–हिरामान बल तामाङ
हेर्दा सबै उस्तै लाग्छ । मान्छेहरुको काम, उदेश्य, सोच, हेर्ने दृिष्टकोण र काम गर्ने शैली, रहन–सहन, लवाइ–खवाई अनि बसाईं सबै जनाको फरक–फरक छन् । अझ भनौ भाषा, लिपी, धर्म र संस्कार संस्कृति त झनै फरक हुने नै भै हाल्यो ।
तर मान्छे एउटै देखिन्छ । मानवले मानवलाई गर्ने व्यवाहार चाहिँ फरक देखेकै हो र देखन्छि पनि । जस्तै : राज्यले देश भित्र रहेका नेपाली जनतालाई गरेको व्यवाहार हेर्नुहोस त ? के यो फरक छैन ? अहिले खुबै बजारमा चर्चामा रहेको हल्ला तपाईंले सुन्नुभयो अनि देख्नु भयो नि होइन ? गाईको सवालमा तल्लो स्तरदेखि मथिल्लो स्तरसम्म हङ्गमा नै मच्चियो । के यो तपाईलाई फरक लागेन ?

यसै कारण प्रदेश नं. ३ का उप–सभामुख राधिका तामाङलाई समेत बोल्दै नबोलेको कुरा बोल्यो भनेर आरोप लगाउँदै कतिपय अनलाईन मिडियाहरुले समाचार लेख्न भ्याए । सत्यतथ्य कुरा के हो बुझ्नै चाहेनन् । ताकी प्रायःजसो समाचारहरु कपि पेस्ट गरेको थियो । श्रोत केही खुलाएको थिएन । के यो फरक सोच हैन ? यदि फरक नभएको भए किन एकपछि अर्काे समाचार र सामाजिक संजालमा तथानाम गाली गरेर भाइरल बनाइयो त ?

गाईको सम्बन्धमाः
तामाङहरुको आँखाले हेर्दा मरेको गाई खानु ठिक हो । अझै भन्नु पर्दा तामाङहरुको कूलपूजाको लागि गाईको मासु अत्यावश्यक हुन्छ । त्यसैले चरनको क्रममा भीरबाट लडेर म¥यो भने त्यत्तिबेला नै गाई अथवा गोरुको मासु सुकाएर राख्ने गरिन्थ्यो अथवा गरिन्छ । किनभने भनेको समयमा मासु पाउँन सकिँदैन थियो । त्यही सुकुटी मासु निकालेर कूलपूजाको बेला प्रयोग गर्छन् ।

तामाङहरु बौद्ध भएको हुनाले पनि उनीहरु काटेर खाँदैनन् । खान मन लाग्यो भने बजारमा किनेर पकाएर खान्छन् । तामाङहरुले मात्र नभएर सिङ्गो आदिवासीजनजातिले आदिमकालदेखि नै गाईको मासु खाने गर्छन् । आदिवासीजनजातिको इतिहास हेर्ने हो भने नेपालमा ब्राम्हाण, क्षेत्रीभर्खरै नेपालप्रवेश गरेको देखिन्छ । यसको मतलव मेरो भनाई के हो भने, एक त हिन्दु खस ब्रम्हाण क्षेत्री आदिवासीभन्दा धेरैपछि नेपालमा भारतबाट छिरेका हुन् र आर्को कुरा नेपालको राष्ट्रिय जनवार तोकिनु भन्दा अगाडिदेखि नै आदिबासीजनजातिले गाई खाँदै आइरहेका थिए ।

हिन्दु खस ब्राम्हाण क्षेत्री आउनुभन्दा अगाडिदेखि नै गाई खाने र कूललाई पुज्ने त आदविासीजनजातिले गरिरहेकै थिए । यो सबै थाहा हुँदाहुँदै नेपालको राष्ट्रिय जनवार गाई राख्नु अनि हिन्दु खस ब्रम्हाण क्षेत्री समुदायले हाम्रो माता मान्ने गाई काट्न पाउँदैन भन्न विलकुलै गलत हो । अरु विभिन्न धेरै देशहरुमा राष्ट्रय जनवारलाई काटेर खाएकै छन् भने नेपालमा गाई काटेर खाँदा किन आपत्ती ? किन नेपालमा बाराम्बार यसै विषयलाई लिएर किचलो भइरहन्छ ? कनिकी उनीहरुको हेर्ने दृष्ट्रिकोण फरक रहयो । हैन भने यो खासै ठूलो कुरा होइन । किन यति सानो कुरामा विवाद ?

