-पेमा माेक्तान तामाङ
पोखरा । एस.सि.आर.सि.को आठौं डिस्कोर्स सिरिज पोखरास्थित तामाङ बौद्ध सेवा समितिको हलमा सम्पन्न गरिएको छ । नेपाल तामाङ घेदुङको प्रदेश नं. ४ प्रमुख तथा कोकोम्हेन्दो साहित्य समाजको संयोजक दीपक वाइबा गन्बा रहेको कार्यक्रममा खोजराज गोलेद्वारा ‘तामाङ राष्ट्र : अमूर्त सांस्कृतिक सम्पदा’ साथै आर.के तामाङद्वारा ‘बौद्ध धर्म र तामाङ’माथि कार्यपत्र प्रस्तुत गरेका छन् ।

नेपाल तामाङ घेदुङ कास्की जिल्ला कार्यसमिति तथा कोकोम्हेन्दो साहित्य समाजद्वारा व्यवस्थापन गरिएको कार्यक्रममा प्रस्तोता गोलेले तामाङ राष्ट्र साथै तिनका अमूर्त सांस्कृतिक सम्पदाबारे प्रस्तुत गरेका छन् । सोही क्रममा मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरू अन्तर्राष्ट्रिय महासन्धिले गरेको व्यवस्था साथै तामाङ समाजमा प्रचलित अमूर्त सांस्कृतिक सम्पदाबारे चर्चा गरे । गोलेका अनुसार सन् २०१० मा नै अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धिमा नेपालले हस्ताक्षर गरेको थियो । यद्यपि, अझैसम्म पनि तामाङ लगायतका आदिवासी जनजातिहरूले आफ्नो अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी कार्यक्रम गर्ने तथा तिनको पहिचान, संरक्षण तथा सम्बर्द्धन गर्न ढिलो गरेको बताए ।

कार्यक्रममा प्रस्तोता आर.के तामाङले प्रस्तुतिको क्रममा बौद्ध धर्म के हो ? तत्कालिन धर्महरू विशेषतगरी चार्वक मत, जैन तथा हिन्दू धर्मको बारेमा स्पष्ट पार्दै ती धार्मिक मतहरूसँग बौद्ध धर्मको फरक र विशेषताका पक्षहरूबारे स्पष्ट पारे । प्रस्तोता तामाङले तामाङ समाजमा बौद्ध धर्म सांस्कृतिक रूपमा ज्यादै राम्रो रहेको तर ज्ञान पक्षीय रूपमा कमजोर रहेको बताए । अाउँदाेदिनमा तामाङले बौद्ध ज्ञान पक्षमाथि व्यापक अध्ययन साथै पक्कड कायम गर्दै जानुपर्ने बताएका छन् । उनका अनुसार तामाङलाई बौद्ध धार्मिक मार्गमा प्रवेश गर्न साथै त्यसलाई अवलम्बन गर्न धेरै सहज वातावरण रहेको समेत जनाएका छन् ।

एस.सि.आर.सि.ले यसअघि सम्पन्न गरेको छ वटा डिस्कोर्स सिरिजहरूका ब्रिफको विमोचन भोलुम १ गरेको छ । उक्त सामग्रीको नाम भने ‘SCRC DISCOURSE BRIEF VOLUME -1’ रहेको छ । उक्त ब्रिफको विमोचन भने कार्यक्रमको गन्बा दीपक वाइबा, एस.सि.आर.सि.को अध्यक्ष खोजराज गोले तामाङ साथै प्रकाशन सहयोगी बज्रसिं लामा (हलेश्वर वचत तथा ऋण सहकारी संस्था लि.)ले संयुक्त रूपमा गरेका छन् ।

कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धनप्रसाद तामाङले ”जन्म हाम्रो वशमा छैन तर बाँच्ने क्रममा सुधार गर्न सकिन्छ । यदि हरेक व्यक्तिले साँच्चैमा आफ्नो जीवन बचार्इलार्इ सुधार्न सक्ने हो भने उसले आफ्नो मृत्युलार्इ पनि बदल्न सक्छ । त्यस्तैगरी मृत्युलार्इ बदल्न सक्ने हो भने निर्वाण प्राप्त गर्न सक्ने” दाबी गरेका छन् ।

कार्यक्रमको अन्त्यमा गन्बा दीपक वाइबाले पोखरेलीलार्इ ज्ञानको सागरमा चुर्लुम्मै डुबाएको दाबी गर्दै एस.सि.अर.सि.प्रति हार्दिक आभारी व्यक्त गरेका छन् । वाइबाले, तामाङ समाज ज्ञानको भोका रहेको तर उक्त भोक तथा तिर्खा अन्यले दिएका ज्ञानले कहिल्यै तृप्त पार्न सकेनन् किनकी अन्यले दिएका ज्ञानमा तामाङको मौलिक ज्ञान थिएन । उनले अहिलेसम्म पनि तामाङ समाज भक्तिमार्गमा सीमित रहेको तर अब ज्ञानमार्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

Comments

comments

SHARE