-विक्रम सुब्बा
सन् १९६४ मा शान्ति नोबेल पुरस्कार दिईएका मार्टिन लुथर किङ (जुनियर) सन् १९२९ को जनवरी १५ का दिन एटलाण्टाको जर्जिया(अमेरिका)मा जन्मेका हुन् । उनका बुबा माइकल किङ (सिनियर) चर्चका पादरी थिए । मार्टिन लुथर किङ (जुनियर) ले पहिले समाजशास्त्रको अध्ययन गरे । पछि गएर उनले धर्म शास्त्रमा क्रोजेर थेओलोजिकल मेसिनरी, पेनसिलभानियाबाट उच्च शिक्षा हासिल गरे । किङ (जुनियर) आफ्नो बुबा र बुबाजस्ता यथास्थितीवादी सोचाई राख्नेहरूसँग असहमत थिए । आफ्नो असहमती, ख्रिश्चियन भएर पनि, बियर खाएर, पुल खेलेर, गोरा केटीहरूसँग लहसिएर दर्शाऊँदथे ।
पढाईको अन्तिम बर्षतिर किङ (जुनियर) को जीवनमा बेन्जामिन ई मेयस आए जसले किङ (जुनियर) भित्र अध्यात्मिक  विकास गर्न मद्दत गरे । मेयस जातिय समानताका निम्ती वकालत गर्ने मानिस थिए र ‘ख्रिश्चियन धर्मले चाहेको परिवर्तन गर्न सक्छ’ भन्ने ठान्थे । त्यसर्थ यिनैले किङ (जुनियर) लाई  ख्रिश्चियन धर्मका विशेषताहरूको समिक्षा गर्न लगाए । किङ (जुनियर) पिएचडी गर्न बोस्टोन विश्वविद्यालयमा भर्ना भए । यसैबेला, गायक र संगीतकार, कोरेट्टा स्कटसँग किङ (जुनियर) को भेट भयो । उनीहरूले सन् १९५३ मा बिबाह नै गरे र उनका ४ सन्तान पनि भए ।  पिएचडी गर्दा गर्दै किङ (जुनियर) अलाबामाको एउटा चर्चमा पादरी पनि भए । उनले सन् १९५५ मा पिएचडी सके जुनबेला उनी सिरिफ २५ बर्षका मात्र थिए ।

मार्च २, १९५५ का दिन, मोन्टगोमेरीमा, एकजना १५ वर्षे (काली) केटीले बसको सीट “गोरा”लाई छोडिदिन ईन्कार गरिन्, जसलाई कानु बिरुद्ध मानिन्थ्यो । क्लाउडेट्टे कोलभिन नामक ती केटीलाई पुलिसले पक्रेर जेल हाल्यो । यो देखेर बसमा काला र गोरामा गरिने बिभेदको कानुनलाई परिवर्तन गर्नु पर्ने भनि आन्दोलन गर्ने नागरिक समाजलाई आधार प्राप्त भयो भनि सोचेका थिए । तर ती युवती दुइ जिउकी रहिछन् जसले गर्दा नागरिक अधिकार कर्मीहरू आन्दोलन गर्नबाट हच्किए ।
डिसेम्बर १, १९५५ का दिन अर्को घटना घट्यो । रोशा पार्कस् नामक ४२ वर्षीय (काला) महिला थाकेर कामबाट घर फिर्न क्लेभलेण्ड एभेन्युको बसमा पसिन् । उनी “कलर्ड” लेखिएको बस-सीटमै बसेकी थिईन् । बस अघि बढ्यो गोराहरूको सिट सबै भरिए । अझ गोरा प्यासेन्जर आए र कालाहरूले सीट छोडिदेलान् भन्ने अपेक्षा गर्न थाले । तीनजना कालाले हिच्किचाउँदै सीट छोडिदिए तर पार्कसले सीट छोडिनन् । ड्राईभरले सीट छोड्न भने तर पनि पार्कसले सीट छोडिनन् । पार्कसलाई, मोन्टगोनेरी शहरको कानुन तोडेको भनेर पुलिसले गिरफ्तार गर्‍यो । एक हप्तापछि उनलाई अदालतले १० डलर दण्ड र ४ डलर आदालतको फि तिरायो ।