सकारात्मक सोच भएको भए तामाङले गाई काटेर खाएपनि किन आपत्ती ? उसै त नेपालमा सवारी साधन चलाउँने ठाउँ धेरै साँघुरो छ । त्यसमाथि पनि सडक बीचमा सवारी साधन दुर्घटना हुनेगरी गाई गोरु सुतिरहेको हुन्छ । गाईलाई माता नै मान्छ भने किन घरमा पाल्न सकेन ? किन घरबाट लखेट्यो ? हो तिम्रो र मेरो वीचारमा फरक यही हो ।

यस्तै फरक सोच, उद्देश्य बोकेको आदिवासीजनजाति माझी समुदायमा जन्मेर तिनै समुदायमा हुर्केका सोम कुस्कु माझी पनि एक हो । उनी आमा हरिमाया माझी र बुवा सुब्बा माझीको कोखबाट २०४३ साल असोज १४ गते काभ्रे जिल्ला हालको तेमाल गाउँपालिका वडा नं. ३ सरमथलीमा जन्मिएका हुन् । उनले माझी भाषाका २ – ३ वटा गीति एल्बममा स्वर भरिसकेका छन् ।

आठ नौ वर्ष काभ्रेको रेडियो नमोबुद्ध एफएममा माझी भाषाको रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालन गरे । त्यही क्रममा उनले रिता माझीलाई संगै डो¥याउँदै बिस्तारै रेडियो कार्यक्रम रिता माझीलाई हस्तान्तरण गरे । तत्पश्चात् उनले कार्यक्रम उत्पादन गर्न मात्र साथदिन थाले ।

लबुचे

पहिल्यैदेखि विदेशी पर्यटकहरुको भारी बोक्दाबोक्दै उनले गाइड बनेर धेरै वर्ष काम गरे । त्यही क्रममा सगरमाथाको फेदभनेर चिनिने बेस क्यामसम्म मात्र सोम कुस्कु माझी विदेशीपर्यटकहरुको गाइड बनेर २२ पटक पुग्न सफल भए । पर्यटकहरुलाई घुमाउँने क्रममा माझीले अन्नपुर्ण, लाङटाङ, गणेश हिमाल, मनास्लु लगायत स–साना हिमाल धेरै पटक चुम्न सफल भए । माझीको सानैदेखि सगरमाथाको शिखर आठ हजार ८ सय ४८ को चुचुरोमा पाईला राख्ने ठूलो उदेश्य रहेको थियो । अनि उनको अर्काे उदेश्य थियो कालापत्थर ५ हजार ५ सय ४५ मिटरको उचाईमा नाङ्गै फोटो खिच्ने धोको ।

भर्खरको युवा जोस र जाँगर न हो । एक दिन विदेशी पर्यटकहरुलाई घुमाउँन लाने क्रममा एक जना विदेशीसंग सानो कुरामा लामै विवाद चल्यो । विदेशीले ऊसंग झर्केर बोलेको कुराले उनलाई साह्रै रिस उठायो । उनले रिस थाम्न सकेनन् र भने “नेपाली त्यसमाथि हामी यहीभुमिकोआदिवासीजनजाति तैले हामीलाई चिनेको छस् ।” उनी भन्छन् “रिसले आँखा देखिन ठुल्ठूला आवाज निकालेँ, उत्ति नै बेला त्यो विदेशीलाई त्यही मारिदिउँ जस्तो लागेको थियो तर त्यसो गरनिँ ।”

