समीक्षा
-कृष्णकुमार लामा तामाङ

मिश्रबाट प्रारम्भ मानिएको मानव सभ्यता आजको यो दिनसम्म आइपुग्दा अझ निरन्तर अघि बढिरहेको छ । सायद यो गति थामिने छैन् जबसम्म मानव जाति रहन्छ । त्यही सभ्यताको विकासको क्रममा तामाङ पूर्खाले आफ्नो सन्ततिको लागि निर्माण गरेको घरको आँगनी, दोबाटो, धारापधेँरी, फूलबारी र करेसाबारीको धापहरुलाई पछ्याउदैँ हुर्केकी कवयित्री बिना तामाङ ‘सुनगाभा’ ले दुई दशकपछि स्मृतिको पनाबाट उप्काएकी कथाको सार हो रातो घर अर्थात वाला दिम कविता सङ्ग्रह । जसलाई विश्व नेपाली साहित्य महासंघ, नेपालले प्रकाशन गरेको हो ।

रातोको अर्थ रातोलाई भन्दा रातो मन पराउनेहरुलाई बढी नै थाहा हुन्छ । रातोलाई प्रेम गर्नेलाई थाहा हुन्छ । शायद रातोको अर्थ जीत हुनसक्छ । पराजित नस्वीकारेको अवस्था । अघि बढिरहेको क्रान्ति हुनसक्छ । रातोको अर्थ सुख अनि वैभव सम्पन्न अरु धेरै धेरै हुनसक्छ । त्यही रातो घर मा हुर्किएकी एउटा चेली जसले पूनः आफू जस्तै चेतनाले भरिपूर्ण सन्ततिको अपेक्षा गरेकी छन् । संसार हाँक्ने, संसार दौड्ने अनि संसार जित्ने त्यही अभिलाषाको कित्तामा उर्जाशील भावका साथ व्यक्त भएका काव्य रचनाले यही कुराको प्रक्षेपण गर्छ ।
आमा ! त्यो रातो घरबाट
अझै थुप्रै म जस्ता
सन्तान तयार पारेर
पठाऊ यहाँ
मेरो युग पर्खिरहेछ
(रातो घरबाट)
वैभवपूर्ण त्यही रातो घरबाट अझ मीठो सपना साँचेर पखेटा हालेका दिलबहादुर, रामे र दोर्जे जसले फुलमाया, फूलमती अनि फूर्वाको रंगीन सपनामा नुनीलो पानीको बाफमा बैश सेकाउदाँ एक विहानै हरेक दिन पधेँरीमा गाग्रीहरु भरेर चुलीचुली हुन्छन् । रातभरको सपनीमा खेदेर पनि नपुग्दो हो । र त हरेक क्षण असिम यादमा टहलिन्छन् यहाँ फूलमति । सायद् भोलिका लागि सम्झौता गरेका हुन् फूर्वाले अर्काे कम्प्रोमाइज । यस्तो कम्प्रोमाइजमा राता राता पौरखी हातहरु निर्वाद अरुको लागि चल्दा फर्केर आउँदा रातो घरको जीर्णाेद्धारमा आफू नचलेर कतै कुजोँ हुने त होइन ? शङ्का गरे जस्तो लाग्छ कवयित्री बिना तामाङ ‘सुनगाभा’ । त्यही शङ्का प्रेषक बुद्ध शीर्षकको कवितामा प्रापक मायादेवीले पाउँदा निख्रिन्छ । रातो घर मा हुर्के बढेर होला कवयित्री सुनगाभा राममाया जस्तो चुराका छन्–छन् झुम्काको खिन्द्रिङ्–खिन्द्रिङ् पाउजुको छम्छम्मा उद्धेलित हुन चाहन्न् । आभूषणहरुको प्रतिध्वनिसँग आफ्नो उन्मुक्ति साट्न चाहन्न । सायद प्रेमलाई बन्धनबाट होइन् उन्मुक्तिबाट बढी बुझेको हुनुपर्छ । फेरी सत्य पनि त्यही नै हो । प्रेममा आजादी हुनुपर्छ । स्रष्टा हुनु अझ त्यसमा पनि नारी हुनुको अर्थलाई अर्थपूर्ण बनाएकी छन् कवयित्री तामाङले बन्धन शीर्षकको कवितामा ।

