सिद्धार्थ चुपचाप दरबारमा फर्कनुभई आफूले देखेका तथा अनुभव गरेका कुराहरुको बारे चिन्तन गर्नुभयो ‘‘यो त निक्कै भयानक कुरो हो । सबैजना कुनै न कुनै दिन मर्नै पर्छ । तर यसबाट मुक्त हुने कुनै न कुनै बाटो त अवश्यै हुनुपर्दछ । मेरो आफ्नैलागि, मेरा माता पिताका लागि घरकी यशोधराका लागि अझ बाँकी सम्पूर्ण प्राणीहरुका लागि । यस्तो अप्रिय कुराको भयबाट बच्ने उपाय मैले अवश्य नै पत्ता लगाउनु पर्छ ।” 
अर्कोचोटी राजकुमार सिद्धार्थ घोडा चढीकन उद्यानमा चहारी रहनुभएको बेलामा एकजना प्रव्रजितलाई देख्नुभयो । यसले पहेँलो गेरुवा वस्त्रै लगाएको थियो । राजकुमारले नियालेर त्यो प्रव्रजितलाई हेर्नुभयो । प्रव्रजितको मनमा शान्ति सुखले भरिएर शीतल भएको आभास वहाँले पाउनुभयो । वहाँले छन्दकसँग यो प्रव्रजित व्यक्तिको व्यवहार तथा आजीविकाबारे सोध्नुभयो । छन्दकले बिन्ती गर्यो ‘‘लोकका दुःखदर्द हटाउने उपाय खोज्नका लागि घरबार छोडेका यस्ता व्यक्तिलाई गृहत्यागी भनिन्छ ।” यो सुनेर राजकुमार सिद्धार्थको मन साह्रै प्रमुदित भयो ।
त्योदिन वहाँ त्यस उद्यानको एकछेउमा दिनभरि आनन्द तथा सुखपूर्वक बिताउनुभयो । वहाँको मनमा गृहत्याग गर्ने विचार आईरह्यो । त्यसैबेला एकजना आएर बिन्ती चढायो ‘‘हजुरकी अर्धा्ङ्गिनी यशोधरादेवीले सुन्दर र स्वस्थ छोरा जन्माइन् ।” तर राजकुमार सिद्धार्थले यो खबरबाट कुनै खुशी मान्नुभएन । बरु वहाँ बरबराउनुभयो ‘‘मलाई पासो बन्ने राहु उत्पन्न भयो ।” वहाँले यस्तो बोल्नुभएकोले सो भरखर जन्मेको राजकुमारलाई ‘‘राहुल” भनी नामकरण गरियो । जसको अर्थ हो ‘‘बन्धन” ।
राहुल कुमार जन्मेपनि सिद्धार्थ पुत्रस्नेहमा नपरेको कुरा दरबारका सबैजनाले स्पष्ट देखे । सिद्धार्थको व्यवहार झन बदल्न थाल्यो । वहाँ झन बिचार मग्न हुनुभयो । यसले गर्दा राजा शुद्धोधनलाई साह्रै पीर पर्यो । राजकुमारलाई खुशी तथा प्रसन्न पार्नका निमित्त नाचगान गर्न सबभन्दा सिपालु एवं अति सुन्दरी तरुणीहरु दरबारमा लगाई दिनुभयो । ती कन्याकेटीहरुले यथाशक्य आकर्षक ढङ्गले नाचगान गरिकन राजकुमारलाई खुशी पार्नखोजे ।
शुरु शुरुमा राजकुमारले आफ्ना पितालाई बेखुश हुन नदिन त्यो नाचगान हेर्नु र सुन्नुभयो । तर वहाँंले त्यसमा धेरैबेर ध्यान दिनसक्नुभएन । वहाँको मन निरन्तर अर्के कुराहरुमा रुमल्लीरहेको थियो । वहाँले एउटैकुरालाई मात्र विचारयोग्य ठान्नुभयो । त्यो हो ‘‘आफूलाई तथा अरुहरुलाई बुढा हुनु, रोगी हुनु र मर्नुबाट कसरी मुक्त गर्ने ?” सिद्धार्थको ध्यान तान्न नसकेर नाचगान गर्नेहरुले नाचगान बन्द गरे । तिनीहरु त्यहीँ सुतिहाले ।
