१. तथ्यहरूः सिंगापुरको जनसंख्या ५.३१ मिलियन (२०१२) रहेकोछ भने नेपालजस्तै बहु-सांस्कृतिक, बहु-धार्मिक, बहु-भाषिक र बहु जातिय मुलुक पनि हो । यहाँ ७४.१% चिनीया; १३.३% मले; आप्रवासी भारतीय ९.१% रहेकाछन् । मले जातिहरूलाई ‘जनजाति’को पहिचान-दर्जा दिईएकोछ । कामकाजी भाषाको रुपमा अंग्रेजीका साथै चिनीया (मेण्डरिन) र तमील भाषा समेत चलाईएकोछ । बुद्ध मार्गी, ईसाई, ईस्लाम, ताओवादी, हिन्दु, शीख, र कन्फ्यशियसवादी गरेर सात किसिमका धर्माहरू मानिन्छन् । सिंगापुरले प्रति महिला २.१ मात्र वच्चा जन्माउँने नीति अबलम्बन गरेर जनसंख्यालाई नियन्त्रणमा राखेकोछ ।

२. परिवारः सिंगापुरमा सामुदायिक भावना, सामजिक सद्भाव, र एकापसी सुरक्षाको अवधारणालाई व्यक्तीकोभन्दा उच्च स्थानमा राखेर हेर्ने-बुझ्ने-अपनाउँने गर्नु पर्छ । सामजिक संरचनाको केन्द्रमा परिवार राखिएकोछ र सबैको एकता र परिवारका पिता-पूर्खा तथा बरिष्ठ नागरिकहरू प्रति सम्मान गर्नु पर्नै संस्कारगत नियम छ । ‘परिवार’लाई “आफ्नो रगतको नाता लाग्ने मानिसहरू र आफ्नो नजिकका मित्रहरु” भनेर परिभाषित गरिएकोछ । परिवारका बरिष्ठ नागरिकको सम्मान गर्नु र परिवारको आफैले ख्याल गर्ने तथा पालनपोषणको जिम्मा सिंगापुरका नागरिकको नभईनहुने मुल्य-मान्यता (Value system) बनिसकेकोछ ।

३. आदर-सत्कारः “अनुहार” (ईज्जत) मानिसको पहिलो महत्वपूर्ण सम्पती र मर्यादा हो भन्ने कुरा सबैले भुझ्नेगरी बाल्यकालदेखि नै प्रशिक्षित गरिन्छ । सिंगापुरीको निम्ती आफ्नो अनुहार (ईज्जत) कायम राख्ने कुरा जीवनको हरेक पक्षमा लागु गर्नु पर्छ । अनुहार (ईज्जत) भनेको पुरस्कारका रुपमा समाजबाट पाईने सम्मान-आदर-सत्कार हो जुन गुमाउँन सकिन्छ, खोसिन सक्छ तर राम्रो काम गरेर फेरि हासिल पनि गर्न सकिन्छ भनेर हरेक बालबालिकालाई सिकाईन्छ । हरेक विद्यार्थीले राम्रो काम गर्नेलाई “नामी”, राम्रो चरित्र भएकोलाई “असल” र आफ्ना साथीहरूले मनपराएको “साथी” हुनु नै “आदर्श” व्यक्ती हुनु हो भनेर नैतिक शिक्षा दिईन्छ । ईज्जतवाला हुनु र अरुलाई आदर गर्नु सिंगापुरीहरूको विशेषताका रुपमा स्थापित गरिएकोछ । अनुहार (ईज्जत) जोगाउँन मरिमेट्ने मुल्य र मान्यताले नै सिंगापुरीहरूलाई असल सम्बन्धहरू स्थापित गर्ने र कायम राख्ने संस्कारी बनाएकोछ ।

४. समाजिक वर्गः सिंगापुरमा वर्ग छैनन् र यो समतामुलक समाज हो भने पनि अझै केही फरक “वर्गीय” सम्बन्धहरू देख्न सकिन्छ । जस्तैः माता-पिता र सन्तान, शिक्षक र विद्यार्थी, रोजगार दाता र रोजगार ग्राही, आदि । यी “वर्गीय” मुल्य र मान्यताहरू कन्फ्युसियस धर्मले स्थापित गरेको समाजिक मुल्य-मान्यता हो । किनभने कन्फ्युसियसले आफुभन्दा (उमेर र पदमा) ठुलाको सम्मा गर्नु, उनको कुरा मान्नु भन्ने नियम स्थापित गरेका हुन् ।आफुभन्दा पाका व्यक्तीहरूलाई सरकारी लगायत जुनसुकै क्षेत्रमा हार्दिक सम्मानका साथ हेर्नै पर्छ । चिनेको होस या नचिनेको पाको मानिसलाई आदर र सम्मान पूर्वक सहयोग गर्नु पर्छ भन्ने सामजिक नियम-संस्कार-संस्कृति नै हो । सभा-सम्मेलन वा भेटघाटमा सबैभन्दा पहिले पाका व्यक्तीहरूलाई परिचय गराईन्छ । बस र रेलमा उनका निम्ती उठेर सीट छोडिदिनै पर्छ ।

