-हिरामान बल तामाङ

बाैद्ध र स्वयम्भूमा मनाउँने तेमाल जात्रालाई तामाङ समुदायले ल्होछारपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएको छ । त्यसैले यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व पनि उच्च रहेको छ । यो जात्रा हरेक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध छ्योर्तेन र पूर्णिमाको दिन स्वयम्भूमा लाग्ने गर्दछ । जात्रामा तामाङ समुदयको मात्र उपस्थिति रहँदै आएको छ । विशेषतः काभ्रेपलाञ्चोक, सिन्धुपालञ्चोक, दोलखा, नुवाकोट, मकवानपुर, धादिङ, सिन्धुली, ललितपुर, भक्तपुर र काठमाडौं लगायत देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्दै आएको छ । त्यसो त देशबाहिरका भुटान, भारत, दार्जिलिङ र सिक्किमबाट समेत उपस्थिति हुने गरेको छ ।

जात्राको लागि तामाङ समुदायका मानिसहरू ज्यारूङ खस्योर (बौद्ध) र सिङ्गुन (स्वयम्भू)मा भेला हुन्छन् । चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्धमा आफ्ना दिवङ्गत बुबाआमा तथा पितृजनका नाममा ङोवा मोन्लम पाठ गराई नाङ्साल म्हारमेन (बत्ति) बाल्दछन् साथै बौद्ध छ्योर्तेन र स्वयम्भूको कोरोवा पनि गर्दछन् । त्यसो गर्नाले मृतकका चित्तले मुक्ति पाउने र सुखावती भुवनमा बास पाउँछ भन्ने विश्वास रहेको पाइन्छ ।

     हरेक दिन भीड लाग्ने बौद्ध र स्वयम्भूमा चैत पूर्णिमाको अघिल्लो दिन छुट्टै किसिमको चहलपहल हुने गर्दछ । यो मेला भर्न आएकाहरूको भीड हो । कोही लामागुरु लगाएर ङोवा मोन्लम् पाठ गराउन व्यस्त हुन्छन् । अनेक विधि अपनाई मृतकको चित्त शान्ति र मुक्तिका लागि पूजामा व्यस्त रहन्छन् । साथै ढोग गर्ने र प्रार्थना अनि भाव गर्ने गर्दछन् । उक्त काम सकिएपछि खुल्ला हुन्छन् । त्यसपछि जात्रामा गीत गाउने मेलोमा सहभागी हुन्छन् । कतिपय त गीत गाउनकै लागि मात्रै पनि आइपुग्छन् । तैपनि एउटा भए पनि म्हरमेन बाल्छन् । कोरोवा गर्छन् । पितृलाई सम्झेर प्रार्थना गर्छन् । आफन्त तथा गीत गाउने दोस्तीसँग भेटेर गीत गाउँछन् । रमाइलो गर्छन् । मनमा झूसी परेर बसेका पीरव्यथालाई क्षणभरकै लागि भएपनि भुल्छन् । धर्म गर्छन् । संस्कृति जोगाउँछन् अनि त्यही बहानामा नाचगान पनि गर्छन् । तामाङ भनेर संसारलाई चिनाउँछन् । कतिपय व्यक्ति तथा संस्थाहरू पिउने पानी बाँड्छन् । कोही जुस नै बाँड्छन् । कोहीले फलफूल पनि बाँड्छन् । सेवा नै धर्म भन्ने  कुरालाई व्यवहारमा उतार्छन् ।

