-पेमा माेक्तान तामाङ
राजधानीमा “तामाङ मौलिक ज्ञान सञ्ज्ञानिकरण”माथि विमर्श गरिएको छ । एस सि अार सि ले गरेकाे विमर्श  सातौं शृङ्खलामा तामाङ नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष तथा लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धनप्रसाद तामाङले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुतिको क्रममा तामाङले तामाङ समाज सांस्कृतिक रूपमा समृद्ध रहेको दाबी गरेका थिए । उनका अनुसार ज्ञानको सवालमा तामाङ समाज अत्यन्तै समृद्ध छ । भनौं मुहान नै भन्दा फरक पर्दैन । मौलिकताले भरिपूर्ण ज्ञानहरू तामाङ पुर्खाले मौखिक रूपमा संरक्षण र सम्बर्ध्दन गर्ने काम गरेको छ । जीवनका प्रत्येक आयामहरूलार्इ हेर्ने र अनुभूतिबाट प्राप्त ज्ञानलार्इ पछिल्लो पुस्तासम्म लैजानको लागि आफ्नै मौलिक पद्धतिहरूका विकास गरेका छन् । जीवन बाच्नको लागि आवश्यक जगतका सारा वनस्पतिसँग कसरी अन्तरङ्ग सम्पर्क गर्ने सीप र ज्ञान विकास गरेका छन् । त्यसक्रममा आफू मात्र नभर्इ ल्हपेङ (एक प्रजातिको पहाडी पाहा) लगायतलार्इ पनि बचाउँदै आएका छन् । त्यही ज्ञान नै तामाङ मौलिक ज्ञानको ज्ञान मिमांश भन्दा फरक पर्दैन । यही नै आदिवासी जनजाति हुनुको प्रमाण हो ।

तामाङ मौलिक ज्ञानलार्इ सञ्ज्ञानिकरण गर्ने क्रममा तामाङले मुख्य तीन आयामका विकास गरेका छन् । तिनमा ह्रुइ हुँदै ह्रुइस्यल, ह्रिबाट ह्रिग्यल अनि ह्रिक्पाबाट रिग्जेन पर्दछन् । प्रस्तुतिक्रममा उहाँले ती आयामहरूमाथि स्पष्ट पार्नु भएको थियो । तामाङले तामाङ पुर्खाहरूले ह्रुइस्याल जस्तो लोकतान्त्रिक र परिस्कृत व्यवस्थाको विकास र अभ्यास गर्नु हाम्रालागि गौरवको विषय रहेको बताए । तामाङले कुनै पनि समाजलार्इ समाप्त पार्ने क्रममा राजनीतिलार्इ मात्रै दोषी ठान्दै आएका तर राजनीतिभन्दा पनि शैक्षिक नीति अत्यन्तै खतरनाक रहेको दाबी गरे । त्यसैले आदिवासी ज्ञानलार्इ बचाउन आफ्नै आदिवासी विश्वविद्यालय स्थापना गर्न सक्नुपर्ने बताए । हरेक आदिवासीले आफ्नै मातृभाषामा र आफ्नै मौलिक शिक्षा लिनेदिने व्यवस्था गर्न गराउन ढिलो गर्नु हुँदैन ।

प्रस्तुतिपछि सवाल जवाफमा तम्बा सङ्घ नेपालका अध्यक्ष धावा वाङ्गेल मोक्तान, भाषाविद् अमृत योन्जन-तामाङ लगायतले ह्रुइस्यल लगायतका विषयमा गहन विमर्श गरेका थिए । विभिन्न क्षेत्रका बत्तीस जना जिज्ञासुका सहभागिता रहेको कार्यक्रमको गन्बा भने बुद्ध छिरिङ मोक्तान रहेका थिए ।

कार्यक्रमको अन्त्यमा गन्बा मोक्तानले आफ्नो मन्तव्य राख्दै प्रस्तुतिको सैध्दान्तिक पक्षमाथि प्रकाश पारेका थिए । मुलतः यस प्रस्तुतिलार्इ बौध्दिक जगतमा भइरहेको सङ्कथनहरू Decoloniality, Right of Mother Earth र Indigenism लार्इ समेटेर तयार पारिएको बताए । आधुनिक शिक्षाको नाममा उपनिवेश फैलाउँदै स्थानीयता तथा आदिवासीवादको हत्या भइरहेको प्रति सचेत हुनुपर्ने बताउँदै “तामाङ मौलिक ज्ञान सञ्ज्ञानिकरण”माथिको विमर्श अन्यन्तै उपलब्धिमूलक भएको जनाए ।

Comments

comments

SHARE