खातागको वास्तविक अर्थ र यसको महत्व हिमाली क्षेत्रमा बसोबास गरिरहनु भएका मुलबासीहरुले सदियौ बर्षदेखि कसैलाई स्वागत र सम्मान गर्नुपरे पुरुषलाई दाहिने कुममा र महिलालाई देब्रे कुममा सेतो पिठो छर्कने प्रथालाई कर तक भनिन्छ । स्थानीय भाषामा कर भनेको सेतो रंग र तक भनेको चिन्ह हो । पछिल्लो समयमा यो कर तक भन्ने शब्दनै अपभ्रंसभै खताग भनेर उचारण गरिएको बौद्ध बिद्धानहरुको भनाइ रहेको छ ।

अाङबाबु शेर्पा, अमेरिका न्यूयाेर्क ।

खताग खासगरी सेतो कपडाको हुन्छ जुन शुद्ध र पवित्र मनले जो कसैलाई स्वागत, सम्मान र बिदाई गर्दा प्रयोग गर्दै आइरहेको छ । मानवीय मुल्य, मान्यता र भावनासँग गाँसिएको खतागको प्रयोग सातौं शताब्दीमा बुद्ध धर्मलाई अंगीकार गर्नु भन्दा पहिलेदेखिनै चलि आएको चलान देखिन्छ ।बिज्ञान प्रविधि, समय, चाहना र आवश्यकताअनुसार खताग विभिन्न आकार र रंगहरुमा उत्पादन हुन गयो । बिशेष गरी पञ्च तत्वमा आधारित पहेलो भूमि, हरियो जल, रातो अग्नि, सेतो वायु, निलो आकाशको प्रतीकका रुपमा खतागको प्रयोग हुन्छ ।

मंगोलियमा प्रायः निलो रंगको खताग प्रयोग गर्ने गरिन्छ । खातागमा अस्टमंगल चिन्हहरुको प्रतिक छापिएका हुन्छन्, जुन प्रचीन समयमा भारतका राजाहरुले प्रयोग गर्ने गर्दथे । भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको खबर देवताहरुले सुनेपछि देवताहरुले भगवान बुद्धलाई अस्टमंगलको प्रतिक चढाउनु भएको थियो । शुद्ध मनले अस्टमंगलको प्रतिक चढाउदा यसबाट सकारात्मक उर्जा पैदा हुनगइ चिताएको कुरा प्राप्त गर्न सफल भइन्छ भन्ने विश्वास छ ।

कुनै खतागमा सम्भोटा लिपीमा लेखिने भोट भाषामा चार हरफमा लेखिएको हुन्छ, यसको अर्थ नेपाली भाषामा यस प्रकार रहेको छ /ཉིན་མོ་བདེ་ལེགས་མཚན་བདེ་ལེགས་།། दिन शुभ होस रात पनि शुभ । ཉིན་མོའི་གུང་ཡང་བདེ་ལེགས་ཤིང་།། पुरा दिननै शुभ रहाेस । ཉིན་མཚན་རྟག་ཏུ་བདེ་ལེགས་པ་།། रात दिन नित्य शुभ हाेस । དཀོན་མཆོག་གསུམ་གྱི་བཀྲ་ཤིས་ཤོག་།། त्रिरत्नको सधैं शुभ मंगल् होस । कुनै खतागमा भोट भाषामा एक हरफ लेखिएको हुन्छ, यसको अर्थ नेपाली भाषामा यस प्रकार रहेको छ – བཀྲ་ཤིས་བདེ་ལེགས་ཕུན་སུམ་ཚོགས་། मंगल् होस सुख शान्ति होस अनि सुख वैभवले युक्त होस । खतागमा बज्रको प्रतिक चिन्ह छापिएको हुन्छ, यो प्रतिक विजय अस्त्रको रुपमा पुज्ने गरिन्छ जुन हिन्दु धर्मालम्बी, जैन धर्मालम्बी र बुद्धधर्मलम्बीहरुले पनि मान्दै आइरहेको छ ।

हिन्दु बैद्धिक शास्त्रानुसर भज्र इन्द्रदेबको अश्त्र हो भनि बर्णन गरिएको छ भने बौद्ध र जेनधर्मलम्बिहरुले यो भज्रलाई विजय अस्त्रको प्रतीकको साथै पंचबुद्धको प्रतीकको रुपमा मानिंदै आइरहेको छ । पंच बुद्धको नाम यस प्रकार रहेको छ : १.अमितबा बुद्ध २. अक्शोभय बुद्ध ३.भैरोचना बुद्ध ४.रत्नसम्भब बुद्ध ५.अमोगशिद्धि बुद्ध रहेको छ /खताग कुनै एक बिशेष जाती, बर्ग समुदाय र धर्मको मात्र नभएर मानवीय भावनासँग गँसिएको पाइन्छ जस्तै फुल कुनै जाती, बर्ग समुदाय र धर्मको नभई सबैको साझा हो ।