पितृको सम्झना मुख्य पक्षको रूपमा रहेको हुन्छ । त्यसैले त रातभरि म्हरमेन बाल्छन् । कतिपयले त गाउँदेखि नै ङोवा तथा मोन्लम पाठ गराउन आफ्ना टीकालामालाई पनि सँगै लिएर आएका हुन्छन् । म्हने घुमाउँदै रात बिताउँछन् । छ्योर्तेनको माथिल्लो तल्लामा रहेका १०८ खोपाहरूलाई दाहिने पारेर घुम्छन् । सोही क्रममा नङ्सल म्हारमेन बाल्छन् । त्यसरी नङ्सल बाल्नुको अर्थ र पुण्यलाभ हुनेमा शङ्का गर्दैनन् । त्यसैले शताब्दीऔंदेखि बाल्दै आएका छन् । बालिरहेका छन् । हो; बालिरहने छन् । कतिले घरमै नङ्सल बनाएर ल्याउँछन् । कतिले बाहिर बेच्न राखेका नङ्सल किनेर बाल्छन् । यो क्रम आदिमकालदेखि निरन्तर चल्दै आएको छ । यतिसम्म कि– उनीहरूले धागो र तेल नभएका बेलादेखि नै बाल्दै आएका देखिन्छन् । तेमालका तम्बा दुर्गसिं तामाङ सुनाउँछन्; उहिले धागो र तेल नभएको वा किन्न नसकेको अवस्थाका मानिसले मेथङ (दियालो) भए पनि बाल्थे । उज्यालो पार्थे । मृतकका चित्तलाई अँध्यारोबीच उज्यालो दिन्थे । षड्गतिमा पर्न नदिई सुखावती भुवनसम्म पुग्नका लागि बाटो देखाउँथे । केही गरी तिथिको बेला यहाँ आउन नसक्ने भएमा समस्या हुने नै भयो तर त्यसको पनि समाधान बनाएका थिए । गाउँकै गुम्बामा पुग्थे । लामागुरुबाट ङोवा तथा मोन्लम पाठ गराउँदै नङ्सल बाल्थे । गाउँकै गुम्बालाई पनि बौद्ध र स्वयम्भूको रूपमा सम्झन्थे ।

     माथि उल्लेख गरिएअनुसार नै तेमाल क्षेत्रका मानिसहरू धागो र तेल नहुँदा पनि मेथङ भएपनि लिएर आउँथे । नङ्सलको रूपमा त्यही मेथङ बाल्थे । त्यसरी नै उनीहरूले यस जात्रालाई निरन्तरता दिँदै आएका देखिन्छन् । त्यसैले– यस जात्राको नाम पनि तेमालजात्रा रहेको हुनुपर्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । परापूर्वदेखि नै यो जात्रा लाग्दै आएको छ । शुरूदेखि नै तेमाल क्षेत्रका तामाङबस्तीहरूबाट मेला भर्न आउने क्रम टुटेको छैन । उनीहरू हाल रहेको अरनिको राजमार्ग बन्नु अगाडि भने पैदल यात्रा गरेरै आउँथे । मेला भर्न तेमालको राजा ह्रिञ्जेनदोर्जे बल तामाङ पनि आएका देखिन्छन् । उनी यस मेलाका लागि तेमालबाट बिहान कुखुरा बासे लगत्तै निस्कन्थे । उनका साथमा तामाङ समुदायका मानिसहरू हुन्थे । त्यसबेला अन्य बत्तीको सुविधा थिएन  । त्यसैले मेथङ बालेरै आउँथे । उज्यालो हुँदा नहुँदै गाउँ छोडेर बौद्धका लागि बीच बाटोमा हुन्थे । त्यसरी बाल्न मेथङ सङ्कलनका लागि हालको मेथिनकोटको जङ्गलमा पुुग्थे । आवश्यक खोटो र दियालो जम्मा गर्थे । त्यसैले त्यस स्थानको नाम नै मेथङकोट रहेको थियो । पछि नेपालीकरणको क्रममा अपभ्रंश भएर त्यही मेथङकोट नै मेथिनकोट भएको देखिन्छ । मेथङकोटमा मेथङ सङ्कलन गरेका उनीहरू हाँस्दै, खेल्दै, गीत गाउँदै रमाइलो गर्दै आउँथे ।

