-ङिमा पाख्रिन/भर्जिनिया

‘तामाङ दाजुभाई दिदीबहिनीहरु लगायत यहाँ ल्होछारमा उपस्थित सबैलाई ल्होछारको शुभकामना ! ल्हास्सो फ्याफुल्ला टासी देले’ भनेर अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कुमार कार्कीले सम्बोधन गर्दा हलमा तालीको गटगटाहट गुञ्जियो । गत फेब्रुअरी १७ तारिख शनिबार साँझ भर्जिनियाको फेयर फ्याक्स स्थित जेविस कम्युनिटी सेन्टरमा तामाङ सोसाईटी अफ ग्रेटर वाशिङटनले आयोजना गरेको ल्होछार कार्यक्रमका प्रमुख अतिथी राजदूत कार्कीले भने, ‘ल्होछारलाई नेपाल सरकारले राष्ट्रीय पर्वको रुपमा मान्यता दिई सकेको छ । त्यसैले यो चाड सम्पुर्ण नेपालीहरुको पनि चाड हो र यसको विशेष महत्व छ ।’ छोटो मन्तब्य दिएका राजदूत कार्कीले अमेरिकामा राजदूत भएर आए पछि प्रत्येक बर्षको ल्होछारमा आफू उपस्थित हुन पाउँदा खुशी लागेको बताए ।

उक्त ल्होछार कार्यक्रमका विशेष अतिथी नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलिसीले पुन: नेपाल पुगेको अनुभूती भएको बताउँदै मुस्ताङमा भोटेकुकुर उपहार पाएको प्रशंग जोडे । उनले अमेरिका फर्कदाँ सँगै लिएर आएका उक्त कुकुर अहिले उनलाई बिहान बेलुका वाल्कमा निस्कदाँ साथ र सुरक्षा दिएको भन्दै यसपालीको खि-ल्हो (कुकुर बर्ष) सबैको लागि सुरक्षित र सफल बनोस् भनी शुभकामना दिएका थिए । शुभकामना मन्तब्यको क्रममा बोल्दै कार्यक्रमका अतिथी तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले नेपालका साथै प्रवासमा पनि तामाङहरुले ल्होछारलाई पहिचानको लागि मौलिक साँस्कृतिक पर्वको रुपमा मनाउँदै आएको बताए । यसलाई तामाङ जातिको मौलिक संस्कार, संस्कृती एवं पुर्ख्यौली मूल्य र मान्यताको जगेर्नको लागि थप ब्यवास्थित र परिस्कृत बनाउँदै लैजानु आवश्वक रहेको औल्याउँदै तामाङहरु बृहत्तर रुपमा संगठीत भएर काम गर्दा यसलाई न्यायोचित सफल पार्न सकिने लामाले दावी गरे ।

लामागुरु गोम्पो एशे (डेविड विलियम्स्) र लामागुरु छिरिङ शेर्पाले बुद्ध धर्मानुसारको मन्त्रोच्चारण गर्दै पार्थना गरी शुरु गरिएको ल्होछार समारोहमा आयोजक संस्थाका उपाध्यक्ष फाउदा लामाले स्वागत मन्तब्य दिएका थिए ।

रोजी तामाङले संचालन गरेको ल्होछार कार्यक्रमको औपचारिक चरणको समापन गर्ने क्रममा बोल्दै कार्यक्रमका सभापती एवं आयोजक सँस्थाका अध्यक्ष उत्तर दोङले ल्होछार कार्यक्रमलाई सफल पार्न सहयोग पुराउँने सबैलाई आभार ब्यक्त गरे । ल्होछारको मिति सम्बन्धमा यसपाली नेपालमा केहि विवादित देखिए पनि ल्होछार एउटै भएको उनले प्रस्ट्याए । चन्द्र पात्रोमा आधारित ल्होछारको इतिहासलाई केलाउँदै जाँदा तामाङले मनाउँने सोनाम ल्होछार पौराणिक पर्व भएको बताउँदै सोनाम, ग्याल्पो, तमु वा अन्य जे नामाकरण भए पनि एउटै खि-ल्हो (कुकुर वर्ग) लाई मान्ने भएको हुँदा ल्होछार एउटै भएको उनले दावी गरे । वाशिङटन मेट्रो एरियामा सन २००४ देखि क्रमिक रुपमा सोनाम ल्होछार मनाउँदै आएको तर टेक्सासको डालासमा यो बर्षबाट मनाउँन शुरु गरिएको प्रसँग उल्लेख गर्दै यसरी नै परापुर्वकालमा बिभिन्न ठाउँ र समयमा ल्होछार मनाउँने क्रममा भिन्न नामाकरण हुन गएको र तिथी मितीमा फरक देखिएको उनले बताए ।

ल्होछार कार्यक्रममा न्युयोर्कबाट तामाङ सोसाईटी अफ नर्थ अमेरिका(तत्कालिन तामाङ सोसाइटी अफ अमेरिका)का पुर्वअध्यक्ष ईन्द्र तामाङ र सुर्य तामाङ तथा सदस्यहरु राधिका तामाङ, जिना तामाङ, बिनोद घिसिङ, देव वाईबा, बसन्ती तामाङ लगायतका उपस्थित रहेका थिए । हल्का हिमपात भए पनि पर्वाह नगरी ल्होछार मनाउँना उपस्थित भएको भीडले हल खचाखच भरिएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय नेपाली पाठशालामा अध्ययनरत नेपाली अमेरिकन बालबालिकाहरुले अमेरिकन राष्ट्रिय गान तथा नेपाली राष्ट्रिय गान गाए l आयोजक संस्थाका सदस्यहरुबाट गरिएको सामुहिक म्हेन्दोमाया नृत्य, मौलिक सेलो गीत र सेलोमा सामुहिक नृत्य, सज्जन लामा र मनिधन राईको हाँस्यव्यग्य नृत्य, अलिशा गुरुङ, मनु लामा र काजल घिसिङको नृत्य लगायत आकर्षक प्रस्तुती भएको धेरै दर्शकले प्रतिकृया दिए l यसैगरी नेपाली चलचित्र कान्छीको ‘कान्छी है कान्छी’ बोलको गीतमा मणिधन राई र सबिता श्रेष्ठको जोडीले बेजोड नृत्य प्रस्तुति दिएको थियो l मोक्ष ब्यान्ड लगायत पेमा लामा तथा एन्जेल्स् ब्यान्डका राजु लामाले मीठा गीतहरु प्रस्तुत गर्दा तालमा ताल मिलाएर झुमेका दर्शकलाई गायक निमा रुम्बाले मज्जाले नचाए l निमा रुम्बाले मौलिक स्टाइलको ह्याट लगाई दिएको प्रस्तुतीमा नाचीरहेका केहि जोडीहरुले कन्सर्टमा नाचे झै लागेको आपस्तमा भन्दै थिए । साँस्कृतिक कार्यक्रम संचालन तारा योञ्जन, अमोद घिसिङ्ग, पेम्याङ तामाङ, आशिक लामा, श्रुती मोक्तान र सागर मोक्तानले पालैपालो गरेका थिए l

Comments

comments

SHARE