होटलहरूमा र घरमा उनले चाहेकोजस्तो र शरिर सुहाउँदो स्वस्थ र स्वादको खाना बनाएर दिनु पर्छ भन्ने समाजिक कानुनजस्तै बनेकोछ । बाटोमा हिँडीरहेको पाको मानिसलाई जसले पनि आवश्यक परेको सहयोग गर्नु पर्छ । सन् १९९६ मा हरेक युवा सन्तानले आफ्नो परिवारका पाका मानिसहरूको निम्ती छुट्टै आर्थिक संचय कोष खडा गरेर उनको आर्थिक आवश्यकता पुरा गर्नु पर्छ भन्ने कानुन नै पास गरेर लागु गरिएकोछ । यो कानुन बमोजिम हरेक सन्तानले नै आफ्नो परिवारका पाका मानिसको आर्थिक दायित्व लिनै पर्छ । यसो गर्दा सिंगापुरको समाज (पाश्चात्य मुलुकजस्तो) व्यक्तीवादी हुनबाट जोगिएर आफ्नै विशेष पहिचानसहितको विकसित तथा अत्याधुनिक मुलुक हुन पुगेको हो ।

५.जातिय विविधताः चिनीया, मले र भारतीयहरूको बेज्जोड जातिय-सह-अस्तित्व भएको मुलुक हो सिंगापुर जुन बाहिर देख्दा पाश्चात्य मुलुकको ‘कस्मोपोलिटिन शहर’ जस्तो लाग्छ । यो मुलुक तीन मुख्य जातिहरू उच्चतम सद्भावका साथ मिलेर बसेको एक विशेष नमुना मुलुक नै हो ।

६. शारिरिक ईसाराको संचारः सिंगापुरमा ईसारा वा शारिरिक हाव-भावको भाषा धेरै चल्छ । त्यसको साथै बोल्दाको नम्रता वा ठूलो स्वर वा हँसिलोपन वा रुखोपन र बोल्दा प्रयोग गरिने शब्द, त्यसमा प्रयुक्त नम्रता वा रुखोपन (Tone) र प्रयोग गरिने शारिरिक हावभाव(Body language)को आधारमा कुनै पनि “वाक्य” वा बोलि-वचनको अर्थ (Inference) निकालिन्छ । कतिपय ठाउँमा बोलेको शब्दभन्दा पनि शरिरको हाव-भावले संप्रेशण गरेको सन्चार (Communication) लाई नै सही अर्थ बुझ्ने आधार मानिन्छ । सिंगापुरीहरूको संचार शैली सुक्ष्म, सांकेतिक र घुमारो किसिमको हुने गर्छ । कुनै कुरा कसैको बारेमा भन्नु पर्दा भरसक उसको “इज्जत”मा धक्का नलाग्ने किसिमेले बोल्ने प्रयास गरिन्छ । किनभने ‘सबैको इज्जत हुन्छ र त्यसको सम्मान मैले गरे मात्र मेरो पनि अरुले इज्जत गर्छन्र्छ’ भन्ने मान्यता रहेकोछ ।

त्यसैले सिंगापुरी मानिसले “हुन्न” भन्ने जवाफ दिनुको सट्टा “म प्रयास गरुँला”, “हेरौँ म के गरिदिन सक्छु” भनेर घुमाएर (Indirect)जवाफ दिन्छन् । यो तरिका सामाजिक सदभाव कायम राख्न उपयोगी शैली र रणनीति दुबै हो । सिंगापुरीहरूको सन्चारमा “चुप बस्नु” पनि एउटा शसक्त संचार रणनैतिक शैली हो । आफुलाई मन नपरेको कुरालाई नकारात्मक किसिमले कडा शब्दमा भन्नुभन्दा “चुपचाप” बसेर झन दरो जवाफ दिन सकिन्छ भनिन्छ । कुनैकुरालाई “अलि जोडदिएर भने” त्यस बिषयमा छलफल गरेर निर्णय गरि सकेको रहेछ भनेर बुझ्नु पर्छ । सिंगापुरीहरूका निम्ती पाश्चात्य मुलुकहरुमा जस्तो हतार हतार केही बोल्नु, तुरुन्तै गल्ती महसुस गर्नु र छिट्टै “सरी” भन्नु भनेको ईज्जतिलो कुरा होईन । भरसक “सरी” भन्न पर्ने खण्ड नआओस् भनेर होसियारसाथ बोल्ने वा विचार राख्ने गर्नु पर्छ भन्ने सांस्कृतिक नियम र शैली नै बसेकोछ ।