       त्यसताका हालको झैँ गेस्ट हाउस थिएनन् । बौद्ध क्षेत्रमा अहिलेको जस्तो प्रशस्त घर पनि थिएनन् । खासै आफन्त भन्नेहरू पनि हुँदैनथे । त्यसैले पनि छ्योर्तेनमै रात कटाउनुपर्ने हुन्थ्यो । रात कटाउनका लागि भएपनि गीत गाउनुपर्ने हुन्थ्यो । त्यसैले गीत गाएरै रात कटाउँथे । दोहोरी गीतको साथै ऐतिहासिक विषयमा आधारित गीत पनि हुन्थे । दुवैको आफ्नै चिनारी र महत्त्व थियो । आफ्नै श्रोता थिए । भुटेको मकै, रोटी, तरकारी  पनि हुन्थे । अझै थप खानेकुरामा उसिनेका कन्दमूल हुन्थे । रक्सी त सोध्नै परेन । जतिखेर पनि सगुनको रूपमा चाहिने हुनाले रक्सी अनिवार्य जस्तै मानिन्थ्यो । त्यसमा पनि कोदोको चाहिँ अब्बल हुने नै भयो । हो; तामाङको आफ्नै मौलिक खाद्य संस्कृति थियो । परिचय र पहिचान झल्किन्थ्यो । आफन्तजन भेटिन्थे । आफ्नै खाद्यबस्तुद्वारा स्वागत सत्कार गरिन्थे । कोरोवा र मणी घुमाउँदै छर्लङ्गै हुने गरी रात कटाउँथे । शुरूका समयमा यातायात, बास, खानपीनको बन्दोबस्त गर्न धेरै गह्रो हुने नै भयो । त्यसैगरी २०५२ सालदेखि चलेको सशस्त्र जनयुद्धका कारण यात्रामा व्यापक समस्या देखापरेको थियो । तैपनि तेमाल लगायतका विभिन्न स्थानमा रहेका तामाङले जात्रालाई छोडेनन् । मेलाको अवसरमा ङोवा मोन्लम पाठ र म्हरमेन नङ्सल बाल्न पनि छोडेनन् । त्यसैले त अहिलेसम्म पनि जात्रा चलिरहेकै छ । सिङ्गो तामाङ समुदायले तामाङ जात्रा भनेर नाक फुलाउने अवसर पनि प्राप्त गरेको छ ।

      देशमा अहिले पहिचानको मुद्दा उठाइरहेको छ । यस्तो बेला तामाङ समुदायको ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको तेमाल जात्रालाई राज्यले संरक्षण गर्न सकेको छैन । सुविधा दिन सकेको छैन । बरु मौका पर्दा दुःख दिएको भन्ने जनगुनासा सुन्दै र भोग्दै आएका छौं । यो नै कटु सत्य वा यथार्थ हो । दुःख हो । आदिवासी जनजातिहरुले आ–आफ्नो पहिचानको लागि आवाज उठाइरहँदा राज्यको तर्फबाट भने संरक्षणको साटो दबाउने काम गरिरहेको भनेर आदिवासी जनजाति नेताहरुले दावी गर्दै आएका छन् । परापूर्वकालदेखि चल्दै आएको तेमाल जात्रामा रातभर तामाङ फापर गीत गाउने र नङ्सल म्हरमेन बाल्ने प्रचलन थियो तर आज आएर प्रशासनले यसमा अवरोध गरिरहेको छ । संस्कार पालना गर्न बाधा पु¥याएको छ । जात्रामा आउनेहरुलाई प्रशासनले लाठ्ठी चार्ज गर्दै स्तूपभित्र बस्ने र मृतकको नाममा पूजापाठ गर्न नदिनु तामाङ समुदायको धार्मिक पर्वलाई नै दवाउने ठुलो षड्यन्त्र हो । त्यत्ति मात्र नभएर तेमाल जात्राबाट प्रख्यात काठमाडौंको बौद्ध र स्वयम्भू पनि पछिल्लो समय हिन्दूकरण गर्न भ्याइसकेको छ ।

      बौद्धधर्मसँग जोडिएको बौद्ध छ्योर्तेन र स्वयम्भूका नाम पछाडि नाथ शब्द ल्याएर जोडेको छ । अनि तामाङको झ्यरुङ खस्योर बौद्धनाथ र सिङ्गुन आज आएर स्वयम्भूनाथ भएको छ । स्मरण रहोस्, नाथ शब्द हिन्दूबाट आएको हो । हिन्दूकरणको एक उदाहरण स्वरूप दोलखा भिमसेनलाई पनि लिन सकिन्छ । शुरूमा दोलखा भिमसेन नभई बौद्ध धर्मसँग जोडिएको थियो । आदिवासी जनजातिहरू दावी गर्छन्, पशुपति र गुहेश्वरी पनि बौद्धधर्मसँग सम्बन्धित थियो । बुढानिलकण्ठ र चाबहिलस्थित चन्द्रविनायक पनि बौद्ध मन्दिर थियो । राज्यसत्ता हातमा परेपछि सबै बौद्ध धार्मिक तीर्थस्थलहरू हिन्दूका भए । सोही अनुसार कथित इतिहास लेखे ।

