवाह गरेर सन्तान जन्माउँदा नेवार, मंगोल र चिनीया DNA हरू मिस्सिएका सन्तानहरू चीनमा फैलिएको पनि प्रष्ट देखिन्छ ।

‘याङसिला’
एक स्वैरकाल्पनिक उपन्यास हुँदाहुँदै यसमा ईतिहासको पुट पनि सामेल छ । अरनीको पछि, पञ्चसरको नेतृत्वमा चीनतिर नेपालीहरू वैदेशिक रोजगारीमा गएको कथा समेटिएकोछ । नेपालबाट पेगोडा शैलीको भवन निर्माणका सिपालु मिस्त्री (तात्कालिन रैथाने नेपाली ईन्जिनियर)हरू चीनतिर रोजगारी गर्न गएको यसले दस्तावेजिकरण गरेकोछ । चीनका टिमुर खान र नेपालका मल्ल राजाहरु जयरुद्र मल्ल र जयराज देवको पालामा पनि दुइ मुलुक वीच साँस्कृतिक लेनदेनको संबन्ध रहेको प्रष्ट संकेत गर्दछ । त्यस बखत चिनीया तथा नेपाल (काठमाण्डु उपत्यका)का मानिसहरूका वीच माया, प्रेम र वैवाहिक सम्बन्धहरू मार्फत जीनहरूको मिश्रण (Genetic engineering)हुने गरेको कुरा पनि देखिन्छ । तेस्तै क) सरकारी कामकाजमा नैतिकता, आपसी संबन्धहरूमा विशुद्धता, न्यासंगत तथा ईमान्दारिताको मुल्य-मान्यतालाई जोडदिने चिनीया दार्शनिक कन्फ्युसियस ले स्थापित गरेको सँस्कृति; ख) नेपाल र भारतमा मध्यमार्गी वुद्ध ले स्थापित गरेको वौद्ध सँस्कृति; ग) धर्म, अर्थ, काम र मोक्षको अवधारणाले चल्ने सनातनी (हिन्दु भनिने) सँस्कृति; घ) प्रकृति पुजक नेपालकै रैथाने किरात सँस्कृति; र, ङ) सातौँ सताव्दी पछि (वुद्धिज्मले वोन धर्मका अनेक पक्षहरू आफुमा मिसाएर निर्मित) को तिब्बती-वौद्ध सभ्यता र साँस्कृतिक मुल्य र मान्यताबाट परिचालित चिनीया, तिब्बती तथा नेपालका शासक-प्रशासक तथा जनस्तरमा समेत ज्ञान-गुण तथा शीपहरु लेनदेन गरेर सहअस्तित्वमा बाँचेको कुराको पनि दस्तावेज बनेकोछ छ यो उपन्यास ।

पेगोडा शैली
भवन निर्माण परम्परामा नेपाली पेगोडा शैली (भारत, चीन र जापानकोभन्दा फरक)को छुट्टै पहिचान र स्थान रहेकोछ । ‘पेगोडा’ शैलीको ईतिहास हेर्दा सबैभन्दा पहिले ‘मृत्यूपछि जलाएर बाँकी रहेको अवशेष (Relics)लाई राख्ने पवित्र स्थान या चिहान’ को रुपमा ‘स्तुपा’ (७००० BCE) बनाएर ‘स्मृति स्तम्भ’ राख्न सुरु गरेको पाइन्छ । जसबाट ‘पेगोडा’को रुपमा भवन निर्माणको वास्तु कला (Architecture)विकास गरिएको देखिन्छ । अर्थात, सबैभन्दा पहिले वुद्धको ‘अस्तु’ एक अण्डाकार छाना सहितको (Dome) चिहानको ढाँचा (Structure) वा पवित्र ‘स्तुपा’ भित्र राखे शान्त-समाधिस्थ या निर्वाणमा लीन भएर अनन्त काल सम्म वुद्ध रहिरहन्छन् भन्ने अवधारणा विकास भयो । जसबाट ‘पेगोडा’ शैलीका साना-ठूला, अग्ला-होचा स्तुपाहरू र किसिम किसिमका मन्दिर निर्माण गर्ने वास्तु कला विकास भयो । स्तुपा र पेगोडा शैलीको मन्दिरको मिस्रित रुप विस्तारै मानव बसोबास गर्ने ‘पेगोडा’ शैलीको भवन निर्माणको अवधारणा विकास भयो । पेगोडा शैलीको भवनमा निवास गर्ने हरेक मानिसको मन र जीवन पनि शान्त तथा सुखी हुन्छ, ज्ञान-गुन र विद्वता हासिल हुने हुन्छ, मानिसको स्वाभाव पनि असल हुने हुन्छ भन्ने अवधारणा पनि स्थापित भयो । जापानमा Peace Pagoda भन्ने अवधारणा अहिले पनि चलिरहेकै छ । पेगोडा शैलीको स्तुपा, मन्दिर, राजप्रासाद तथा भवन हेर्दा मात्र पनि आँखा मार्फत आनन्दको अनुभूति मानव चित्तमा प्रवेश गर्छ र मनमा शान्ति महसुस हुन्छ भन्ने कुरा साँस्कृतिक वातावरणवीद(Environmentalists)हरूले तर्क पनि गर्छन् । नेपालका भवन निर्माणमा धेरै अघिदेखि ‘पेगोडा’ शैली अपनाएर (भवनको आकारमा चौडाईभन्दा लम्बाई लामो हुने र भुइँतल्ले देखि अनेक तल्ले) ‘घर’ बनाई सर्वसाधारणले बसोबास गर्दै आएकाछन् ।