७. भेटघाट र ढोग-भेटः “जात र उमेर” का आधारमा ढोग-भेटको प्रोटोकल फरक-फरक रहेकाछन् । यी प्रोटोकलहरूलाई हरेक जातले मान्नु र व्यवहारमा लागु गर्नै पर्छ । मल्टिनेशनल कंपनीहरूमा काम गर्ने युवा पुस्ताले पश्चिमी शैलीमा सबैसँग ‘ह्याण्ड-शेक’ गर्छन् होला तर समजमा, आफुभन्दा पाकाहरूसँग भेटघाट र ढोगभेट गर्दा यो चल्दैन । चिनीयाहरू पनि ‘ह्याण्ड शेक’ गर्छन् तर उनीहरूको हात समात्ने तरिका ‘हल्का किसिम’को र अलि लामो समय सम्म आत्मियताका साथ समाईरहने हुन्छ । महिला र पुरुषका वीचको ‘हेण्ड शेक’मा महिलाले पहिले हात अघि नबढाएसम्म पुरुषले हात अघि बढाउँनु असभ्यता र अपमान मानिन्छ ।

परिचय गराउँदा जहिले पनि (समाजमा) उमेर, प्रतिष्ठा र (कार्यालयमा) पदीय मर्यादाका आधारमा गर्नु पर्छ । मले पुरुषहरू ‘हेण्ड शेक’ गर्छन् । तर, मुस्लीम भएकोले मले महिला-पुरुषले सार्वजनिक स्थलहरूमा ‘हेण्ड शेक’ गर्न मनाही छ । युवा मलेहरूले विदेशी महिलाहरूसँग ‘हेण्ड शेक’ गरेपनि ‘सलाम’ गर्नुलाई ईज्जतिलो अदप मानिन्छ । महिलाहरुसँगको भेट-घाटमा पनि ‘सलाम’ गर्नु नै उपयुक्त मानिन्छ । भारतीय (तमील)हरू पुरुष-पुरुष भेट्दा ‘हेण्ड शेक’ गर्छन् । कसैलाई परिचय गराउँदा शिर (स्वीकृती सुचक) हल्लाउँदै मुस्कुराउँनु उचित हुन्छ । बढी उछृङखल भए पनि राम्रो मानिन्न । यी फरकफरक संहिताहरु अनुसार नै फरकफरक जातिले भेटघटा-ढोगभेट गर्दाको संहिताको सम्मान गर्दै सोही अनुरुप अपनाउँनै पर्छ । यसले पनि जातिय सदभाव बढाउँने काम गर्छ ।

८. पद र नामहरूः १) चिनीयाहरूको प्राय ३ नाम हुन्छन् । परिवार (जात)जनाउँने र त्यसपछि २ वटा व्यक्ती जनाउँने नाम । संबोधन गरेर बोल्न परे जात जनाउँने नाममा बोलाउँने चलन छ । यदि पहिलो (जात जनाउँने) नामले नबोलाउँने चाहना भए उनले आफै मलाई ‘यो नामले बोलाउँनु होला’ भनेर सुचित गर्नेछन् । किनभने कोही चिनीयाहरूले व्यवसायको सन्दर्भमा पाश्चात्य नाम पनि राख्ने गरेकाछन् । २) मलेहरूको हकमा आफ्नो नाम र आफ्नो पिताको नामलाई ‘वीन’ (नेपालमा नामको वीचमा प्रसाद या बहादुर राखेजस्तै) वीचका राखेर जोड्छन् ।

जस्तैः नूर वीन ईशा । यसको मतलब ‘ईशाको छोरा’ भन्ने हुन्छ । महिलाहरूको हकमा ‘वीन’ को सट्टा ‘विन्ती’ प्रयोग हुन्छ । जस्तैः जरीना विन्ती ईशा । यसको मतलब ‘ईशाको छोरी जरीना’ भन्ने हुन्छ । कुनै पुरुषले नामभन्दा अघि ‘हाजी’ र महिलाले ‘हज्जाह’ राखेकोछ भने मक्का (तीर्थ गर्न) गईसकेको भन्ने बुझिन्छ । त्यस्तै ‘शैयद’ (पुरुषले) र ‘शारीफाह’ (महिलाले) नाममा जोडेको छ भने प्रोफेट मोहमदकै शाखा-सन्तान भनेर पहिचानित हुन्छ । ३) कैयौँ भारतीयहरू आफ्नो जातको भन्दा पनि बाबुको नामसँग ‘s/o’ (Son of) या ‘d/o (Daughter of) भनी राखेर कस्को छोरा वा छोरी हो भनी जनाउँने नाम राख्छन् । प्राय भारतीयहरूको नाम धेरै लामो हुने भएकोले धेरैका नामको छोटो रुप वा उपनाम पनि हुने गर्छ । महिलाहरूले बिबाह गरेपछि पिताको नाम त्यागेर श्रीमानको नामसँग आफ्नो नाम जोडेर नयाँ नाम सृजना गर्छन् । शीख भारतीयहरूले प्राय जातको रुपमा ‘सिंह’ राख्छन् जसले शीख धर्मावलम्बी भनेर बुझाउँछ । फरकफरक जातकाहरूले एकापसलाई संवोधन गर्दा यो संहितालाई पालना गर्नै पर्छ । यसले पनि जातिय सदभाव बढाउँन मद्दत गर्दछ ।

