-धर्मचन्द्र याेञ्जन तामाङ

२०७३ जेष्ठ ३ गते दिउँसको ३-४ यस्तै समय थियो । एकजना बाैद्ध धर्मका गुरुले फोन गर्नुभयो । केही क्षणको वार्तालाप पश्चात् ८ गते बेथान – ८ भ्वाँसा, रामेछापमा एउटा कार्यक्रम छ हजुर अनि हजुरसंग को को जानुहुन्छ जानुपर्छ है भन्नुभयो । म एकछिन अक्मक्किएँ र जवाफ दिएँ: हुन्छ ।

त्यस पश्चात् पनि सामाजिक संजालहरुमा कुराकानी हुदै थियो । यो कुरा मैले मेरी आदरणीय दिदी नम्रता बम्जन तामाङलाई भोलिपल्ट बिहानै फोन मार्फत व्यक्त गरें अनि दिदी भाइ संगै जानका निमित्त आग्रह गरें। वहाँले प्रत्युत्तरमा समय बाँकी नै छ आले, सोचाैंला नि भन्नुभयो । मैले भनें हवस् दिदी हुन्छ नि । यसरी नै हामी दिदी र भाइ बीच टेलिफोन र सामाजिक संजालमा कुराकानी भैरहन्थ्यो नै । यसै क्रममा जेष्ठ – ७ अपराह्न ४:३० तिर फोन आयो, मैले गोजीबाट मोबाइल फोन झिकें, दिदीको फोन रहेछ, मैले रिसिभ गरें । दिदीले भन्नुभयो: भाइ दिदीकोमा आउन है दिदीलाई पनि सजिलो हुन्छ, भोलिको लागि जाने तयारी हुन्छ । मेरो सानोठिमी जानुपर्ने काम थियो तर मैले दिदीको वचन हार्न सकिन र ५ – ५:१५ मा हान्निएँ, दिदीको आवासगृह वसुन्धरा काठमाडौंतर्फ । त्यस दिन हल्का पारिवारिक गफगाफ पश्चात् खाना खाइवरी हामी सबैजना सुत्याैं किनकि भोलिपल्ट बिहान सबेरै उठ्नु थियो ।

भोलिपल्ट बिहान अर्थात् ८ गते बिहान ४:१५ मा लामा गुरुको फोन आयो त्यतिबेला हामी उठेर चिया पिउन थालेका थियौं। अब चाहिँ सुरसार गर्नुपर्छ भन्नेमा थियौँ । फोन रिसिभ गरें, सर कहाँ आइपुग्नुभयो भन्ने प्रश्न थियो वहाँको। मैले हामी अब हिड्नै लागेको भन्ने जवाफ दिएँ । त्यतिबेलासम्ममा दिदी पनि तयारी भैसक्नु भएको रहेछ, म पनि झटपट तयार भएँ अनि लामा गुरुको आग्रहमा दिदी भाइ बाैद्धतिर लाग्यौं ।

गाडीमा जाँदै गर्दा क्रमशः भाइ प्रवीण योञ्जन तामाङ र साथी आर. के. दोङ तामाङको फोन आयो । वहाँहरुलाई रामेछाप जानका लागि मैले आग्रह गरेको थिएं । मैले दुवैजनालाई कोटेश्वरमा जानुहोला, हामी बाैद्धबाट आउदैछाैं भनें। बाैद्धमा हामी ५ बजे ठ्याक्कै पुग्यौं किनकि हामीलाई त्यही समयमा आइपुग्न भनिएको थियो। हामी त्यहाँ गाडी भएको स्थानमा पुग्दा लामा गुरुलगायतका व्यक्तिहरु आइसक्नु भएको रहेछ । तर थुप्रै व्यक्तिहरु आउन बाँकी हुनुभएको हुदाँ केही समय पर्खन जरुरी थियो र ६ बज्दा नबज्दै वहाँहरु पनि आइपुग्नुभयो । र करिबकरिब ६:१५ – ६:३० मा हाम्रो बेथान – ८, भवाँसा, रामेछापको यात्रा शुरु भयो ।