जसलाई ‘पहाडे घर’ पनि भन्ने गरिन्छ । मन्दिर तथा राज भवनहरूको निर्माण गर्दा पेगोडा शैलीमा थप अनेक तल्ला र कलाकृतिहरू जडान गरेर सौन्दर्य भरेको जताततै देखिन्छन् । जस्तै: काठामन्डुमा विश्वप्रसिद्ध वौद्धनाथ र स्वयम्भुनाथ स्तुपाहरू “स्तुपा”का विकसित उदाहरण हुन भने काठमाण्डुको पशुपती नाथको मन्दिर, काष्टमान्डप आदि पेगोडा शैलीका उदाहरणीय मन्दिर हुन् । कुमारी घर र पाटन तथा भक्तपुरका दरवारहरू देवी तथा राजा-महाराजा बसोबास गर्ने पेगोडा शैलीका भवन हुन् । यही भवन निर्माणको विशिष्ट कला-कौसल द्वारा निर्मीत ‘पेगोडा’ शैलीको भवन निर्माण गराएर शान्त पूर्वक बास गर्ने ईच्छा चीनका राजा टिमुर खानले पनि गरेकोले पञ्चसरको नेतृत्वको मिस्त्रीहरूकोएक टोलीलाई चीन लगियो जुन टोलीले पहिले एउटा भवन बनायो । टुमिर खान अत्यन्तै प्रभावित भएकोले दोस्रो भवन पनि निर्माण गर्न लगाए । यसरी अरनीकोको टोलीले बनाएको स्तुपा र पञ्चसरको टोलीले निर्माण गरेका (वुद्ध मार्गी स्तुपा र पेगोडा शैलीमा आधारित) भवनहरूको प्रभाव चिनीया भवन निर्माण कला (Fengshui )मा पनि (नेपाल मार्फत) शैलीगत कलात्मक DNA मिस्सिएर छुट्टै चिनीया ‘पेगोडा शैली’ विकास हुन गएको हो भन्ने संकेत मिल्दछ ।

५.४ टिमुर खानका भवनहरु निर्माण गर्ने कार्य सम्पन्न गरिसकेपछि पञ्चसर ‘आफ्नो भौतिक व्यक्तित्व र सुखद सहवासको सफलता प्रदान गर्ने प्रेरक शक्ती स्वरुप युवती ‘याङसिला’लाई र आफ्नो व्यक्तित्वकी पूरक तर वुद्धि स्थलमा निवास गर्ने, चिन्तन तथा दृष्टिजस्ती अर्की युवती ‘मेलाम्ची’समेत गरी २ श्रीमती लिएर आफ्ना मिस्त्रीहरूको टोलीसहित (संभतया १ दशकपछि)कान्तिपुर फर्किन्छन् । वुद्धपूर्णिमाको अवसर पारेर कान्तिपुर, ललितपुर र भादगाउँका राजाहरूले संयुक्त रुपमा चीनबाट फर्किएका आफ्ना वास्तुविदहरूको सम्मान गरी मान बढाइदिन्छन् ।