रोशा पार्कसलाई गिरफ्तार गरेकै रात “नेशनल एशोसिएशन फर दी एडभान्समेण्ट अफ कलर्ड पिपल”का ई डी निक्सनले मार्टिन लुथर किङ (जुनियर) लगायत नागरिक अधिकार कर्मीहरूलाई भेटे र नगर बस बहिस्कार गर्ने योजना बनाए जसको नेतृत्व किङ (जुनियर) लाई सुम्पियो । बस बहिस्कार आन्दोलन सुरु भयो र किङ (जुनियर)ले पहिलो भाषणमा भने – ‘अब प्रतिबाद गर्नु बाहेक कुनै बिकल्प रहेन । हामीले गोराहरूलाई धेरै सह्यौँ तर अब हाम्रो धैर्यको बाँध टुट्यो र आज हामी न्याय र समानताभन्दा कम्तीमा सम्झौता नगर्ने अवस्थामा पुगेकाछौँ ।‘ यसरी ३८२ दिन सम्म बस बहिस्कार गर्ने आन्दोलन चल्दा कालाहरूले हिँडेरै काममा जानु पर्‍यो, अनेक अपमना सहनु पर्‍यो, कालाहरूलाई अनेक डर-धम्की दिने र सताउँने काम गरियो । किङ (जुनियर) को घर र ई डी निक्सनको घरमा गोराहरूले आक्रमण समेत गरे । तर अधिकार कर्मीहरूले कानुनी लडाइँ छोडेनन् । अन्तमा मन्टगोमेरी नगरले, धेरै आर्थिक क्षति भएपछि, काला जातीले गोरालाई बसमा सीट छोडिदिनुपर्ने प्राब्धान कानुनबाट हटाउँनु पर्‍यो ।

आन्दोलन सफल भएपछि झन देशब्यापी रुपमा कालाको अधिकारको लागी काम गर्न ६० जना अधिकार कर्मीहरूको एउटा नयाँ संयोजक संगठन स्थापित भयो । जसले अमेरिकाको दक्षिण भागमा काम थाल्यो । फेब्रुवरी १९५८ मा २० वटा मास मिटिङ गरेर अमेरिकाको दक्षिणमा सबै काला जातिले पनि भोटर लिस्टमा नाम दर्ता गर्ने अधिकारको अर्को आन्दोलन सुरु गरे । किङ (जुनियर) अमेरिका भरि धेरै सहरहरूमा जातिय विभेदको अन्त्य हुनु पर्ने बारेमा भाषण गर्दै हिँड्न थाले । सन् १९५९ मा किङ (जुनियर) ले महात्मा गांधीको मुलुकको भ्रमण गरे र गांधीको अहिंसात्मक आन्दोलनका बारेमा गहिरो अध्ययन गरे । जसले अमेरिकाको आन्दोलनलाई पनि अहिंसात्मक किसिमले सन्चालन गर्न प्रेरित गरेको भनिन्छ । फेब्रुवरी १९६० काला बिद्यार्थीहरूले ग्रिन्सबोरो, नर्थ क्यारोलिनामा काला र गोरालाई दिउँसोको लन्च-खानामा गरिएको विभेदका विरुद्ध अनसन सुरु गरे । यो बेला गोराले अनेक मौखिक गालीगलौज गर्दै भौतिक आक्रमण समेत गरे तर काला विद्यार्थीहरू चुचापम अनसनमा बसे । यो आन्दोलन छिट्टै देशभरि फैलियो र सन् १९६० को अगस्टमा अमेरिकाको २७ सहरहरूमा काला र गोरा विद्यार्थीलाई लन्चमा विभेद गर्न नपाईने निर्णय गरी आन्दोलन सफलतापूर्वक टुंगियो ।