९. सौगात दिने-लिने चलनः सौगात (गीफ्ट) दिने वा लिने पनि आ-आफ्नै संस्कृति अनुसार फरक हुन्छ । जस्तैः चिनीयाहरूमा कसैले सौगात दिए करीब ३ पटक “चाहिँदैन३” भनेर नम्रता व्यक्त गरेर अन्तमा मात्र थापिन्छ । यसो नगरी गीफ्टा दिना साथ हतार हतार थापे सौगात लिने मानिस “लोभी” रहेछ भन्ने सन्देश जान्छ । कैँची र चक्कु वा कुनै पनि काट्ने सामान सौगातका रुपमा दिए सम्बन्ध काटिन्छ भनेर अशुभ मानिन्छ । घडी, रुमाल, परालको चप्पल वा जुत्ता सौगातका रुपमा दिए ज्यादै अशुभ मानिन्छ । किनभने यी समानलाई मलामी र मृत्यूका प्रतिकका रुपमा हेरिन्छ । तेस्तै गरेर सौगातलाई सेतो, नीलो र कालो कागजले बेरेको छ भने पनि अशुभ मानिन्छ । यी तीन रंगहरू कसैको मृत्यूपछि कोरा बस्दा मात्र प्रयोग गरिन्छ । तर सौगातलाई रातो, पिंक र पहेँलो रंगमा बेरेर दिए राम्रो मानिन्छ ।

खान बोलाएको ठाउँमा खानेकुरा सौगातको रुपमा लिएर गए ‘खान बोलाउँनेले अघाउँजी खान दिन सक्दैन तेसैले खाना बोकेर आएको’ भन्ने सन्देश जान्छ । खान बोलाएको घरमा बालबालिका छन् भने उनलाई सुहाउँने फलफुल, मिठाई, केक आदि “केटाकेटिको निम्ती” भनेर लिएर गए राम्रो नै मानिन्छ । किनभने केटाकेटीहरु घरका सबैभन्दा महत्वपूर्ण सदश्य हुन् । फूलहरू सौगातका रुपमा राम्रो मानिँदैन किनभने फूल लिएर बिरामी भेटन वा आर्यघाटमा मात्र जाने हो । मलेहरूमा सौगातको रुपमा रक्सी लैजानु अपमान गरेको हुन्छ । केटाकेटीलाई खेलौना कुकुर दिनु पनि राम्रो मानिँदैन । कुनै पनि सौगातमा सुँगुरको चित्र वा अंग केही राखिएको छ भने यो झन घोर अपमान हो । किनभने मलेहरू मुस्लीम हुन् । मुस्लीम चलन अनुसार छुट्टिने बेलामा सौगात लेन-देन गरिन्छ, भेट्दा होईन । सेतो कागजमा सौगात बेरिएको हुनुहुन्न किनभने यो शोकको प्रतीक हो । सौगातलाई रातो या हरियो काजगमा बेरेको राम्रो ।

मासु खुवाउँने हो भने हलाल गरेको मात्र चल्छ । कुनै सौगात वा सामान दिँदा दाहिने हात या सौगात ठूलो भए दुबै हातले दिनु राम्रो । सौगात दिने बित्तिकै खोलेर हेर्नु हुन्न । भारतीयहरूमा उपहारको रुपमा Frangipani फूल दिनु हुन्न किनभने यो फूल शोकको बेला मात्र चल्छ । पैसा दिँदा विजोडी (५, ७, ११, १३) दिनु (१०, ८, १२, १६, २० भन्दा) राम्रो र शुभ मानिन्छ । उपहारहरु दिँदा दाहिने हातले दिने र ठूलो भए दुबै हातले दिनु राम्रो । उपहारलाई सेतो र कालो काजगमा बेरेको छ भने अशुभ मानिन्छ तर रातो, पहेँलो र हरियो कागजमा बेरेको राम्रो । हिन्दुहरूलाई कुनै पनि छालाबाट बनेको सामान वा रक्सी उपहार दिनु राम्रो मानिन्न । उपहार लिने बित्तिकै खोलेर हेर्नु पनि उचित ठानिँदैन । हरेक जातकाहरूले सौगात लिने-दिने यी संहितालाई पालना गर्नै पर्छ । किनभने यसले पनि जातिय आदरभाव गरिएको महसुस गराउँछ र सदभाव बढाउँन मद्दत गर्दछ ।

