आनन्दी लामा

१. परिचय 
तामाङ जाति–जातिय रुपमा बौद्धमार्गी हो । तामाङहरुले बौद्ध धर्म अपनाउनु भन्दा अघि बोन धर्म मान्दथे । जसको प्रमाण स्वरुप अद्यावधि कुलदेवताको काममा सेतो बोन तथा अन्य पूजाहरुमा कालो बोनको प्रभाव रहेको पाइन्छ । तामाङ संस्कृति पनि यी दुई धर्मको समिश्रणबाट प्रभावित भएको पाइन्छ । तामाङ जातिको आन्तरिक धर्म बोन  बाह्य स्वरुप भने बौद्ध धर्म संस्कारले तामाङ संस्कृतिको संरचना तयार भएको देखिन्छ । यहाँ बोन संस्कृति अन्तर्गत तामाङ समाजमा लपतबा परम्पराकोे छोटकरीकमा प्रस्तुत गरिएको छ ।
२. लपतबाको (लबोन) अर्थ र परिभाषा

“ल”को अर्थ देवता “पतबा”को अर्थ देवतासंग कुरा गर्न सक्ने शील अनुशासनमा बसेको व्यक्ति भन्ने बुझिन्छ । अथवा “ल” भन्नाले देवता “बोन” भन्नाले कर्ता अर्थात देवताको पूजा गर्ने व्यक्ति  अर्थात लबोन पनि भनिन्छ । लपतबा भन्नाले शुद्ध कुलदेवताको पूजा गर्ने व्यक्ति वा पुजारी भन्ने अर्थ लाग्छ ।  लपतबालाई कतै लबोन पनि भनिन्छ । एक व्यक्ति शुद्ध कुल पूजा मात्र गर्नेलाई लपतबा भनिन्छ । कतै उक्त व्यक्तिले समाजमा कहिले तम्बाको भूमिका निभाउनु पर्छ भने, भोम्बोको भूमिका उपचारक र संरक्षकको काम पनि गर्दछन् । त्यसकारण लपतबालाई कतै बोम्बो मात्र भन्ने चलन पनि चल्तीमा रहेकोछ । तर लपतबा र बोम्बोको काम फरक–फरक छन् । एकै व्यक्तिले समाजमा विभिन्न भूमिका निर्बाह गर्नुपर्ने भएकोले बोम्बोनै लप्तबा हो भन्नेमा पर्न अउछ । लपतबा बोम्बो बन्न सक्छ भने बोम्बो लपतबा बन्न सक्दैन । 
ग्लान लपतबा पुण्यमानङज्यूका अनुसार तामाङ जातीमा कुलदेवताको नाम सुन्नमा दुई प्रकारका छन् । जुन “रिघे फोला” र “झ्यानसर फोला” हो । डाँडागाँउका घ्लान र थिङ थरका तामाङले “रिघे फोला” मान्दछन् भने मोक्तान थरकाले “झ्यानसरफोला” मान्दछन् । सुन्नमा आएको मेरै यही नै हो भनेर एक अर्कामा विवाद र दावी भने गर्दैनन् । केही थरका तामाङहरुले कुलदेवताको नाम कसैले फरक–फरक बोल्दछ भने कसैले एकै बोल्दछन् । 
३. लप्तबा संस्कृतिको इतिहास
लपतबाको उत्पत्ति पृथ्वी उत्पत्ति भएपछि भएको हो । जसको प्रमाणस्वरुप लपतबाहरुको श्रुति परम्परामा आधारित शेरव (कथा) जसमा पृथ्वीको सृष्टि कथा लप्तबा पुण्यमानज्यूको आधारमा यस प्रकार छन्ः
३.१. पृथ्वी सृष्टि कथाः
लपतबा पूण्यमान तामाङज्यूले दिनु भएमो अन्तरबार्ताको आधारमा पृथ्वीको सृष्टि उत्पत्ति शेरप (कथा) यस प्रकार भएको भन्ने किम्वदन्ती यस प्रकार छः सर्वप्रथम हावा (लुङ्ही) को उत्पत्ती भयो, उक्त हावाभित्र पानी (क्ष्यु) जमेर बस्यो, पानीमाथि कमलको फूल उत्पत्ती भयो, कमलको फूल माथि चार दिशा (ह्यालङ) उत्पत्ति भयो । जसमा पंच देवताको उत्पत्ति भयो । हावाले पानीको ताल चलायमान भयो । हावाले गर्दा धुलोका कणहरु जम्मा भयो, सोही कणको समष्टीगत रुपनै अन्तमा पृथ्वीको उत्पत्ति भयो । जसमा दुवो (नर्कपङ) घाँसको उत्पत्ति भयो । उक्त दुवोमा सितको थोपा जम्यो । शितको थोपा भुइमा झरेर बगेर जाँदा नदीनाला र डाँडाकाडा (घाङह्लुङ) बन्न गयो । जमिन भागमा एक सय आठ थरीका धुपीको उत्पत्ति भयो जसमा तितेपाती पनि यसभित्र पर्न अउछ । “घाङले” भन्ने ठाँउमा सूर्यको उत्पत्ति भयो भने “कूले” भन्ने ठाँउमा चन्द्रमाको उत्पत्ति भयो । यसरी दिन र रातको शुरुवात भयो । भोप्राङ म्ह्ण्डलमा “लू–देवताको” उत्पन्न भयो