अक्टोबर १९, १९६० का दिन किङ (जुनियर) ७५ जना काला विद्यार्थीहरू सँग एउटा डिपार्टमेन्ट स्टोरको रेष्टुरेण्टमा लन्च खान पसे । तर गोराहरुले कालाहरूलाई लन्च दिएनन । किङ (जुनियर) र विद्यार्थीहरू, निस्केर जान भन्दा पनि,   रेष्टुरेण्टमा बसिरहे ।  पुलिसले आएर किङ (जुनियर) सहित ३६ जनलाई गिरफ्तार गर्‍यो । यो घटनाले देशब्यापी रुप लिने देखेर एटलाण्टाका मेयरले छिट्टै कुरा मिलाए र दोष लगाएको कुरा फिर्ता लिए । यति बेला राष्ट्रपतिको चुनावको तातो सुरु भइराखेको थियो । किङ (जुनियर) जेलमै थिए । काला र गोरावीचको भेदभावले चुनावको मुद्दाका रुपमा प्रवेश पाइसकेको थियो । जोन एफ केनेडी उम्मेद्वार थिए । केनेडीले किङ (जुनियर)का श्रीमती कोरट्टा स्कटलाई फोन गरेर किङ(जुनियर)लाई जेल मुक्त गराउँने बारे चासो लिन बाध्य भए ।

सन् १९६० स्प्रिङमा किङ (जुनियर)ले बिरमिङघम, अलबामामा बिसाल आमसभा आयोजना गरे । जसमा धेरै परिवारले भाग लिए । नगर प्रहरीहरूले कुकुर र आगोको गोला फाल्दै आमसभालाई भाँडे । किङ (जुनियर)लाई उनका थुप्रै समर्थकहरु सहित जेल हाले । जुन घटनाले देशैभरिका मानिसको ध्यान तान्न सफल भयो । किङ (जुनियर)ले जेलबाटै   अहिंसात्मक सिद्धान्तका बारेमा भने – अहिंसात्मक आन्दोलन गरेरै हामी अधिकार लिएरै छोड्नेछौँ । अगष्ट २८, १९६३ का दिन २ लाख मानिसको बिसाल आमसभा न्यूयोर्कैमै किङ(जुनियर)ले आयोजना गरे । यहीँ किङ (जुनियर)ले उनको प्रसिद्ध “”मसँग सपना छ”” भन्ने भाषण गरे जसमा उनले ‘कुनै दिन सबै मानिसहरू बन्धुत्वमा बाँच्नेछन्’ भनेर बोले । उनले भनेका थिए – “”मसँग एउटा सपना छ कि एक दिन गएर यो मुलुकमा मेरा ४ जना सन्तानहरूलाई रंगका आधारमा होइन कि उनको चरित्रका आधारमा मुल्यांकन गरिनेछ ।“”

किङ(जुनियर)को नेतृत्वको आन्दोलनकै कारण नागरिक अधिकारको कानुनका विभेदकारी बुँदाहरू १९६४मा हटाउँनु पर्‍यो   । यही कारणले किङ (जुनियर) ले १९६४ मै नोबेल शान्ति पुरस्कार पनि पाए । देशभरि अधिकारको आन्दोलन चलिरहेकै थियो । मार्च ७, १९६५ का दिन ठूलो आमसभामा पुलिसले हस्तक्षेप गर्‍यो । टियर ग्यास हान्यो । लाठी चार्ज गर्‍यो । थुप्रै मानिस रक्ताम्मे घाइते भए । १७ जना प्रदर्शनकारी अस्पतालमा भर्ना भए । यो घटना ईतिहासमा “”ब्लडी सन्डे””को नामले अंकित भएर बस्यो । मार्च ९, १९६५ का दिन फेरि २५ सय जना प्रदर्शनकारीहरू निस्के जसलाई किङ (जुनियर)ले नेतृत्व गरेका थिए । यही आन्दोलनले गर्दा कालाहरूको भोटदिन पाउवनु पर्ने अधिकारको मुद्दा देशभरि उठ्यो ।
१९६५ देखि १९६७ को समयमा किङ (जुनियर)को नागरिक अधिकारको आन्दोलन लस एन्जेलस र सिकागोजस्ता ठूला सहरहरूमा समेत गरेर देशभरि चल्यो । किङ (जुनियर)को अहिंसात्मक आन्दोलनको तरिकाले मध्यम बर्गका गोराहरूलाई समेत प्रभावित गर्‍यो ।

