-विक्रम सुब्बा
नेपालमा अहिलेसम्म जिउँदो रहेका अादिवासीजनजाति भाषा र साहित्य उत्थानका निम्ती गर्नु पर्ने केही आधारभूत कार्य निम्नानुसार रहेकाछन्

१. पात्रोः ‘जनताको संविधान’ भनेको पात्रो वा ‘क्यालेण्डर’ पनि हो । जसले हरेक जातिको आ-आफ्नो नयाँ वर्ष कुन महिनाको कुन दिन पर्दछ र यसलाई सम्बन्धित संस्थाहरूले गाउँ-गाउँ र शहरहरूमा कसरी मनाउँने ? कुन-कुन तिथीहरू कुन कुन दिन पर्दछन् ? कुन कुन दिन कुन कुन मौलिक चाडपर्वहरू पर्दछन् ? कुन कुन दिन विदा पर्दछन् ? आदि प्रश्नको जवाफ घर-घरमा पुगेर पात्रो या क्यालेण्डरले दिईरहने काम गर्दछ । यसको निम्ती दिन, साता, महिना, वर्ष सबै तोकेर पात्रो या क्यालेण्डर लेखन कार्य गर्नु र निरन्तरता दिनु एक बिशेष काम हो ।

२. आ-आफ्ना भाषाहरुमा निहित स्वर ध्वनीहरू (Vowel sounds) र व्यन्जन ध्वनीहरू (Consonant sounds) पहिचान गरि International Phonetic Association (IPA) Chart को आधारमा आफ्नो भाषामा निहित ध्वनी तालिकाको विकास गरेर एक अभिलेख तैयार गर्नु पर्नेछ । यसका आधारमा कुन कुन ध्वनीलाई के कस्तो किसिमको लिपिमा अंकितिकरण गर्दा उपयुक्त हुन्छ भनेर सोच्न सकिन्छ र लिपिहरू विकास-सुधार गर्न पनि सकिनेछ ।

३. लिपिहरूको विकास:- हाल केही जातजातिले आ-आफ्नै लिपि समेत प्रयोग गरिरहेको पाईन्छ । आफ्ना भाषामा निहित ध्वनीहरुको आधारमा भाषा क्षेत्रमै काम गर्ने विज्ञहरूले नै लिपिको विकास गरेका हुन् । तसर्थ, ज-जसको आफ्नै लिपि छैन आफ्नै लिपि तैयार गर्न सकिन्छ । तर कतिपय मिल्दाजुल्दा (नजिकका भाषा परिवारका) भाषाले कुनै चलिरहेकै लिपिलाई थोरै मात्र चिन्हहरू (Diacritics) थपरे अपनाउँने (Adopt) गर्न सकिन्छ । जस्तै: धेरैजसो किरात जातजातिहरूको आफ्नो छुट्टै लिपि विकास गरेर प्रयोग थाल्न बाँकी रहेकोछ । अहिले आएर यस क्षेत्रका विज्ञ तथा किरात अगुवाहरुको सकृयतामा हाल उपलब्ध र जिवित रहेको किरात सिरिजंगा लिपिलाई नै सुधार वा आवश्यक चिन्हहरू (Diacritics) थपघट गरेर किरात भाषाका ध्वनीहरूलाई लेखन कार्य (Transcribe) गर्न सकिने बनाउवन सकिन्छ होला । तेस्तै, सम्बोटा लिपि नै लिएर कुन कुन भाषाहरु लेख्न सकिन्छ? सो अध्ययन गरेर सुहाउँदिलो किसिमले केही सुधार समेत गरेर लिपि ग्रहण (Adopt) गर्न सकिन्छ होला । त्यसपछि सो लिपिहरूलाई कम्प्युटरको प्रोग्रामिङ गरेर किसिम किसिमका अक्षरहरू विकास गर्ने र सन्सारभरिका सबै कम्प्युटरमा सो लिपि टाईप गर्न सकिने र डाउनलोड गरेर पढ्न र सेभ गर्न सकिने गरी यूनिकोड प्रणालीमा राख्न सकिने पनि बनाउँनु पर्दछ ।

४. हरेक (आफ्नै) जातजातिका सँस्कार, धर्म तथा दर्शनहरूको अध्ययन तथा लेखन:- सबै जातजातिहरूको जन्मदेखि मृत्युसम्म (Life cycle मा ) अपनाउँनु पर्ने सँस्कारगत तथा चरणगत चक्रहरु रहेका छन् । आफ्नो सँस्कार, धर्म के हो ? आदि बारे हरेकले सँस्कार, धर्म र दर्शनका बारेमा अध्ययन गरेर पुस्तकका रुपमा प्रकाशन गर्ने काम महत्वपूर्ण हुनेछ । यसको निम्ती हरेक जातिको सँस्करति तथा धार्मिक परम्पराहरूको अध्ययन, लेखन र प्रकाशन महत्वपूर्ण आधार हुन्छ ।

५. चाडपर्वहरूको अध्ययन तथा लेखन:- सबै जातजातिहरूले हरेक महिना वा वर्षभरि कुनै न कुनै चाडपर्व मनाई रहेका हुन्छन् । चाडपर्वहरू मनाउँने सिलसिलामै आफ्ना हाड-नाता, छोरी-चेली, मामा-मावली, कुटुम्बहरूको भेटघाट हुने र सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक गतिविधिहरु संचालित तथा गतिशील हुने गर्दछन् । चाडपर्वहरूले नै समाजमा सम्बन्धहरूको संजाल (Network) निर्माण गर्ने काममा सहयोग गरिरहेका हुन्छन् जुन हरेक व्याक्तीका निम्ती सामाजिक पुँजी, जीवन शैली, जीवन दृष्टिकोण निर्माण कार्यको पूर्वशर्त नै हो । त्यसैले हरेक जातजातिको चाडपर्वहरू अध्ययन गरेर प्रकासन गरि ईच्छुक मानिसहरूलाई अध्ययन गर्ने अवसर दिनु वा ती सामग्रीका आधारमा स्कुल-कलेजमा पठन-पाठन गराउँन समेत मद्दत पुग्नेछ ।