१०. सिंगापुरी सिष्टाचारः कुनै पनि व्यवसायिक कामलाई सिंगापुरमा अधिकतम औपचारिक र व्यवसायिक(Professional) किसिमले सम्पादन गरिन्छ । कुनै कंपनी या कार्यालयको इज्जत वा साखलाई व्यक्तीकोभन्दा महत्वपूर्ण मानिन्छ । मानिसहरूको मर्यादाक्रमलाई गंभीरताका साथ अपनाईन्छ । कुनै मानिसले हेला गरेको नठानोस् वा गल्ती कम होस् भनेर धेरै शारिरिक हाव-भाव (Non-verbal communication) ले संचार गरिन्छ । आँखाको भाव र शारिरिक भाषा र शब्द सबैलाई मिहिन किसिमले ख्याल गरेर ‘कुरा’को अर्थ निकालिन्छ । बोलेको शब्द (भावना व्यक्त गर्न) अधुरो, कमजोर हुन सक्छ तर आँखा र शरिरको भाषाले ढाँट्दैन र यो सन्सारभरिका धेरै मानिसले बुझ्ने किसिमको हुन्छ भनि ठानिन्छ । सिंगापुरीहरूमा यस किसिमको सिष्टाचार संहिता पालन गर्नु नै सभ्य हुनु हो भनी स्थापित यी संहितालाई पालना गर्नै पर्छ । यसले पनि सबैमा असल संबन्ध कायम गर्न गराउँन मद्दत गर्दछ ।

११. व्यवसायिक बैठकः कुनै पनि मानिसलाई कम्तीमा २ हप्ता अघि नै अप्वोइन्टमेन्ट लिएर मात्र भेट्ने गरिन्छ । बैठकका बारेमा सम्बन्धित व्यक्तीहरूलाई फ्याक्स वा ईमेलबाट लिखित रुपमा वा टेलिफोन गरेर अग्रिम सूचित गरिनु पर्छ । चिनीया नयाँ वर्ष परेको हप्तामा कुनै पनि एप्वोइन्टमेन्ट राख्ने चलन हुँदैन । बैठक सुरु गर्न अघि केही समय ‘अनौपचारिक कुराकानी’को निम्ती समय छुट्याईन्छ । बैठकमा समयमै नपुग्नु ठूलो अपमान गरेको मानिन्छ । ढीलो हुनेभए खबर गर्नै पर्छ । कुनै पनि हाकिमले बोलिरहेको बेला विचमै अरुले प्याच्च बोल्न पाइँदैन । प्रस्तुती सकिएपछि प्रश्न हँसिलो भएर सोध्न पाइन्छ । कुनै पनि प्रस्तुतीकरणहरू गर्दा प्रमाणित गर्ने तथ्यांक तथा सामग्रीसहित हुनु पर्दछ । सार्वजानिक समारोहहरूमा आफ्नो हाकिमसँग असहमत हुने वा हाकिमको आलोचना गर्ने गर्न पाइँदैन । यस्तो गरे यसले व्यवसायिक संबन्ध बिग्रने निश्चित छ । ‘नन-भर्वल संचार’मा सँधै ध्यान दिनु अनिवार्य छ । बैठक बारेको यो संहिताले पनि सिंगापुरीहरूको सफलतामा मद्दत पुर्‍याएको हो भनिन्छ र यस किसिमको संहितालाई निरन्तरता दिनु पर्छ, अझ सुधार्दै लैजानु पनि पर्छ भनिन्छ ।

१२. नेगोशिएसनः नेगोशिएसनमा को को व्यक्ती समेल हुनेछन्? तिनको नामावली समयमै तोकेर पठाउँनु पर्छ । नेगोशिएसनमा जाँदा कुन सीटमा को बस्नु पर्ने हो सो नभने सम्म जुन पायो त्यही कुर्सीमा बस्नेलाई असभ्य ठानिन्छ । बसाईको पनि मर्यादाक्रम अनुसार हुने प्रोटोकललाई मान्नै पर्छ । कुनै पनि व्यवसायिक नेगोशिएसनको वार्ता (गल्ती नहोस भनेर) ढीलो गतीमा अघि बढाईन्छ । सिंगापुरीहरू भरसक ‘कन्फ्रण्ट’ नगर्ने स्वाभावका हुन्छन् । उनीहरू सिधै No भन्नु हुँदैन भन्ने ठान्छन् । किनभने यसले व्यवसायिक संबन्धहरूमा नकारात्मक उर्जा प्रवाह गर्छ । सिंगापुरीले Yes भनेको पनि साँच्चै Agreement होईन भन्ने कुरा बुझ्नु पर्छ ।

सिंगापुरीहरू कुनै कुरा बोल्दा बीच वीचमा केही सेकेण्ड रोकिने र आफुले बोलेको कुराको प्रभाव के कस्तो परिरहेको छ? मैले अब आफ्नो कुरा कसरी राख्नु पर्ला? भनि ‘छ्यान विचार’ गर्ने गर्छन् । तसर्थ सिंगापुरी देलिगेट वीचमा रोकिँदा प्याच्च बोल्नु राम्रो मानिन्न । ‘तपाइँको विचार के छ?’ वा ‘केही प्रश्न छन कि?’ भनेर छलफलको निम्ती फ्लोर नखुले सम्म वीचमा प्याच्च बोल्नु असभ्यता हो । सिंगापुरीहरूलाई ‘दररेट’ र ‘समयावधी तोक्ने’ मामलामा चाम्रा किसिमका नेगोशिएटर मानिन्छन् । निर्णयहरू सहमतीय हुनु सके नै दुबैको निम्ती ‘वीन-वीन’ हुन्छ भन्ने धारणा राखिन्छ । सिंगापुरीसँगको नेगोशिएसनमा बस्दा ‘धैर्य गुमाउँनु हुन्न नत्र सबै कुरा बिग्रिने संभावना हुन्छ’ भनिन्छ । यदि तपाइँ सिंगापुरी चिनीयासँगको व्यवसायिक सम्झौतामा सही गर्दै हुनुहुन्छ भने फेङसुई अनुसारको “साईत” पनि हेरेर मात्र चिनीयाहरूले ‘सही’ गर्ने चलनलाई आदर गर्नु पर्नेछ ।