५.५ पञ्चसरले आफ्नी एक श्रीमती ‘याङसिला’लाई काठमाण्डुबाट पूर्वोत्तरतिरको एउटा रमणीय स्थानमा राख्छन् जुन (एक देवीले सपनामा याङसिलालाई भनेकै) ठाउँलाई ‘हेलम्बु’ भनी नामाकरण गरियो । जहाँ पञ्चसर र याङसिलाका (चिनीया र नेपाली DNA मिस्रित)सन्तानहरू हिमाल आरोहण कार्यमा आज विख्यात छन् । अर्कोतर्फ पञ्चसरकी दोस्री श्रीमती मेलाम्ची तर्फका (चिनीया र नेपाली DNA मिस्रित)सन्तानले काठमाण्डु उपत्यकामै पेगोडा शैलीको वास्तु कलालाई परिस्कार गर्दै भवन निर्माणको पेगोडा शैलीलाई विस्तार गर्दै लाने कामलाई आज पर्यन्त निरन्तरता दिँदै नेपालको वास्तुकलामा आफ्नो फरक शैलीगत पहिचान-सम्पदालाई कायम राख्दै नेपालको हिमाली तथा पहाडी क्षेत्रमा स्थापित तथा प्रचलित बनाउँने काम गरिरहेकाछन् । अर्थात, नेपालको हिमाली र पहाडी क्षेत्रको भवन निर्माणमा पनि वौद्ध सम्पदा ‘स्तुपा’ले अवधारणात्मक योगदान गरेको देखिन्छ ।

५.६ चीन जाँदै गर्दा लिम्बुवानमा भेटिएका किराती मेन्छ्या (तरुनी)हरू सानझाङ र तिजहाङले पञ्चसरलाई पर्खिरहे र तिनै ‘मेन्छ्या’हरूकै स्मृतीमा सो ठाउँको नाम ‘मेन्छयायेम’ रहन गयो’रे भन्ने किम्बदन्ती पनि छ । ति अग्ला चुलीहरु तेरथुमको म्याङलुङ बजार नजिकै खडा छन् । यस्ता अनेक कथा-कुथुङ्ग्रीहरू बारे ‘याङसिला’ पढेपछि झन छर्लङ्ग हुन्छ । नेपालीसँगै भएको ‘पेगोडा’ शैलीको भवन बनाउँने कला-शीपले सम्मानित वैदेशिक रोजगार दिएको मध्य कालिन नेपालको स्वैरकाल्पनिक कथा कहेर हाल धेरै ‘अदक्ष’ जनशक्तीले सस्तो मजदुरी गर्न विदेश जान परिरहेको नेपालीहरूलाई (‘शीप’ विकास गरेर) ‘दक्ष’ जनशक्तीका रुपमा वैदेशिक रोजगारीमा पठाउँन सके नेपालको अर्थतन्त्रमा अझ बलियो सहयोग पुग्ने कुराको संदेश समेत दिने उपन्यासकार डा. हरिराज भट्टराईलाई बधाई छ । याङसिला’को मुन्धुम पढ्ने सबैमा – तीयाहा ! लास्सो !! ज्व:जलप्पा !!!
विक्रम सुब्बा, ८६/१५ शंखमूल, काठमाण्डु, नेपाल,
२०१७ साल भाद्र ४ गते, आइतबार ।
————– ——
सन्दर्भ सामग्रीहरू
1. How Himalayas formed – http://www.todayifoundout.com/index.php/2013/12/himalayas-formed/
2. History of Nepal – http://www.thamel.com/htms/history.htm
3. http://www.wow.com/wiki/Khas_Empire
4. Manjushree – https://en.wikipedia.org/wiki/Manjushri
5. http://sanskritdictionary.com
6. http://sf-encyclopedia.uk/fe.php?nm=sanskrit_literature
7. http://www.zettesworld.com/DT/types.htm
8. Pagoda – https://en.wikipedia.org/wiki/Pagoda
9. Art since the Time of Arniko – http://ecs.com.np/features/art-since-the-time-of-arniko
10. History of Kathmandu – https://en.wikipedia.org/wiki/History_of_Kathmandu
11. History of Tibet – http://www.historyworld.net/wrldhis/PlainTextHistories.asp?historyid=aa71
12. History of China – http://www.history-of-china.com/
13. History of India – http://www.mapsofindia.com/history/
14. History of Mongols – http://www.historyworld.net/wrldhis/PlainTextHistories.asp?historyid=aa76

Comments

comments

SHARE