-ङिमा पाख्रिन
न्युयोर्क / अमेरिकामा उच्च शिक्षा हासिल गरेका तामाङ युवाहरुलाई सम्मान गर्दै उनीहरु कुन क्षेत्रलाई क्यारीअर बनाउँन चहान्छन् भन्ने सन्दर्भमा छलफल गरी सहयोग पुराउँने उदेश्य राखी तामाङ समाज न्युयोर्कले एक कार्यक्रमको आयोजना गरेको छ ।

यहि जुलाई महिनाको २९ तारिक आईतबार न्युयोर्क स्थित ज्याक्सन हाईटमा उक्त कार्यक्रमको आयोजना राखेको कार्यक्रमका संयोजक छिरिङ योन्जनले बताए । उनका अनुसार न्युयोर्क राज्यमा बसोबास गरी सन २०१८ मा एसोसिएट डिग्री वा सो भन्द माथि हासिल गरेका १२ जनालाई सम्मान गरिने छ । सम्मानित हुनेहरुमा मास्टर्स डिग्री पुरा गरेका नाम्गेल लामा र अमृत लामा रहेका छन् भने ब्याचलर डिग्री पुरा गरेका मरिना तामाङ, उमा लामा, करुणा लामा, निलिमा रुम्बा र एन्जेला गरी पाँच जना रहेका छन् । त्यसैगरी पाँच जनाले एसोसिएट डिग्री पुरा गरेका छन् । एसोसिएट डिग्री गर्नेहरुमा तेन्जी योन्जन, सरीता लामा, साङ्मो लामा, तेन्जिङ योन्जन र सोनिका लामा छन् ।

उच्च शिक्षासँगै अमेरिकामा कसरी आफूले चाहेको क्षेत्रमा क्यारीअरको विकास गर्दै जाने भनेर छलफल गर्न बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका नौ जनाले आफ्नो क्षेत्रको बारेमा अनुभवहरु बाँड्ने छन् । कार्यक्रम तालिका अनुसार सिपिए नाम्गेल लामा, डाक्टर बर्षा मोक्तान, प्रोफेसर सम्याक शेर्तोक, कम्प्युटर ईन्जिनियर रोशन लामा, ईलेक्ट्रिक ईन्जिनियर समीर तामाङ, लाग्वार्डिया कम्युनिटी कलेजका सल्लाहकार प्रविन मोक्तान, रियल्टर कमला लोप्चन, युवा व्यवसायी पवन मोक्तान, पुर्व मिस तामाङ (२०१३) लाक्पा तामाङ लगायतले क्यारिअर विकास सम्बन्धी सल्लाह दिने छन् ।

आयोजक संस्थाका सचिव दिपेन्द्र लामाका अनुसार तामाङ युवा जगतलाई उच्च शिक्षासँगै क्यारिअरमा अगाडी बढ्न उत्साह जगाउँने कार्यक्रमको प्रशंसा गर्दै प्रोफेसर क्याथरिन मार्च, सांसद नविना लामा, क्याप्टेन बिजय लामा लगायतले सफल्ताको लागि शुभकामना दिएका छन् । कार्यक्रमलाई प्रत्येक बर्ष नियमित गर्ने अध्यक्ष गोमा योन्जनले बताएकी छि‍न् ।

Comments

comments

SHARE