उनी त्यो घटना बताइरहेका छन् – अरु विदेशी खैरेहरु भन्दै थिए प्लिज कुल डाउन सरी ! मैले स्टप भने, पिट्न पनि भएन अब के गर्ने ? तर उनीहरुलाई तर्साउनु चाहिँ पर्छ भन्ने मनमा लाग्यो । त्यत्ति नै बेला उनको दिमागमा कालापत्थरमा नाङ्गै फोटो खिच्ने सपना याद आयो । अनि उनलाई लाग्यो । मैले यो माईनस १० डिग्रीमा लुगा खोलेर नाङ्गै फोटो खिचेँ भने मेरो उदेश्य पनि पुरा हुनेछ र उनीहरु पनि नेपालको आदिवासीजनजाति शक्तिशाली हुन्छ भन्ने म्यासेज लिएर आफ्नो देशमा पुग्ने छन् भन्ने लाग्यो ।

अनि मैले बिस्तारै माथिको ज्याकेट खोलेँ खैरेहरुले प्लिज प्लिज भन्दै मलाई समात्न आए । मैले डन्ट टच मी भनेँ उनीहरु अलिक पर सरे । माथिको कपडा सबै खोलेँ । उनीहरुले फोटो खिचिरहे । मेरो पालो हतार हतार शरिरमा लुगा लगाएँ । अनि मुसुक्क मुस्कुराएँ । उनीहरु सबै तर्से । कराए पनि । पछि तुरुन्तै काठमाडौं फर्किने टुर थियो । भोलीपल्ट काठमाडौं फर्के । मलाई एक हप्तासम्म शरीर नै छ कि छैन जस्तो भान भयो ।
साेम कुस्कु माझी कालापत्थरमा ।

मलाई पछि–पछिदेखि चिसो फापेन । बिस्तारै त्यो जवान हुँदाको जोस–जाँगर पनि हराउँदै गरेकोले होला । मनमा लाग्यो अब सगरमाथाको चुचुरोमा चाहिँ चढ्न नसक्ने रहेछु । त्यसपछि धेरैजसो समय काठमाडौंमा नै बसेँ । एक दिन क्याफेमा मेरो पुरानो साथी जो मसंग एकदम मिल्ने गर्दथे । उनलाई कफि पिउँदै गरेको भेटेँ । म पनि एक्लै गएको थिएँ । मलाई पनि कफि मगाएँ र पिएँ । धेरै कुरा भयो । फिल्म लाईनमा हात हाल्ने कुरा चल्यो । दुवैजना चलचित्र निर्देशन सम्बन्धी तालिम लिने कुरा अनुसार तालिममा सहभागी भयौं ।

त्यसपछि मैले माझी समुदायको विषयमा एउटा वृत्तचित्र ‘मोङो डोङा’(मेरो ढुङग) निर्देशन गरेँ । उहाँले पत्रकारिता छोड्न सक्नु भएन । मैले ‘मेरो जिन्दगी, टापु र एस्ट्रा माया’ मा निर्देशन गर्न भ्याएँ । ‘एस्ट्रा माया’ देशभरको फिल्महलहरुमा यही जेष्ठ २५ गतेदेखि चल्दैछ ।

एकदम मिलनसार जत्तिखेर पनि हाँसिरहने, सहयोगी भावना भएका व्यक्ति रिस उठेपछि जोक के के भनेर हासाउँने गर्थे । मन अनि प्रतिभाको धनी व्यक्तित्व सोम कुस्की माझीसंगको फरकपन यही हो । यस्तो फरकपन सबैमा हुन्छ तर हरेक राम्रो नराम्रोलाई हेर्ने दृिष्टकोण सकारात्मक भयो भने पक्कै पनि त्यसबाट निम्त्याउने क्षति कम हुन्छ ।

जस्तै : माथि उल्लेखित कुरा अनुसार सोम कुस्की माझीलाई विदेशीले धेरै रिस उठाए तर उनले त्यो रिसलाई आफ्नो उदेश्यसंग जोडेर हेरे । अन्त्यमा उदेश्य पनि पुरा भयो । मानवीय क्षतिपनि खासै भएन । हो माझीको जस्तो सकारात्मक सोच देश हाँक्न खोज्ने नेताहरुमा हुनुपर्छ । अनिमात्र देश विकास हुन्छ जब सानो कुरामा विवाद गर्न छोडिन्छ । सबैको दिमागमा सकारात्मक सोच पलाओस् ।

Comments

comments

SHARE