यसपटक भिक्षु सिद्धार्थ राजगृह नगरबाट निस्कनुभई त्यसबेला नाना सिद्धान्तवादी अनेक आचार्यहरु मध्ये प्रसिद्ध कालाम गोत्रका आलार तपस्वीकहाँ जानुभयो । वहाँले त्यहाँ सम्पूर्ण सिद्धान्त तथा साधनाहरुमा गुरु समान योग्यता हासिल गर्नुभयो । वहाँ शिष्यमा हुनुपर्ने सम्पूर्ण गुणले युक्त हुनुभएकोले आचार्यका अति प्रियपात्र हुनुभयो ।
एकदिन आचार्य आलार कालाम तपस्वीले सिद्धार्थलाई भन्नुभयो ‘‘अब मैले जाने जति नै सबै कुरा तपाईले पनि जान्नुभयो, बुझ्नुभयो । यो सिद्धान्तलाई तपाईले पनि सिकाउन सक्नुहुन्छ । हामी दुईजनाका बीचमा ज्ञानका बारे कुनै फरक रहेन । म तथा तपाई मिलेर शिष्यहरुलाई सिकाऔं ।” अनि भिक्षु सिद्धार्थले सोध्नुभयो ‘‘के अब गुरुसँग मलाई सिकाउने केही कुरा बाँकी रहेन र ? के तपाई मलाई रोग, मृत्यु, आदिमाथि विजय पाउने तरिका बताउन सक्नुहुन्न ?” आलार तपस्वीले सक्दिन भनी जवाफ दिनुभयो । किन भने वहाँले आफूसँग भएका सबै ज्ञान त सिकाइ नै सक्नुभएको थियो ।
आलार कालाम तपस्वीबाट भिक्षु सिद्धार्थले चित्त शान्तगरि इहलोेक तथा परलोकमा रहेका कुनै कुराको चाल नपाइने अवस्थको ध्यान सिकिसक्नुभएको थियो । वहाँको मन त्यसमा लागेको पनि थियो । तर त्यो ज्ञान जन्म, व्याधि र मरण आदि जीवनका समस्याको पूर्णसमाधान दिन समर्थ थिएन । जुन वहाँले खोजी गर्दै हुनुहुन्थ्यो । त्यो हुनाले वहाँ आलार कालाम तपस्वीको त्यो आश्रमबाट बिदा लिएर विभिन्न ठाउँहरुमा भ्रमण गर्दै झन माथिल्लो ज्ञानको खोजीमा लाग्नुभयो ।
जाँदा जाँदा भिक्षु सिद्धार्थले दर्शनाचार्य उद्दक रामपुत्रको बारेमा सूचना पाउनुभयो । उद्दकरामपुत्र चित्तको बारेमा उच्चज्ञानी हुनुहुन्थ्यो । त्यसैले सिद्धार्थले उनका शिष्यत्वमा बसी पूरा उत्साह एवं मेहनतपूर्वक अध्ययन तथा अभ्यास गर्नुभयो । सिद्धार्थले यहाँ पनि गुरुसमान योग्यता हासिल गर्नुभयो । वहाँको ज्ञान तथा योग्यता देखी गुरु उद्दक रामपुत्र सन्तुष्ट हुनुभयो । अन्तमा वहाँले पनि भिक्षु सिद्धार्थलाई त्यही आश्रममै शिष्यहरुलाई सिकाई बस्नहुन आग्रह गर्नुभयो ।
भिक्षु सिद्धार्थ उद्दक तपस्वीबाट प्राप्त ज्ञानबाट पनि सन्तुष्ट हुनुभएन । यो ज्ञान आलार कालामको भन्दा उच्च थियो । यसले चित्तलाई शान्त पार्दा बाहिरी अनुभव मान नहुने होइन, ‘‘आफू जीवित छ, कि छैन” भन्ने कुरोको अनुभव समेत नभएको अवस्थामा पुगिन्छ । तर यति भइसक्दा पनि वहाँले चाहनुभएको जीवनका समस्या सुल्झाउने ज्ञान पाउनुभएन । त्यसो हुनाले वहाँ त्यहाँबाट पनि बिदाबाजि लिएर हिँड्नुभयो । यसपटक वहाँले निर्णय गर्नुभयो ‘‘अब विभिन्न गुरुहरुलाई छोडेर आफ्नै बुद्धि र विचारले तथा आफ्नो मेहनतले नै ज्ञानको खोजी गर्नेछु ।”
