तस्वीरः श्रीहरि श्रेष्ठ

–नाम्सादिम संवाददाता
काठमाडौं । एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङले पूर्वी पहाडी जिल्ला इलाम अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्य भएको बताएका छन् ।

राजधानीमा आइतबार इलाम समाज हङकङले प्रकाशन गरेको क्यालेन्डर सार्वजनिक समारोहलाई सम्बोधन गर्दै नेता नेम्बाङले यस्तो बताएका हुन् । इलामको पर्यटकीय सम्भावनाको महत्वलाई विश्वसामु चिनाउनु पर्ने र समृद्ध राज्य निर्माणका लागि पर्यटन एउटा आधार भएकाले ओझेलमा परेका क्षेत्रको उजागर गर्नुपर्ने उनको भनाइ थियो ।

‘म ठट्यौली पारामा अहिलेसम्म इलाम नपुगेका साथीहरूलाई यदि इलाम पुग्नुभएको छैन भने तपाईंको जीवन निरर्थक हुन्छ भन्छु । केही साथीहरू इलाम पुगेर फर्किएपछि साँच्चै सुन्दर ठाउँ रहेछ भन्दा मलाई निकै गौरव लाग्छ’, उनले भने । यो क्यालेन्डरले इलामका थुप्रै सुन्दर र केही ओझेल परेका स्थानलाई समेट्दै देशबाहिर पनि जिल्लाको प्रवद्र्धन गरेकोमा समाजको प्रशंसा गरेका थिए ।

राष्ट्रियसभा सदस्य अगम बान्तवाले इलामलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन इलाम समाजले योगदान पु¥याएको उल्लेख गर्दै इलाम साँच्चै प्राकृतिक रूपमा सुन्दर र जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ भएको बताएका थिए । उनले इलामका पर्यटकीय क्षेत्रहरूको चर्चासमेत गरेका थिए ।

इलाममा रहेकालाई विपत्ति पर्दा हङकङमा बसेका नेपालीलाई दुख्ने भएकाले प्राकृतिक प्रकोपका बेला समाजले सहयोग गर्दै आएको संस्थाका सल्लाहकार गणेश पराजुलीले बताए । उनले विश्वभर छरिएर रहेका सम्पूर्ण इलामेको साझा छाता संगठन निर्माण गर्ने सोचाइमा रहेको बताए ।

कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, काठमाडौंका जिसस अधिकारी, गोपाल अधिकारी लगायतले इलामको विशेषता र महत्वबारे उल्लेख गर्दै समाजले इलाम चिनाउन योगदान दिएको बताएका थिए ।

Comments

comments

SHARE