भने “त्रिशूलम्ह्ण्डलमा” “चन–देवताको” उत्पत्ति भयो । यी देवताहरुको साथमा ह्युमस्या (पत्नी) उत्पत्ति भयो । लूबाट कुमार तेलतोर्मो र चनबाटा कन्या चण्डिमुको जन्म भयो । त्यसपछि विधिवत रुपमा यिनीहरु विच चिवाह भयो ततः पश्चात लू र चन देवता विच एक अर्कामा को ठूलो भन्ने बिवाद चर्किदै जाँदा यस बिवादलाई समाधान गर्न चार भोनको उत्पत्ति भयो । पूर्वमा सेलेहोइगार भोन, पश्चिमा (न्ह्ुप) नरु भोन, दक्षिणामा (लो) पाहुभोन र उत्तरमा (झ्या) धुनसर भोनको उत्पत्ति भयो । लू र चनको बिवादलाई सेलेहोइगर भोनले समाधानका लागि दुबैलाई चनले लूलाई लूकै स्थानमा गई, लूले चनको चनकै स्थानमा गई स्यालगर (शगुण) लगि एक आपसमा माफी मागी उक्त बिवादलाई सेलेहोइगर भोनले समाधान र मेलमिलाप गरिदिए । मेलमिलाप पछि लू आकाशमा वादलभित्र विलिन भयो भने चन पातलमा विलिन भयो । तव सृष्टि विहिन भयो । पुन सृष्टिको लागि देवता र मानवको उत्पत्ति भयो र मानवको कल्याणको लागि लपतबाको उत्पत्ति भयो । लपतबाको उत्पत्ति कथा यस प्रकार छन्ः
३.२. लप्तबा उत्पत्ति कथा
पुनः सृष्टिको लागि “उहिशङ्नम्बर” भन्ने ठाँउमा मानवको उत्पत्ति भयो भने “शेरगिम्ह्ण्डल”मा सुनको फूलमा कुलदेवताको उत्पत्ति भयो । यसरी मानव र देवता उत्पत्ति सगसंगै भएको किम्वदन्तिको रुपमा तामाङ जातिको लपतबाद्वारा श्रुति परम्पराको आधारमा अहिलेसम्म पनि आफ्नो सन्तानलाई हस्तान्तरण हुँदै आएको पाइएको छ । पुनः सृष्टिको लागि मानव कुमार र देवकन्याको आगमन भयो र यिनीहरुबीच बिवाह भयो । बिवाह पश्चात देवकन्या गर्भवति भइन् । ततः पश्चात मानव र देवताविच “को सर्वश्रेष्ठ” भनि बिवाद चर्कदै गयो । यिनीहरुविच हार र जितको बाजी चल्न थाल्यो । जसको सर्तमा उक्त गर्भवति देवकन्याले जन्म दिने शिशुलाई लिइयो । देवकन्याको गर्भमा भएको शिशु यदि कुखुरा नबास्दै र घोडा ननिस्किदै जन्म भएमा मानव ठूलो र यदि शिशुको जन्म कुखुरा बाँसेपछि भएमा देवता ठूलो भन्ने सर्त रह्यो । देवकन्याले शिशुको जन्म कुखुरा नबास्दै भएकोले देवताको हार भयो । यसरी देवताले आफ्नो हार पछि त्याँहा आफूलाई अशुद्ध (भाङ–ढिप फोजी) भएको ठान्यो र भन्यो अब हामी देवलोकमा जानुप¥यो । त्यसपछि देवताले आफूलाई सुनको बारले बा¥यो (छेक्दा) र भन्यो तिमीहरुले देख्यो कि भनि प्रश्न ग¥यो ? मानवले देख्यो भन्यो । पुनः देवताले आफूलाई चाँदी, तामा र फलामले छेक्दा पनि मानवले देवतालाई देख्यो । देवताले आफुलाई चार दिशाको धुपीले छेक्दा मानवले देवतालाई देख्न छाड्यो । ततः पश्चात मानवले आफूलाई स्मरण शक्ति कम भएको, दृष्य शक्ति कम भएको, श्रवण शक्ति कम भएको, दिन र रात पहिचान गर्न नसक्ने भएको र आफुलाई अविभावक विहिन भएको ठानी देवतासंग बिन्ती चढायो । तब देवताले भन्नु भयो । पूर्व दिशामा “पेमेघेसर”मा लपतबाको उत्पत्ति हुन्छ, त्याँहा गएर लपतबालाई बोलाएर हाम्रो कुलपूजा गरेमा तिमिहरुको उद्धार र कल्याण हुनेछ भनि त्याँँहाबाट देवताहरु देवलोकमा अन्तरध्यान हुनुभयो । यसरी शुद्ध कुलको पूजारीको रुपमा लपतबाको (लबोन) उत्पत्ति भएको जनश्रुति हालसम्म पनि लपतबाहरुको सेरबमा रहिआएको पाइन्छ । यस्तै सेरबहरु लपतबाहरुले आफ्नो कुलपूजाहरु गर्दा सेरब फलाक्दछन् । यसरि लपतबाले मानव कल्याणको लागि रक्षागर्ने कुलदेवतालाई विभिन्न पूजामा आध्यात्मिक शाक्तिबाट पूजा गर्दछन् । (स्रोत घ्लान लप्तबा पूण्यमान तामाङ)