यही बेला किङ (जुनिहयर) ले बिभेदकारी नीति र गरिबी बीच सम्बन्ध रहेको कुरा बोले । यसैबेला अमेरिकाले “भियतनाम जस्तो सानो र गरीब मुलुकलाई युद्ध थोपर्नु अन्याय हो” भन्ने कुरा पनि अघि सारे । उनले आन्दोलनको एजेण्डामा बेरोजगारीको समस्या पनि एजेण्डाम रणनैतिक किसिमले थपेर बेरोजगारहरूलाई आफ्नो पक्षमा लिए । जसले गर्दा आन्दोलनमा धेरै पक्षहरूको सहभागिता बढ्यो । अप्रिल ३, १९६८ का दिन किङ (जुनियर) ले भाषण गर्दै भने – “हामीले पुग्ने ठाउँ म प्रष्ट देखिरहेकोछु । म तपाइँहरूसँगै त्यो ठाउँमा पुग्छु कि पुग्दिन मलाई थाहा छैन । तर आज तपाइँहरूलाई प्रष्ट पार्न चाहान्छु कि नागरिकको हैसियले त्यो संकल्पित ठाऊँ हासिल भएरै छाडिनेछ ।“ यसो भनेको अर्को दिन किङ (जुनियर)लाई वासस्थानको बरण्डामा उभिराखेको ठाउँमै गोलि हानेर हत्या गरियो । हत्यारा थिए जेम्स अर्ल रे । किङ (जुनकियर)को हत्याले देशभरि १०० वटा सहरहरूमा आगो सल्कियो । हत्यारालाई ९९ वर्षको जेल सजाय दिईयो तर अप्रिल २३, १९९८ मा उ जेलमै मर्‍यो ।

अमेरिका; एक जातीवादी मुलुकको इतिहास 
जब ईटालियन क्रिष्टोफर कोलम्बसले नेटीभ अमेरिकनहरूका सारा कुरा खोसेर अन्याय अत्याचार गर्न थालेदेखि गोराहरूले २०० वर्षसम्म नेटीभ अमेरिकनहरूको आम-संहार (जेनोसाईड) समेत गरेर सखाप पारे तबदेखि नै  जातिवादले अमेरिकामा सँस्कारका रुपमा जरा गड्‍यो । पछि आएर कालाहरूलाई दास बनाउँने “दाश युग” मा झन जातिवाद गोराहरूको डीएनएमै छिर्‍यो र बाहिर नदेखिएपनि भित्रभित्र यो उर्जाशील भएर आजसम्म रहिरहेकोछ । कानुनले नै गोरा अमेरिकनहरूलाई जति अधिकार दियो त्यति अधिकार नेटीभ अमेरिकन, अफ्रिकन अमेरिकन, एशियन अमरिकन, र लेटिन अमेरिकनलाई देएकोछैन । अमेरिकामा यूरोपियन अमेरिकनहरूले १७ औँ शातब्दीदेखि सन् १९६० सम्म शिक्षा, बसाइँ सराई, भोट दिने अधिकार, नागरिकताको अधिकार, जमीन खरिद गर्ने अधिकार र आपराधिक छुटका अधिकार उपभोग गर्दै आए । त्यसो त गैर-प्रोटेष्टन्ट यूरोपेलीहरू (आइरिश, पोलेण्डी र ईटालियन) र यहूदीहरूले ले पनि अमेरिकामा भेदभाव सहनु पर्‍यो ।