       “तेमाल जात्रा तामाङ समुदायको ठूलो धार्मिक पर्व भएकोमा कसैको द्वीमत नहोला । यस्तो मेलाको उद्घाटन राष्ट्रप्रमुखले गर्नुपर्ने हो तर यसको लागि निमन्त्रणा लिएर जाँदा भेट्न समेत आनाकानी गरेको भन्ने स्थानीय अग्रज अभियन्ताहरूले गुनासो गरेका छन् । घोडे जात्रा र शिवरात्री लगायका जात्रामा पुग्ने राष्ट्रप्रमुखलाई तेमाल जात्रामा आउने समय छैन । त्यसबारेमा खोज्ने, सुन्ने र बुझ्ने समय पनि छैन । त्यसैले देशको ढुकुटीबाट एक पैसा पनि प्राप्त होला भनेर आश गर्ने ठाउँ रहेन । अनि त अनि तेमाल जात्रालाई राज्यले आफ्नो वा अपनत्वपूर्ण भावना सिर्जना गर्नै सकिरहेको छैन । तामाङ लगायतका आदिवासी जनजातिले राज्यलाई नै आफ्नो वा अपनत्व भाव राख्ने वा जन्माउने आधार नै पाइरहेका छैनन् ।

      यति हुँदा–हुँदै पनि पछिल्लो चरणमा तेमाल जात्रा व्यवस्थापन समिति र विभिन्न सङ्घ–संस्थाहरू मिलेर जात्रालाई व्यवस्थित गर्दै आएका देखिन्छन् । पहिले–पहिले त तेमाल जात्रा मनाउन आएकालाई कतिपयले आफ्नो घरआँगनमा समेत बस्न दिँदैनथे रे । फोहोर हुन्छ भनेर कराउँथे रे । बस्नका निमित्त आफन्त बनाउन सक्नुपर्दथ्यो रे । पाखे भन्दै कतिले त लखेट्न पनि पछि पर्दैनथे रे तर आज समयले काँचुली फेरिसकेको छ । मानिसको सोचमा परिवर्तन आइसकेको छ । बौद्ध र स्वयम्भूबासीले पनि यसलाई आफ्नो शान र मानको विषय मानिसकेका छन् । आफ्नो ठानेर माया गर्न लागिसकेका छन् ।

        अहिले विभिन्न तामाङ सङ्घ–संस्थाहरुले निःशुल्क पिउने पानी, स्वयम्सेवक, निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा दिन थालेका छन् । तेमाल जात्रा बौद्धधर्मसँगै तामाङ जातिको संस्कार, संस्कृति, पहिचान र संरक्षणको निम्ति पनि महत्त्वपूर्ण रहेको छ । दिवङ्गत भइसकेका आफ्ना पूर्खालाई सम्झने साथै सम्पूर्ण प्राणी जगतको हित र शान्तिको लागि प्रार्थना गर्ने जस्ता क्रियाकलापलाई अति राम्रो पक्ष मान्नुपर्ने हुन्छ । यत्ति मात्र नभई तेमाल जात्राले काठमाडौंमा रहेका इष्टमित्रसँग भेटघाट गर्ने, दुःख सुख साट्ने, माया प्रेम र आदार–सत्कार गर्ने मौका पनि दिँदै आएको छ ।