४.लपतबा सस्कृतिको सारांश
तामाङ जाति नेपालको एक प्रमुख जनजाति मध्ये एक हो । भारतीय उपमहाद्वीपको प्राचीन सांस्कृतिक केन्द्रको रुपमा रहेको काठमाडौं उपत्यकाको सेरोफेरो नै तामाङजातिको प्रमुख बसोवास केन्द्र पनि हो । काठमाडौं उपत्यकाको उत्पत्तिको आधार मानेर हेर्ने हो भने यो एशियाकै प्राचिन सांस्कृतिक केन्द्र रहेको कारण यस वरपर बुद्धकालीन समयभन्दा पहिलेदेखि नै मानव सभ्यताको विकास भईसकेको देखिन्छ । यसरी नेपालको इतिहासलाई अध्ययन गर्दा काठमाडौं उपत्यका सम्पूर्ण पहाडी तथा हिमाली प्रदेशको सभ्यताको केन्द्र रहेको पाइन्छ । यसैकारण काठमाडौं उपत्यकाको सांस्कृतिक इतिहासको अध्ययन विना उपत्यका वरपर आवद्ध रहेका अन्य जाति तथा जनजातिहरुको सामाजिक तथा सांस्कृतिक अध्ययन असंभव देखिन्छ । तामाङ जातिको सामाजिक तथा सांस्कृतिक अध्ययनमा काठमाडौं उपत्यकाको नजिक रहेको नुवाकोट जिल्लामा अवस्थित ककनी क्षेत्रमा बसोवास गरिएका तामाङ जातिमा विद्यामान श्रुति परम्परामा आधारित लपतबा संस्कृतिको अध्ययनलाई  (ककनीका तामाङहरुको लप्तबा परम्पराको) एक अध्ययन) यस शोध पत्रमा केन्द्रित गरिएको छ ।
तामाङ लपतबाहरुले फलाक्ने झ्योहोधाङमा रहेका स्थानिय देवीदेवताहरुको वृतान्तमा पनि काठमाडांै उपत्यकाको नागनागिनी देखि तिब्बत पारीको हिमालमा अवस्थित “झ्योहो–झ्योमो” (देवीदेवता) को नाम रहेको प्रमाणित हुन आँउछ । ऐतिहासिक दस्तावेजमा तामाङ जातिलाई कुनै महत्व नदिए तापनि काठमाडौं उपत्यकाको राजनैतिक इतिहास, केही वंशावली जुन तामाङ लपतबाहरुले फलाक्ने झ्योहोधङमा रहेका देवीदेवताको वृतान्ताबाट तथा तिब्बती श्रोत एवं धार्मिक ग्रन्थहरुको आधारमा नै तामाङ जातिको इतिहासलाई बुझ्न पर्ने बाध्यता रहिआएको छ । तामाङ जातिले नेपालको इतिहासमा कुनै महत्वपूर्ण स्थान ओगट्ने योगदान नभए तापनि तामाङ जाति नेपालको एक प्रमुख शक्ति भएको कुरालाई भने केही विद्वानहरुले स्वीकारेका छन् । यत्ति मात्र होइन अबको दिनमा तामाङ भूमि ताम्सालिङको समेत कुरा उठ्न थालेका छन् । उपत्यकालाई केन्द्रविन्दु बनाएर रहेका तामाङहरुको आफ्नै कविला राज्यहरु भएकोले  नै अहिलेसम्म सामाजिक तथा सांस्कृतिक रुपमा समृद्ध देखिएका छन् ।
तामाङ जातिको जातियताको मतभेद नभए तापनि तामाङ जातिको सामाजिक तथा सांस्कृतिक पक्षमा भने विविधता पाइन्छ । तामाङ जाति सामाजिक तथा सँस्कृतिक बिशेषताको कारण तिब्बती समाज र संस्कृतिसँग नजिक रहेको छ । तर तामाङ जातिमा कतिपय संस्कारगत मान्यता तथा सामाजिक व्यवहारका कारण यो जाति तिब्बतबाट कविलाहरु विभिन्न झुण्डको रुपमा नेपाल पसेका थिए र नेपालमा आएर मात्र आफ्नो विशिष्ट तामाङ संस्कृतिको विकास गरेका थिए भन्न सकिन्छ । यही विशिष्ट संस्कृतिको कारण नै तामाङ जाति अन्य हिमाली मूलका तथा गैरहिमाली मूलका जाति तथा जनजातिहरु भन्दा अलग जातिय पहिचान बनाएको छ । हामीले हेर्दा तामाङ जातिमा प्रचलित सामान्य र असहज लाग्ने कतिपय संस्कारहरुको समाज, संस्कृति र धर्मसँग त्रिकोणात्मक अन्तरसम्बन्धहरु हुन्छन् । त्यस्तै सामन्य रुपमा रमाइलो गर्दै मान्दै आएको चाडपर्व र विभिन्न समयमा गरिने पूजाहरुमा सामाजिक, धार्मिक र सांस्कृतिक गहन तथ्य लुकेका हुन्छन् जुन यस लपतबा संस्कृतिको अध्ययनबाट प्राप्त गर्न सकिन्छ ।