एकछिनपछि राजकुमार सिद्धार्थ निंद्राबाट बिउँझनुभयो । वहाँले सुतिरहेका नट–नटी र गायक गायिकाहरुलाई देख्नुभयो । तिनीहरु थाकेर निदाएका थिए । तिनीहरुले आफ्नो मर्यादाको पनि होश गर्न सकेका थिएन । कोही नाक बजाई घरघराउँदै थियो । कोहीले मुख बाएका थिए । कोही आफ्ना गरगहना तथा लुगामा पर्नेगरि मुखबाट र्याल चुहाई निदाईरहेका थिए । कोही रिसाएको पिशाच झैं दाह्रा किट्दै थिए । कसै कसैका जीउबाट लुगा पनि खुस्केको थियो । यो घीनलाग्दो दृश्य देखेर राजकुमारलाई आश्चर्य लाग्यो ‘‘अघि अघि म यस्ता आइमाईहरुमा कसरी सन्तुष्ट हुनसकेको हुँला ।”
‘‘पहिले मन पर्दा र सुन्दरी थानिने यी आईमाईहरुमा आकार प्रकार अहिले छि । कस्तो । घीनलाग्दो छ ।” यस्तो अस्त व्यवस्त दृश्य देखेर राजकुमार सिद्धार्थको हृदयमा जन्मदेखि आएको वैराग्य जाग्यो । अनि वहाँले यस सारा झमेलाहरुलाई फाली यथार्थ सुख प्राप्त हुने कुरोको खोजीमा जाने निर्णय गर्नुभयो । अनि राजकुमार सिद्धार्थ कसैले पनि चाल नपाउनेगरि चुपचाप उठी विस्तारै कोठाबाट बाहिर निस्कनुभयो । छन्दकलाई आफ्नो मनपर्ने सेतो कन्थक घोडा तयार गरिल्याउन अह्राउनुभयो ।
सिद्धार्थले विचार गर्नुभयो ‘‘राजदरवार छोडेर जान अघि यशोधरा र पुत्र राहुललाई हेर्न जानुपर्यो” अनि तिनीहरु सुतेको कोठामा जानुभयो । त्यहाँ यशोधरादेवी पुत्रलाई अंकमालगरि निदाइरहेकी थिईन् । वहाँको मनमा आयो ‘‘यदि मैले राहुललाई लिएँ भने यशोधरादेवी बिउँझनेछे । यस्तो भएमा मेरो गृहत्यागमा बाधा पर्नेछ । तसर्थ म तुरुन्तै जानुपर्यो । बरु ज्ञान पाएपछि आएर भेट्नेछु ।”
अनि त्यही मध्यरातमा कसैले चाल नपाउनेगरि राजकुमार सिद्धार्थ राजदरबारबाट निस्कनुभयो । 
सिद्धार्थ बुझक्कड कण्ठक घोडाको पिठ्यूँमा बसेर नगरद्वारको बाहिर पुग्नुभयो । कसैले नबिठोल्नेगरि छन्दक पनि सँगै गयो । अलि पर पुगेपछि राजकुमार सिद्धार्थले घोडालाई एकचोटी पछाडी फर्काई पूर्ण–चन्द्रको प्रकाशमा अन्तिम पटक कपिलबस्तु नगरलाई हेर्नुभयो । तर वहाँको मनले भने हर तरहले गृहत्यागगरि जानमा नै भलो थान्नुभयो ।
राजकुमार सिद्धार्थ कण्ठक घोडा चढेर मिरमिरे उज्यालो हुँदा अनोमा नदिपारि पुग्नुभयो । त्यहाँ वहाँले घोडाबाट ओर्लेर नदीको बालुई किनारमा उभिनुभयो । अनि आफ्ना लगाएका बस्त्र–आभरणहरु सबै उतारेर छन्दकलाई दिनुभई अह्राउनुभयो ‘‘यी वस्त्राभरणहरु र कण्ठक घोडा लिएर तिमी कपिलवस्तु नगर फर्क । मेरो विषयमा मातापितालाई खबर गर ।” यसरी शाक्यवंशीय राजकुमार सिद्धार्थले प्राणी मात्रको रोग, शोक र पीडामाथि विजय पाउने बाटो पत्ता लगाउन २९ वर्षको उमेरमा मातापिता तथा राज्य श्रीसम्पत्ति सबै त्यागेर प्रव्रजित हुनुभयो ।
क्रमश ……………

 

Comments

comments

SHARE