हामी चाबहिल, गाैशाला, सिनामंगल, तिनकुने हुँदै कोटेश्वरमा पुग्यौं त्यहाँ पुग्दा प्रवीण योञ्जन तामाङ र आर. के. दोङ तामाङ आइसक्नु भएको थियो, वहाँहरु लगायतका साथीहरूलाई गाडीमा चढाएर अगाडि बढीरह्याैं । भक्तपुरको सल्लाघारी, र सुर्यविनायकमा रहनुभएका कलाकार साथीहरूलाई रिसिभ गरेर हामी अगाडि बढ्दै थियौं । सायद ७:४५ भएको हुदो हो हामी धुलिखेलबाट वि. पी. लोकमार्गतर्फ मोडिदा। केही पर पुगेपछि हाम्रो रिजर्भ गाडी रोकियो, त्यो एउटा विश्राम थियो । एकै छिनको विश्राम पश्चात् नागवेली वि. पि. लोकमार्गका दायाँबायाँका हरियाली नियाल्दा नियाल्दै नियाल्दै भकुण्डेबेशी आइपुगेको पत्तै भएन। रिजर्भ बस आफ्नै रफ्तारमा गुडिरहेको थियोे, दायाँबायाँ रोपिएका मकै खेतीले हाम्रो मन लोभ्याउदै थियो । दाप्चा पुल काटेर केही परसम्म त हरियाली थियोे, हल्का रमाइलो अनुभव भैरहेको थियो ।

केही समय पश्चात् नेपालथोक पुग्यौं, अलिक पर पुगेर गाडी देब्रे मोडियो । त्यस पछि गाडीले ग्रामीण कच्ची मोटर बाटो पहिल्याउन शुरु गरिसकेको हाम्रो अनुभव थियोे । त्यो काभ्रे, सिन्धुली र रामेछाप संगम सीमा दुम्जा रहेछ। जहाँ रोशी र चाैरीखोलासमेत मिसिएर सुनकोसी अविरल बगिरहेको हुन्छ । त्यहा पुग्दा मैलाई एउटा तामाङ गीत सम्झनामा आयो:
रोशी कोसीला झुम्जारी,
आैशी जात्थर दुम्जारी!
जात्थार च्याखाबा होइ आाङा,
जात्थार छुजीगी आाछुजी!!
सेला-सेला ह्राङ ताबा,
खालाङ्री म्राङ्बा ह्राङ् ताबा!
दिम खालाङ्री पर्दिजी,
ह्रुअी तिला पार्दिजी!!
चु म्हिसे च्याजी एदान होअी!
कुटुम्ब हिन्साम जालमायाँ लाअी!!!!
वास्तवमा यो यात्रा जात्रा त थिएन, एउटा अवसर थियो हाम्रालागि । किनकि ०५२ फागुन १ गते जनयुद्धको सुरुवात भए पनि त्यस दिनदेखि बेथान चौकी कब्जाभन्दा अघिल्लो दिन करिब ११ महिनासम्म नेकपा (माओवादी)ले कुनै पनि सशस्त्र प्रहरी चौकी र हतियार कब्जा गर्न सकेको थिएन । फागुन १ गते तीनवटा चौकी कब्जा भए पनि हतियार कब्जा भएको थिएन । यस्तो परिस्थितिले गर्दा अब जनयुद्ध समाप्त भयो भनेर हल्ला गर्नेहरू पनि बढ्न थालेको स्थिति थियो। आन्तरिक रूपमा पनि यस्तो स्थितिले निराशा र पलायनका सङ्केतहरू जन्माइरहेको थियो । यस्तो सङ्कटको घडीमा यानप्रसाद गौतम ‘आलोक’को योजना र नेतृत्वमा बेथानमा रहेको प्रहरी चौकीमाथि ०५३ पुस १९ गते सफल आक्रमण थियो । यो नै जनयुद्धको पहिलो पूर्ण सफल कारबाही थियो। यस आक्रमणमा दिलमाया योञ्जन, फत्तबहादुर स्माली र तीर्थ गाैतम जस्ता होनहार युवाहरूले शाहदत प्राप्त गरेका थिए । चौकीमा भएका सबै हतियारहरू कब्जा भएको थियो ।

मलाई त्यस्तो ठाउँमा कतिखेर पुग्न सकिएला ? अनि मेरी दिदि दिलमाया योञ्जन लगायतका कमरेडहरुलाई श्रद्धाञ्जली अर्पण गर्न पाउँछु भन्ने उत्सुकताले मन ढक्क फुलेको थियो । बेथान आक्रमणमा दिलमाया योञ्जन साहसपूर्ण तवरले आम जनताका अधिकारका निमित्त दिल लगाएर ज्यानको बाजी थापेर लड्दा-लड्दै शाहदत प्राप्त गरेको लडाइँले जनयुद्धको विकासलाइ तीव्र गति प्रदान ग-यो । जनयुद्ध समाप्त भयो भन्ने हल्ला र प्रचारलाई गतिलो जवाफ दियो। जनयुद्धका नेता र कार्यकर्ता तथा समर्थकलाई ठूलो उत्साह प्रदान ग-यो । योद्धाहरूको छापामार युद्धकलाको विकासलाई स्पष्ट बनायो ।