तामाङ संस्कृतिलाई  तीन भिन्न पाटोबाट हेर्दा बोन लप्तबा तथा बोम्बो र तम्बाको संस्कृति लोपोन्मुख रहेको छ भने बौद्ध संस्कृतिको प्रभाव प्रवल  रहेको छ । यस अर्थमा तम्बा र बोन संस्कृतिको लुप्त गुण र बौद्ध संस्कृतिको प्रवल गुण रहेको छ । पुरातन यी संस्कृति यी तीन भिन्न सांस्कृतिक तत्वबाट निर्देशित थियो । दुई भिन्न धर्मबीच उदाएको संस्कृतिले यी धर्महरुलाई समेत निर्देशित गरेकोमा हाल आएर धार्मिक प्रभावका कारण धार्मिक संस्थाले सांस्कृतिक संस्थाको भूमिकालाई न्युनिकरण गर्दै लगेको पाइन्छ । बौद्ध धर्मको जागरणको प्रभावमा परेर धेरै तामाङ सांस्कृतिक संस्कारहरु बौद्धकृत हुँदै गएको छ । साथै बोन संस्कृतिको सवलपक्षहरुको समेत अस्तित्व संकटमा परेको छ । यसले गर्दा यी बोन र बौद्ध धर्म समायोजन भएर स्वनिर्मित तम्बा संस्कृति अहिले ओझलमा परेको देखिन्छ ।
तर पश्चिमी तामाङहरुको सन्र्दभलाई भने बोन मतको प्रभाव बढी भएको कारण तम्बा भन्दा बोन संस्कृति नै प्रवल देखिन्छ । धार्मिक विचलनका प्रभावका कारण धेरै तामाङ बस्तीहरुमा तीव्र सामाजिक तथा सांस्कृतिक परिवर्तन देखा परेको पाइन्छ । यसले गर्दा एकातिर तामाङ संस्कृतिमाथि बौद्ध धर्मप्रतिको आस्थाका कारण तिब्बतीकरणको प्रभावले गाँजेको छ भने अर्काेतिर धर्म परिवर्तनको क्रममा क्रिश्चिियन धर्मको प्रभावमा तामाङ संस्कृतिमा धेरै नकरात्मक प्रभाव परेको छ । यसरी तामाङ संस्कृतिमा चौतर्फी चपेटा परेता पनि तामाङ जातिमा विद्यमान सकरात्मक धारणा भएको हुनाले आफ्नो संस्कृतिलाई जीवन्त राखिरहेको छ । यसको प्रमाणको रुपमा ककनी क्षेत्रमा प्रचलित लपतबा संस्कृतिलाई लिन सकिन्छ ।

तामाङ लपतबाहरुले झ्योहोधाङमा भएका देवदेवी (भूमि देव)ः आफ्नो पूर्वजहरु रहेको मुलुकको भूमि देवताहरुलाई कम्तीमा पनि वर्षको एकपटक भुनसुर पूणिमामा (जनै पूणर््िामा) चारै दिशाको शुद्धिकरण पछि आकाश पातलको शुद्धिकरण गर्दै घरको शुद्धिकरण पछि हामीले यस मुलुकबाट खेतिपाती गरेर उब्जिएको अन्न तथा फलफूल पाकिसकेपछि सबैभन्दा पहिले तिनै कुल देवता, आखे म्हेम्हे लपतबा लगायत देवीदेवतालाई चढाँएर मात्र खाने चलन छ । उनै देवीदेवतालाई आफूले लगाएको खेतिबालीमा कुनै खरावी नहोस भनेर मुलुक देवतालाई मान्ने चलन छ । त्यसैगरि आफुलाई जन्म दिइ रक्षागर्ने म्हेम्हेधङमा भएका पूर्वज लपतबा पितृहरुलाई र आफुलाई सहि मर्गदर्शण प्रदान र आफ्नो कुलको रक्षागर्ने  लधङमा भएका कुलदेवतालाई पनि यसै दिन नयाँ अन्न चथा फलफूलहरु चढाउदछन् । प्रसादको रुपमा उक्त अन्न तथा फलफूल आफुले खान्छन् त्यसपछि मात्र सबै परिवारले खान्छन् । देवतालाई नचाढाए सम्म परिवारका कुनै सदस्यले खाँदैनन् ।
खेप्पा सुङ पूजा वर्षको एक पटक असोज महिनामा गरिन्छ । पृथ्वीको सृष्टिकालमा उत्पन्न भएका देवता अथवा सृष्टिकार्ता जसलाई “गुरुचनदे” भनिन्छन् भने यसलाई कतै शिकारी देवता पनि भनिन्छन् । यस देवतालाई मनाउनको लागि पशुबलि दिन्छन् । तर तामाङ जातिको कुलदेवता र पितृदेवताले भोग खादैनन् । अन्य देवदेवीतालाई मनाउनको लागि भने पशुहरुको बलि दिने चलन छ । बलि दिनु भन्नाले देउतालाई मानिसले दिएको उपहार पनि हो । तामाङ जातिले गरिने पूजाहरु जसमा कुलदेवता स्थापना गर्नुपुर्व गरिने अति शक्तिशाली पश्चिमी देवतालाई पशुवलि दिइ मनाएर उसबाट आशिष मागे पछि मात्र तामाङहरु कुलको स्थापन गर्दछन् । बलिको पनि