१३. विजनेश कार्डः परिचय भएको केही पछि मात्र विजनेश कार्ड लेनदेन गरिन्छ । दुबै हातले विजनेश कार्ड दिने वा लिने गर्नु लाई सभ्य ठानिन्छ । चिनीया व्यवसायिकसँग विजनेश कार्ड लेनदेन गर्दा कार्डको एकातिर चिनीया (मेन्डरिन) भाषा-लिपिमा लेखिएको पनि भए ‘सम्मान’ गरेको मानिन्छ । चिनीया अक्षरहरू स्वर्ण रंगमा लेखिएकोलाई भाग्यशाली ठानिन्छ । आफ्नो कार्ड दिने बेलामा मेन्डरिन अक्षर लेखिएको देखिने गरी हस्तान्तरण गर्नुपर्छ । त्यसैले बिजनेश कार्ड पहिले नै होसियारीपूर्वक ठिक्क पारेर बट्टामा राख्नु राम्रो हुन्छ । बिजनेश कार्ड थापेर त्यसलाई पढेर केही आदरपूर्वक प्रशंसामा दुइचार शब्द बोलेर गोजीमा बिस्तारै राखे सभ्य मानिन्छ । यसले दुइपक्ष वीच हँसिलो-खुसिलो वातावरण बनाउँन योगदान गरिरहेको हुन्छ । तपाइँले आफ्नो बिजनेश कार्ड पनि तरोताजा किसिमले राखेको र नयाँ देखिने खालको दिनुभयो भने त्यसले तपाइँको भावना स्वच्छ रहेको मानिन्छ ।

टिप्पणी: सिंगापुरको सांस्कृतिक संहितालाई एक कैरन (Case) या असल उदाहरण (Good practice) को रुपमा यहाँ राखेको मात्र हो । सन्सारका सबै मुलुकहरूमा सांस्कृतिक विविधता छन् र तिनलाई आ-आफ्नै किसिमले व्यवस्थापन गर्दै आएकाछन् । सिंगापुरले जस्तो सांस्कृतिक विविधतालाई राम्रो व्यवस्थापन गर्नेहरूको मुलुकमा सामजिक, राजनैतिक तथा साँस्कृतिक द्वन्द कम भएको र उन्नती प्रगती राम्रो भएको देखियो तर विविधताहरूको उचित व्यवस्थापन गर्न नसकेका मुलुकहरूमा धेरै जातिय, सांस्कृतिक, धार्मिक, भाषिक, आर्थिक र राजनैतिक द्वन्दहरू भईरहेको देखिन्छ जसले गर्दा प्रचुर संभावना (Potential) हुँदाहुँदै पनि मुलुकको प्रगती उन्नती हुने प्रकृया खल्बलिने गरेको देखिन्छ । अर्थात, सामाजिक सदभाव पनि मुलुकको आर्थिक विकासको निम्ति एक पूर्वशर्त (Precondition) को रुपमा पुँजी हो । सिंगापुरले सांस्कृतिक विविधतालाई उचित ढंगले सम्बोधन गरेकोले स्थाई सरकार कायम हुन सक्यो र प्राकारान्तरले मुलुकको आर्थिक विकास गर्न र सबै मुलुकका नागरिकमा खुशहाली ल्याउँन यो स्थाईत्वले योगदान गर्‍यो । यसबाट केही कुरा निचोडको रुपमा निकाल्न सकिन्छ । जस्तै:

१. सिंगापुरमा चाहेजस्तो सामाजिक सद्भाव आफै कायम भएको होईन । यो By design भएको हो । बेलायती उपनिवेशबाट मुक्त (१९५७) भएपछि र मलेशियासंग छुट्टिएर (१९६५) एक्लो सांस्कृतिक विविधताले भरिएको एउटा सानो र अत्यन्तै गरीव सिंगापुरमा ली क्वान यू र उनको टीमका मानिसहरूले (राजनैतिक, कुटनैतिक, आर्थिक विकासको सोच र कार्यान्वयन, आदि) कुसलतापूर्वक थुप्रै काम गरेर सिंगापुर बनेको हो ।