हो म त्यही दिलमाया योञ्जन तामाङको शाहदत प्राप्त गरेकी ठाउँ बेथान जाँदै थिएँ । सुनकोसी नदिमा रहेको अस्थायी पुल तरेर हामी पारी जनकपुर अन्चल अन्तर्गत पर्ने रामेछाप जिल्लामा पाइला टेक्दै थियौँ । कोसी तरेर हल्का माथि उक्लिदै थियो हामीलाई लिएर गएको गाडी, २ स्टेप माथि गए पश्चात् लुभुघाट तर्फ तेर्सियाै। तर बीचैमा स्काभेटरले बाटो मर्मत गरिरहेको दृश्य देखियो, गाडी केही समय रोकिने थाह भएपछि हामी पैदल हिड्याै लुभुघाटसम्म । लुभुघाटतर्फ हिड्ने क्रममा एउटी बहिनी झुलुक्क झुल्किइन्, उनी रहिछन् तामाङ मोडल सरिना थिङ तामाङ । हिड्दा हिड्दै सामान्य परिचय संगै केही तस्बिरहरू आ-आफ्नोे क्यामेरामा कैद गर्दै अगाडि बढ्यौं र केहीछिनको पैदल यात्रा पछि लुभुघाट पुग्यौं। करिबकरिब १० बज्नै लागेको थियोे त्यतिबेला, पेटमा मुसाहरु पनि आन्दोलित हुँदै थियो, हामी पनि आन्दोलनलाई मत्थर पार्ने योजना सहित एउटा खाजाघरमा छिर्याै। केही खाएर निस्कियाैं ।

खाजा खाएर बाहिर निस्कियाैं, सडकबाट कोसीपारीको उराठ लाग्दो भिरालो ठाउँ देखियो, काभ्रेको मेच्छे गाविस रहेछ । त्यस लगत्तै गाडीले हर्न बजाउन थाल्यो, वारि लुभुघाटबाट गाडी माथितिर हैंहैं गर्दै उकालो चढिरहेको अवस्थामा जीवनको परिकल्पना समेत गर्न नसकिने हरियाली विहिन उराठ भीरपाखाहरु नियालेर हिडिनै रह्याैं । अलिक माथि पुगेपछि बाँसको एउटा सानो प्रवेशद्वार बनाइएको रहेछ, लेखिएको थियो खनियापानी गाविसमा यहाँहरुलाई स्वागत छ। हामीले थाहा पायौं कि हामी खनियापानी गाविसमा आइपुग्याैं । मैले एकजना स्थानीयलाई सोधेँ: अब बेथान आउन कति समय लाग्छ? जवाफ आयो धेरै समय लाग्दैन, आइपुग्नै लाग्यो । खनियापानी पछि बेथान गाविस पर्दोरहेछ ।

केही समयको दाैरानमा बेथान गाविसमा पाइला टेकियो। गाडी अझै अगाडि बढिरहेको थियो, करिबकरिब १५ मिनेटमा हामी कार्यक्रम स्थलमा पुग्यौं । सोही कार्यक्रमका लागि गएका थियौं विशेषगरी । तर मनमा सम्झिरहेको थिएं दिलमाया योञ्जन तामाङ दिदीको शाहदत । यसै घटनाले सत्तामा नकारात्मक प्रभाव परेको थियो । सो घटनाको प्रभाव सत्ता पक्षमा नकारात्मक रूपले पर्नु स्वाभाविक थियो । सत्ता पक्षले जनयुद्ध समाप्त भयो, जनयुद्ध दबाइयो आदि भनेर आफूलाई र आफ्नो पङ्क्तिलाई अलि बढी नै विश्वस्त बनाएको स्थितिले गर्दा यो आक्रमणले धेरै ठूलो मनोवैज्ञानिक प्रहार गरेको थियो। देशभर पुनः एकपटक फेरि लाल आतङ्क छाएको थियो ।