यदि खतागलाई सम्मान स्वरुप कसैको भलो र कल्याणको दृष्टिकोणले प्रयोग गर्दछन् भने बन्देज र प्रतिबन्ध लगाउनु पर्ने कारण छैन । कसैको संस्कार किन अंगाल्ने भन्ने प्रसंगकै कुरा गर्ने हो भने विवाहमा औठी प्रयोग, जन्मदिन मनाउँदाको केक प्रयोग, टाइसुटको प्रयोग आदिको ऐतिहासिक पृष्ठभूमि जे जस्तो भएपनि हामीले निर्बाध अनुसरण गरी राखेका छौ । सांस्कृतिक अतिक्रमणको प्रसंगमा नेपालको आदिबासी जनजातिहरुले हिन्दु धर्म संस्करमा आधारित बिबाहमा सिन्दुर हाल्ने बिधि र टिका लगाउने चलन अनुसरण गर्दै आइरहेको छ ।

खताग सम्बन्धी नेपालको सम्माननीय प्रधानमन्त्री के पी वोली जी र संचारकर्मी प्रेम बानियाँले दिएको अभिव्यक्तिमा कुनै सत्यता र आधार छैन । नेपाली मुद्रा बिदेशिएको, साँस्कृतिक अतिक्रमण, वातावरण प्रदुषण र चीन सरकारसँगको सम्बन्धमा असर पर्ने जस्तो अनावश्यक कुराहरुलाई लिएर खतागमाथि प्रतिबन्ध लगाउनु पर्छ भन्ने उनीहरुको आधारहिन कपोकल्पित अभिव्यक्ति साम्प्रदायिक भावनाले ग्रसित मानसिकताको उपज हो भन्दा फरक पर्दैन । सत्य कुरा ९८ प्रतिशत खतागको उत्पदान चीनमा हुन्छ र यो खातागमा सम्भोट लिपिमा लेखिएको कुरा चीन सरकारका पदाधिकारीहरुलाई पूर्ण जानकारी छ ।

सम्भोट लिपी चीनको एउटा राष्ट्रिय लिपी हो, खतागमा फ्री तिब्बत नारा लेखिएको हुन्छ भनेर भ्रम फैलाउनु अत्यन्त कपोकल्पित र मनगढन्ते कुरा हो । खताग चीनको राष्ट्रपति सी जिन पिंगले समेत निर्बाध ग्रहण गरिरहनु भएको छ । खतागलाई पटक पटक प्रयोग गर्न सक्ने भएकोले आर्थिक रुपमा सुलाभ र वातावरणमा पनि केहि असर गर्दैन । अहिलेसम्म खताग बेबारिसे अवस्थामा कहि कतै देखिन्दैन । हाल अमेरिकामा मात्र खताग प्रयोग गर्नेको संख्या एक लाख भन्दा बढी छ र एउटा विवाहमा कम्तीमा पनि एक हजार भन्दा बढी खताग प्रयोग हुन्छ । नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा खाताको प्रचलन ब्यापक देखिन्छ ।

बिदेशस्थित नेपालका हिमाली समुदाय लगायत तिब्बती, भारतको बिभिन्न स्थानहरु र भुटानले समेत खताग, धोज पत्ता र धुप नेपालबाटै आयात गर्ने भएकोले ठुलो मात्रामा बिदेशी मुद्रा नेपालमा भित्रिने देखिन्छ । विदेशबाट आयातित खतागभन्दा स्वदेशमै उत्पादित खतागको प्रयोग गर्नु पर्दछ भन्ने अभियान चलाई रहनुभएका अभियन्ताहरुलाई आभार ब्यक्त गर्न चाहन्छु,तर विदेशबाट आयातित बस्तुहरुलाई भन्दा स्वदेशी उत्पादनलाई प्रसय दिदै गर्दा विवाहमा लगाउने रातो सिन्दुरको अलाबा स्वदेशी अंगरबाट निर्मित कालो रंगले सिउदो रंगाउन शोभनीय देखिदैन ।

यदी तपाईहरुले स्वदेशमै खताग उत्पादन गर्ने हो भने खतागलाई झल्किने सादा सेतो रंगको ढाका कपडाको खताग उत्पादन गरी प्रयोग गरे विवाद रहित हुने देखिन्छ । स्वदेशी उत्पदानलाई बढी महत्व दिनु पर्ने कुरालाई बाहना बनाएर कराडौ मानिसहरुको आस्था र भावनासँग जोडिएको खतागलाई प्रहार गरी आँखाको कसिङ्गार बनाउनु पर्नेमा आवश्यकता देख्दिन । /हाल नेपालमा उत्पदित स्वदेशी खताग भनिने ढाकाको गलफन्दी वा राङ्गिबिराङ्गी कपडाको टुक्राले पवित्र खतागलाई प्रतिस्थापन गर्ने दुश्प्रयास नगरियोस भनि सम्बन्धित पक्षहरुलाई सुझाव छ ।

Comments

comments

SHARE