कवयित्री सुनगाभा काठमाडौ भित्र काठमाडौको दुरी नाप्छिन् । तौलिन्छिन् । बोकेर हिड्दा हिड्दै फाल्छिन् । बिना हत्तारो अरु धेरै अघि बढेको देखेर आफैलाई धिर्काछन् धत् ! रामे धत् काठमाडौ । त्यही काठमाडौले चढ्न सिकाएका सिभिल मलका खुड्किलाहरु जहाँ बर्गर र पिज्जा खाएर पेट त भर्छ तर मन कहिल्यै भर्दैन् । आँशुको खेतीमा असन्तोषको घडालाई चाहेर पनि बिच्छेद गर्न नसकेको दुखेसोले गाउँका बिम्बहरुलाई रुउँछिन् । अनि गन्हाउने हातले सुगन्धित पत्र कोर्दै रंगीन शहरको कथाका पात्रहरुलाई उदाङरगो पर्छिन् ।

वर्गिय चेतमा हामी भित्र अट्न नसकेको परिणति र ऐनामा टाँसिएको विम्बबाट निस्केर इन्द्रेणीको रङ्गमा खेल्न रमाउने स्वतन्त्र प्रिय कवयित्री सुनगाभाले समनता र समताको कुरालाई खसेकी विम्बमा अघि सारेकी छन् । प्रेमलाई सुविधा ठान्नेहरुलाई बेस्सरी गाली गरेकी छन् । फेरी त्यही प्रेममा बिछोड खेप्दा हेस्टेरिया भएकोमा विलाप गर्छिन् ।

साँच्चै नोर्बु !
एकजोर लालीगुराँस टिपेर
मेरो शीरमा खिपेको
कहाँ बिर्सेको छु र ?
त्यही सम्झनाले त हो नि
आजभोली मलाई हिस्टेरिया भा’छ
(हिस्टेरियाबाट)
सुरुवात पछिको अन्त्य सत्य हो । यो सत्यलाई सजिलै स्वीकार्न सकिन्न । त्यसमा पनि कारण छ । आशक्ति, द्वेष, राग जस्ता क्लेशहरु । तर सर्जक र स्रष्टामा सहज स्वीकारोक्ती हुन्छ । त्यही स्वीकारोक्तीमा कोरीडोरका मुन्तिर फुलेको रातो गुलाफको वैशको अवशान लाई सत्यसँग जोड्न भ्याएकी छन् । पराजित मानसिकताले ग्रस्त कमजोर आत्मविश्वास त्यसमा टाँसिएको अन्धविश्वासले स्वयम्सँग भएको अपार क्षमतालाई ओझेल पारेको सत्य खुट्टाउँदै पूर्खाले बुइँगलमा समहालेर राखेको ढ्याङ्ग्रो बजाउन आग्रह गरेकी छन् । ढ्याङ्ग्रोलाई प्रतीक बनाउँदै समाजमा रहेका पछयौटेपन, हिनताबोध, लाचरीपनलाई चिरेर सम्पन्नता र समृद्धिको आँकाक्षा साँचेकी छन् कवयीत्रि सुनगाभाले । त्यति मात्र होइन् कवयित्री सुनगाभा रातो गुराँसलाई कालो गुराँस बनाउने र फूलबारीमा फूल चोरेर फूलको रश चुस्न अनि निचोरन पल्केका मानवको नाममा दानवीय प्रवृत्तिका बनढाडे ब्वाँसाहरुलाई पाता कस्न जुनकिरीहरु तयार गर्न लागि परेकी छन् ।