प्रकर हुने गर्दछन् । लपतबाले कुखुरालाई सङ्सी वा लपतबाले मन्त्रोचारण गरि चोख्याएर ज्वाँई मार्फत बलि दिँदाखेरी लामो समय लाग्दछ । बलि दिइसकेपछि भने बलि दिइएका पशु– पन्छीको “स्या बुई” दिने गर्दछ यसको अर्थ मारिएका आत्मा र त्यसको शरीर सम्बन्धित प्राकृतिक दैवी शक्तिलाई चढाउनु हो । अर्थात बलिमा चढाएको पशु पंन्छीको मासु सिधै मानिसले खान मिल्दैन । त्यसैले यसको आत्मा खाने वा लिन सक्नेले आत्मा लिनु, मुटु लगायतका अङ्ग खानेले सोही अङ्ग खानु भनि भन्ने गर्दछन् । अनि बाँकी रहेको भौतिक सिनो साग मानेर खान्छन् । किनकी त्यसको आत्मिक शरीर भने सम्बन्धित पक्षको हातमा पुगिसकेको हुन्छ । त्यसरी चढाउनुको अर्को कारण यो पनि हो कि त्यसरी चढाएपछि बलि चढाइएको आत्मले मुक्ति पाउँदछ, स्वर्गमा बास पाउँदछ । स्वर्ग भनेको त्यस्तो ठाँउ हो, जहाँ आगो बिनै तातो, पानी बिनै पानी पुग्ने, खानु नपर्ने, लाउनु नपर्ने र केही प्रकारको चिन्ता पनि नहुने जनाउने गर्दछ । यसको प्रतिकात्मक रुपमा आमाको गर्भलाई जनाउने गर्दछ । मानिस नै किन नमरोस् अन्त्यमा स्वर्गमै पठाउने गर्दछन् । आमाको गर्भ यस्तो स्थान हो, जहाँ हुन्जेल खाना, लाउन पर्दैन । पीर चिन्ता हुँदैन, आगो बिनै तातो र पानी बिनै प्यास मेटिन्छ । स्वर्गमा पठाउनुको अर्थ आमाको गर्भमा बस्नु अर्थात पुनः जन्म लिनु हो । बलि दिइएका वस्तुहरुको पुनः जन्म नलिएमा सो बस्तु समाप्त हुने खतरा रहन्छ । तर त्यस्तो खतरा नआओस् भनि त्यसको निम्ति गरिने प्रतिकात्मक कार्यक्रम हो स्या बुई अथाव देवतालाई कुखुरको टाउकोको “ठा” दिनु अर्थात टाउको चढाउनु । बलि दिइएकाको आत्माको शान्तिको कामना, प्रकृतिसितको साक्षात्कार, तथा पर्यावरणीय अनुकुलन, मानवीय भौतिक शरीरको आवश्यक प्रोटिन तत्वको पूर्ति, बिमारीको मनोवैज्ञानिक उपचार तथा भौतिक शक्ति पूर्ति, पुर्खा तथा देवताको सम्मान तथा सम्झना, संस्कारको निरन्तरता, बलिको दार्शनिक पक्षको प्रचार गर्नु जस्तै धेरै कार्यलाई बलिप्रथाले निरन्तरता दिइरहेको देखिन्छ । यसले गर्दा नै पारिस्थितिकिय पद्धतिलाई (इकोसिस्टम) सन्तुलन गर्न कायम गर्दछ ।
समय अनुकुल भएमा वर्षको एक पटक जेष्ठ पूर्णिमामा नसकेमा तीन वर्षमा गरिने तामाङजातिको कुल देवता स्थापना गर्नु भन्दा अघि गरिने पश्चिमी देवताको पूजामा तामाङ लपतबाहरुले यसलाई “क्योन ल्हाबा” भनिन्छ । यस पूजामा गरिने पश्चिमी देवतालाई लपतबाहरु कोदोको पिठोको तोर्मा बनाएर कुखुरा र बाख्राको बलि चढाउदछन् । यस पूजामा पश्चिमी दिशामा रहेको समुन्द्रभित्रको दरबारमा आशिन भएको पश्चिमी देवतालाई पुकार गरि तोर्मा र पशु तथा पंक्षीको बलि दिएर मनाएर बल पुकारी पूजा गर्नेगर्दछन् । यसको पुजा गरेपछि गाँउमा परिआउने महामारी रोगबाट मुक्तहुने, चैत्र बैशाखको सुख्खा याममा वर्षाहुने र सिंचाइकोलागि पानी पार्न र किसानी खेतिबाली राम्रो हुनको लागि पश्चिमी देवताको पूजा गर्दछन् । यस पूजा समाप्त भएपछि पानी पर्दछ भन्ने जनविश्वास यहाँका तामाङहरुले गर्दछन् ।