खानाको प्रबन्ध मिलाइएको रहेछ, खाना खानको लागि गुरु कोसिस लोब्साङज्यूले आग्रह गर्नुभयो, हामी त्यसतर्फ लाग्यौं, त्यहाँ जहाँ खानाको प्रबन्ध गरिएको थियोे, त्यस घरको आँगनी भन्दा बाहिरको बारीको बीचमा भर्खरै कोपिला हाल्न लागेको चुवाको बोट रहेछ । मनले फोटो खिच् भनिरहेको थियोे, मैले दिदी नम्रता बम्जनलाई भने, वहाँले भन्नुभयो हो नि खिचम्! क्यामेरामा तस्बिरहरू कैद गरिसके पछि मात्रै हामी खाना खानतिर लाग्यौं। हामी खाना खान तयार भयौं तर दिदीले खाना खानु भएन, मलाई खल्लो लाग्यो ।

कार्यक्रम लगभग शुरु हुनै लागिसकेको थियो, एउटा स्वास्थ्य संस्थाको उद्घाटन कार्यक्रम भएकोले स्वास्थ्य शिविर पनि थियो, आम बेथानबासी लगायत आसपासका जनताहरु स्वास्थ्य परीक्षणका लागि लाइन बसिरहेको दृश्यले बेथानमा मानव स्वास्थ्य अवस्था कस्तो रहेछ? भन्ने कुरा स्पष्ट हुन्थ्यो । त्यही समस्यालाई समाधान गर्नका लागि बाैद्ध धर्म गरु गेसे ङवाङ पाल्देन तामाङले सुनपति भ्वाँसा च्यारिटी मेडिकल सेन्टर प्रा. लि. दर्ता गर्नु भयो र बुद्ध जयन्तीकै दिन उद्घाटन गर्नु भएको छ । जनयुद्धमा शाहदत हुने दिलमाया योञ्जन तामाङ जस्ता कयौं दिलमायाहरुको स्वस्थ्य समस्यालाई समाधान गर्न संस्था सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै हामी दिलमायाले शाहदत गरेको ठाउँ बेथानको बारेमा केही अध्ययन गर्नतिर लाग्यौं ।

बेथान जहाँ १० वर्षे जनयुद्ध मत्थर भए पश्चात् अर्थात् नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि राष्ट्र संघीय मिसन नेपाल च्याप्टर(अनमिन) हेलिकप्टर समेत दुर्घटना भएको थियो । जहाँ अनमिनले एउटा पार्क समेत बनाएको रहेछ । त्यसपछि मैले कार्यक्रम स्थल भ्वाँसाको अर्थ खोज्न चाहें। भनिन्छ जहाँ इच्छा, त्यहाँ उपाय! त्यसै क्रममा उदय दोङ तामाङज्यूसंग भेट भयो। वहाँका अनुसार आख्खेला क्युअी(बाजेको पधेरा)को छेउमा ब्वाँसोले आन्द्राभुडी निकालेर खाएको दृश्य रेन्जेन दोर्जेका जेठा छोराले देख्नु भएपछि त्यसको वर्णन नेपाली भाषामा गर्ने क्रममा ट्युन नमिलेर भ्वाँसा उच्चारण गरेको हुदाँ त्यस ठाउँको नाम भ्वाँसा रहन गएको हो । त्यस पश्चात् हाम्रो ध्यान कार्यक्रम तर्फ आकर्षित भयो, उक्त समयमा गेसे ङवाङ पाल्देन तामाङका पिता मान बहादुर तामाङ बोल्दै हुनुहुन्थ्यो: अब यो उमेरमा मैले यहाँसम्म सिधै गाडी आउने पक्की पुलको आशा गरेको छु ताकि बर्खा मासमा बिरामी परे भने काठमाडौं लैजान सक्ने अवस्था सिर्जना होस्, यसको लागि राज्यले केही सोचोस् र एउटा एम्बुलेन्सको सहजै बेथान आइपुग्न सकोस् !

केही वक्ताहरूले बोले पछि कार्यक्रमका सभापति तथा मेडिकलका अध्यक्ष गेसे ङवाङ पाल्देन तामाङले आैपचारिक कार्यक्रम विसर्जन गर्नुभयो। तत्पश्चात सांगीतिक कार्यक्रम शुरु भएको थियो । दिदी नम्रता बम्जन र म मोडल बहिनी सरिना थिङ तामाङको नृत्य प्रस्तुति हेरिसके पछि खाजानास्ताको निमित्त खाजा पसलतिर लाग्यौं । केही समयपछि भाइ प्रवीण र आर. के. दोङ तामाङज्यू पनि हामी भएतिरै आउनुभयो र चारै जनाले नास्ता गर्याै । त्यतिबेला साँझको ६ बजिसकेको थियोे तर कलाकारहरूको प्रस्तुति सकिएको थिएन। हामी गाडी राखिएको स्थानमा नै बसिरह्याैं।