अनेक काम मध्ये एउटा काम – सभ्यता र सांस्कृतिक विविधतालाई उचित किसिमले संवोधन गरिएन भने मुलुकमा द्वन्द बढ्छ र आर्थिक विकासको मुद्दामा सबैको ध्यान केन्द्रित हुँदैन भन्ने कुरा बेलैमा पहिचान गरेर सिंगापुरका सबै संस्कृतिहरूलाई सम्मान गर्ने ‘सांस्कृतिक नीति’ ‘कार्यक्रम’ विकास गरेर कार्यान्वयन गर्ने ‘संरचना’ खडा गरेर र चाहिने ‘बजेट छुट्याएर’ प्रभावकारी कार्यान्वयन समेत गरेको परिणाम स्वरुप सिंगापुर सबैभन्दा कम सामाजिक द्वन्द भएको र आर्थिक विकासमा ‘मिराकल’ गरेको मुलुकका रुपमा स्थापित हुन सकेको हो । नेपाल पनि बहु सांस्कृतिक मुलुक हो । यहाँका सबै संस्कृतिहरूलाई सम्मान गर्ने ‘सांस्कृतिक नीति’ ‘कार्यक्रम’ विकास गरेर कार्यान्वयन गर्ने ‘संरचना’ खडा गरेर र चाहिने ‘बजेट छुट्याएर’ काम किन गरिँदैन? जबसम्म यसमा काम गरिन्न सामाजिक द्वन्द कायम रहनेछ । सरकारले यसमा ध्यान नदिने हो भने सरकार नै द्वन्दको स्रोत ठहरिनेछ, जिम्मेदार हुनेछ ।

२. कुनै पनि मुलुकको सांस्कृतिक, धार्मिक, भाषिक र जातिय विविधतालाई स-सम्मान मुलुककै संपदाको रुपमा संरक्षण, संबर्धन तथा विकास गर्न सरकारले न्यायपूर्ण तथा तर्कसंगत भूमिका खेल्नु पर्छ । यो कुरा अमरिका र यूरोपेली मुलुकहरुले अपनाएको साँस्कृतिक नीतिले पनि प्रष्ट पारेकोछ । मुलुकका प्रत्येक जातजातिका मानिसले पनि एकापसका सांस्कृतिक विविधताहरूलाई राष्ट्रको सम्पती-सम्पदाको रुपमा सम्मान गर्नु पर्छ ।

‘मेरो संस्कृति ठीक, तिम्रो(उसको) संस्कृति बेठिक या इन्फेरियर’ भन्ने सोचाई नै विखण्डनकारी सोचाई हो । जसले द्वन्दतिर मुलुकलाई धकेल्छ भने ‘मेरो समाजमा मेरो संस्कृति ठीक र उसको (तिम्रो) समाजमा उसकै(तिम्रै) संस्कृति ठीक’ हुन्छ भन्ने धारणाको प्रवर्धन गर्दै ‘मुलुक भित्रका सबै संस्कृतिहरू हाम्रै बहुमुल्य संपदा हुन् यिनलाई हामीले नै ससम्मान सम्पदाको रुपमा र समग्र मुलुकको विशिष्ट पहिचानका तत्वको रुपमा स्वीकार्नु पर्छ’ भन्ने अवधारणा स्थापित गर्नु पर्छ । यसको निम्ती सरकारले हरेक नागरिकलाई (स्कुल देखि नै र विशेष कार्यक्रम आयोजना गरेर) प्रशिक्षित गर्नु पर्छ र यो संभव छ भन्ने कुरा सिंगापुरको कैरनबाट देखिन्छ ।

३. सांस्कृतिक विविधताहरूको सम्मान र संरक्षण-संबर्धन गर्ने काम बजेट दिएर मात्र दिएर पनि पुग्दैन । यसको निम्ती हरेक बालबालिकाका र नागरिकहरूको अवधारणा परिवर्तन गर्ने गरी दार्शनिक तथा वौद्धिक लगानी पनि चाहिन्छ । विधीको रुपमा स्कुल तथा अन्य शैक्षिक संस्थाहरूमा दिईने शिक्षाको पाठ्यक्रममै सांस्कृतिक विविधताको महत्व र आपसी संस्कृतिको सम्मान गर्ने बारे शैक्षिक पाठहरू समाबेस गरी समातामुलक भावना जगाउँने काम (संघीय, प्रान्तीय र स्थानीय) सरकारी स्तरबाटै नीतिगत तथा कार्यक्रमिक रुपमा व्यवस्था हुनु पर्छ । यो संभव छ र यसले नै फरक फरक संस्कृतिका मानिसहरूलाई भावनात्मक रुपमा ‘एउटै राष्ट्रियता’मा गोलबन्द गर्ने-गराउँने काममा मद्दत गर्दोरहेछ भन्ने कुरा सिंगापुरको कैरनबाट प्रष्ट हुन्छ ।