      यस जात्राको नाम तेमालजात्रा कसरी रहन गएको थियो भन्ने सम्बन्धमा केही तथ्य माथि नै उल्लेख गरिइसकेको छ । अहिले कतिपयले यसमा असहमति जनाएका पनि पाइन्छन् । तेमाल भन्नाले हालको तेमाल गाउँपालिका संयुक्त स्वरूपलाई मात्र बुझ्ने गरिएको छ । ऐतिहासिक तथ्यलाई हेर्ने हो भने ती तेमाल गाउँपालिका ९ वटा वडा संयुक्त स्वरूप मात्रै तेमाल होइन । बृहत् तेमालमा त साँगाभञ्ज्याङदेखि पूर्वका क्षेत्र पर्दथे । हालको राजनैतिक विभाजनमा परेको क्षेत्रलाई हेर्ने हो भने ऐतिहासिक बृहत् तेमालमा काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपालञ्चोक र दोलखा लगायतका पूर्वमा अवस्थित जिल्लाहरू समेत पर्दथे । तिनलाई एक नम्बर तेमाल क्षेत्र भनेर चिनिन्थ्यो । अझै पनि रामेछापमा समेत तेमाल नामक ठाउँ रहेको छ । तेमाल प्राचीन नाम ‘तेरमहल’ बाट अपभ्रंस भएर ‘तेमाल’ हुँदै तिमाल भएको स्पष्ट रहेको छ । तामाङ समाजको पूर्वी क्षेत्रमा ‘‘संस्कार संस्कृति र रितिरिवाज हराएमा तेमाल जानु’’ भन्ने भनाई प्रचलित रहेको पाइन्छ । यसले तेमाललाई तामाङ समुदायको पुख्र्यौली थलो हो भन्ने तथ्यलाई बल पु¥याइरहेको पाउन सकिन्छ ।

      यसप्रकार तेमाललाई तामाङ समुदायको पुख्र्यौली थलोको रुपमा मानिँदै आएको देखिन्छ । तेमाल नाम यस अर्थमा पनि निकै महत्त्वपूर्ण र उल्लेखनीय रहेको छ । हाल आएर काभ्रेपलाञ्चोक जिल्लाको ९ वटा वडा मा मात्र सिमित भएकोले पनि होला तेमाल जात्रा भनेर भन्दा बौद्ध र स्वयम्भू जात्रा हुनुपर्छ । तेमाल जात्रा कसरी भयो ? प्रश्नचिह्न उठाउन थालिएका छन् । त्यत्ति मात्र होइन तेमाल जात्रा तेमालमा नभएर काठमाडौंमा कसरी भयो ? तेमाल जात्रा तेमालमा नै गएर मनाऊ भन्नेहरु पनि देखिएका छन् । त्यसैले अब हामीले विगतको इतिहासलाई पुनः नियाल्न सक्नुपर्छ । तेमालका तामाङ राजा ह्रिन्जेनदोर्जे बलले तेमाल जात्रा मनाउन तेमाल क्षेत्रका तामाङलाई लिएर अफैँ आउने वा पठाउने गरेको भन्ने पाइन्छ ।

      यसैगरी बौद्ध छ्योर्तेनको जीर्णोद्धार कार्य सम्पन्न भएको खुशीयालीमा पनि मृतकको नाममा पूजासहित उत्सव मनाउन तेमालका तामाङ राजा ह्रिन्जेनदोर्जे बलले तेमालजात्रा चलाएको भन्ने किम्वदन्ती पनि पाइएको छ । यस्तै सत्ययुगमा काठमाडौं उपत्यका दहको रूपमा रहेको थियो । त्यसबेला बन्धुमतीनगरबाट विपश्वी बुद्ध पाल्नु भई नागार्जुन डाँडामा बसेर साधना गर्नुभएको थियो । विपश्वी बुद्धले नै चैत्र पूर्णिमाको दिन ऋद्धिसिद्धि शक्तिको प्रयोग गर्दै दहमा कमलको बीऊ रोप्नु भएको थियो । त्यही बीउबाट कमलको एउटा अद्भूत फूल फुलेको थियो । सोही फूलको थुङ्गा पुगेको स्थानमा नै स्वयम्भूको ज्योति उत्पत्ति भएको भन्ने कथन पाइएको छ । सोही बेलादेखि नै यो जात्राको शुरूवात भएको भन्ने जानकारहरूले दावी गरेका पाइन्छन् ।

