केटाकेटी छँदा कागजको खेलौना हवाई जहाँज बनाएर उडाउँदा रत्न तामाङ (४०) लाई निकै आनन्द लाग्दथ्यो । उनको बालसुलभ मनमा आफू ठुलो भएपछि सँच्चिकै हवाई जहाँज उडाउँने कल्पना बग्थ्यो । पाईलट बनेर हवाईजहाँजलाई आकाशमा माथि माथिसम्म उडाएर चरा जस्तै स्वाच्छन्द घुम्ने उनमा रहर जाग्दथ्यो । उमेर बढ्दै जाँदा हवाईजहाँज बारेमा उनको जिज्ञसा झन झन बढ्दै गयो । हवाई जहाँज कसरी बन्छ होला, कसरी उड्छ होला जस्ता कौतुहल मनभरी पालेरै उनको बाल्यकाल बित्यो । जन्म गाउँ ठुलो पर्सेल काभ्रेमा एक दिन पारिपट्टी हेलीकप्टर आउँदाको क्षण स्मरण गर्दै उनले पंक्तीकारसँग भने, ‘बिरामी लिन आएका हेलिकप्टर पारिपट्टीको गाउँमा बसेको देखेर त्यसलाई हेर्न दौडेर गएको त तल खोलामा पुग्दा नै उडी हाल्यो।’

रत्न तामाङले सन् २००१ मा अमेरिका आएपछि पाईलट बन्ने आफ्नो त्यो सपना पुरा गरेरै छाडे । हालै टेक्सासको डालासमा भेटिएका पाईलट तामाङले कुराकानीको क्रममा सन २०१० तिर मात्रै आफू अमेरिकाको कमर्सियल पाईलट बनेको प्रमाणपत्र प्राप्त गरेको कुरा खुलाए । गाउँकै श्री पञ्चकन्या माध्यमिक बिध्यालयमा प्रारम्भिक शिक्षा पढेका रत्न तामाङका लागि नेपालमै पाईलोटिङ कोर्ष पढ्नु फलामको चिउरा चपाउँनु बराबर थियो । काठमाडौंमा कलेज पढ्ने क्रममा पर्वतीय पर्यटन पेशालाई अंगाल्न पुगे उनी । घरमा आमा बुबालाई आर्थिक रुपले सघाउँने जिम्मेवारी पनि उनमा थपेको थियो । यस्तो परिस्थितीमा पाईलट पढ्ने परिकल्पणा, उनको लागि दिवास्वाप्न जस्तै थियो ।

‘नेपालमा पाईलोटिङ स्कूल थिएन । बिदेशमा पढ्न जान सक्ने आर्थिक हैसियत मसँग थिएन’, उनले भने । तर उनी निराश कहिल्यै भएन । उपयुक्त मौकाको खोजीमै रहे । अमेरिका आएको पाँच बर्षपछि सन २००६ मा बल्ल उनले अमेरिकाको टेक्सास स्थित ‘स्काईमेट्स फ्लाईट एकेडेमी’ स्कूलमा भर्ना भै हवाईउडान बारेमा औपचारिक शिक्षा लिन शुरु गरे । सँगसँगै हवाईजहाँज मेन्टेनेन्स् सम्बन्धी अर्को स्कूल ‘एभिएसन ईन्टिच्युट अफ मेन्टेनेन्स्’ मा पनि उनले एअरक्राफ्ट ईलेक्ट्रीकल सिस्टम फर ट्रबलसुटिङ एन्ड रिपैर कोर्ष पनि गर्दै गए । तालिमको क्रममा उनी कहिले फ्लोरिडा स्थित ‘पाल्म बिच फ्लाईट ट्रेनिङ सेन्टर’ पुगे भने कहिले उनले टेक्सासकै ‘एभिएटन एअर’ चहारे । अन्तत: उनले कमर्सियल पाईलट बन्न अगाडी नै एअरक्राफ्ट मेन्टेनेन्सतिरको ग्राजुएशन “बैचलर ईन एभिएसन साईन्स्” पुरा गरे ।

तामाङले बताए अनुसार ती अध्ययन र तालिम उनको लागि अवसर र चुनौती दुईटै बनेका थिए । स्कूल फि निकै महँगो थियो । कहीबाट कुनै सहयोग पनि थिएन । आफैले कमाएर तिर्नु पर्ने “सेल्फ सपोर्टीङ” बाहेकको बिकल्प थिएन । अमेरिका आएपछि नियमपुर्बक अमेरिकाको स्थाई बसोबास मिलाउँन उनलाई केहि बर्ष लाग्यो । एभिएसन तिरको अध्ययन शुरु गरेपछि उनले राति राति ग्याँस स्टेशनमा काम गरे भने दिउँसो स्कूल गए । बिचमा दुई तीन घन्टा भन्द बढी नसुतेको उनी समम्झन्छन् । १०-१२ घन्टा काम, ४-५ घन्टाको पढाई, गृहकार्य आदि ईत्यादि गर्दा उनको दैनिकी निकै ब्यस्तता रहन्थ्यो । तर उनी पाईलट बनेर आकाशमा जहाँज उडाउँने सपना पुरा हुने भएकोले मनमनै खुशी हुन्थे भने जोश र जाँगर झन बढेको झै लाग्दथ्यो ।

अहिले तामाङ डालास स्थित गामा एभिएशन ईन्जिनियरिङमा एभिओनिक्स सुपरभाईजरको रुपमा कार्यरत छन् । जहाँजको ईलेक्ट्रिकल सिस्टममा खरावी देखिएमा के कस्तो खराबी भएको हो पत्ता लगाउँने देखि यसको मर्मत सम्भार गर्ने गराउँने काम उनैको हो । पाईलट चाँही उनले सौख (होब्बी)को रुपमा बेला बेला प्रयोग गर्छन् । भविश्यमा पाईलटलाई नै करिअरको रुपमा लैजाने बारे पंक्तिकारले राखेको जिज्ञासामा उनले फ्लाईट इन्स्टक्टर बन्ने सोचाई रहेको बताए । नेपालमा पाईलट सिकाउँने स्कूल खोल्ने ईच्छा पनि उनले सुनाए ।
– ङिमा पाख्रिन्, अमेरिका
साभारः एभरेष्ट टाइम्स

Comments

comments

SHARE