२० औँ सताब्दीमा आएर जातिय भेदभावलाई कानुनी बन्देज लगाएपनि सामाजिक र आर्थिक क्षेत्रमा अझै भेदभाव कायम छ । जस्तैः रोजगारीमा, हाउजिङमा, शिक्षामा, ऋण लिँदा र सरकारी सेवाहरुमा कायमै रहेकोछ । यो कुरा सन् २००७ मा एबिसी न्यूजले गरेको अध्ययनले पनि देखायो । यस अध्ययनमा १० जनामा १ जना अमेरिकन गोरा अझै पनि हिस्प्यानिक-अमेरिकनहरूलाई भेदभाव गर्नु पर्छ भन्ने ठान्छ, ४ जनामा १ जनाले अरब-अमेरिकनहरूलाई भेदभाव गर्नु उचित हो भनि ठान्ने गरेको पाईयो । उपनिवेशहरू स्रोतका भण्डार हुने गर्थे । उपनिवेशवादीले ती मुलुकहरूका खानी, जल, जमीन, जंगल कब्जा गर्थे र अफ्रिकन (काला) “दाश”हरूलाई खेतीपाती गर्ने काममा लगाउँथे । जुन ३०० वर्षसम्म चल्यो । यसरी युग-युगसम्म “दाशत्व”को सँस्कार बसेपछि त्यो गोरा र केही हदसम्म कालाहरूको डीएनएमै घुलन भएर आजसम्म पनि बसेको देखिन्छ ।

यही माथि उल्लेखित कारणले “एटलाण्टिक दाश व्यापार” मौलायो । एक आँकलन अनुसार सन् १६२६ देखि १८६० सम्ममा ४ लाख ७० हजार “दाश”लाई अमेरिकामा जबरजस्ती ल्याईए र तेतिबेला एउटा गोराले ४ जनासम्म काला “दाश” राख्ने गरेका थिए । सन् १८६० को जनगणना नुसार १.५ मिलियन गोराहरूसँग ३ लाख ८५ हजार “दाश” रहेको तथ्यांकले देखाउँछ ।

दाश प्रथा उन्मुलनका प्रयासहरू १९ औँ सताब्दीको सुरुवाती दिनहरूबाट विस्तारै सुरु भएको देखिन्छ । American Colonization Society (ACS) ले सन् १८२०-१८३० तिर कालाहरूको मुक्ती र स्वतन्त्रताको कुरा अघि सार्‍यो ।
संविधानत: सन् १८०८ मै “दाश”हरूको व्यापार गर्नमा रोक लगाए पनि लुकिछिपि १८२० सम्म जतासुकै “दाश”को आयात भइरहे र यो कृयाकलाप अरु ५० वर्षसम्म चलेको देखिन्छ । अब्राहम लिंकनले जनवरी १, १८६३ मा “दाश”हरू मुक्त भएको घोषणा गरेपनि सन् १८६५ को संविधानको १३ औँ संसोधन नभएसम्म कालाहरुको “मुक्ती” कागजमा मात्र सिमित थियो । करीव ४ मिलियन कालाहरूलाई १८६५ मा मुक्त गरियो । सन् १८६० को जनगणना अनुसार (१३-४३ वर्षका) ८% गोराहरू गृह युद्धमा मारिए । सन् १८६६ मा Civil Rights Act पास भयो । बल्ल “अमेरिकामा जन्मेका” सबैले (कालाले समेत) अमेरिकी नागरिकता पाउँने भए ।