प्रकृतिक स्रोत व्यवस्थापनका ज्ञानप्रणालीको विकास एक पुस्तामा नभइ पुस्तापुस्ताम हुँदै आएको हुन्छ । यही ज्ञान मौलिक ज्ञानप्रणालीनुसार प्राकृतिक स्रोतहरुको व्यवस्थापन गरी तामाङहरु जीविकोपार्जन गर्ने गर्दछन् । यही नै तामाङहरुको भूमि व्यवस्थापन रणनिति हो । यो ज्ञान युगौंदेखि अहिलेसम्मका तामाङहरुले पुस्तापुस्ता सम्म निरन्तर पुर्नखोज र परीक्षणको प्रकृयाबाट विकास गरेका अमूल्य ज्ञान भण्डार हो । त्यसैले यो ज्ञानलाई अन्धाविश्वास नभै जीविका सञ्चालन गर्ने मुख्य साधन हो । तामाङहरु आफ्नो घरमा कुल देवताको स्थापना गर्दछन् । कुल देवताको स्थापनामा कुनै पशु वा पंक्षीको बलि दिनु आवश्य छैन । तामाङहरु कुल देवताई उचित सम्मान वा पूजाआजा नगरेमा पिर्दछ भन्ने मान्यता राख्दछन् । यसरी कुल देवताको स्थापना गरि कुलदेवताको पूजा गरेमा कुलले नपिर्ने, घरमा अनाजको सह बस्ने, दुःखकष्ट र रोगब्याधिले सताउँदैन भन्ने विश्वास रहेको छ । अन्त्यमा हाम्रो आफ्नो मौलिक सामाजिक संस्कृतिमा रहेका सकरात्मक पक्षहरुलाई अँगाल्दै पृष्ठपोषण गर्नु पनि प्रशंसनीय दृष्टिकोण हो । यी मौलिक संस्कृतिका विशेषता र क्षमतालाई पहिल्याई तिनीहरुको विस्तार गर्नु आवश्यक छ । यसै सिलसिलामा प्रशंसनिय दृष्टिकोणको आँखाले नेपालको नुवाकोट जिल्लाको ककनी क्षेत्रमा बसोवास गर्ने तामाङहरुको परम्परागत मौलिक लपतबामा रहेका सांस्कृतिक ज्ञानलाई अध्ययनको विषयमा राखी यस शोध पत्रमा प्रस्तुत गरिएको छ ा

निस्कर्ष
तामाङ जाति आफैमा बिशिष्ट संस्कृतिको धनी र विविध संस्कारहरुलाई विधिवत् मान्दै आएको आदिवासी जनजाति हो । स्थानिय भौगोलिक परिवेश र समय सापेक्ष भौतिक तथा अभौतिक संस्कृतिको विकास गर्दै जाने क्रममा तामाङजातिमा सांस्कृतिक विशिष्टता पाउन सकिन्छ । यही सांस्कृतिक विशिष्टताको जगमा नै तामाङ जातिको जातिय पहिचान अडेको छ । यसै जातिय पहिचान बोकेको तामाङ समाजमा लपतबा संस्कार र परम्पराहरु यस शोध पत्रमा अध्ययनको विषय बन्न पुगेको छ । तामाङ जातिमा संस्कृति र संस्कारलाई तीन अलग संस्थाहरु बोन (लपतबा तथा बोम्बो)े, बौद्ध (लामा) र तम्बाले संस्कृति र संस्कारलाई निर्देशित गरिरहेको छ । तामाङ जातिको अध्ययन गर्दा कुनै एक पक्षको मात्र सरसर्ती अध्ययनले सांस्कृतिक बिशिष्टताको गहिराईसम्म पुगेर अध्ययन गर्न सकिदैन । कुनै एक संस्थाको भूमिकालाई मात्र प्रधानता दिएर अन्यलाई गौण रुपमा हेर्ने गर्नाले सांस्कृतिक विशिष्टतालाई बुझ्न सकिदैन । अलग तर अन्तरसम्बन्धित कारक तत्वहरुको भूमिकालाई केलाएर मात्र बास्तविक संस्कृतिको आधार पत्ता लगाउन सकिन्छ ।
विभिन्न समय र परिस्थितिको कारण संस्कार र संस्कृतिमा परिवर्तन आउने गर्दछ । वाह्य समाज र संस्कृतिको प्रत्यक्ष सम्पर्क र सहवासले गर्दा संस्कार र संस्कृतिमा प्रत्यक्ष प्रभाव पर्दछ । आधुनिक समाजमा खासगरी विश्व भूमण्डलीकरणको प्रभावका साथै सूचना र सञ्चारको क्षेत्रमा भएको क्रान्तिकारी परिवर्तनले गर्दा विभिन्न जाति तथा जनजातिहरुको संस्कृतिमा अन्य संस्कृतिको र आधुनिक संयन्त्रको प्रभावमा परेको छ । यस्तै परिवर्तनको चौघेरामा लपतबा संस्कृति पनि पर्न लागेको तामाङ संस्कृतिहरु मध्ये यो पनि एक हो । तामाङ संस्कृतिको उदविकास र विकासको बारेमा धेरै विचारहरु आएपनि वास्तवमा तामाङ जातिमा प्रचलित लपतबा संस्कृति वास्तवमा यो नेपालमा नै स्थानीयकरणको प्रभावमा सिर्जिएको आफ्नैपन भएको संस्कृति हो । तामाङ समुदायको लपतबा संस्कार तथा परम्परालाई लोप हुन नदिन संरक्षणको लागि अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । 