चौकाटोमा झुण्ड्याउनेछु
जहाँ हरेकपल्ट
ओहोर दोहोर गर्नेहरु
घृणाको एक लात बजार्नेछन्
हो त्यहि समय–
म निशालाई चिर्ने
हजारौ जुनकिरीहरु तयार पार्नेछु
(जुनकिरीबाट)

साहित्य भित्रको सुन्दर बिधा हो कविता । धेरै लेखिएर थोरै पढिने विधामा पनि हो कविता । तर विभिन्न भावमा रातो घर भित्र अटाएका बत्तीस थान कविताहरु पढेर त्यस्तो लाग्दैन् । बरु लाग्छ किन थोरैले पढछन् होला कविता ? कविता कविता लागि मात्र लेखिएका छैनन् । यसैले त कविताहरु आत्मरतिमा बरालिएका छैनन् । चाहना, उदेश्य, आँकाक्षाहरुलाई कविताहरुले साँचेका देखिन्छन् । कुरुपताहरुलाई मास्न चाहेका छन् । समृद्धिको लागि पहल गरेका छन् । सबैभन्दा ठूलो कुरा आफ्नै वरपरका बिम्वहरुलाई टिपेका छन् । अनि त्यसैबाट आफ्नोपनको जोडदार वकलात गरेका छन् । वर्गिय असमनता त्यसले तय गरेको दुरीलाई नाप्दै समयको रफ्तारमा त्यसलाई जोखेका र खोजेका छन् । सानो सपनाको लागि बिदेशीनु पर्ने आम नेपाली युवाहरुको नियति र विश्वव्यापीकरणले हाइब्रिडको नाममा स्थानीय उत्पादनमा गरेको प्रहारसँगै त्यसले निम्त्याएको चरम परनिर्भरतालाई कविताहरुमा टिपेका छन् ।

कविताहरु पढ्दा झर्काे लाग्दैन् बरु कवितासँगै निरन्तर बग्न मन लाग्छ । कारण कविताहरुमा म, तिमी,उ, तपाई अनि हामी सबै अटाएका छन् । हामी वीचको गुनासो र संस्कृतिको साँधलाई महसुश गरेका छन् । समाज दुषित बनाउने अपराधीहरुलाई ठम्याएका छन् । यस अर्थमा स्रष्टा हुनुको चेतलाई कविताहरुले जगाएका छन् । अतः अवयव, विचार र भावनाका उच्छावासहरु कविताहरुमा छचल्किएका छन् । भाव पक्षको बलियोपन प्रस्तुत कविता सङ्ग्रहको विशेषता मान्न सकिन्छ । यति भएरपनि कविताहरु वरपरमा मात्र सीमित देखिन्छन् । अलिकति टाढा जाने साहस गरेको भए अझ विविधता थपिने थियो । केही कविताहरुमा समान भावको आशाय झल्किन्छन् । शायद यति बलियो कविता लेख्नेबाट अझ ठूलो आशा गरेँ ।

फुटकर रचनाका साथ नेपाली र तामाङ साहित्यको काव्य विधामा दरिलो पकड बनाइ सकेकी कवयित्री बिना तामाङ ‘सुनगाभा’ को यस अघि छुकी कथासङ्ग्रह २०६९ प्रकाशित भइसकेको छ । तामाङ भाषामा पनि राम्रो दख्खल राख्ने सुनगाभाको प्रस्तुत रातो घर कविता सङ्ग्रह नेपाली र तामाङ दुबै भाषामा रहेका छन् । यसले तामाङ बिम्वलाई मुलधारबाट बुझ्न बुझाउन मद्दत गर्नेछ । भाषिक साँस्कृतिक चेतको बिम्वले पछिल्लो समय नेपाली साहित्यलाई जुन उचाइतिर डो¥याउँदै छ । त्यसमा एउटा महत्वपूर्ण इट्टा थप्ने कार्य कवयित्री सुनगाभाको प्रस्तुत कविता सङ्ग्रह रातो घर ले गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

Comments

comments

SHARE