गृहयुद्ध पछि १८६५ को संविधानको १३ औँ संसोधनले अमेरिकामा दाशप्रथालाई हटायो । अझ १८६६ मा Civil Rights Act नै पास गरेर अमेरिकामा जन्मेका सबै अमेरिकन नागरिक हुनेछन् भन्ने व्यवस्था गर्‍यो । तर पनि अफ्रिकन-अमेरिकनहरूलाई व्यवहारमा बिभेद नै गरिरहियो । सन् १८६८ मा संविधानको १४ औँ संसोधन भयो र Civil Rights Act 1875 पनि परिमार्जित भयो र जातिय बिभेदलाई बिस्तारै हटाउँने काम गर्न थाल्यो । तर अझ संविधानको १५ औँ संसोधनले मात्र अफ्रिकन-अमेरिकनहरूको भोट दिने अधिकार लगायतका अधिकारहरु सुनिश्चित गर्‍यो । त्यसपछि बल्ल अफ्रिकन-अमेरिकनहरूले अमेरिकी कार्यालयहरूमा काम गर्न पाउँन थाले, शिक्षा हासिल गर्न पाउँन थाले ।

सन् १८७० तिर फेरि “गोरा अहंकारवादी”हरू सरकारमा आए र अफ्रिकन-अमेरिकनहरूको भोट दिने अधिकार खोसे । गोरा र काला विद्यार्थीलाई दिईने शिक्षाको सुबिधामा पनि फेरि भेदभाव गर्न थालियो । अनेक किसिमका भेदभावका विरुद्ध संघर्ष गर्नको लागी सन् १९०९ मा National Association for the Advancement of Colored People (NAACP) नामक सँस्थाको जन्म भयो । तर पनि जातिय भेदभावकै कारण अटलान्टा जातिय दंगा १९०६ र तुलसा जातिय दंगा १९२१ जस्ता घटनाहरू घटिरहे ।

स्कुलमा काला र गोरा विद्यार्थीहरूमा गरिएका बिभेदहरूको बिरुद्ध सन् १९५४ मा सर्वोच्च अदालतले फैसला गर्‍यो । फेरि सेप्टम्बर १५, १९६३ मा गोराहरूले बम हानेर कालाहरूको हत्या गरे जसमा काला छात्रा क्यारोल रबर्टशन, सिन्थिया वेश्ली, डेनाईज म्याक्नेयर र एड्डी माए किलिन्स नामका विद्यार्थिहरू मरे ।

काला जातिको भोट दिने अधिकार १९६० सम्म कार्यान्वयन भएकै थिएन । सन् १९८१ देखि १९९७ सम्म अमेरिकन सरकारको कृषि बिभागले लाखौँ अफ्रिकन मेरिकन काला कृषकहरूलाई ऋण सुबिधा नै नदिएर बिभेद गरिरह्यो । सन् १९९३ को एक अध्ययनले (Katz and Braley) के प्रष्ट देखायो भने – “गोरा र कालाहरूले भित्रभित्र एकापसलाई दुश्मनकै रुपमा हेर्छन् । यी दुई जातिविचको सन्चार कहिल्यै प्रष्ट र हार्दिक हुँदैन ।”

समाज शास्त्री रस्स लङ्गले सन् २०१३ मा भने – “जातिवाद अहिले मिहिन किसिमले, गोप्य तर परम्परागत रुपमा चलिरहेछ ।” सन् २०१४ मा गरिएको एक अध्ययनबाट ८९% काला महिलाहरूलाई सिनेमामा आक्रामक रुपमा प्रस्तुत गरिएको तर गोरा महिलालाई १७% मात्र आक्रामक देखाईएको देखियो ।

एशियन अमेरिकनहरूले अमेरिका पसेदेखि नै भेदभाव भोगिरहेकाछन् । अमेरिकामा एशियनहरूको तीन पहिचान रहेको देखिन्छ – १) एशियन डायस्पोरा, जसलाई पहिलो पुस्ता एशियन पनि भनिन्छ; २) अमेरिकामा जन्मेका एशियन, यिनलाई “न एसियन न पुरै अमेरिकन” पनि भनिन्छ; र, ३) अमेरिकनहरूले एडप्ट गरेका एशियनहरू । जे जसरी भएपनि एशियनहरूले अमेरिकामा जातिय विभेद खप्नु परिरहेकैछ ।