काठमाडौं जिल्लाबाट निकट रहेको नुवाकोट जिल्लाको ककनी क्षेत्रमा प्रचलित लपतबा संस्कृति समाजशात्रिय विषय अन्तर्गत अध्ययन तथा अनुसन्धानबाट प्राप्त जानकारीको आधारमा तामाङ समाजमा लापताबा संस्कृतिको विविध पक्षबारे बुँदागत रुपमा निष्कर्षको चर्चा गरौं । 
१.     विश्वका प्राचीन सभ्यताहरुमा जस्तै नेपालमा पनि शास्त्रीय तथा स्थानीय परम्परा गरि धार्मिक र संस्कृतिमा दुई मुख्य प्रवाह पाइन्छ । समाजको विकासक्रम तथा अन्य भौतिक वस्तुगत  परिस्थिति अनुसार मानिसको आस्था एकतर्फ बढी केही दुवैतर्फ बराबर बाँडिन्छ । तामाङहरुमा बौद्ध धर्म मूल धर्म मान्दा मान्दै बोन तथा अन्य स्थानिय मत–विश्वास परम्परालाई बोन धर्मको सहायक मतको रुपमा मान्ने चाखलाग्दो  लपतबा परम्परा रहेको छ ।
२.     नेपालको भू–भागमा रहेको त्रिशुली पारि पश्चिमी तामाङहरुमा बोन धर्ममा आधारित लपतबा संस्कृतिमा रहेका परम्पराको लोकप्रियता व्यापक छ । मानवले मानी आएका अन्य देवी–देवतालाई मानवकृतिमा वर्णन गर्न सकिन्छ तर तामाङजातिले मानि आएको कुलदेवतालाई देवताको स्थान प्राप्त भएपनि प्रतिक र भावनामा मात्र बुझ्न सकिन्छ । मूर्ति–चित्रमा स्पष्ट वर्णन गर्न सकिदैन । यसो भएपनि तामाङहरुले मानी आएको कुलदेवता पनि एक विशिष्ट पश्चिमी नेपालका तामाङहरुमा व्यापक शक्ति एवं महत्वको देवता मानिएका छन् ।
३.     नेपालमा वसोवास गर्ने तामाङ जातिले आफ्ना पूर्खा, प्रकृतिसित समन्वय गरेर जीवनयापन गर्नु वाञ्छनीय थियो । यसैले पूर्खालाई पूजा गर्ने परम्परामा पूर्खाहरुको शक्तिको प्रतीक अथवा कुलको संरक्षणको प्रतीकको रुपमा कुलदेवतालाई मान्दछन् ।
४.     कुलदेवताको पूजा गर्ने तामाङ लपतबाहरुले विशेष ज्ञान र शक्तिको माध्यमबाट लधङमा भएका कुलदेवता, झ्योहोधङमा भएका स्थानीय मानि आएका भूमि देवी–देवताहरु र म्हेम्हेधङमा भएका पितृदेवहरुलाई (पुर्वज लपतबा) बोलाउछन्, पूजा गर्छन् र विदा गर्दछन् । तिनको पूजा, उपासाना साधारण ज्ञान भएका व्यक्तिले गर्न सक्दैनन् । जसको लागि खानपान, शील अनुशासन र आचरणमा पवित्रता कायम गरेका तामाङ लपतबाहरुले मात्र गर्न सकिन्छ । 
५.     बोन धर्म  विश्वको प्रचलित अन्य धर्महरुभन्दा धेरै पुरानो मात्र नभएर आदिमधर्मको रुपमा रहेको देखिन्छ ।
Animistic  Shamanistic मान्यताले भरिएको प्रकृतिपूजक तथा कुलपूजा गर्ने एवंरीतले आत्मा र परमात्मामाथिको विश्वासमा अडेको यस धर्म आदिवासीको मौलिक धर्म पनि हो । 
६.      यस लपतबा संस्कारले महिलालाई लपतबा बन्न पाइने वा नपाइने भन्ने सम्बन्धमा केही बोलेको देखिँदैन तर यस गाँउमा लपतबाको काम केवल पुरुषमा मात्र सीमित रहेको देखिन्छ तर कुनै पनि पूजामा माहिलाको पनि विशेष स्थान रहने गर्दछन् । विभिन्न पूजा लगायत देवालीमा घरमूली महिलाको उपस्थिति अनिवार्य गरेको देखिन्छ ।
७.     बोनधर्म संस्कार तथा लपतबा संस्कृतिमा विद्यामान सामज परम्परागत चेतनाबाट माथि उठ्न नसक्नु, पुरानै संस्कारभित्र अल्झिएर बस्नु, नयाँ विश्व परिवेशलाई स्वीकार गर्न नसक्नु, लपतबालाई पेशागत रुप दिन नसक्नु, झन्झटिला संस्कार, विश्वासमा कमीले गर्दा यो लापताबा संस्कृति लोप हुने अवस्थाम पुगेको छ । 

 सुझाव
१.     अबको समयमा बोन धर्ममा आधारित लपतबा संस्कृतिलाई जोगाई राख्न र पूर्खाको नासोको रुपमा आउँदा पिँडीलाई हस्तानतरण गर्न सक्नुपर्ने देखिन्छ । यसलाई लुकाएर राख्नुको सट्टा प्रदर्शनीमा पनि राखिनुपर्दछ । यसमा भएका सकरात्मक र राम्रा पक्षहरुको सन्तानहरुमा विभिन्न पूजाको अवसरमा प्रवचनद्वारा भन्न र बुझाउनु पर्ने देखिन्छ ।  
