–नाम्सादिम संवाददाता
दोलखा र रामेछापको संगमस्थल शैलुङ डाँडामा निर्माणाधीन बोधीचैत्य झ्याङछ्युब छ्योर्तेनको अनुगमन तथा निरीक्षण गरिएको छ । काठमाडौंबाट एक प्राविधिक टोली सहित निर्माणाधीन छ्योर्तेनमा पुगेर न्हानो ह्योल्मो, शैलुङ रिगसुम गोन्पो सेवा समाजका उपाध्यक्ष शेरप शेर्पा, कोषाध्यक्ष डम्बर बहादुर मोक्तान, सचिव तुलबहादुर तामाङ, सदस्य ङवाङ लामा तामाङ लगायतका टोली निरीक्षणका लागि शेलुङ पुगेका थिए ।

निर्माणाधीन छ्योर्तेनमा अहिले बुम्ब मुनिको शेएरवालको तेस्रो तहको ढलान गर्ने तयारीमा पुगेको हुनाले छ्योर्तेनको नक्सा अनुसार काम कार्य भइरहेको छ कि छैन भनेर प्राविधिक र समितिको टिम निरीक्षणका लागि गएको समाजका महासचिव कुमार थोकर तामाङले नाम्सादिमलाई जानकारी दिनुभयो ।

अनुगमनपछि छ्योर्तेन बनाउन बनाएको नक्सानुसार नै छ्योर्तेन तिब्र गतिमा निर्माण कार्य भइरहेको विवरण निरीक्षणमा खटिएको टोलीले ल्याएको सचिव तुलबहादुर तामाङले जानकारी दिनुभयो । निर्माण कार्य तिब्र गतिमा भइरहेको हुनाले भदौको अन्तिमसम्म बुम्ब बनाईसक्ने र हिउँदमा तिथि मिलाएर स्हुङ राख्ने कार्य अगाडि बढाउने समितिको योजना रहेको छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्ट्रिकोणले अति महत्वपूर्ण यस पवित्रस्थलमा निर्माण कार्य भइरहेको बोधीचैत्य झ्याङछ्युब छ्योर्तेनका आर्थिक समस्यका कारण निर्माणमा केही असर पुगेको संस्थाका कोषाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । उनले थपे,‘छ्योर्तेन तिब्र गतिमा निर्माण हुँदैछ तर हामीसंग आर्थिक छैन त्यसैले निर्माण कार्यमा केही ढिलाई भएको हो ।’ साथै निर्माणाधीन छ्योर्तेनका लागि सबैजनाले देश तथा विदेशबाट आ–आफ्नो तर्फबाट साथ सहयोग गरीदिन समेत अनुरोध गरेका थिए ।

निर्माणाधीन छ्योर्तेनको अनुगमनसंगै लामा गुरु टासी लामा तामाङ ज्यूले पूजा पाठ पनि गरेको जानकारी दिएको छ ।

Comments

comments

SHARE