४. मुलुकमा विद्यमान सांस्कृतिक, धार्मिक, भाषिक र जातिय विविधताहरूमा निहित खास-खास विशेषताहरुको समग्र योगले नै कुनै एउटा मुलुकको गौरबपूर्ण सिंगो पहिचान निर्माण भएको हुन्छ । नेपालमा, “हामीसँग विविधता छ” यसलाई ससम्मान सम्पदाको रुपमा हेरे सिंगो मुलुकमा, प्रान्तहरूमा, गाउँपालिका र नगरपालिकाका जातजातिका वीच सदभावना बढ्छ तर विविधतालाई उचित “व्यवस्थापन” नगरेमा वा सरकारले कुनै संस्कृतिलाई “काखा” कुनै संस्कृतिलाई “पाखा” गरेमा सरकारले नै जातजातिहरूका वीच द्वन्दको वीउ रोपेको ठहर्दछ । द्वन्दले जुनसुकै मुलुक वा समाजको विकासका प्रकृया र गतीहरू बिथोल्छ । द्वन्द अहिलेको सन्सारमा समाजलाई गरिवीतिर धकेल्ने एक खतरनाक रणनैतिक हतियार हुने गरेको छ । कुनै पनि मुलुकलाई वा समाजलाई गरीब बनाउँने हो भने द्वन्दमा फसाउँनु पर्छ केही वर्षमै त्यो मुलुक वा समाजको आर्थिक सूचकहरू खस्किन थाल्छन् भन्ने कुराको श्रीलंका एउटा राम्रो उदाहरण हो । बांग्लादेश, अफगानिस्तान, ईराक, (हाल) सिरिया जस्ता मुलुकहरुलाई द्वन्दमा फसाएरै हैरान पारिएको देखिएकैछ । अबको नेपाल गरिवीतिर कि समृद्दितिर? कतातिर जाने हो? यो सोचाईको बृहद चित्रमा सांस्कृतिक विविधताको व्यवस्थापनलाई हेरिनु पर्छ ।

५. मुलुकका अनेक संस्कृति र धार्म मान्ने, फरकफरक भाषा बोल्ने र अनेक जात(Gene)का मानिसहरूले एकले अर्काको संस्कृति, धर्म, भाषालाई सम्मान गर्ने नियम-संहिता विकास गरेर यसको उलंघनलाई दंण्डनीय कानुन समेत बनाएर बालबालिका लगायत सबै नागरिकलाई प्रशिक्षित गर्न सकिन्छ र यसले फरक फरक जातिहरू वीच सामजिक सदभाव बढाउँने काम गर्छ । जुन सद्भाव शान्तिपूर्ण समाजको निम्ती नभई नहुने पूर्वाधार हो । कुनै पनि समाजमा आफ्नो संस्कृति, धर्म र संस्कारलाई “सभ्य तरिका” र अरुको धर्म, संस्कृति र संस्कारलाई “ईन्फेरियर” “जंगली” “असभ्य” मान्ने मानिसहरू हुन्छन् होला । तर ‘सरकार’ले यस्तो भेदभाव गरे अक्षम अपराध हुनेछ, अपराधी हुनेछ ।

सिंगापुरको शिष्टाचार संहिता जस्ताको तेस्तै नक्कल गर्न सकिन्न र नक्कल गर्नु हुन्न पनि । नेपालकै विविध सांस्कृतिक विशेषताहरू मुताबिक सिष्टाचार संहिता विकास गरेर कार्यान्वयन गर्न सकिन्न? स्कुलहरूका पाठ्यक्रममै राखेर सिकाउँन सकिन्न? जरुर सकिन्छ । यसो गरे सांस्कृतिक विविधताहरूको राम्रो व्यवस्थापन हरेक व्यक्ती-व्यक्तीहरूबाट समेत योगदान हुँदै जानेछ । जसबाट सबै जातजातिले नेपालमा ‘मेरो संस्कृति, धर्म र भाषाको पनि सम्मान भएकोछ’ भन्ने महसुस गर्न थाल्नेछन् । हरेक जातजातिहरूले एकार्काको संस्कृतिको सम्मान गर्ने वातावरण बन्न थाल्नेछ । (संघीय, प्रान्तीय र स्थानीय) सरकारको ‘समावेशी-नियत’ मात्र हुनुपर्छ यो विल्कुल संभव छ । एउटा जातले अर्को जातलाई सिध्याउँने किसिमको कुनै पनि पार्टी वा गुठको सरकारले शासन गरे सिंगो नेपाल र नेपाली प्रान्तहरू तथा स्थानीय तहहरूमा उचित किसिमले सांस्कृतिक विविधताको व्यवस्थापन हुन सक्दैन । आशा गरौँ अब संघीय, प्रान्तीय र स्थानीय सरकारहरूले यस बारे सोचेर “विविधताहरू वीच सदभाव”को निम्ती काम गरेर आफुलाई कुनै एक नश्लवादी सरकार हुनबाट जोगाउँनेछन् ।

Reference.
http://www.commisceo-global.com/country-guides/singapore-guide
https://en.wikipedia.org/wiki/Demographics_of_Singapore

 

Comments

comments

SHARE