त्यसबेलाका धार्मिक जनतामा एउटा यस्तो विश्वास थियो ‘‘घरबार त्यागेर सन्न्यस्त भएकाहरु निराहार बसेर तथा अरु विभिन्न तरिकाहरुद्वारा आफ्नो शरीरलाई दुःख दिएमा आफूहरु देवलोकमा अमर भई सुख भोग्न पाइन्छ ।” उनीहरु सोच्दथे ‘‘यो लोकमा जति दुःख भोगिन्छ त्यति नै परलोकमा बढि सुख भोग्न पाइन्छ ।” त्यसो हुनाले धर्ममा लाग्नेहरु विभिन्न तरिकाद्वारा शरीरलाई दुःख दिई कठोर तपस्या गर्दथे ।
यस्ता ब्रतधारीहरुमध्ये कोही कोही आफ्नो आहारको मात्रा क्रमशः घटाउँदै पूरा निराहार बस्ने अभ्यास गर्दथे । शरीर दुब्ला भई हाड छालामात्र बाँकी हुन्थे । कोही कोही एउटामात्र खुट्टाको भरमा उभिई रहन्थे । कोही कोही सधैं हात माथि उठाई राख्दथे । कोही कोही रुखमा झुण्डिएर बस्दथे । कोही कोही कहिल्यै हात नखोलिकन मुठी पारि राख्दथे । कोही कोही हत्केला नै छिचोल्नेगरि नङ्ग बढाएर राख्दथे । कोही कोही फलामका काँडाहरुमाथि सुत्दथे ।
भिक्षु सिद्धार्थले पनि तिनीहरुले जस्तै विभिन्न तरिकाबाट शरीरलाई दुःख दिनमा लाग्नुभयो । वहाँले विचार गर्नुभयो ‘‘यदि शरीरलाई दुःख दिई तपस्या गरेको अवस्थामा पक्कै पनी ज्ञान पाउन सकिन्छ होला । उरुवेलमा वहाँले एउटा शान्त र समथर तथा जंगल सहितको ठाउँ देख्नुभयो । यहाँ खुब शीतल र साङ्गलो पानी भएको नदी कलकल स्वर गर्दै बग्दथ्यो । स्नानादि गर्नका लागि घाट एवं भिक्षाटनको लागि गाउँ पनि नजिक थियो । वहाँले त्यहीँ बसेर अति उच्चस्तरको तपस्या गर्ने निधो गर्नुभयो । अब मानिसहरु वहाँलाई बोधिसत्व पनि भन्नथाले । यसको अर्थ बोधिको खोजीमा लागेको व्यक्ति हो ।
त्यसबेला पाँचजना व्यक्तिहरु प्रव्रजित भएर बोधिसत्वसँग बस्नआए । उनीहरुका नाम कौडिन्य, भद्दिप, वप्प, महानाम र अस्सजि थिए । उनीहरुमा कौडिन्य एकजना बाहेक सिद्धार्थलाई नामकरण गर्ने विद्वान ब्राम्ह्णहरुका पुत्रहरु हुन् । उनीहरु आफ्ना पिताहरु दिवंगत भइसकेका हुनाले उनीहरुका सट्टामा प्रव्रजित भएका हुन् । कौडिन्य एकजना सिद्धार्थको नामकरण गर्ने बेलाका ब्राह्मण थिए । उनीहरुलाई पञ्च भद्रवर्गीय भनिन्थ्यो । सिद्धार्थलाई तपस्यारत बेलामा यी पञ्चवर्गीयहरु मिलेर सेवा गरे । उनीहरु सिद्धार्थले धेरै कठोर तथा महान त्याग तपस्या गरेर पाएको ज्ञान सुन्ने आशा गरिबसेका थिए ।
क्रमश…………

Comments

comments

SHARE