पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेपछि देशभर एकल जातीय प्रभत्व स्थापना गर्न विभिन्न प्रयत्न भए । शाहको चौथो पुस्तासम्म आइपुग्दा देशमा एक जातीय संस्कृतिको प्रभुत्व स्थापित गर्ने अभियानलाई निकै व्यापक बनाइयो । त्यसलाई कानुन नै बनाएर वैधानिकता दिने काम १९१० सालमा जंगबहादुर राणाले ल्याएको मुलुकी ऐनले गर्‍यो । त्यही ऐनका कारण देशमा हिन्दु बाहुन/क्षेत्री जाति वा तागाधारीबाहेकका जातीय समुदाय र तिनीहरुका संस्कृति खुम्चिन बाध्य भए । 

तागाधारीबाहेकका समुदायले आफ्नो सांस्कृतिक परम्परालाई निरन्तरता दिँदा दण्डित हुनु पर्थ्यो । तथापि कतिपयले जरिबाना तिरेरै भए पनि आफ्नो परम्परालाई निरन्तरता दिए । तिनैमध्ये एक समुदाय हो किराती राई समुदाय । त्यस समुदायका सदस्यहरुले परम्परादेखि नै गाई/गोरु काटेर आफ्नो पितृ पूजा गर्थे, महान चाड साकेला मनाउँथे । मुलुकी ऐन आएपछि सार्वजनिक रुपमा गाई/गोरु काट्न त प्रतिबन्ध लगाइयो नै, गाई/गोरुको मासु खाने भएकोले उनीहरुलाई वार्षिक जरिबाना पनि तिराउने गरियो । 

प्रस्तुत छ, तत्कालीन नेपाली समाजबारे पूर्वी पहाडी जिल्ला खोटाङ बुईपाका ८३ वर्षीय कमलबहादुर राईले सुनाउनुभएको रमाइलो संस्मरणको सारसंक्षेप, उहाँकै शब्दमा :

म अहिले ८३ काटेर ८४ लाग्दैछु । यो हामी बसेको ठाउँ उइले खार्पाली पोख्रेलहरुको बिर्ता हो । हाम्रा बाउ बाजेले बिर्ता खेपेको हो । तर मैले खेप्न परेन । बाउबाजेले चाहिँ खेप्नु खेपेको अरे । हामीलाई कथा सुनाउँथे । बाउबाजेहरुले उनीहरुको घर छाइदिनुपर्ने, आँगन गल्ली सफा गरिदिनुपर्ने, खेतीबाली लगाइदिनुपर्ने । यस्ता कति हो कति काम गरिदिनुपर्ने ।

झाराकिस्ता (एक प्रकारको कर) पनि उनीहरुलाई नै दिनुपर्ने । उनीहरुले नै खाने, सरखारलाई नतिर्ने । सबै उनीहरुकै हातमा थियो । उनीहरु सरखारलाई पनि नटेर्ने । सरखार भनेकै उनीहरु नै त होला नि अब ! यो जमिनमा बसेबापत पोख्रेलहरुलाई पैसा पनि तिर्नुपर्थ्यो ।

पैसा तिर्दा झाराकिस्ता भन्थ्यो, त्यो बापत एक मोहर (५० पैसा) तिर्नुपर्थ्यो । एक मोहर पैसा निकाल्न पनि सारो मुश्किल पर्ने । साफा भनेर भन्थ्यो । त्यसबापत ६ पैसा तिर्नुपर्ने । 

अब त्यो साफा भनेको क्या हो ? थाहा भएन, तर हाम्रो बाउबाजेले भने अनुसारचाहिँ गोरुको मासु खानेलाई साफा भन्दोरछ अरे । त्यसरी हाम्रा बाजेहरुले गोरुको मासु खाएबापत वर्षैपिछे ६ पैसा जरिवाना तिर्नुपर्थ्यो । त्यति रकम निकाल्न पनि निक्कै मुश्किल पर्थ्यो । यता त कमाइ हुने काम केही पनि हुँदैन थियो । हाम्रोमा एक जना सिपाही थियो, उसको जागिर महिनाको ७ रुपे (रुपैयाँ) थियो । अब त्यसैले भनिहाल्छ नि पैसा निकाल्न कति गाह्रो थियो भनेर ।

हाम्रो पालामा सरखार भनेको कोही पनि आउँदैन थियो । हामी हिउँदमा नुन लिन मधेसमा जान्थ्यौँ । १२/१५ दिन लाग्थ्यो नुन ल्याउन । काम गर्ने केही थिएन । बरबोट, बिजगाऊँ, गैरीगाउँ ए…..एताका सबै मिलेर हिउँदमा कालेबुङ जान्थ्यौँ । पैसा कमाउन । ३/४ महिना त्यता बसेर घर फर्किन्थ्यौँ । म १२ वर्षको हुँदादेखि त्यसरी हिँडेको ।

कालेबुङ जाँदा हामीलाई ११/१२ दिन हिँड्नु पथ्र्यो । यताबाट भोजपुर हुँदै अरुण तरेर गाउँलेहरुसँग हुल बाँधिएर जान्थ्यौँ । त्यहाँ खासगरी सुन्तला टिप्ने काम पाइन्थ्यो । अहिले त सुनेको त्यो सबै मासियो अरे । त्यतिबेला त धेरै हुन्थ्यो, त्यहाँ सुन्तला । डाँडै, पाखै सुन्तलाको हुन्थ्यो ।

म परदेश हिँडिरहने भएकोले सात साल हुँदा पनि यता थिइनँ । उतै थिएँ । त्यति बेला रेडियो हुँदैन थियो । हामी बसेको ठाउँमा एक जनाको रेडियो थियो । त्यसले पो ‘तिमीहरुको नेपालमा हुलदंगा छ अहिले’ भन्यो । पछि हामीलाई आउँदा गाह्रो भो । झण्डै पस्न दिएन सिमानामा ।

त्यसो त अहिलेको जवाना सुखको छ । पहिलेको जवाना दुःखको थियो । मलाई त अहिलेको जवाना धेरै सुख लाग्छ । नुनतेल पनि भारी बोकेर ल्याउन पर्दैन ।

प्रस्तुति : राजेश चाम्लिङ

@ ईसमता

Comments

comments

SHARE