      हरेक वर्ष चैत पूणिर्माको अघिल्लो दिन बौद्ध छ्योर्तेन र चैत पूणिर्माका दिन बिहान बालाजुको बाइसधारामा नुवाई धुवाई गरेर स्वयम्भूमा मृतकको नाममा नङ्सल म्हरमेन (बत्ति) बाल्दै कोरोवा गर्ने प्रचलन रहेको छ । सोही अवसरमा तामाङ फपर गीत गाएर, पूजापाठ गरेर रात परेपछि जात्राको विसर्जन गर्दै आएको छ । यस्तै गरेर काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध (ताक्मो ल्हुइजेन)मा पनि मङ्सीर पूर्णिमाको दिन मेला लाग्दै आएको छ । त्यहाँ पनि आफ्ना मृतकका नाममा नङ्सल म्हरमेन बाल्ने प्रचलन रहेको छ । तामाङ फापर गीत नगाइकन जात्रा पूर्ण हुँदैन । यसरी लाग्ने विभिन्न मेलाहरुमा केटी र केटा पक्षबीचमा खेलिने दोहोरीमा एक पक्षले हारेमा वा बराबरी भएमा पनि अर्को जात्रामा भेट्ने गरी छुट्ने गरेका पाइन्छन् । त्यसैले यी तीन तीर्थस्थलहरूमा लाग्दै आएका जात्राको विशेष महत्त्व र साइनो रहेको देख्न सकिन्छ ।

    ऐतिहासिक पाटोलाई नियालेर हेर्ने हो भने– सन् १७९२ मा तामाङले विद्रोह गरेका थिए । त्यसलाई राज्यपक्षले निर्ममतापूर्वक दबाएको थियो । त्यसैबेलादेखि तामाङलाई राज्यले शत्रुतापूर्ण नजरले मात्रै हेर्न थाल्यो । उनीहरुका धार्मिक आस्थाको केन्द्र (तीर्थ)मा आउन समेत बन्देज लगायो । जङ्गबहादुरको लहैलहैमा भएको नेपाल–भोट युद्ध अघिसम्म बौद्धको मूललामा छेवाङ सितार रुम्बा तामाङ थियो । उनलाई भोट विरुद्धको लडाईँमा गोरखालीलाई सहयोग नगरेको आरोप लगायो । सोही शिलशिलामा देश छाड्न बाध्य पारिएका थिए । आदिकालदेखि नै स्वयम्भू र बौद्धको व्यवस्थापन गर्ने जिम्मेवारी लिँदै र बहन गर्दै आएको तामाङ समुदायलाई बिस्तारै विस्थापित गराउने काम ग¥यो ।

स्वयम्भू र बौद्धको गुठी जग्गाहरु खोसिए । शाह राजाले स्वयम्भूलाई तामाङहरूबाट खोसेर भुटानको लामालाई जिम्मा दियो । त्यस्तै बौद्धको व्यवस्थापन जिम्मेवारी राणा प्रधानमन्त्रीले खोसेर चीनियाँ लामालाई दियो । राज्यसत्ताले जात्राहरूलाई आफ्नो मानेको छैन । बरु सँधै सशङ्कित हुँदै मात्र आएको छ । त्यसैले पुरानो घाउले सताउन थालेको बेला गोरखाली राजनीतिको षड्यन्त्र र बल मिचाईमा तामाङ व्यस्थापन समितिहरू तहसनसहन हुन पुगे भन्ने आभास हुनुलाई अन्यथा मान्न सकिन्न । यही तथ्यबाट के पुष्टि हुन्छ भने राज्यसत्ताले तामाङ समुदायमाथि गरेको अन्याय र अत्याचारपूर्ण विभेदले गर्दा तामाङ समुदाय यो अबस्थामा आइपुगेको हो । राज्यसत्ताको यस्तै रवैयाका कारण तामाङ समुदाय पछाडि परेको सहज अनुमान लगाउन सक्छौँ । अबको नयाँ पुस्ताले यही कुराको मनन् गर्दै तेमाल जात्रासँगै आफ्नो भाषा, लिपि, धर्म, संस्कृति र कलाको संरक्षण सम्बद्र्धनका लागि उठ्नुपर्ने भएको छ । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने भनाईलाई आत्मसात् गर्ने बेला भएको छ ।
[email protected]
MObile: 9851038630

Comments

comments

SHARE