२.     यस संस्कारलाई निरन्तरता दिनको लागि गुठीको व्यवस्थापन गरि सबै दाजुभाई मिलेर समुच्चमा वर्षको एकपटक अनिवार्य गर्नुपर्ने देखिन्छ । लपतबालाई पनि प्रतिष्ठित पेशाको रुपमा सन्चालनमा ल्याउन अति आवश्यक छ ।
३.     विभिन्न देवी देवतालाई दिइने पशु तथा पंक्षीको बलिको सट्टामा नरिवलको बलि दिएर भएपनि यस परम्परालाई निरन्तरता दिन सकिन्छ । रातमा पूजा गरिनु भन्दा दिनमा गर्दा यसका सवल पक्षहरु सबैले अध्यायन गर्न सकिन्छ । 
४.     लपतबाहरुसंग भएका लधङ, ह्युलधङ र  म्हेम्हेधङलाई लिखित रुपमा पुस्तक निकालेर सबैले लामाले जस्तै सवै लपतबाहरुले पुस्तक हेरी पढ्न र फलाक्न सक्ने व्यवस्था मिलाउनुपर्ने अति आवश्यक देखिन्छ । यसमा भएका कठिन भाषालाई सरल र सर्वसाधारणले बुझिने भाषामा उल्थागरि सबैलाई भन्न र यसको महत्वहरु सर्वसाधरणलाई बुझाउनुपर्ने देखिन्छ ।
५.     विभिन्न पूजामा देवतालाई चढाइने प्रसाद दुच्चेको विकल्पमा हर्रोबर्रो, अमला र त्रिफलाको शुद्ध जललाई प्रयोगमा ल्याउन सकिन्छ ।
६.     परम्परागत रुपमा लपतबाले फलाक्ने किम्बदन्ति कथाहरुलाई वैज्ञानिक अन्वेषणका तथ्यहरुलाई  विश्व परिवेशले बुझिने भाषामा परिमार्जित गरि सुनाउनुपर्ने देखिन्छ । समय समयमा भाषिक, साहित्य र धार्मिक प्रवचनको व्यवस्थागरि सर्वसाधरणलाई बुझाउनुपर्ने देखिन्छ ।
७.     गाँउमा पूजाको लागि कुनै लामा तथा बोन गुम्बा तत्कालै निर्माण गरि हरेक कार्यक्रम गुम्बाबाटै सम्पन्न गर्ने सहज वातावरणको निर्माण आजको आवश्यकता हो । संस्कारलाई समय अनुकुल परिमार्जन र परिस्कृत गर्दै हाम्रो संस्कार हाम्रो पहिचान भन्ने तथ्यलाई वुझाउने काम  गर्नु पर्ने देखिन्छ ।
८.     परम्परागत पूजा र चाडपर्वको समयमा नबुझ्ने भाषालाई सुनाएर समाजलाई गुमराहमा पारी राख्नुको सट्टामा त्यस्ता कार्यक्रममा वैज्ञानिक अन्वेषण र विश्व परिवेशलाई समेटेर शिक्षित युवाहरुलाई बुझाउने प्रयत्न गरि यस लोप हुन लागेको लपतबा संस्कारलाई संरक्षण  गरि राख्नुपर्दछ ।
९.    चाडपर्व र पूजाको नाममा मध्यपान र मासुलगायतको खाद्यन्नको नास पार्ने तथा मध्यपान र मासु नभइ कुनैपनि पूजा वा संस्कार तथा पर्व सम्पन्न हुदैन भन्ने मान्यतालाई तोड्न सक्नुपर्ने देखिन्छ । 
१०.     तामाङ चाडपर्वलाई सौहाद्रपूर्ण वातावातरणमा मनोरञ्जनको माध्यममा समेत विकास गरी सोही आधारमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न सक्नु पर्दछ । यसमा भएका विकृति एवं कमजोरीहरुको पहिचान गरी समय सापेक्षा बनाउने कार्यमा थालनी गर्नुपर्ने देखिन्छ ।
११.     तामाङ जाति परम्परागत समाज भएकोले सोही अनुरुप चेतनालाई विस्तारै आधुनिक तथा यथार्थताको धरातलमा ल्याएर उभ्याउने कुरामा सवैले प्रण गर्नसक्नुपर्ने अवस्था छ ।
अन्तमा सबै नेपालीले आ–आफ्नो परम्परागत सांस्कृतिक मौलिक ज्ञानलाई जोगाउने, परिमार्जन गर्ने र नेपालको आफ्नै मौलिकता अनुसारको विकासलाई अंगिकार गर्नु आवश्यक छ । सयौं परम्परागत सांस्कृतिक मौलिक ज्ञानको रक्षा गर्दै अघि बढ्नु नै नेपाल र नेपालीको मौलिक विकास र पहिचान हो । तामाङ जातीको लपतबा परम्परा पनि एक अमुल्य पहिचानको रुपमा रहेको एक संस्कृति हो ।

Comments

comments

SHARE