६. हरेक जातजातिका भाषाका व्याकरण बारे अनुसन्धान तथा अभिलेखिकरण:- हरेक जातजातिका भाषाहरुको पठन-पाठन कार्य अघि बढाउँदै लैजानको निम्ती ती जातजातिका भाषाहरुको १) प्रारम्भिक तथा २) विकसित (Advanced) गरी दुई किसिमका व्याकरण भए मात्र शिक्षकले पढाउँने र विद्यार्थीले पढ्ने काम गर्न सक्दछन् । तर हाल अनेकौँ जातजातिहरूको भाषाका व्याकरण चाहिएजति लेखिएका छैनन् । त्यसकारण छिटोभन्दा छिटो हरेक किरात जातजातिका भाषाहरुको व्याकरण अध्ययन गर्न र पुस्तकका रुपमा प्रकासन गर्नु अत्यन्त जरूरी भएको छ ।

७. हरेक जातिका भाषाका शब्दकोषहरूको लेखन र प्रकाशनः—हरेक भाषाहरुको पठन-पाठन कार्य अघि बढाउँदै लैजानको निम्ती संबन्धित जातजातिका भाषाहरुको १) प्रारम्भिक तथा २) विकसित (Advanced) गरी दुई किसिमका शब्दकोशहरू भए मात्र शिक्षकले पढाउँने र विद्यार्थीले पढ्ने काम गर्न सक्दछन् । तर हाल अनेक जातजातिहरूको भाषाका शब्दकोष भनेजस्तो लेखिएका छैनन् । त्यसकारण छिटोभन्दा छिटो हरेक किरात जातजातिका भाषाहरुको शब्दकोष लेखन र पुस्तकका रुपमा प्रकासन गर्नु अत्यन्त जरूरी भएको छ । यही सिलसिलामा हरेक जातिको आ-आफ्नै भाषामा कानुन कोश, वातावरण कोश, कृषि कोश, धार्मिक (जस्तै: मुन्धुम कोश), विज्ञान कोश, दर्शन कोश, आदि पनि लेखन र प्रकाशन गर्नु पर्दछ ।

८. आफ्नो जातजातिय भाषाका साहित्य लेखन:- नेपालका हरेक जातजातिय भाषाहरूमा पठन-पाठन संचालन गर्नका निम्ति ती सबै भाषाहरुमा निबन्ध संग्रहहरु, कविता संग्रहहरू, कथा संग्रहहरू, नाटकहरु, उपन्यासहरू, काव्यहरू, खण्डकाव्यहरू, गीत रेकर्डिङ, सिनेमा निर्माण र समालोचानाका ग्रन्थहरू हुनु पर्दछ । हाल जाजतजातिका भाषाहरूमा सुन्य बराबर छन् । तसर्थ जातजातिहरूको साहित्य अध्ययन तथा लेखन कार्य तुरुन्तै सुरु गर्नु पर्ने भएकोछ ।

९. प्रथाजन्य कानुनहरूको अध्ययन प्रकासन:- नेपाल अब संघीयतामा गयो भनिएकोछ । हरेक प्रान्तहरूमा आफ्नै कानुन लेखिनेछन् । यो काम गर्न को निम्ती हरेक प्रान्तका जातिय प्रथाजन्य कानुनहरूको आधार लिनु पर्ने वा कैयौँ बुँदा ग्रहण गर्नु पर्ने हुन्छ । त्यसैले छिटोभन्दा छिटो हरेक जातजातिका प्रथाजन्य कानुनहरुको अध्ययन गरेर प्रकाशन गरि नयाँ राज्यमा कानुन लेखनको बेला मद्दत गरिनु पर्दछ नत्र हिन्दु विधी शास्त्र या पाश्चात्य विधी सास्त्रका आधारमा नै प्रान्तहरूका कानुन लेखिनेछन् ।

१०. इतिहास लेखनः-हरेक जातजातिहरूको उत्पतीका बारेमा र नेपालको हालको भूभागमा हरेक जातजातिहरूको आगमन, बसोबास, शासनको ईतिहासका बारेमा पनि अनुसन्धान र लेख्ने कार्य गरिनु पर्दछ । अहिले सम्म लेखिएका इतिहासहरूमा धेरै हदसम्म प्रमाण बिहिन वा अरु कसैको स्रुती-समृती-धर्म शास्त्र वा इतिहासमा उल्लेख भएको आधारमा मात्र लेखिएकोछ । जाति उत्पती तथा आगमनको वैज्ञानिक अध्ययन गर्दा Blood sampling लिएर DNA mapping समेत गर्नु पर्ने हुन्छ ।

११. कसरी यी उल्लेखित कामहरू गर्ने ?:- नेपालका हरेक जातिय संगठनहरूले विषय विज्ञहरूको Team हरू बनाएर यी कार्यहरूलाई परियोजनाहरू विकास गरेर कार्य सम्पादन गर्नु पर्ने हुन्छ । यो कार्यमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रतिष्ठन, त्रिभुवन विश्वविद्यालय, नेपाल सरकार, सिक्किम विश्वविद्यालयजस्ता निकायहरूसँग सहकार्यमा समेत काम गर्नु पर्दछ ।

Comments

comments

SHARE