जब अमेरिकामा औद्योगिक क्रान्ति सुरु भयो र धेरै मजदुर चाहियो । तब बिभिन्न मुलुकका एशियनहरूलाई भित्र्याउँन थालियो । त्यतिखेरै देखि चिनीया मजदुरहरूलाई गोराहरूले “घृणा” गर्दथे किनभने गोराहरूलाई लग्दथ्यो कि ‘चिनीयहरूले अमेरिकन गोराहरूको काम खोसिदिएका छन् ।’ परिणाम स्वरुप चिनीयहरूको बिरुद्दमा लागु हुने गरी Chinese Exclusion Act नै सन् १८८२ मा पास गरेरै चीनियाहरुलाई कामबाट बन्चित गर्ने काम गरियो । कुनै जातिको   विरुद्धमा संसदले पास गरेको यो कानुन नै सन्सारको पहिलो र ठाडो विभेदकारी कानुन हो भनिन्छ ।

सन् १९०७ मा धेरै जापानी कामदारहरू अमेरिकामा पस्न थाले । जसलाई Gentlemen’s Agreement मार्फत जापान सरकारलाई जापानी कामदारहरुलाई अमेरिका जाने पासपोर्ट नै दिन बन्द गर्न लगाईयो । सन् १९९० मा क्यालिफोर्नियाले Alien Land Law पास गर्‍यो जसले विदेशीहरूलाई ३ वर्षभन्दा बढी जमीन करारमा लिन बन्देज लगायो । यस अनुसार नै अहिले पंजाबका कृषकहरू अमेरिकामा खेतीपाती त गर्छन् तर सँधै टेन्सनमा हुन्छन् । एशियन अमेरिकनहरूलाई कार्यालयमा पनि बिभेद गरिन्छ । सन् २००० मा गरिएको एक अध्ययन अनुसार ९२% एशियन अमेरिकनहरू कार्यालयमा बिभेदको सिकार भएकाछन् । सर्वप्रथम काम दिनमै भेदभाव गरिन्छ र काम पाएपछि पदोन्नती हुनमा भेदभाव गरिन्छ । जसले गर्दा एसियनहरूले ढीलो र गोराहरूको दया-मायामा पदोन्नती पाउवने गरेकाछन् । परिणामस्वरुप आर्थिक र मानसिक रुपमा एसियनहरू ट्रउमामा रहने गर्दछन् ।

यसरी यूरोपेली, लेटिन अमेरिकन, मध्यपूर्वी तथा दक्षिण एशियन, अरब अमेरिकन, ईरानी अमेरिकन, आईरिश अमेरिकन, आदि सबैले अमेरिकामा अनेक किसिमका (समाजिक, साँस्कृतिक, कानुनी, राज्यको संरचनात्मक) जातिवादी बिभेदहरू भोगिरहेकाछन् । यस्तो लाग्छ ढीलो वा चाँडो यही बिभेदका कारण समस्याहरूको भूमरीमा अमेरिका फस्नेछ जसले अमरिकालाई बर्वाद गरिदिनेछ ।

अमेरिकामा जातिवद सिद्धिएको छैन भन्ने बारे भर्खरे (जून २२, २०१५) राष्ट्रपति ओबामाले पनि स्वीकार गर्दै बोलेका थिए – “दाश प्रथा र भेदभावको सँस्कृती अझै पनि अमेरिकाको डीएनएमा कायमै छ जुन ईतिहासले हस्तान्तरण गर्दै ल्याएको कुरा हो ।….जातिबदबाट हामी पूर्ण मुक्त भईसकेका छैनौँ । २-३ सय वर्ष चलेको दाशप्रथा र बिभेदी सँस्कृती झट्टै रातारात हट्ने पनि होईन रहेछ ।”

Reference.
https://www.nobelprize.org/nobel_prizes/peace/laureates/1964/king-bio.htmlhttps://en.wikipedia.org/wiki/Martin_Luther_King_Jr.

Comments

comments

SHARE