करिब ७ – ७:१५ मा अनाैपचारिक सहितको सम्पूर्ण कार्यक्रमहरु सक्किएपछि काठमाडौंतर्फ फर्कने सम्पूर्ण व्यक्तिहरु गाडीमा जम्मा भयौं। सबैजना जम्मा हुन लगभग एक घण्टा लाग्यो । त्यसपछि ८ : १५ तिर गाडी स्टार्ट भयो। हामी काठमाडौंका लागि तल दुम्जातिर झर्दै थियौं ।

दुम्जा झर्दै गर्दा मैले मनमनै फेरि पनि दिलमाया योञ्जन तामाङलाई सम्झेँ र भने दिदी विभेदको अन्त्य गर्नका निमित्त हजुरले विद्रोह गर्नुभयो, त्यस विद्रोहीले गर्दा राज्यमा हुने विखण्डनको स्थितिलाई पनि एकीकृत गरेर एउटा समुन्नत नेपाल निर्माण गर्ने सपना साकार हुन नपाउदै हजुरले शाहदत प्राप्ति गर्नुभयो । घरमा १०० जना कामदार राख्ने सामन्तीहरुसंग क्षतिपूर्ति नलिएरै जानुभयो। तपाईंको आत्माले चिरशान्ति प्राप्त गरोस्, हजुरलाई यो भाइको भाबपूर्ण श्रद्धाञ्जली !!!!

यसरी दिदी दिलमाया योञ्जन तामाङ जसले बेथान कारबाहीमा आफ्नो जीवन बेथान र आम नेपाली जनताका हकअधिकार प्राप्त गराउनका निमित्त अर्पण गर्नुभयो । त्यस ठाउँमा मैले पाइला टेक्ने अवसर पाएँ, मैले दिदीसंग भेटेर परिचय गर्न नपाए पनि दिदीको हड्डी रुपी ढुंगा, मांसपेशी जस्तै माटो अनि आत्मारुपी अक्सिजन भेटे बेथानमा । उहाँले भन्नुभएको थियो: कारबाहीमा म मारिए पनि साथीहरूले कारबाही सफल बनाउनू, कारबाही सफल नपारी नफर्कनू । मैले पनि वहाँले साथीहरूलाई भनेझैं मेरो मनको निर्देशन पालना गरें, जुन मनले मलाई एकपटक बेथान पुग्न निर्देशन गरेको थियो ।

हामीलाई वि. पि. लोक मार्गमा आइपुग्न झन्डै दुई घण्टा लाग्यो । हामीलाई बेथान, खनियापानी, लुभुघाट लगायतका गाउँ वस्तीहरुले विदा गरिसकेका थियोे । त्यसपछिका ठाउँहरुले पनि हामीलाई क्रमशः विदा गरिरहेका थिए। वि. पि. लोक मार्गमा आइपुगेपछि हामी चढेको रिजर्भ गाडी जालमा परेको मृग फुत्किएझैं प्रतिघन्टा १०० कि.मीको दरले काठमाडौं तर्फ हुइकियो। गाडीमा निकै रमाइलो भयो, ख्याल ठट्टा पनि निकै गरियो। भक्तपुर आईपुग्दा यति मीठो गीत बज्यो, त्यो गीतले बेथानको ब्यथा ओकलेझैं लाग्यो:
कति सोझो मेरो मन्
बिर्सिएर जानेलाई बिर्सनै नजान्ने
हो आज त्यतिबेला जनयुद्ध गर्ने नेकपा माओवादीले बिर्सेको छ बेथानलाई, अरु शक्तिलाई त वास्तै छैन तर पनि त्यो घाउ कहिल्यै भुल्न सकेको छैन बेथानले । जहाँ दिलमाया अझै राज्यले गरेको विभेदका विरुद्ध प्रेतआत्मा बनेर क्रान्तिका आवाजलाई बुलन्द पार्दै छिन् ।

अन्ततः यसरी जादा आउँदा १९० किलोमिटरको यात्रा ११:४५ मा काठमाडौं आइपुगेर समाप्त भयो। दिदी नम्रता बम्जन, बहिनी सरिना थिङ, भाइ प्रवीण योञ्जन, आर. के. दोङ लगायत यात्राका सम्पूर्ण सहयात्रीहरुलाई धन्यवाद ! साथै धर्मगुरु कोशिश लोब्साङज्यू लगायत आयोजक टिमलाई विशेष धन्यवाद सम्झिरहेको छु !!!!

Comments

comments

SHARE